नख्खुडोल घटना : तार चोर्न जाँदा हाइ भोल्टेज करेन्ट लागेर १ जनाको मृत्यु

काठमाडौँ । ललितपुर महानगरपालिका–२५ स्थित नख्खुडोलमा मध्यराति ३ जना चोर्न गएका थिए । तामाको तार चोर्ने क्रममा हाइ भोल्टेज करेन्ट प्रवाह भएर एक जनाको मृत्यु भएको छ ।
घटना १५ दिन अघिको हो । चोरीमा संलग्न दुई जना पक्राउ परेपछि घटनाको तथ्य खुलेको छ । पुस १ मा तार चोर्ने क्रममा करेन्ट लागेर एक जना युवकको मृत्यु भएको ललितपुरका एसएसपी शेखर खनालले रातोपाटीलाई बताए । मृत्यु हुनेमा धादिङ घर भएका ३२ वर्षीय केशर बहादुर घले छन् ।
सिन्धुलीको सुनकोशी गाउँपालिका घर भएका ४१ वर्षीय भुवन बहादुर कार्की र काभ्रेको खानीखोला घर भएका १७ वर्षीय किशोर घलेसँगै तामाको तार चोर्न गएका हुन् । अर्थिङ गरेको तार काट्न घले ट्रान्सफर्मरमा चढेर काट्ने प्रयास गर्दा करेन्ट लागेर सडकमा ढले । त्यसपछि सँगै गएका दुई जना फरार भए । उनीहरूले कैँचीको प्रयोग गरेर तार काट्ने प्रयास गरेका थिए । सिसिटिभी फुटेजको आधारमा अनुसन्धान गरेर दुईजनालाई पक्राउ गरिएको एसएसपी खनालले जानकारी दिए ।
उनले भने, ‘एक जनाको भवितब्यका कारण मृत्यु भएपछि दुई जना भागेका अनुसन्धानबाट थाहा भएको छ ।’ पक्राउ परेका दुई जना विरुद्ध प्रहरीले चोरी मुद्दामा म्याद लिएर अनुसन्धान गरिरहेको छ ।