शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

बीपीको मेलमिलापको नीतिको सान्दर्भिकता

मङ्गलबार, १६ पुस २०८१, १२ : १२
मङ्गलबार, १६ पुस २०८१

४८ वर्षअघि आजकै दिन (२०३३ पुस १६ गते) आठ वर्ष लामो भारत निर्वासनबाट मृत्यदण्ड समेतको पर्वाह नगरी आफ्ना सहकर्मीसहित राष्ट्रिय मेल–मिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्किएका थिए । यसै दिन (पुस १६)लाई नेपाली कांग्रेसले राष्ट्रिय मेलमिलाप दिवसका रूपमा मनाउँदै आएको छ । 

दुईतिहाइ बहुमतसहित प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको मन्त्री परिषद् र संसद् विघटन गरी अर्थात् प्रजातन्त्रलाई निमोडेर राजा महेन्द्रले २०१७ पुस १ गते पञ्चायती व्यवस्था लादेका थिए । त्यति बेला उनले राजनीतिक दलमाथि प्रतिबन्ध मात्र लगाएनन् बीपी, गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई लगायत नेताहरूमाथि देशद्रोहको मुद्दा समेत लगाएर जेल हाले । जेल हालिएको आठ वर्षपछि २०२५ कात्तिक १४ गते बीपी कोइराला लगायत नेताहरू जेलमुक्त भएका थिए । त्यसपछि उनीहरू भारतमा निर्वासन जीवन बिताउन थाले । त्यसको आठ वर्षपछि अर्थात् २०३३ पुस १६ गते बीपी कोइराला, गणेशमान सिंह, शैलजा आचार्य, खुमबहादुर खड्का लगायत नेता आफूहरूमाथि लगाइएको मृत्युदण्डको मुद्दाको बेवास्ता गर्दै राष्ट्रियता जोगाउन राजसंस्था र सबै राजनीतिक दलहरू मिलेर अघि बढ्नुपर्ने नीति अँगाल्दै स्वदेश फर्केका थिए ।


नेपाल तरुण दलको महाधिवेशन उद्घाटनमा सरिक भइरहेकोे अवस्थामा २०१७ पुस १ गते नेपाली कांग्रेसका सभापति समेत रहेका बीपीलाई पक्राउ गरी सुन्दरीजल जेल लगियो र प्रजातन्त्रमाथि ‘कू’ गरियो । 

गणतन्त्रको बिउ त राजा महेन्द्रले २०१७ सालमा प्रजातन्त्र खोसेर कांग्रेसलाई दमन गर्दै कांग्रसको काउन्टरमा दरबारिया दानापानीमा रोयल कम्युनिस्ट उत्पादन गरेर रोपेका थिए । यस्तो दरबारिया षड्यन्त्रको चक्रव्यूहमा परेको नेपाली कांग्रेसले त्यही राजतन्त्रसँग देश बचाउन मेलमिलापको हात अघि बढायो ।

हाम्रा नेताहरूले २०४६ मा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, कांग्रेसको नेतृत्वमा तत्कालीन सात दलले माओवादीसँग गरेको १२ बुँदे समझदारी र त्यसमा टेकेर गरिएको ०६२/०६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौता र २०७२ मा संविधान निर्माण पनि निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो भन्न सकिन्छ ।
  • मेलमिलापको पक्षमा कांग्रेस

कांग्रेसले आफ्नो स्थापनाकालदेखि नै क्रान्ति र शान्तिको मार्ग पहिल्याएको पाइन्छ । मध्ययुगीन दासतापूर्ण जहानियाँ राणा शासनकालको अन्धकार युगमा जनतामा चेतना भर्ने र समानताका लागि संघर्ष गर्ने कांग्रेसीको त्यो परिवेशको राजनीतिक चेतलाई क्रान्तिकारीको उत्साहपूर्ण बलिदानका रूपमा लिइन्छ । नेपालीलाई रैतीबाट नागरिक बनाउन सशस्त्र क्रान्ति गरेको कांग्रेसले भागेर नेपालस्थित भारतीय दूतावासको शरण हुँदै दिल्ली पुगेका राजा त्रिभुवनको राजगद्दी पुनस्र्थापना गरेको थियो । बहुदलीय प्रजातन्त्रलाई स्वीकार गरे राणालाई पनि देश नछाडी स्वदेशमै बस्न दिने नीति कांग्रेसले अंगीकार गरेको थियो । यही नीतिका कारण भारतको दिल्लीमा कांग्रेस, तत्कालीन राजा श्री ५ त्रिभुवन र राणाहरूका बिचमा त्रिपक्षीय सम्झौता भयो र प्रजातन्त्र (२००७ फागुन ७ गते) आयो । 

प्रजातन्त्रपछि राजाको समेत प्रतिनिधि रहने गरी तत्कालीन श्री ३ महाराज मोहन शमशेरको नेतृत्वमा बीपी कोइराला गृहमन्त्री रहेको मन्त्रीमण्डल गठन भयो । राणाहरूको श्री ३ पदवी खोसियो, राजाले मात्र श्री ५ लेख्न पाउने अधिकार रह्यो । यो घटना पनि क्रान्तिका बिचमै पनि शान्ति र बढी रक्तपात नहोस् भन्नका खातिर एउटा मेलमिलापको नीति थियो । प्रजातन्त्रमा कसैको हार हुँदैन भन्ने एउटा बलियो उदाहरण हो, २००७ सालको त्रिपक्षीय सम्झौता पनि ।

२०३१ वैशाख १३ (सन् १९७५ अप्रिल २६) मा भारतले सिक्किमलाई आफ्नो मुलुकमा विलय गराएपछि बीपीलाई नेपालको अस्तित्व पनि संकटमा पर्न लागेको आशंका भयो । राजा र आफ्ना बिचमा फाटो गराएर नेपालको राष्ट्रिय अस्मितालाई धरापमा पार्ने षड्यन्त्र भइरहेको बीपीले पूर्वानुमान लगाए । यही परिवेशमा अनेक अप्ठेरोका बिच पनि मातृभूमि र नेपाली जनताको मायाले गर्दा आफ्नो ज्यानको बाजी लगाएर बीपी नेपाल फर्केका थिए । मुलुक नै नरहे केका लागि र कसका लागि राजनीति गर्नु ? पहिला मुलुक बचाउँ, अनि राजासँग, पञ्चसँग जो–जोसँग लड्नुपरे पनि लडौँला भनेर बीपी स्वदेश फर्केका थिए । दक्षिण एसियामा देखिएको तत्कालीन राजनीतिक संक्रमणबाट नेपाललाई बचाउन आफूमाथिको मृत्युदण्डको मुद्दालाई समेत बेवास्ता गर्दै त्यसबेला स्वदेश फर्केका महामानव बीपीले पत्रकारले राखेका जिज्ञासामा मुलुकको सार्वभौमसत्ता रक्षाका लागि जनशक्ति (राजनीतिक दल) र राजशक्ति (राजा) मिल्नुपर्ने धारणा राखेका थिए । bp-koirala

निरंकुश राजतन्त्रलाई बीपीले कहिल्यै स्वीकार गरेनन् तर बीपीले राजासँग मिल्नुपर्छ भनेका थिए । कांग्रेसले कम्युनिस्टसँग मिलेर राजा फाल्यो भनेर गलत भाष्य निर्माण गर्न खोजिँदै छ । बीपीले राजासँग मिल्ने कुरा कुन सन्दर्भ र प्रसंगमा गरेका थिए । विश्लेषण नगरी एकोहोरो राजाको कुरा मात्र गर्दा मेलमिलाप नीतिको उद्देश्य, औचित्य र सान्दर्भिकता माथि अन्याय हुन जान्छ ।

आजभन्दा ५० वर्षअघि सिक्किममा सिक्किम नेसनल कांग्रेस र सिक्किम जनता कांग्रेससँग राजा छोग्यालको द्वन्द्व बढेर जाँदा राजतन्त्र मात्र समाप्त भएन, देशको स्वतन्त्र अस्तित्व नै सकियो । भारतीय गुप्तचर संस्था रअ र प्रधानमन्त्री इन्दिरा गान्धीको गुप्त योजना अनुसार नै सिक्किमलाई भारतले निलेपछि बीपीले देश जोगाउन राष्ट्रिय मेलमिलापको नीति लिएका थिए । यही नीतिपछि सशस्त्र विद्रोहको तयारी गर्दै गरेको कांग्रेसले हतियारको राजनीति छाड्दै शान्तिपूर्ण राजनीतिमा आउने सोचाइ बनाएकोे पाइन्छ । 

बीपीको स्वदेश आगमन र त्यसको प्रभावले देशमा प्रजातान्त्रिक आन्दोलनका पक्षमा राजनीतिक तरंग सिर्जना गर्‍यो, सर्वसाधारण जनता समेतलाई प्रभावित गर्‍यो । त्यसैको परिणाम २०३५ को विद्यार्थी आन्दोलन, २०३६ को जनमत संग्रह हँुदै राजनीति केही खुकुलो भयो । त्यही मेलमिलापको नीतिमा टेकेर कांग्रेसले राणा, राजा र कम्युनिस्टलाई प्रजातन्त्र र जनतामा निहित सार्वभौम सत्ता (अर्थात् जनताको सर्वोच्चता)लाई स्वीकार गराउन समय–समयमा कठोर संघर्ष गर्नुपरेको इतिहास साक्षी छ । कांग्रेसले २०४२ सालमा गरेको सत्याग्रह आन्दोलनले पार्टीलाई थप संगठित गर्न मद्दत पुग्यो र कांग्रेस पार्टीकै नेतृत्वमा २०४६ को राष्ट्रिय जनआन्दोलन सम्पन्न भई प्रजातन्त्र पुनः स्थापना भएको थियो ।
राष्ट्रिय एकता तथा मेलमिलाप नीतिको प्रतिपादन र पछि यसको व्याख्या गर्दा राष्ट्रियताको विषयमा बीपीले भनेका थिए — राजामा जुन राष्ट्रियताको तत्त्व छ, त्यस कारणले राजाले प्रजातन्त्रलाई पनि स्वीकार गर्छन् भने राजा पनि चाहिन्छ । यसोभन्दा निरंकुश राजा चाहिन्छ भनेको होइन । बीपीले कम्युनिस्ट पार्टीहरूसँग कहिले पनि सहकार्य गरेनन्, गर्ने पक्षमा पनि थिएनन् । किनकि कम्युनिस्टहरू सर्वहारा वर्गको एकदलीय अधिनायवादी शासनको वकालत गर्दथे । उनीहरू प्रजातन्त्रलाई मान्दैनथे । अधिकार सार्वभौम जनतामा होइन, कम्युनिस्ट पार्टीको पोलिटब्युरोमा हुनुपर्छ भन्ने कम्युनिस्टहरूको नीतिको खरो विरोधी थिए बीपी ।

कम्युनिस्टले बहुदलीय व्यवस्था, मानव अधिकार, प्रेस स्वतन्त्रता र जनताको सर्वोच्चतालाई स्वीकार गरेको भए २०३६ सालको जनतमत संग्रहमा बहुदलको नीलो रङको मतपत्रमा छाप लगाउँथे र त्यसैबेला निरंकुश पञ्चायत व्यवस्था समाप्त हुन्थ्यो । जनमत संग्रहमा केही कम्युनिस्टले पञ्चको पहेँलो रङमा भोट हाले भने केहीले यो बहुदल भनेको कांग्रेसले ल्याउन चाहेको व्यवस्था हो, हाम्रो होइन भनेर जनमत संग्रहमा तटस्थ बसे । 

मनमोहन अधिकारीको माक्र्सवादी समूहले पञ्चायतभन्दा कांग्रेसले चाहेको बहुदल उचित छ भनेर बहुदलको पक्षमा भोट हालेका थिए । यिनै कारणले बीपीले नेपालका कम्युनिस्टहरूका प्रतिविश्वास र भरोसा गर्न सकेनन् । जब कम्युनिस्टले पूर्वी युरोपमा कम्युनिस्ट सत्ताको पतनको शृंखला देखे, तब उनीहरूमा प्रजातन्त्रलाई स्वीकार गरेर अघि नबढेमा नेपालबाट पनि आफ्नो अस्तित्व समाप्त हुने कुरा बुझे । त्यसपछि उनीहरूले प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था र जनताबाट निर्वाचित प्रतिनिधिले बनाएको संविधान र कानुन अनुसार शासनसत्ता सञ्चालन हुने कुरालाई स्वीकार गरे । तब सर्वोच्च नेता गणेशमानसिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्राद कोइरालाले २०४६ को संयुक्त जनआन्दोलनमा वाममोर्चाका रूपमा सँगै प्रजातन्त्र प्राप्तिको आन्दोलनमा कम्युनिस्टलाई सहभागी बनाएका थिए । 

कतिपय मानिसले बीपीको जीवनपछि बीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति कांग्रेसले परित्याग गर्‍यो भनेर त्यसको अपव्याख्या पनि गर्दै आएका छन् । मूलतः प्रजातन्त्र र जनतामा निहित सार्वभौमसत्ता नस्विकार्नेसँग सहकार्य नगर्ने बीपीको नीति थियो । जब कम्युनिस्टहरू जनताको सर्वोच्चतालाई स्वीकार गर्ने र बहुदलीय प्रजातन्त्रलाई मान्ने सवालमा सँगै आन्दोलन र सहकार्य गर्न राजी भए, तब मात्र कांग्रेसले नेपालका कम्युनिस्ट घटकहरूसँग सहकार्य र मेलमिलापको नीति अंगीकार गरेको पाइन्छ । हाम्रा नेताहरूले २०४६ मा वाममोर्चालाई साथ लिएर गरेको जनआन्दोलन, कांग्रेसको नेतृत्वमा तत्कालीन सात दलले माओवादीसँग गरेको १२ बुँदे समझदारी र त्यसमा टेकेर गरिएको ०६२/०६३ को जनआन्दोलन, विस्तृत शान्ति सम्झौता र २०७२ मा संविधान निर्माण पनि निश्चय नै मेलमिलापको नीतिमा आधारित नै थियो भन्न सकिन्छ । 

कसैले प्रजातन्त्र र जनताको सर्वोच्चतालाई स्वीकार गर्‍यो र राष्ट्रियता, लोकतन्त्र र समाजवादको पक्षमा आफूलाई उभ्याउने प्रयास गर्‍यो भने कांग्रेसले ऊसँग मेलमिलाप गरेर देश विकासको महायात्रामा सहभागी गराउनुको सट्टा अनावश्यक द्वन्द्व सिर्जना गरेर मुलुकमा झमेला बढाउँदैन भन्ने नै बीपीको नीति थियो । राजा त्रिभुवनले प्रजातन्त्रका पक्षमा भित्री रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाउँदा भागेर दिल्ली गए पनि कांग्रेसले नै स्वदेश फिर्ता गराएर राजगद्दीमा राखेकै हो । राजा महेन्द्रले प्रजातन्त्र खोस्दा महेन्द्र चढेको जिपमा जनकपुरमा कांगे्रसका दुर्गानन्द झाहरूले बम हानेकै हुन् र बाबुकै पथमा लागेर प्रजातन्त्र मास्ने निरंकुश राजा ज्ञानेन्द्रलाई राजगद्दीबाट कांग्रेसकै अगुवाइमा हटाइएकै हो । त्यसैले जब नेपालका कम्युनिस्टले प्रजातन्त्र र जनताको अधिकारलाई स्वीकार गरे, तब कांग्रेसले उनीहरूलाई राष्ट्रिय राजनीतिको मूल प्रवाहमा सँगै साथ लिएर द्वन्द्व मेटाएको पाइन्छ । 

इतिहासमा नेपाली कांग्रेस र नेपाली जनताको विरुद्ध जो जो उभिए, ती समाप्त भएर गएका छन् । यसका प्रशस्त उदाहरण छन् । १०४ वर्षे जहाँनिया राणा शासन, ३० वर्षे पञ्चायती शासन, २४० वर्षे शाही शासन सबै नेपाली कांग्रेस र नेपाली जनतासँग निहुँ खोज्दा, दमन गर्न खोज्दा समाप्त भएका हुन् । यो सब देखेका नेपालका कम्युनिस्टहरूले कांग्रेसलाई बुर्जुवा आदि–इत्यादि भने पनि नेपाली कांग्रेससँगको सहकार्य र सहयात्राबिना आफ्नो अस्तित्व जोगिन नसक्ने ठानेरै मेलमिलापको नीतिमा उनीहरू पनि आएकै हुन् र सहकार्य गरेका हुन् । राष्ट्रियताका सन्दर्भमा बीपीले राजसंस्था वा राजासँग गर्नुभएको मेलमिलापको प्रस्तावलाई राजा वीरेन्द्रले स्वीकार गरिएन तर जनमतसंग्रहमार्फत केही सुधारका प्रयास भने भए । बीपीको मेलमिलापको त्यो नीति स्वीकार नगर्नाको परिणाम हो अन्ततः देशबाट राजसंस्था नै पतन भयो । 

२०६२/६३ को परिवर्तनपछि नेपाली कांग्रेस स्वयंको नेतृत्वमा देशमा गणतन्त्र स्थापना भयो । बीपीले मेलमिलाप नीति प्रतिपादन गर्दाको विश्व राजनीतिक परिवेश र घरेलु परिस्थितिमा अहिले परिवर्तन आएको छ तर हाम्रो राष्ट्रियता र प्रजातन्त्रमाथि देखिएको चुनौती र खतरा भने अझै टरेको छैन । अहिले हाम्रा छिमेकी एवं मित्र राष्ट्रहरू र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीको नेपालप्रतिको चासो झन् बढेको छ । त्यो चासो कतिपय अवस्थामा दबाब र हस्तक्षेपकै तहमा देखिने गरेको छ । यस अवस्थामा राष्ट्रियतामाथिको चुनौती विगतमा भन्दा अझ बढ्दो छ । 

अब राष्ट्रियताको जगेर्ना गर्न र जनताको स्वाभिमानलाई अझ उच्च बनाउन बीपीको नीति, विचार र सिद्धान्तलाई शब्दमा भन्दा व्यवहारमा अवलम्बन गरिनुपर्छ । यसलाई वर्तमान राजनीतिक परिवेशमा थप परिभाषित एवं समृद्ध बनाउँदै राष्ट्रवादी एवं प्रजातन्त्रवादी शक्तिबिच व्यापक एकता र मेलमिलाप स्थापित गर्न जरुरी छ । अझ जनतामा भ्रष्टाचार र बेथितिले गर्दा चरम निराशा बढेर गएको छ । यो लोकतन्त्र र राष्ट्रियताका लागि झनै खतरा हो । अरु सबैसँग मेलमिलाप गरे पनि कांग्रेसले भ्रष्टाचारी, दलाल, कमिसनखोरका विरुद्ध कठोर संघर्ष गरेर बीपीले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवादी यात्रालाई द्रूत गतिमा अघि बढाउन ढिला गर्नु हुँदैन । गरिबी, पछौटेपन, रोग, भोक, शोक, अभाव र अनावश्यक प्रभावले ग्रस्त भएर मुलुकले समाजवादी मार्ग पहिल्याउन सक्दैन । गरिबलाई धनी नबनाई देशले समृद्धिको यात्रा पनि तय गर्नै सक्दैन, गरिबलाई धनी बनाउने यही हो बीपीको समाजवादी नीति । त्यसैले अबको लडाइँ कांग्रेसले यसैतर्फ केन्द्रित गर्नुपर्छ । यही नीतिले हामीलाई प्रजातान्त्रिक समाजवादको लक्ष्यमा पुर्‍याउँछ । त्यही भएर बीपीले प्रतिपादन गर्नुभएको मेलमिलापको नीति वर्तमानमा भन् सान्दर्भिक भएर गएको छ । 

(लेखक नेपाल पत्रकार महासंघ झापाका पूर्वसभापति तथा कांग्रेस झापाको जिल्ला सचिव हुन् ।) 
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण हुमागाईं
कृष्ण हुमागाईं
लेखकबाट थप