शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
चलचित्र विकास बोर्ड

बोर्डमा डिसीका १०० दिन, उपलब्धि कति ?

मङ्गलबार, १६ पुस २०८१, ११ : ३०
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । फिल्म निर्देशक, अभिनेता तथा सञ्चारकर्मी  दिनेश डिसी (दिनेशराज दाहाल) चलचित्र विकास बोर्डको अध्यक्ष नियुक्त भएको एक सय दिन पुगेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयअन्तर्गत रहेको बोर्डको अध्यक्षमा उनी गत भदौ १३ गते नियुक्त भएका थिए । सो दिन बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई दुई वर्षका लागि नियुक्त गरेको थियो ।

डिसीको नियुक्तिलाई लिएर चलचित्र वृत्तमा ठुलो आशा गरिएको थियो । कार्यभार सम्हाल्दै उनले भनेका थिए, ‘म जागिर खान हैन, काम गर्न आएको हुँ ।’ एक सय दिनमा उनले गरेको काम हेर्ने हो केही गर्न आएको महसुस गर्न सकिन्छ । तर, ठुलो उपलब्धि भने अहिलेसम्म दिन सकेका छैनन् ।

अध्यक्षमा डिसीको नियुक्तपछि चलचित्रकर्मीले उनीबाट मुख्यरुपमा आस गरेका तीन काम छन्– नयाँ चलचित्र ऐन, रियलटाइम बक्सअफिस र चलचित्र सुटिङ स्टुडियो । यी तीन कुरामा उनले अहिलेसम्म कुनैपनि ठुलो उपलब्धि दिन सकेका छैनन् । तर, कामको सुरुवात भने भएको छ । 

डिसीले हालै चलचित्र विकास बोर्डमा आफूले १०० दिनमा गरेको कामको विवरण समेत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक गरेका विभिन्न ५३ बुँदामा चलचित्र ऐन, रियलटाइम बक्सअफिस र चलचित्र सुटिङ स्टुडियोको विषयमा भएका प्रगतिबारे अपडेट भने गराएका छन् ।  

चलचित्र ऐनको विषयमा प्रस्तावित विधेयक सञ्चार मन्त्रालय, अर्थ मन्त्रालय हुँदै पुनः बोर्डबाट कानुन मन्त्रालय हुँदै सञ्चार मन्त्रालयमा पुगेको बताएका छन् । 

त्यस्तै, रियलटाइम बक्सअफिसमा सिस्टम अध्ययनसहित आगामी वैशाख १ गतेदेखि लागु गर्ने तयारी र बनेपा सुटिङ स्टुडियोका लागि टेन्डर आह्वानको तयारी गरिएको बताइएको छ ।

तर बोर्डमा डिसीले १०० दिन बिताउँदा पनि उपलब्धिमूलक कामहरू भएको महसुस गर्न नपाएको चलचित्रकर्मी बताउँछन् । भाषण राम्रो सुने पनि काम भने नदेखिएको उनीहरूको भनाई छ ।

चलचित्र ऐन, बक्सअफिस लगायतका कार्य १०० दिनमा गर्छु भनेर भाषण गरे पनि त्यसलाई पूरा गर्न नसकेको निर्माता संघका अध्यक्ष नवल खड्का बताउँछन् । ‘विभिन्न संघसंस्थाले गर्ने सेमिनार, ट्रेनिङलगायतका काम गरेको देखिन्छ’, खड्काले भने, ‘ती काम बोर्डले गर्ने हो कि होइन थाहा भएन । उहाँले गर्ने भनेको तीन मुख्य काम ऐन निर्माण, स्टुडियो निर्माण र रियलटाइम बक्सअफिसमा रिजल्ट देखिएको छैन ।’ आफूले गर्ने भनेको मुख्य काम नै पूरा नभएकाले उनको हालसम्मको कार्यकाल उपलब्धिमूलक मान्न नमिल्ने खड्काको धारणा छ ।

नवलको विचारसँग सहमत छन् चलचित्र निर्देशक समाजका अध्यक्ष जनकदीप पराजुली । डिसीले सुरुदेखि नै भाषणमा भन्ने गरेका मुख्य तीन काममा एउटै पनि नभएकोले अहिलेसम्म उपलब्धि भयो भन्न नसकिने पराजुली बताउँछन् । ‘चलचित्र ऐन, बक्सअफिस र स्टुडियो निर्माण उहाँले तीन मुख्य काम भन्नु भएको थियो । तीन कामको प्रगति के कस्तो भयो जानकारी छैन,’ पराजुलीले भने, ‘बोर्डले गर्ने भन्दा पनि संघसंस्थाले गर्ने कामहरू बढी भइरहेका छन् ।’ 

संघसंस्थाले गर्ने काम बोर्डले गरिरहेको पराजुली सुनाउँछन् । पराजुली भन्छन्, ‘हामीले उहाँबाट धेरै आशा गरेका छौँ । तर, यो १०० दिनमा त्यस्तो काम भएको अनुभव गर्न पाएका छैनौँ ।’

बोर्ड अध्यक्ष डिसी भने १०० दिनमा धेरै काम भएको सुनाउँछन् । ‘बोर्ड आफैले विभिन्न संघसंस्थालाई बोलाएर प्रशिक्षण, फिल्म कम्पोटिसनलगायतका कार्यसमेत गरेको छ,’ डिसीले भने, ‘म बोर्डमा आएपछि चलचित्र हललाई कानुनी दायरामा ल्याउनेदेखि धेरै काम भएको छन् ।’ बोर्डमा आफूले गर्नुपर्ने तीन महत्त्वपूर्ण काम चलचित्र ऐन, रियलटाइम बक्सअफिस र चलचित्र सुटिङ स्टुडियोको पनि काम भइरहेको र त्यसको रिजल्ट आउन केही समय लाग्ने उनले बताए ।

  • डिसीले १०० दिनमा के–के गरे काम ?

आफू चलचित्र विकास बोर्डमा अध्यक्ष भएर आएपछि धेरै काम गरेको दाबी गर्दै डिसीले १०० दिनको कामका संक्षिप्त विवरण समेत सार्वजनिक गरेका छन् । उनले सार्वजनिक ५३ बुँदे कामको विवरणमा राष्ट्रिय पुरस्कार वितरण, चलचित्र ऐनको विषयमा प्रस्तावित विधेयकमा काम, रियलटाइम बक्सअफिसका लागि सिस्टमका अध्ययन र वैशाख १ गतेबाट लागु गर्ने तयारी, बनेपामा बन्ने सुटिङ स्टुडियोको टेन्डर आह्वान प्रक्रिया, कर नतिरी बक्सअफिस सञ्चालनमा रहेका हललाई कारबाही, १६६ हललाई कानुनी दायरामा ल्याइएको, गत असोजको अविरल वर्षामा प्रभावित ५ चलचित्रकर्मीलाई जनही ५० हजारको दरले राहत, बोर्डको प्रेक्षालय ह्वीलचेयर फ्रेण्डली, विकास बोर्ड महिला मैत्री, बोर्डको सुविधा डिजिटल निवेदनबाटै उपलब्ध हुने व्यवस्था, मोफसलमा निर्माण भएका साना फिल्मलाई सेन्सर अनिवार्य र डिजिटल अर्काइभिङको सुरुवात छन् ।

त्यस्तै, नियमविपरीत प्रदर्शित विदेशी फिल्मको प्रदर्शन रोक्ने व्यवस्था, विशिष्ट चलचित्रकर्मी प्रमाण पत्र वितरण, डकुमेन्ट्री फिल्म वर्कसप, विमेन्स सर्ट फिल्म कम्पिटिसन, ड्रोन ट्रेनिङ, दोलखा फिल्म सिटीको अध्ययन र कार्ययोजना निर्माण, बलिदानसहित १० फिल्म डिजिटलाइजेसन, कर नतिर्ने हलमा तालाबन्दी, बोर्डका कर्मचारीलाई कम्युनिकेसन प्रशिक्षण, गण्डकी चलचित्र महोत्सवको तयारी लगायत पनि उपलब्धिमा समावेश रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप