शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
खेलकुद

बराबरीमा सकिएको जिम्बाबे र अफगानिस्तानबिचको पहिलो टेस्टमा कीर्तिमानको ओइरो

मङ्गलबार, १६ पुस २०८१, १० : १८
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । घरेलु टोली जिम्बाबे र अफगानिस्तानबिचको पहिलो टेस्ट क्रिकेट बराबरीमा सकिएको छ । बुलाबायोमा सम्पन्न पहिलो टेस्टको पाँचौँ दिन जिम्बाबेले आफ्नो दोस्रो पालीमा चार विकेट गुमाएर एक सय ४२ रन बनाएपछि खेल बराबरीमा सकिएको हो । 

त्यसअघि पाँचौँ दिन नै भ्रमणकारी टोली अफगानिस्तान आफ्नो पहिलो पालीमा ६ सय ९९ रनको विशाल योगफल तयार पार्दै अलआउट भएको थियो । टस जिती पहिले ब्याटिङको निर्णय लिएको जिम्बाबेले भने आफ्नो पहिलो पालीमा पाँच सय ८६ रन बनाएको थियो ।

दुबै टोलीले मिलेर पहिलो पालीमा कुल एक हजार दुई सय ८५ रन बनाए । जिम्बाबेले दोस्रो पालीमा समेत बनाएको रन जोड्दा पहिलो टेस्टमा कुल एक हजार चार सय २७ रन बन्यो । अफगानिस्तानका लागि यो टेस्ट निकै महत्वपूर्ण रह्यो ।

अफगानिस्तानले टेस्ट क्रिकेटको इतिहासमा पहिलो पटक एउटै पालीमा ६ सयभन्दा बढी रन बनाएको हो । यसअघि अफगानिस्तानले सन् २०२१ मा खेलिएको पाकिस्तानविरुद्धको टेस्टको एउटै पालीमा चार विकेट गुमाएर पाँच सय ४५ रन बनाएको थियो । 

यसैगरी, अफगानिस्तान अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम खेलेर टेस्ट क्रिकेटको एउटै पालीमा ६ सयभन्दा बढी रन बनाउने टोलीका रुपमा पनि दरिन पुगेको छ । सन् २०१८ मा आफ्नो पहिलो टेस्ट खेलेको अफगानिस्तानले केवल १० खेल खेल्दै यस्तो उपलब्धि हासिल गरेको हो । 

यो सूचिमा पाकिस्तान दोस्रो स्थानमा आसिन छ । सन् १९५२ मा टेस्ट क्रिकेटमा ‘डेब्यू’ गरेको पाकिस्तानले १९औँ टेस्टमा आएर एकै पालीमा ६ सय रन बनाउन सकेको थियो । यो सूचिमा वेस्ट इन्डिज तेस्रो स्थानमा छ । सन् १९२८ मा पहिलो टेस्ट खेलेको वेस्ट इन्डिजले २९औँ खेलमा यस्तो सफलता हात पारेको थियो ।

जिम्बाबेविरुद्धको खेलमा अफगानिस्तानका लागि कप्तान हसमतुल्लाह साहिदी एक्लैले दुई सय ४६ रन बनाएका थिए । उनले लामो समय क्रिजमा टिकेर चार सय ७४ बलको सामना गरी २१ वटा चौका पनि हिर्काएका थिए । उनी चौथो नम्बरमा क्रिज समाल्न आएका थिए । 

३० वर्षीय हसमतुल्लाहले टेस्ट क्रिकेटमा बनाएको यो दोस्रो दोहोरो शतक हो । यसअघि टेस्ट क्रिकेटमा हसमतुल्लाहको उच्च स्कोर अविजित दुई सय रन रहेको थियो । उनी टेस्ट क्रिकेटको एउटै पालीमा सर्वाधिक रन बनाउने खेलाडीको सूचिमा पनि दरिएका छन् ।  

कप्तान हसमतुल्लाहका अतिरिक्त अफागानिस्तानका लागि रहमत शाहले पनि दुई सय ३४ रन बनाए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका रहमत शाहले चार सय २४ बलको सामना गरी तीन छक्का र २३ वटा चौका हिर्काए । 

३१ वर्षीय रहमत शाहले टेस्ट क्रिकेटमा बनाएको यो पहिलो दोहोरो शतक हो । अफगानिस्तानले केवल ६४ रनको कुल स्कोरमा दोस्रो विकेट गुमााएको थियो । त्यसपछि रहमत शाह र हसमतुल्लाहले तेस्रो विकेटका लागि तीन सय ६४ रनको विशाल साझेदारी गरेका थिए ।

afg
अफगानिस्तानका लागि पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ब्याट्सम्यान अफसर जजाईले पनि शतकीय पाली खेले । विकेटकिपर ब्याट्सम्यान अफसर जजाईले एक सय १३ रन बनाए । उनले एक सय ६९ बलमा तीन छक्का र पाँच चौका हिर्काए । 

३१ वर्षीय अफसरले टेस्ट क्रिकेटमा बनाएको यो नै पहिलो शतक पनि हो । पहिलो पालीमा जिम्बाबेका बलर ब्राइन बेनेटले पाँच विकेट लिए । उनले २८ ओभरमा एक मेडन राख्दै ९५ रन खर्चिए । सिन विलियम्सले दुई विकेट हात पारे । 

ब्याट्सम्यानहरु आक्रामक र बलरहरु निरीह देखिएको पहिलो टेस्टमा जिम्बाबेका तीन ब्याट्सम्यानले पनि शतक बनाएका थिए । जिम्बाबेका लागि चौथो नम्बरका ब्याट्सम्यान सिन विलियम्सले एक सय ५४ रन बनाएका थिए । 

विलियम्सले एक सय ७४ बलको सामना गरी तीन छक्का र १० चौका हिर्काए । ३८ वर्षीय अनुभवी ब्याट्सम्यान विलियम्सले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ शतक हो । कप्तान क्रेग एर्भिनले पनि टोलीको खातामा एक सय चार रन थपे । 

छैटौँ नम्बरमा क्रिज समाल्न आएका एर्भिनले एक सय ७६ बलको सामना गरी १० चौका प्रहार गरेका थिए । ३९ वर्षीय एर्भिनले टेस्ट क्रिकेटमा बनाएको यो चौथो शतक हो । यसका अतिरिक्त, ब्राइन बेनेटले पनि शतकीय पाली खेले । उनले अविजित एक सय १० रन बनाएका थिए ।

सातौँ नम्बरका ब्याट्सम्यान बेनेटले यस क्रममा एक सय २४ बलको सामना गरी चार छक्का र पाँच चौका पनि हिर्काए । २१ वर्षीय बेनेटले टेस्ट क्रिकेटमा बनाएको यो नै पहिलो शतक पनि हो । ओपनर ब्याट्सम्यान बेन कर्रनले पनि ६८ रनको योगदान गरे । 

यस क्रममा बेन कर्रनले ७४ बलमा ११ चौका प्रहार गरे । २८ वर्षीय बेन कर्रनको यो ‘डेब्यू’ टेस्ट हो । पहिलो पालीमा अफगानिस्तानका बलर एएम घजानफरले तीन विकेट लिए । नाविद जदरान, जहिर खान र जिया–उर–रेहमानले पनि दुई–दुई विकेट हात पारे ।  

जिम्बाबेले पनि टेस्ट क्रिकेटको इतिहासमा एउटै पालीमा बनाएको यो सर्वाधिक रन हो । जिम्बाबेले यसअघि सन् २००१ मा हरारेमा खेलिएको वेस्ट इन्डिजविरुद्धको खेलमा नौ विकेट गुमाएर पाँच सय ६३ रन बनाएको थियो ।

एउटै टेस्टमा दुबै टोलीले कीर्तिमानी रन बनाएको भने यो सन् १९९१ पछि पहिलो पटक हो । यसअघि सन् १९९१ को जनवरी ३१ तारिखमा खेलिएको टेस्टमा न्युजिल्यान्ड र श्रीलंका दुबैले आ–आफ्नो राष्ट्रका लागि सर्वाधिक रन बनाएका थिए । 

त्यो टेस्टमा श्रीलंकाले चार सय ९७ रन बनाएको थियो । त्यसअघि टेस्ट क्रिकेटको एउटै पालीमा श्रीलंकाले यति धेरै रन बनाउन सकेको थिएन । सोही टेस्टमा न्युजिल्यान्डले आफ्नो पालीमा केवल चार विकेट गुमाएर ६ सय ७१ रन बनाएको थियो । त्यसअघि न्युजिल्यान्डले टेस्ट क्रिकेटको एउटै पालीमा यति धेरै रन बनाउन सकेको थिएन । 

अफगानिस्तानका रहमत र साहिदीले पहिलो पालीमा तेस्रो विकेटका लागि तीन सय ६४ रनको साझेदारी गरेका थिए । टेस्ट क्रिकेटमा कुनै पनि विकेटका लागि अफगानिस्तानका ब्याट्सम्यानले गरेको यो सबैभन्दा ठुलो साझेदारी हो । 

यसैगरी, रहमत र साहिदीको उक्त साझेदारी जिम्बाबेविरुद्ध कुनै पनि ब्याट्सम्यानले कुनै पनि विकेटका लागि गरेको दोस्रो ठुलो साझेदारी पनि हो । सन् २०२४ मा बुलाबायोमै खेलिएको जिम्बाबेविरुद्धको खेलमा श्रीलंकाका मार्भन आटापाटु र कुमार सांगाकाराले दोस्रो विकेटका लागि चार सय ३८ रनको साझेदारी गरेका थिए । 

यसैगरी, जिम्बाबेका ब्राइन बेनेट एउटै टेस्टमा शतक प्रहार गर्ने र पाँच विकेट लिने सबैभन्दा कम उमेरका खेलाडी पनि बनेका छन् । उनले यो उपलब्धि केवल २१ वर्ष ४६ दिनको उमेरमा हासिल गरेका हुन् । 

दोस्रो पालीमा भने जिम्बाबेका ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । जिम्बाबेका लागि दोस्रो पालीमा बेन कर्रनले सर्वाधिक ४१ रन बनाए । सिन विलियम्स ३५ रनमा अविजित रहे । कप्तान क्रेग एर्भिन पनि २२ रनमा अविजित रहे । 

ओपनर जोयलर्ड गम्बीले टोलीको खातामा २४ रन थपे । दोस्रो पालीमा अफगानिस्तानका बलर जहिर खानले दुई विकेट लिए । उक्त खेलमा अफगानिस्तानका कप्तान हसमतुल्लाह साहिदी प्लेयर अफ दि म्याच घोषित भए । दोस्रो टेस्ट जनवरी २ तारिखमा बुलाबायोमै सुरु हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप