नवअभिनेत्री भावनालाई १२ प्रश्न
काठमाडौँ । अभिनेत्री भावना उप्रेतीको ‘फिरफिरे फिरिरि’ डेब्यु फिल्म हो । थिएटर हुँदै फिल्ममा प्रवेश गरेकी उप्रेतीको यो फिल्म माघ ४ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउँदैछ । पहिलो फिल्म सफल बनाउन उनी प्रचारमा समेत लागि परेकी छन् ।
‘खत’, ‘दामिनी भिर’, ‘सपना अनेक अनेक’ लगायत ४ नाटक र आधा दर्जन बढी म्युजिक भिडियो अभिनय अनुभव भएकी उनले फिल्म थिएटर अभिनयका कारण हात परेकी हुन् ।
हरर कमेडी फिल्म ‘फिरफिरे फिरिरि’मा आफ्नो भूमिका भूतको रहेको उनले बताइन् । फिल्ममा मनोजकुमार अधिकारी, सन्दीप श्रेष्ठ, रविना केसी, पुष्प अवस्थी लगायतको समेत मुख्य भूमिका छ । थिएटर अनुभव भएकोले डेब्यु फिल्ममै दर्शकको मन जित्न सक्ने बताउने नव–अभिनेत्री उप्रेतीलाई रातोपाटीको दर्जन प्रश्न ।
- ‘फिरफिरे फिरिरि’को अफर कसरी मिल्यो ?
– फिल्मका लागि म अडिसन मार्फत छानिएकी हुँ । फिल्मको लागि हिरोइनको खोजी भइरहेको रहेछ । फिल्म युनिटका एक सदस्यले मेरो नाटक हेर्नु भएको रहेछ । सोही आधारमा मलाई फिल्मको लागि अडिसन दिन बोलाइयो । अडिसनबाटै म सेलेक्ट भएको हो । फिल्मको कथा र चरित्र पनि मनपर्यो । अनि अभिनयमा होमिएँ ।
- फिल्म प्रदर्शनमा आउँदै गर्दा कस्तो महसुस गरिरहनु भएको छ ?
– यो मेरो डेब्यु फिल्म हो । पहिलो फिल्म हलमा लाग्ने कुरोले एकदमै खुसी मिल्दो रहेछ । भित्रभित्रै डर पनि छ । फिल्मको व्यवसाय के होला, दर्शकले मेरो अभिनयलाई कसरी हेर्लान् भनेर अलिअलि नर्भस पनि छु । अभिनयमा मैले उत्कृष्ट दिने कोसिस गरेकी छु । दर्शकले अभिनय रुचाउँछन् होला ।
- प्रचार प्रसार कस्तो छ ?
– फिल्मको प्रचार प्रसारमा हामी टिम नै लागिरहेका छौँ । अहिलेसम्म नर्मल प्रचारप्रसार भइरहेको छ । फिल्मको प्रदर्शन मिति नजिकिँदै गर्दा प्रचारप्रसारको दौडधुप बढेको छ ।
- फिल्ममा तपाईँको भूमिका कस्तो छ ?
– अहिले यस्तै भूमिका भनेर खुलाउन नमिल्ने छ । ट्रेलरबाट मेरो भूमिका भूतको भएको अनुमान धेरैले लगाएका छन् । यो हरर कमेडी फिल्म हो । जसमा मेरो पात्र प्रवेश भए पनि फिल्मको कथामा उतारचढाव आउँछ । फिल्मको मुख्य अभिनेत्री मै हुँ ।
- थिएटरबाट फिल्ममा किन आउन मन लाग्यो ?
– सानैदेखि मलाई थाहा भएको थिएटर भन्दा पनि फिल्म हो । फिल्ममा आउने रहर पनि थियो । हुर्किँदै जाँदा थिएटर यस्तो रहेछ, आर्ट यस्तो हुँदोरहेछ, स्टेज पफमेन्स यस्तो रहेछ भनेर थाहा पाउने मौका मिल्यो । त्यसपछि अभिनय सिक्नका लागि थिएटरमा आबद्ध भएँ । थिएटर अभिनयले नै फिल्ममा अवसर दिलायो ।
- फिल्ममा निरन्तरता दिने सोच छ कि, छैन ?
– म अभिनयका लागि थिएटर छिरेको थिए । फिल्ममा पनि भित्रिएँ । अब, थिएटर र फिल्म दुवै अभिनयलाई निरन्तरता दिन्छु ।
- कलाक्षेत्रमा महिला कलाकारलाई हेर्ने दृष्टिकोण कस्तो छ ? के पाउनु भयो ?
– म सानो छदा महिला कलाकारलाई हेर्ने दृष्टिकोण नकारात्मक पाउँथे । तर, अहिले त्यो अवस्था छैन । अहिले परिवारले नै आफ्नो छोरी, चेली यो क्षेत्रमा ल्याउन चाहन्छन् । त्यो भनेको यो क्षेत्रमा महिलालाई राम्रो भएको पाउनु पनि हो । पछाडि विभिन्न कुरा गर्छन् होला । अगाडि आएर कसैले यस्तो भन्दैन । मेरो घर दमक हो । म घर जाँदा धेरैले कहिले फिल्म आउँछ भनेर सोधिरहेको हुन्छन् । म त फिल्म क्षेत्रमा अहिले महिलालाई धेरै राम्रो देख्छु ।
- कलाकारितामा केही सपना पनि देख्नुभएको छ कि ?
– ठुलो सपना केही छैन । राम्रो फिल्म, राम्रो चरित्र अभिनय गर्न पाउँ । सबैले अभिनयका कारण चिनोस् । मलाई पैसाको लागि भन्दा आफ्नो खुसीका लागि काम गर्न मनपर्छ ।
- अध्ययन आइटी, कर्म अभिनय । अभिनय रुचि र पेसा आइटी त होला नि ?
– अहिले पेसा, रुचि जे भने पनि मेरो कलाकारिता हो । थिएटरमा आएपछि आइटी छोडिसकेँ ।
- अब कुन नायकसँग फिल्म खेल्न मन छ ?
– यही नायकसँग फिल्म अभिनय गर्न पाएँ हुन्थ्यो भन्ने भन्दा पनि अभिनय गर्दै जाँदा सबै जनासँग काम गर्ने इच्छा छ ।
- फिल्म ग्ल्यामर क्षेत्र हो । यसमा अङ्ग प्रदर्शन आवश्यक छ भनिन्छ, हो र ?
– शरिर भनेको उपयोगका लागि हो । यसलाई कस्तो र कुन अवस्थामा उपयोग गर्ने भनेको हामीमा भरपर्छ । फिल्ममा अङ्ग प्रदर्शन आवश्यक छ, छैन भन्ने भन्दा पनि फिल्मको कथाले मागे, चरित्रले खोजे कला देखाउने सिलसिलामा अङ्ग प्रदर्शन गर्नुपर्ने पनि हुनसक्छ । हामी कलाकार भएपछि हाम्रो अङ्ग प्रदर्शन पहिरनसँग भन्दा आर्टसँग सम्बन्धित हुनुपर्छ ।
- फिल्ममा धेरैले बिक्न र टिक्न गाह्रो छ भन्छन् । टिक्न सकिएला त ?
– ‘फिरफिरे फिरिरि’ मेरो डेब्यु फिल्म हो । यसमा गर्ने काम गरिसके । त्यसको रिजल्ट हेर्न बाँकी छ । फिल्मको प्रदर्शनपछि दर्शकबाट पाएको प्रतिक्रियाबाट म आफूलाई परिष्कृत गरेर अगाडि बढाउनेछु । फिल्म क्षेत्रमा मात्र होइन, जुनै क्षेत्रमा पनि प्रतिस्पर्धा राम्रो छ । मिहिनेत गरेर निरन्तरता दिन सकिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोहितविना मैदानमा उत्रेको भारत १ सय ८५ रनमा सीमित
-
‘हारे हारे’मा साम्राज्ञी र विशाल रोमान्टिक अवतार
-
न्यू अर्लियन्सको ट्रक हमला आतङ्कवादी हमला थियो ?
-
‘साँच्चै भन्दा भीम रावल आफैँ पार्टीमा रहन चाहनुभएन’ : ईश्वर पोखरेल
-
तत्काललाई येओललाई समात्ने प्रयास स्थगित
-
ठगीमा मुछिएपछि लेखा समितिका सभापतिको स्वकीय सचिव बर्खास्त