शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

बार्सिलोनाको विपक्षमा अदालतको आदेश

६ करोड युरोमा भित्राएको ओल्मोले खेल्न नपाउने !
मङ्गलबार, १६ पुस २०८१, १२ : ३३
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । स्पेनिस क्लब बार्सिलोनाले भर्खरै क्लबमा भित्राइएका आक्रामक मिडफिल्डर डानी ओल्मोसँग सम्बन्धित दोस्रो पुनरावेदनमा पनि निराशा भोग्नु परेको छ । स्पेनिस खेलाडी ओल्मोलाई बाँकी सिजनका लागि पनि क्लबमा दर्ता गर्न पाउनु पर्ने बार्सिलोनाको मागलाई अदालतले अस्वीकार गरेको हो । 

खेलाडी दर्ताको अन्तिम समयसिमाभन्दा एक दिनअघि अदालतले बार्सिलोनाको दोस्रो पुनरावेदनलाई पनि अस्वीकार गरेको हो । दोस्रो पुनरावेदनमा पनि अदालतले आफ्नो पक्षमा फैसला नसुनाएपछि ओल्मोले बाँकी सिजन बार्सिलोनाबाट खेल्ने सम्भावना लगभग समाप्त भएको छ । 

बार्सिलोनाले गत अगस्तमा २६ वर्षीय ओल्मोलाई जर्मन क्लब आरबी लाइपजिगबाट भित्राएको थियो । बार्सिलोनाले ओल्मोका लागि ६ करोड युरो खर्चिएको थियो । तर, ओल्मोलाई क्लबमा भित्राउने क्रममा बार्सिलोनाले खेलाडी दर्ता सम्बन्धी नियमहरू पुरा नगरेको आरोप लागेपछि विवाद सृजना भएको थियो । 

ओल्मोसँग भएको सम्झौताको एउटा बुँदाले बार्सिलोना उनलाई ला लिागमा दर्ता गराउन असफल भएमा ओल्मोलाई एकतर्फी रुपमा क्लबबाट बाहिरिने अनुमति पनि दिएको छ । बार्सिलोनाका लागि यो अर्को झट्का हुनेछ । 

ओल्मोलाई भित्राउँदा बार्सिलोनाले ला लिगाको पारिश्रमिकसँग सम्बन्धित नियमहरू पालना नगरेको आरोप छ । त्यसैले ओल्मोलाई अघिल्लो आधा सिजनका लागि मात्र ला लिगामा दर्ता गरिएको थियो । त्यो अवधि समाप्त भएपछि विवाद सुरु भएको थियो । विवादित बढेपछि अदालतसम्म पुगेको हो ।

अदालतमा गत साता बार्सिलोनाले ओल्मोलाई खेलाउन पाउनु पर्ने माग गरेको थियो । तर, अदालतले बार्सिलोनाको उक्त मागलाई अस्वीकार गरेको थियो । त्यसपछि बार्सिलोनाले यस विषयमा पुनरावेदन गरेको थियो । अहिले बार्सिलोनाको त्यो पुनरावेदनलाई पनि अदालते अस्वीकार गरेको छ ।

अदालतबाट दोस्रो पुनरावेदन पनि अस्वीकार भएपछि अब ओल्मोले आगामी जनवरीदेखि बार्सिलोनाबाट खेल्न नपाउने सम्भावना बढेको छ । ला लिगाका अनुसार, ओल्मोलाई भित्राउँदा बार्सिलोनाले नियमहरू पालन नगरेकाले यस्तो स्थिति सृजना भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप