शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट नोभेम्बरसम्ममा साढे ४४ लाखद्वारा यात्रा

आव २०८०/८१ मा प्राधिकरणको आम्दानी १४ अर्ब ७१ करोड
मङ्गलबार, १६ पुस २०८१, १५ : १०
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । सन् २०२४ को नोभेम्बरसम्म नेपालका तीन अन्तर्राष्ट्रिय विमानस्थलबाट ४४ लाख ४९ हजार १३३ जना अन्तर्राष्ट्रिय हवाई यात्रुले यात्रा गरेका छन् । मंगलबार काठमाडौँमा नेपाल नागरिक उड्डयन प्राधिकरणको २६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीले सो तथ्याङ्क प्रस्तुत गरेका हुन् । 

प्राधिकरणको वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै महानिर्देशक अधिकारीले सन् २०२४ को नोभेम्बरसम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमार्फत आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या कुल ४४ लाख ४९ हजार १३३ रहेको बताए । 

सन् २०२३ को नोभेम्बर सम्ममा तीन वटा विमानस्थलबाट आवागमन गर्ने अन्तर्राष्ट्रिय हवाई यात्रुको सङ्ख्या ४१ लाख ५४ हजार ३९३ रहेको थियो । जसअनुसार गत वर्षको सोही अवधिको तुलनामा यात्रुको सङ्ख्यामा ७.०९ प्रतिशतले वृद्धि भएको महानिर्देशक अधिकारीले बताए । 

उनले आन्तरिक उडानतर्फ सन् २०२४ को नोभेम्बरसम्म ८७ लाख ६० हजार ३०२ ले यात्रा गरेका छन् । सन् २०२३ को भन्दा यो सङ्ख्या करिब १३ प्रतिशतले वृद्धि भएको छ । सन् २०२३ मा आन्तरिक उडानतर्फ नोभेम्बरसम्म ७७ लाखले यात्रा गरेका थिए । 

नेपालमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीको सङ्ख्या सन् २०२३ मा २९ रहेकोमा हाल २०२४ मा भिस्तारा एयरलाइन्स एयर इन्डियामा मर्ज भएपछि २८ मा झरेको छ । नेपालबाट १६ देशका २९ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा नियमित उडान भइरहेको र आन्तरिकतर्फ सञ्चालन अनुमति प्राप्त जम्मा २१ वटा वायुसेवामध्ये हाल क्रियाशील वायुसेवा कम्पनीहरूको सङ्ख्या १९ रहेको महानिर्देशक अधिकारीले बताए । जसबाट कुल ५५ बटा विमानस्थलमध्ये ३५ वटा विमानस्थलहरू आन्तरिक हवाई सेवा सञ्जालमा जोडिएको बताए । 

हेलिकोप्टरको हकमा सन् २०२४ को हालसम्म नियमित हेलिकप्टर चार्टर तथा उद्धार (निषेधित क्षेत्र बाहेक) करिब ४५ सय वटा उडान सम्पन्न भएका तथा अन्य निषेधित क्षेत्रमा हेलिकप्टरको उद्धार, सिलिङ तथा यात्रु चार्टर उडानमा १ हजार १२० उडान सञ्चालन भएको बताए । 

महानिर्देशक अधिकारीले गत आ.व. २०८०/८१ मा प्राधिकरणले १४ अर्ब ७१ करोड ३८ लाख आम्दानी गरेको बताए । जसमध्ये एरोनटिकलतर्फ ११ अर्ब ५१ करोड ८९ लाख भने  ननएरोनटिकलतर्फ ३ अर्ब १९ करोड ४९ लाख रहेको छ । गत वर्ष पुँजीगततर्फ नेपाल सरकारकोसहित १० अर्ब ५२ करोड ७० लाख लगानी भएको जानकारी दिए । 

उनकाअनुसार कार्य सञ्चालन खर्चतर्फ ४ अर्ब ३८ करोड ४८ लाख, ह्रास खर्च ४ अर्ब ३४ करोड १३ लाख, ब्याज खर्च १ अर्ब ३३ करोड १ लाख र आयकर खर्च १ अर्ब २७ करोड ९९ लाख गरी प्राधिकरणको कोषबाट जम्मा ११ अर्ब ३३ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको गत आर्थिक वर्षको सञ्चालन मुनाफा ३ अर्ब ३७ करोड ७८ लाख रहेको बताए । 

महानिर्देशक अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्वीकृत गुरुयोजना बमोजिम विमानस्थलको सीमित क्षेत्रफललाई अधिकतम प्रयोग गरी विमानस्थलको क्षमता अभिवृद्धि कार्यलाई प्राथमिकता दिई क्षमता बिस्तारका लागि विमानस्थलको उत्तरतर्फ करिब १८ वटासम्म अन्तर्राष्ट्रिय वायुयान राख्न सकिने वायुयान बिसान क्षेत्र र ट्याक्सीवे निर्माण कार्य जारी रहेको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप