क्रिकेटलाई मानवतासँग जोड्ने प्रयास ‘पिङ्क टेस्ट’
काठमाडौँ । घरेलु टोली अस्ट्रेलिया र भारतबिच जारी पाँच टेस्टको बोर्डर–गावस्कर शृङ्खला रोचक मोडमा पुगेको छ । शृङ्खलामा अस्ट्रेलिया २–१ ले अगाडि छ । यो शृङ्खला आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको महत्त्वपूर्ण अङ्ग पनि हो ।
त्यसैले विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न अस्ट्रेलिया र भारत दुबैका लागि यो शृङ्खला निकै महत्त्वपूर्ण छ । दक्षिण अफ्रिका यसअघि नै विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुगिसकेकाले अब अस्ट्रेलिया र भारतमध्ये एक टोलीले मात्र फाइनलमा स्थान बनाउने अवस्था छ ।
दुवै टोलीको फाइनलमा पुग्ने सम्भावना उत्तिकै छ । तर, चौथो टेस्ट जितेपछि अस्ट्रेलियाको सम्भावना तुलनात्मक रुपमा केही बढी देखिन्छ । शृंखलाअन्तर्गत पर्थमा खेलिएको पहिलो टेस्टमा भारत दुई सय ९५ रनले विजयी भएको थियो ।
यसैगरी, एडलेइडमा खेलिएको दोस्रो टेस्टमा अस्ट्रेलिया १० विकेटले विजयी भएको थियो । ब्रिसबेनमा खेलिएको तेस्रो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो । मेलबर्नमा खेलिएको चौथो टेस्टमा अस्ट्रेलियाले भारतलाई एक सय ८४ रनले हराएको थियो ।
त्यसैले शृङ्खला अन्तर्गतको पाँचौँ तथा अन्तिम टेस्ट दुवै टोलीका लागि निकै महत्त्वपूर्ण छ । यो टेस्टमा दुवै टोली जितको खोजीमा हुनेछन् । पाँचौँ टेस्टमा विजयी भए अस्ट्रेलिया टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ र भारत टेस्ट च्याम्पियनसिपबाट बाहिरिने छ ।
तर, पाँचौँ टेस्टमा अस्ट्रेलियालाई हराउन सके टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने भारतको सम्भावना कायमै रहने छ । त्यसपछि अस्ट्रेलिया र श्रीलङ्काबिच खेलिने दुई टेस्टको शृङ्खलाले फाइनलमा पुग्ने दोस्रो टोलीको टुङ्गो लगाउने छ ।
भारत र अस्ट्रेलियाबिचको पाँचौँ टेस्ट जनवरी ३ तारिखमा सिड्नीमा सुरु हुनेछ । अर्को एक कारणले पनि अस्ट्रेलिया र भारतबिचको पाँचौँ टेस्ट चर्चामा छ । यो टेस्टमा दर्शकले सिड्नी स्टेडियममा फरक दृश्य देख्न पाउने भएका छन् ।
सिड्नी क्रिकेट ग्राउन्डमा खेलिने पाँचौँ टेस्टलाई ‘पिङ्क टेस्ट’ अर्थात ‘गुलाबी टेस्ट’ को नाम दिइएको छ । गुलाबी टेस्टको सुरुवात सन् २००९ मा भएको हो । खासमा नयाँ वर्ष लागेपछि अस्ट्रेलियामा खेलिने पहिलो टेस्टलाई गुलाबी टेस्टको नाम दिइएको हो ।
अस्ट्रेलिया र भारतबिचको टेस्ट नयाँ वर्ष ९सन् २०२५० लागेपछि खेलिने पहिलो टेस्ट हुनेछ । गुलाबी टेस्ट रातो रङको बलले खेलिन्छ । गुलाबी टेस्ट ग्लेन म्याग्राकी स्वर्गिय पत्नी जेन म्याग्राको सम्झनामा खेलिन्छ । ग्लेन म्याग्रा विश्व चर्चित अस्ट्रेलियन क्रिकेटर हुन् ।
ग्लेन म्याग्राकी पत्नी जेन म्याग्राको निधन सन् २००८ मा ब्रेस्ट क्यान्सरका कारण भएको थियो । आफ्नी पत्नीको सम्झनामा ग्लेन म्याग्राले ‘म्याग्रा फाउन्डेशन’ स्थापना गरेका छन् । यो फाउन्डेशनले ब्रेस्ट क्यान्सरका विरामी र तिनको परिवारलाई आवश्यक सहयोग पुर्याउँदै आएको छ ।
गुलाबी टेस्टको उद्देश्य पनि ब्रेस्ट क्यान्सरविरुद्ध विश्व समूदायलाई जाकरुक बनाउनु र सहयोग सङ्कलन गर्नु नै हो । गुलाबी टेस्टका क्रममा पुरै स्टेडियमलाई गुलाबी रङले सजाउने गरिन्छ । जताततै गुलाबी रङमात्र देख्न पाइन्छ ।
मैदानमा खटिएका कर्मचारी र अधिकांश दर्शकले समेत गुलाबी रङकै जर्सी लगाउँछन् । अस्ट्रेलियन टोलीका खेलाडीले त टोपी पनि गुलाबी रङकै लगाउने गर्छन् । जर्सीमा खेलाडीको नाम र नम्बर पनि गुलाबी रङले नै लेखिएको हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यूनको गिरफ्तारीलाई लिएर दक्षिण कोरियामा हङ्गामा
-
१०३ वर्षमा अस्ताइन् विश्वकै सबैभन्दा जेठी ओलम्पिक पदक विजेता केलेटी
-
चर्चित युट्युबर मिस्टर विष्टले गरे इन्गेजमेन्ट
-
ठुला नेताको सहमति नकुरौँ‚ भ्रष्टाचार काण्ड छानबिन गर्न उच्चस्तरीय आयोग बनाऔँ : सांसद खनाल
-
अमेरिकामा विमान भवनमा ठोक्कियो
-
गुप्तेश्वर महादेव मन्दिर संरक्षणमा स्थानीय सरकार