आइतबार, २७ माघ २०८१
ताजा लोकप्रिय
विभेद

महिनावारीले कृषि उत्पादनमा असर पर्छ रे !

मङ्गलबार, १६ पुस २०८१, १४ : ३०
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । कैलालीकी हुन्, माया परियार । ३५ वर्षकी उनी गाउँकै मेहनती महिला भनेर चिनिन्छिन् । 

माया बिहानदेखि बेलुकासम्म खेतबारीमा खटिन्छिन्, पशुपालन गर्छिन्, र तीन छोराछोरीको हेरचाहमा समय बिताउँछिन् । उनका लागि दिनभरिको श्रम त्यति पीडादायी छैन, जति महिनावारीका दिन हुन्छ । 

उनको गाउँमा अझै पनि महिनावारी भएकी महिला ‘अपवित्र’ हुन्छे भन्ने मान्यता छ । मायाले भित्तामा झुन्डिएको दाउराको भारी देखाउँदै भनिन्, ‘महिनावारी हुँदा घरकै छेउमा राखेको दाउरासमेत टिप्न दिँदैनन्, खेतबारीमा काम गर्न त परको कुरा । रोप्ने समय ढिला हुँदा फसल पनि बिग्रन्छ ।’ 

मायाका अनुसार महिनावारीका बेला उनलाई घरको भान्सामा छिर्न दिइँदैन । उनी सधैँ अलग्गै कोठामा बस्नुपर्छ । परिवारका सदस्यले खाना तयार पार्छन्, तर माया त्यो खाना नजिकै गएर लिन पनि सक्दिनन् । ‘यतिसम्म कि दुध–दही, घिउ खान मिल्दैन भन्छन् । मलाई महिनामा चार दिनको गर्जो काट्नकै लागि रोटी र नुनको भर पर्नुपर्छ,’ उनी भन्छिन् ।

माया जस्तै रिता अधिकारी पनि कृषिमा सक्रिय महिला हुन् । विगतको अनुभव सुनाउँदै उनले भनिन्, ‘गत साल रोपाइँको बेला महिनावारी भए । सबै खेतमा खटिइरहेका थिए, म घरमै थुनिएँ । महिनावारी हुँदा म तरकारी बारीमा काम गर्दै थिएँ । काम सकिएपछि तरकारी कुहिन्छ भनेर गाईको गहुँत छर्किन लगाइयो । यस्तो हुँदा मन कति कुँडिन्छ, भन्नै नसकिने !’

महिनावारीका दिन तरकारी बारी जान नपाउँदा माया मात्रै होइन, सिङ्गो परिवारको काम ठप्प हुन्छ । उनका श्रीमान् र छोराछोरीको समय पनि प्रभावित हुन्छ । माया भन्छिन्, ‘मबिना घरका अरू सदस्यलाई थप मिहिनेत गर्नुपर्छ । महिनावारीलाई पापजस्तो किन मानिन्छ, म बुझ्न सक्दिनँ ।’

महिनावारी हुँदा खेतमा जानु हुँदैन, बालीहरूमा किरा लाग्छ भन्ने अन्धविश्वास त्यहाँ कायमै छ । उनले भनिन्, ‘महिनावारीसँग जोडिएको गलत संस्कार परिवर्तन गर्नुपर्छ । महिनावारीलाई मर्यादित बनाउनुपर्छ ।’ 

महिनावारीका बेला सुरक्षित र स्वच्छ मर्यादित महिनावारीमैत्री सामग्री प्रयोग गर्ने कुरा मायाका लागि अझै सपना जस्तै छ । उनले भनिन्, ‘बजारमा पाइने स्यानिटरी प्याड महँगो छ । महिनाको चार दिन पुरानो कपडाले काम चलाउँछु । तर, कहिलेकाहीँ त्यो पनि फोहोर भएर घाउ हुन्छ । उपचारका लागि पनि पैसा हुँदैन । यस्तो जीवन कहिलेसम्म सहनु ?’  

तैँ चुप मै चुप 

महिनावारी विभेदका कारण ग्रामीण क्षेत्रका महिलाहरूले माया र रिताजस्तै जस्तै समस्या भोगिरहेका छन् । तर, सबैजना चुप लागेर सहन्छन् । मायाका छिमेकी जानकी त कहिलेकाहीँ खेतबारीमा लुकीछिपी जान्छिन्, तर त्यसपछि उनलाई अपमानित गरिन्छ । ‘म पुरुषको जस्तै मेहनत गर्छु, तर महिनावारी हुँदा सबै थोकबाट टाढा राखिन्छ । यो कस्तो न्याय ?,’ माया प्रश्न गर्छिन् । 

मायाका छोरीहरू स्कुल जान थालेपछि उनीहरूले महिनावारीका बारेमा केही नयाँ कुरा सिकेका छन् । ‘छोरीहरूले महिनावारी स्वाभाविक प्रक्रिया हो भन्छन् । उनीहरूले पनि यस्तो विभेद झेल्न नपरोस् भनेर चाहन्छु,’ उनी भन्छिन् । 

स्थानीय केही संस्थाहरूले स्यानिटरी प्याड वितरण गर्न थालेका छन् । विद्यालयमा पनि महिनावारीमैत्री शौचालय बनाइएको छ । ‘यी प्रयास राम्रो हो, तर महिनावारीलाई मर्यादित बनाउन नसक्दा विभेदहरू हट्न अझ धेरै समय लाग्नेछ,’ माया भनिन्छन् ।

कृषिमा महिला

नेपालको ग्रामीण जीवन महिलाको श्रमबिना अधुरो छ । विशेष गरी कृषि क्षेत्रमा महिलाहरूको योगदान महत्त्वपूर्ण छ । 

तर, महिनावारी भएका बेला गरिने सामाजिक र सांस्कृतिक विभेदले उनीहरूको काममा बाधा पुर्‍याउँछ । यसले न केवल महिलाको व्यक्तिगत जीवनमा असर पुर्‍याउँछ, तर समग्र कृषि उत्पादन र परिवारको आर्थिक स्थितिमा पनि प्रभाव पार्छ ।

नेपालको ग्रामीण भेगमा झण्डै ६० प्रतिशत भन्दा बढी कृषि महिलाहरूको श्रममा आधारित छ । उनीहरूले जोत्ने, रोप्ने, गोडमेल गर्ने, र फलफूल भित्र्याउने काम गर्छन् । पशुपालन, दुध उत्पादन, र घरायसी काम समेत उनैका जिम्मामा हुन्छन् । तर, महिनावारी हुँदा उनीहरूलाई ‘अपवित्र’ ठहर्‍याएर काम गर्नबाट रोक लगाइन्छ । त्यसले कृषि क्षेत्रमा नै असर गरेको छ । 

नेपाली कृषिमा करिब ३० प्रतिशतको हाराहारीमा मिन्सुरेटर (पाठेघर लिएर जन्मिएका) संलग्न छन् । नेपालको सातौँ राष्ट्रिय कृषिगणना २०७८ अनुसार ४१ लाख ३० हजार कृषक परिवारमध्ये १३ लाख ३८ हजार मिन्सुरेटर सङ्ख्या छ । यीमध्ये अधिकांश तरकारी खेती तथा तरकारी व्यवसायमा संलग्न छन् ।

महिनावारी भएकाहरूलाई तरकारी व्यवसायमा पनि कुनै न कुनै तरिकाबाट विभेद भएको देखिन्छ । महिनावारी विभेदका कारण २५ दिन र ५ मा गरिने काम फरक छ । त्यही फरक कामले नेपालको कृषि प्रणालीमा समेत असर गरेको छ । तर, कुनै सरकारी, गैरसरकारी निकाय व्यक्तिले त्यसलाई अध्ययनको विषय बनाएका छैनन् । 

महिनावारी हुँदा गरिने विभेद

  • महिनावारी भएका बेला महिलालाई खेतबारी, गोठ, र भान्सामा जान नदिनु सामान्य चलन हो । उनीहरूले दुध, दहीजस्ता पोषणयुक्त खाना खान पाउँदैनन् । 
  • महत्त्वपूर्ण कृषि कार्यको समयमा महिलाहरूलाई काम गर्न नदिँदा खेतबारीको काम समयमै पूरा हुँदैन । उदाहरणका लागि, रोपाइँको समयमा महिनावारी परेको खण्डमा उनीहरूलाई खेतमा जान प्रतिबन्ध लगाइन्छ । यसले रोपाइँ ढिलो हुन सक्छ, जसको असर फसलको उत्पादनमा पर्छ ।
  • महिनावारी हुँदा गरिने विभेदका कारण उनीहरूको जीवनमा निम्न प्रकारका असरहरू पर्छन्:
  • महिनावारीका बेला महिलाहरूलाई कामबाट अलग राख्दा परिवारका अन्य सदस्यहरूले थप काम गर्नुपर्छ । यसले सिङ्गो श्रम संरचनालाई अव्यवस्थित बनाउँछ ।
  • महिलाहरूको काम रोकिँदा परिवारको उत्पादनशीलता घट्छ । कृषिमा निर्भर परिवारहरूको आयमा प्रत्यक्ष असर पर्छ ।
  • महिनावारी विभेदले कृषि उत्पादनमा पर्ने असर परेको छ । महिनावारीका कारण महिलाहरूलाई खेतबारीको काममा सहभागी हुन नदिँदा समयमै काम पूरा नहुन सक्छ । समयमै मलजल गर्न नसक्दा बाली कमजोर हुने सम्भावना हुन्छ ।

तरकारी बजारमा महिनावारी विभेद

काठमाडौँस्थित कालीमाटी फलफूल तथा तरकारी बजारमा महिला व्यवसायीहरूले महिनावारीका कारण भोग्नुपरेका विभेद, कठिनाइ र चुनौतीहरूले समाजको संरचनात्मक असमानताको प्रतिनिधित्व गर्छन् । पाँच वर्षदेखि कालीमाटीमा तरकारी व्यवसाय गर्दै आएकी संजिता पाठकले महिनावारी हुँदा उनको दैनिकी पूर्ण रूपमा फेरिने अनुभव सुनाइन् । 

सामान्य अवस्थामा बिहान घरमा खाना पकाएर पसल आउने उनी महिनावारीको समयमा भने भान्सामा जान पाउँदिनन् । परिवारले लगाएको यो बन्देजका कारण उनलाई घरमै पकाएर खाने सुविधा बन्द हुन्छ । महिनाका पाँच दिन खाजा पसलमा भर पर्नुपर्दा समयमा खाना नपाउने अवस्था सिर्जना हुन्छ ।

‘महिनाको पाँच दिन क्यान्टिनबाट नै खान्छु,’ संजिता भन्छिन्, ‘आफूले पकाउन नपाएपछि समयमा खाना पाइँदैन।’ महिनावारी सामाग्रीको प्रयोग र त्यसको व्यवस्थित व्यवस्थापनमा सजग हुने प्रयास गरे पनि सार्वजनिक शौचालयहरूको फोहोर र अस्वस्थ अवस्थाले उनलाई झन् अप्ठ्यारो पार्छ । फोहोर राख्ने भाँडो (डस्टबिन) र पानी जति पर्याप्त भए पनि शौचालयको सरसफाइको अभावले दैनिक जीवन कठिन बनाएको उनले बताइन् ।

तरकारी बजार महिलाहरूको ठुलो सङ्ख्याले चलाउने र रोजगारीको स्रोत हो। यद्यपि, त्यहाँ पनि महिनावारीसम्बन्धी विभेद अझै पनि गहिरो जरा गाडेर बसेको छ ।

  • शौचालयको अभाव: तरकारी बजारमा शौचालयजस्तो आधारभूत सुविधा उपलब्ध छैन। महिनावारी भएका महिलाहरूका लागि यो अवस्था झन् जटिल बन्छ । शौचालय नहुँदा महिनावारीमा उनीहरूलाई उचित सरसफाइ कायम राख्न समस्या पर्छ ।
  • महिनावारी प्याडको पहुँचको अभाव: बजारमा महिनावारीका बेला प्रयोग हुने प्याडहरू राख्ने वा बदल्ने कुनै व्यवस्था छैन । यो आधारभूत आवश्यकताको अभावले महिलालाई असहज र अस्वस्थ बनाउँछ ।
  • सामाजिक र सांस्कृतिक विभेद: महिनावारी भएकी महिलालाई बारीमा टिप्ने तरकारीमा छोइहाल्दा ‘अपवित्र’ मानिन्छ, तर तिनै तरकारी बजारमा बेच्न भने कुनै आपत्ति हुँदैन। यो मानसिकता महिलाको श्रमप्रतिको असम्मान झल्काउने अर्को उदाहरण हो ।
  • पानी नपिउने बाध्यता: महिनावारीको बेला बारम्बार पिसाब लाग्न सक्ने डरले धेरैजसो महिलाले पानी पिउनबाट समेत बच्ने गर्छन्। यसले उनीहरूको स्वास्थ्यमा नकारात्मक असर पुर्‍याउँछ।

महिनावारीलाई लिएर गरिने विभेदले केवल महिलाहरूको जीवनमा मात्र समस्या ल्याउँदैन, यसले कृषिमा उनीहरूको योगदानलाई पनि उपेक्षा गर्छ । यदि यो महिनावारी विभेद हटाइएन भने महिलाको श्रमको कदर हुन सक्दैन, जसले समग्र कृषि प्रणाली र ग्रामीण जीवनलाई कमजोर बनाउँछ । महिला व्यवसायीहरूको अनुभवले देखाएको विभेद र असुविधाले तरकारी बजार जस्ता कार्यक्षेत्रमा महिला अधिकार र गरिमामाथि गम्भीर प्रश्न खडा गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप