शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

जनकपुर बोल्ट्स र जनमतको धोती संघर्ष

मङ्गलबार, १६ पुस २०८१, १४ : ०१
मङ्गलबार, १६ पुस २०८१

गत वर्ष म एकजना साथीको घर (काठमाडौँ)मा पुगेको थिएँ । म पुग्दा साथीले आफ्ना चार वर्षका छोरालाई स्कुल पठाउने तयारी गर्दै थिए । मलाई देखेर साथीका छोराले हिन्दीमा मेरो घर–ठेगाना सोधेछन् । यो सुनेर साथी छक्क परेका रहेछन् ।

उनीहरू घर–परिवारमा नबोल्दा रहेछन् तर आफ्नो सानो छोराले हिन्दी सिकेको र मलाई ‘हिन्दीभाषी’ भनेर सम्झेकामा साथीलाई अनौठो लागेको रहेछ । यसबारे हामीबिच केहीबेर कुराकानी समेत चल्यो । बच्चाहरूले मोबाइल वा टीभीमा ‘मोटुपतलु’ लगायत हिन्दी भाषाका कार्टुन हेर्ने गर्छन्, त्यसैको प्रभाव हुन सक्नेमा हामी पुग्यौँ ।

एक दिन मेरो छोरा रतन (वर्ष १०) स्कुलबाट आयो र झोला नबिसाउँदै मलाई प्रश्न गर्‍यो — बुवा हामी मधेसी हो कि पहाडी ? 

मैले उसको कुरा नसुनेझैँ गरेँ । तर, उसले जिद्दी गरिरहयो र मैले भनिदिएँ— हामी मधेसमा बस्ने सबै मधेसी हौँ । 

उनीहरूको स्कुलमा साथीहरूसँग यो प्रसंग चलेको रहेछ । उसले हामी नेपाली हो भनेको रहेछ । किनभने हामी परिवारमा आजसम्म आपसमा आफ्नो मैथिली भाषा बोलेनौँ । आफ्नो गाउँघर, साथी–संगत र आफ्नो भाषीसँग भने बोल्ने बानी छ ।

डा. राउत अघिल्लो वर्ष पनि अंग्रेजी नयाँ वर्षको दिन ‘धोती दिवस’ मनाउन माइतीघर मण्डला पुगेका थिए तर राउतसहित नेता–कार्यकर्ता पक्राउ परेका थिए, यस वर्ष पनि त्योभन्दा फरक गतिविधि नहुने देखिन्छ ।

माथि उल्लिखित बच्चाहरूको दुई प्रसंगबाट के प्रस्ट हुन्छ भने कुनै पनि विषयवस्तुको प्रभाव दृश्य–अदृश्य रूपमा मानिसमा सानैदेखि परिरहेको हुन्छ । चलिरहेको र बाँचिरहेको परम्परागत त्यो प्रभावलाई हामीले न्यूनीकरण गर्न सकिन्छ तर तोड्न गाह्रो छ । यसलाई तोड्नकै लागि सामाजिक स्तरबाटै हामीले लामो मिहिनेत गर्नुपर्ने हुन्छ । हामी ठुला र बुझ्ने सचेत मान्छेले आफ्नो घर–परिवारमा जतिसुकै सावधानी अपनाए पनि बाहिर हुने साथ, संगत र प्रभावले कुनै न कुनै रूपबाट पुस्तान्तरण भइरहेको हुन्छ ।

नेपाली समाजमा शासकीय हिसाबले देखिएको सबैभन्दा ठुलो रोग हो ‘मधेसी–पहाडी’ बिचको द्वन्द्व । दोस्रो ठुलो समस्या हो ‘जातीय समस्या’ । अभिजात वर्गका शासकहरू आजसम्म यिनै कुरामा टिकिरहेका छन् र आ–आफ्ना पकडका जनतालाई मूर्ख बनाइरहेका छन् । राष्ट्रियता र राष्ट्रिय एकतालाई कमजोर बनाइरहेका छन् । नागरिकको विविधतालाई सर्वमान्य हुने गरी राज्यशक्ति, स्रोत र साधनको वितरण तथा स्थापित गर्ने मनसाय कुनै पनि शासक वर्गमा छैन । जसले गर्दा नेपाली समाजलाई नेपालीजस्तो रहन दिएको छैन । खोक्रो नेपालीपन र राष्ट्रियताले देश चलिरहेको छ ।

अंग्रेजी वर्ष २०२४ नेपालीका लागि समस्याकै वर्षका रूपमा रह्यो । सामाजिक, आर्थिक र राजनीतिक रूपमा समेत कुनै फड्को मार्न सकेनन् । बेथिति, भ्रष्टाचार, द्वन्द्व, प्रतिरोध र प्रतिशोधमै केन्द्रित रह्यो हरेक क्षेत्र । सबैभन्दा दुःखद विषय के त नयाँ वर्षकै सान्निध्यमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)को धोती विवाद । जसले २०२४ को सिंगो वर्षलाई एनपीएलको धोती विवादमा ल्याएर जोड्ने दुस्साहस भयो । एनपीएल सिंगो देशले गर्व गर्ने नभएर मधेसीका लागि मात्र गर्व र विजयोत्सवका रूपमा स्थापित गरे । अन्तर्राष्ट्रिय स्तरमा जसरी खेल क्षेत्रले नाक जोगाउँदै आयो, यसलाई राष्ट्रिय रूपमा जोड्न सकेनौँ । जबकि खेल जगतले आजसम्म नेपाललाई विश्वमै चिनाउने सफल भूमिका निर्वाह गर्दै आएको छ । अरु क्षेत्रको अवस्था भने डामाडोल छ । तर हामीकहाँ राष्ट्रका सम्पत्ति खेलाडीलाई समुदायसँग जोडेर हेर्ने दृष्टिकोण दुःखद छ ।

पहिलो एनपीएलमा जनकपुर बोल्टसले गरेको धोती संघर्षसँगै ऐतिहासिक जितले हलचल मच्चाएको छ । यसको फाइदा सबैभन्दा बढी डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई भएको छ । त्यसैले जनमत पार्टीले अंग्रेजी नयाँ वर्षको दिन (बुधबार जनवरी १) काठमाडौँ लगायत देशका विभिन्न स्थानमा धोतीलाई आफ्नो राष्ट्रिय पोसाकको रूपमा लिई ‘धोती दिवस’ मनाउन पार्टीको तहगत संगठनलाई निर्देश दिएको छ । मधेसी मनोविज्ञानमा चट्टानझैँ उभिएको जनमत पार्टीका अध्यक्ष डा. राउत अघिल्लो वर्ष पनि अंग्रेजी नयाँ वर्षको दिन ‘धोती दिवस’ मनाउन माइतीघर मण्डला पुगेका थिए तर राउतसहित नेता–कार्यकर्ता पक्राउ परेका थिए, यस वर्ष पनि त्योभन्दा फरक गतिविधि नहुने देखिन्छ ।
पहाडी समुदायले यो दिनलाई ‘टोपी दिवस’का रूपमा मनाइरहँदा डा. राउतले जसरी यसलाई लक्षित गरी विभेद र ओझेलमा पारिएका मधेसीको सान, मान र पहिचान धोती–कुर्ता पनि राष्ट्रिय पहिचान हो भनेर उभिएका छन्, अरु मधेसी दल र नेतामा यस्तो देखिएको छैन ।

डा. राउतको पार्टीले ‘धोती दिवस’ मनाउनुलाई राज्यले जसरी लिएको छ, यसले देशमा विद्यमान जातीय, सामुदायिक वा क्षेत्रीय विभेददलाई दर्शाउँछ । मधेसी नागरिक राज्य र अन्य समुदायबाट कसरी प्रताडीत छन् भन्ने कुराका प्रमाण हुन् माथि आएका प्रसंगहरु । 

विभिन्न राजनीतिक सामाजिक विश्लेषकले यो दुवै दिवस (धोती र टोपी)लाई आ–आफ्नै ढंगले विश्लेषण आएका छन् । कसैले टोपी दिवसकै दिन साम्प्रदायिकता भड्काउने र राष्ट्रिय एकतालाई कमजोर बनाउने खेलमा सिके राउतले धोती दिवस ल्याएको र उनको मनोविज्ञान अझै पनि विखण्डनकारी रहेको तर्क गरिरहेका छन् भने यो दिवस अरु कुनै दिन मनाउँदा हुने पनि बताउँदै आएका छन् । नागरिकलाई आपसमा जुध्ने र जुधाउने गरी जसरी धोती र टोपीको मानसिकता क्याच गर्ने गरी यी दिवस मनाइँदै छन्, जो गलत छन् । 

अर्का थरी विश्लेषक तथा डा. राउतहरूले यसलाई सहजताका रूपमा लिन्छन् । यसलाई राज्यले निरन्तर गरेको विभेद, उपेक्षा र उत्पीडनको प्रतीकका रूपमा लिन्छन् । राज्यले यसलाई व्यवस्थापन गर्ने र सम्मान गर्ने दायित्वको रूपमा लिन्छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश विद्रोही
राजेश विद्रोही
लेखकबाट थप