शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
मनोरञ्जन

कलाकारलाई मेला–महोत्सवको चटारो, आम्दानी आकर्षक

मङ्गलबार, १६ पुस २०८१, १५ : ३१
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । गायक बद्री पंगेनीले सोमबार पाल्पाको ‘पाल्पा महोत्सव २०८१’ प्रस्तुति दिए । उनीसँगै महोत्सवमा गायक अर्जुन कौसल, मनिष सिंजाली लगायतको समेत प्रस्तुति रहेको थियो । यस्तै बद्रीले मंगलबार पनि कैलालीको ‘बदैगोरिया सेती लोकमार्ग पहिचान महोत्सवमा २०८१’मा प्रस्तुति दिने कार्यक्रम छ । उनीसँगै यो महोत्सवमा लोक गायिका इब्सल संज्यालको समेत प्रस्तुति रहेको छ ।

गत पुस ९ गते प्युठानको प्रथम भित्रीकोट महोत्सव प्रस्तुति दिएका बद्रीको त्यसयता पुस २३ गतेसम्म कार्यक्रमको ‘सेड्युल’ प्याक छ । जसको जानकारी उनले केही अगाडि सामाजिक सञ्जाल मार्फत समेत गराएका थिए । 

बद्रीको जस्तै व्यस्तता गायिका रचना रिमालको पनि छ । उनी झापाली समाज युएईको आयोजनामा दुबईको एक कार्यक्रम सकेर सोमबार मात्र स्वदेश फर्किएकी छन् । दुबई उड्नु एक दिन अगाडि उनले मोरङको एक कार्यक्रममा प्रस्तुति दिएकी थिइन् ।

54514822_1135581079955744_256844559038808064_n

त्यसो त रचनाले अघिल्लो साता देश तथा विदेशको तालिका समेटेर १० कार्यक्रम सार्वजनिक गरेकी थिइन् । पुस ९ गते तेस्रो खैरहनी महोत्सवबाट सुरु भएको उनको व्यस्तता झापाली समाजको कार्यक्रम, ललितपुर महोत्सव, सिद्धार्थ होटेल नेपालगन्जको नयाँ वर्ष इभ, भित्रीकोट प्युठान महोत्सव, भानु नगर महोत्सव, पाल्पा र लेखनाथ महोत्सवमा लगायतमा छ । तालिका अनुसार उनी २० पुससम्मै व्यस्त छिन् । त्यसपछिका कार्यक्रमको पनि उनलाई अफर आइरहेको छ ।

गायक शिव परियारले पनि केही दिन अगाडि आफ्नो व्यस्तताको तालिका सार्वजनिक गरेका थिए । जसमा दार्जिलिङको शीतकालीन महोत्सव, क्रिसमस इभको अवसरमा दार्जिलिङको टिस्टा भ्यालीमा महोत्सव लगायतका कार्यक्रम थिए । यी कार्यक्रम सकेर उनले २ दिन अगाडि चितवनमा सांगितिका प्रस्तुति दिए । परियारले अंग्रेजी नयाँ वर्षको अवसरमा मंगलबार कोहलपुरमा प्रस्तुति दिने तय भएको छ ।  उनले अहिले मेला महोत्सवमा आफ्ना लोकप्रिय १२ गीत प्रस्तुत गरिरहेका छन् । जुन गीतको बारेमा केही अगाडि सामाजिक संजालमा जानकारी दिएका थिए ।

467741361_567239369288002_5269122039934081225_n

यस्तै लोक गायिका भूमिका गिरी सोमबार चीन उडेकी छिन् । अंग्रेजी नयाँ वर्षको कार्यक्रमका लागि उनी चीन उडेकी हुन् । आइतबार चितवनको मेघौलीमा एक कार्यक्रम गरेकी उनले त्यसअघि रुपन्देहीको पार्क महोत्सव, धादिङको कालिका युवा समाजको कार्यक्रम, गुल्मीको शान्तिपुरमा आफ्नो प्रस्तुति दिएकी थिइन् । 

गायिका समीक्षा अधिकारीको पनि व्यस्तता उस्तै छ । उनी यतिबेला साङ्गीतिक कार्यक्रमको सिलसिलामा युरोपमा छिन् ।  सोही क्रममा बागलुङ समाज पोर्चुगलको आयोजनामा सोमबार पोर्चुगलमा कार्यक्रम गरेकी अधिकारीले युरोपमै रहँदा अन्य देशमा पनि प्रस्तुति दिएकी छन् ।  युरोप उड्नुअघि उनी बुटवल मेला,  लुम्बिनी राष्ट्रिय महोत्सव २०८१ लगायत कार्यक्रममा दैनिकजस्तो व्यस्त हुँदै आएकी थिइन् ।

470200445_1653956945543479_2035311284372755498_n

पछिल्लो समयको चर्चित गीत ‘म त ढलेँ ढलेँ’की गायिका शान्तिरानी परियारको व्यस्तता पनि यतिबेला निकै छ । विभिन्न मेला–महोत्सव र कार्यक्रमले उनलाई पनि फुर्सद छैन । उनले मंगलबार नयाँ वर्षको अवसर पारेर सुर्खेतमा आयोजित कार्यक्रममा प्रस्तुति दिने कार्यक्रम छ । यसअघि उनले पाल्पा महोत्सव, सुदूरपश्चिम शैक्षिक महोत्सव, गोरखाको गोरखकाली महोत्सव, खैरहनी महोत्सव लगायतमा प्रस्तुति दिएकी थिइन् ।

गायिका ज्योति मगर पनि दैनिक जस्तो कार्यक्रममा देखिन्छिन् । आइतबार ‘धरान म्युजिक जात्रा २०८१’मा पुगेकी ज्योति मंगलबार चितवनको एक कार्यक्रममा गुञ्जदैछिन् । उनी गत १३ गते नवलपरासी, १२ गते मोरङ, ११ गते प्युठान, ६ गते झापा कार्यक्रममा सहभागी भएकी थिइन् ।

यी त उदाहरण मात्र हुन्, एलिना चौहान, मिलन नेवार, रामकृष्ण ढकाल, अस्मिता अधिकारी, बिन्दु परियार, आस्था राउत, हेमन्त शर्मा, हिमाल सागर, युवराज चौलागाई लगायतका सबै कलाकार अहिले व्यस्त छन् । 

सुगम संगीत, लोक, पप हुन् वा र्‍याप संगीत सबै क्षेत्रका नयाँ, पुराना गायक गायिकासहितका कलाकार सांगीतिक कार्यक्रममा व्यस्त छन् ।   यसरी आयोजना भएका कार्यक्रममा कलाकारलाई आम्दानी पनि राम्रो हुने गरेको छ । 

453849894_1930967904017832_858702592621717036_n

मेला–महोत्सव कलाकारको राम्रो आम्दानीको स्रोत भएको गायक हिमाल सागर बताउँछन् । ‘कलाकारको मेन आम्दानीका श्रोत भनेकै मेला–महोत्सव हो’, सागरले भने ‘६–७ महिना आयोजना हुन मेला–महोत्सवले कलाकारलाई बर्ष दिन खान पुग्छ ।’ एउटा गायकले एक कार्यक्रममा ५० हजारदेखि एक लाखसम्म लिने हिमाल सुनाउछन् । 

गायक पंगेनी पनि कलाकारका लागि मेला महोत्सव राम्रै हुने बताउँछन् । ‘अहिलेसम्म दर्शक श्रोताको माया, मेला महोत्सवको आम्दानीले विदेश छिर्ने सोच आएको छैन’, पङ्गेनीले भने, ‘हाइफाईको जिन्दगी, महँगो गाडी त पुग्दैन । अहिले बाँचेको जस्तो सामान्य जीवन बाँच्न पुग्छ ।’ 

दर्शकको बिचमा भइरहने बानीले सबैभन्दा धेरै आत्मसन्तुष्टि मिलेको पंगेनी सुनाउँछन् ।

कलाकारको व्यस्तताका बिच मेला महोत्सवको नाममा ठेकेदारहरूको बिगबिगी समेत रहेको केही कलाकार बताउँछन् । कार्यक्रम मिलाउने नाममा सक्रिय हुने त्यस्ता ठेकेदारले आयोजकबाट टन्न रकम उठाउने र कलाकारलाई भने थोरै पारिश्रमिक दिने गरेको उनीहरूको भनाइ छ । गायक प्रकाश कटुवाल ठेकेदारहरूले कलाकारले पाउने पैसा कमिसन खाएर हैरान बनाएको बताउँछन् । यस्तो प्रवृत्तिको अन्त्य गर्न सकिए कलाकारको आम्दानी बढ्ने उनको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप