शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसलः कांग्रेसमा राजनीति

२०४६ सालपछि कांग्रेस राजनीतिको अधोगति

देउवाको खोजी– ‘एस म्यान’, कांग्रेसको खोजी लिगेसी
मङ्गलबार, १६ पुस २०८१, १० : ०३
मङ्गलबार, १६ पुस २०८१

कांग्रेसभित्र २०४६ सालअघि नेताहरूको आआफ्नो समूह भए पनि तिनीहरूको दृष्टिकोण पार्टीलाई एक बनाउने थियो । पार्टी अनुशासनमा हिँड्ने थियो । अधिवेशन त त्यति बेला पनि तोकिएको बेलामा हुँदैनथ्यो । भए पनि अधिवेशनमाथि अनेकौँ प्रश्न हुन्थे ।

जस्तोः वीरगन्जमा २०१२ माघमा भएको छैटौँ महाधिवेशनमा विवाद देखियो । सुवर्ण शमशेरलाई अघि बढाइएको थियो । त्यसविरुद्ध गणेशमान सिंह उठ्नुभयो । उहाँलाई रोक्ने प्रयास भएकै हो । तर, गणेशमानले म उठेँ–उठेँ भन्नुभयो । तर, बीपी कोइरालाको अर्कै योजना भएर गणेशमान हार्नुभयो । त्यो आफ्नो ठाउँमा छ ।

बीपीको दृष्टिकोणमा सुवर्ण आउँदा आफूलाई जति सजिलो हुन्थ्यो भने गणेशमान आउँदा गाह्रो । किनभने, उहाँ एउटा समूहको मानिस हुनुभयो । काठमाडौँमा उहाँको प्रभाव थियो । त्यसकारण बीपीको प्रयास सुवर्णलाई जिताउने भयो । 

यद्यपि, सुवर्ण सही रूपबाट अघि बढ्न सक्नुभएन । पार्टीभित्र विरोध हुन थाल्यो । उहाँलाई विराटनगरमा गिरिजाप्रसाद कोइरालाको अगुवाइमा नराम्रो व्यवहार पनि गरियो । त्यसपछि सुवर्ण आउनुभयो । राजीनामा गर्नुभयो । अनि पुनः बीपी नै सभापति बन्नुभयो । 

गिरिजाप्रसादको नेतृत्व भइसकेपछि विवाद यथावत् थियो । विवादकै बाबजुद संगठनलाई बचाउनुपर्छ भन्ने दृष्टिकोणमा गणेशमान, कृष्णप्रसाद भट्टराईलागयत नेता रहनुभयो । एकप्रकार गिरिजाप्रसादको हालीमुहाली हुन पुग्यो । उहाँले पनि महाधिवेशन सारेकै हो ।

महाधिवेशन सार्नुका पछाडिको योजना भनेको आफू कसरी सफल हुने अनि आफ्नो प्रभावमा पार्ने भन्ने दृष्टिकोण नै हो । त्यो दृष्टिकोणबाट कांग्रेस अहिलेसम्म मुक्त हुन सकेको छैन । यसअघि शेरबहादुर देउवाले एक वर्ष नपुगेर संविधानकै धाराको प्रयोग गर्दै डेढ वर्ष महाधिवेशन पर सारेकै हो । यसको पछाडि पार्टी बलियो बनाउनेभन्दा पनि धेरै आफू कसरी सत्ता र शक्तिमा आउने भन्ने दृष्टिकोणलाई महत्त्व दिएर चलखेल भएको देखिन्छ । 

नेताहरू पार्टीलाई महत्त्व दिने पक्षमा देखिएनन् । पार्टीको नाममा राजनीति गर्नेचाहिँ भए । तर, पार्टीलाई बलियो र अनुशासित बनाउने भन्ने दृष्टिकोणबाट हिँडेको देखिँदैन । 

०४६ सालअघि भन्नेबित्तिकै बीपी र गणेशमानलाई बिर्सन सक्दैनौँ । पहिला पनि समूह नहुने भन्ने थिएन । समूह हुन्थ्यो । गणेशमान, किसुनजीलगायत नेतालाई विश्वास गर्नेहरूको समूह हुन्थ्यो । तर, उहाँहरू कहिल्यै पनि फलानोलाई हराउनुपर्छ, फलानो समूहलाई ल्याउनुपर्छ भन्ने दृष्टिकोण लिएर हिँडेको इतिहास देखिँदैन । 

चाहे कृष्णप्रसाद वा गणेशमान वा सुवर्णको पक्षमा होस् । त्यस्तो किसिमको समूहगत देखिएन । सबैको उद्देश्य नै पार्टीभित्र नेतृत्व राम्रो ल्याउनुपर्छ भन्ने थियो । नेतृत्व जो आउँछ हामीलाई विश्वास गर्नुपर्छ भन्ने दृष्टिकोण थियो । यो बीपी, सुवर्ण, गणेशमान वा किसुनजीको मान्छे भन्ने एउटा भावना थियो होला । तर, यति हुँदाहुँदै पनि तिमी यसरी प्रचार गरेर हिँड भन्ने दृष्टिकोणचाहिँ रहेको देखिँदैन । 

त्यस बेला नेताहरूको दृष्टिकोण पार्टीमाथि हुन्थ्यो । कार्यकर्ताको पनि दृष्टिकोण पार्टी राम्रै बनाउनुपर्छ भन्ने थियो । आफ्नो सिद्धान्त र अनुशासनमा हिँड्नुपर्छ भन्ने थियो । 

२०४६ पछि कांग्रेसभित्र अधोगति सुरु भयो । पार्टीभित्र कुनै एक व्यक्तिलाई जिताउनै पर्छ भनेर हिँडेको देखिन्छ । त्यसका साथै पार्टीलाई बलियो बनाउनुपर्छ भन्ने समूह कमजोर हुँदै गएको देखिन्छ । पछिल्लो समय नेताहरू पार्टीलाई महत्त्व दिने पक्षमा देखिएनन् । पार्टीको नाममा राजनीति गर्नेचाहिँ भए । तर, पार्टीलाई बलियो र अनुशासित बनाउने भन्ने दृष्टिकोणबाट हिँडेको देखिँदैन । 

बीपीको समयमा सबै एक पार्टी थिए । अहिलेजस्तो विभाजन थिएन । बीपीले बोलेको कुरामा कसैले विरोध गर्दैनथे । कहिलेकाहीँ गणेशमानले विरोध गर्नुहुन्थ्यो । उहाँलाई बुझाएपछि मौन बस्नुहुन्थ्यो । सैद्धान्तिक रूपमा विवाद निकाल्ने व्यक्ति किशुनजी हुनुहुन्थ्यो । तर, उहाँले पार्टी बिग्रने कुरा र सैद्धान्तिक रूपमा कहिले पनि आफ्नो अभिव्यक्ति दिनुभएन । सभापतिले भनेको कुरा स्वीकार गर्नुभएकै हो । केही कुरामा उहाँको असहमति हुन्थ्यो । अभिव्यक्त गर्नुहुन्थ्यो । तर, पार्टीको कुरा स्वीकार गर्नुहुन्थ्यो । 

कांग्रेसभित्रको राजनीतिक ०४६ सालदेखि बिग्रियो । गिरिजाप्रसादको नेतृत्व आएपछि पार्टी बिग्रियो । पार्टी बिगार्ने एक नम्बरमा गिरिजाप्रसाद कोइराला हो । त्यसपछि शेरबहादुर देउवा हो । उहाँले पार्टी फुटाउने कामसम्म गर्नुभयो । पैसा र गाडी बाँड्नेजस्ता कुरा आयो ।

अहिले पार्टी एउटा छ । पार्टीभित्र चाहिँ धेरै पार्टी देखिए । कांग्रेस पार्टी एउटै हो र सबै जना कांग्रेस पार्टी भनेर हिँड्नुपर्ने हो । तर, त्यो किसिमको स्थितिचाहिँ देखिएन । अहिले शेरबहादुर भनेर हिँड्ने समूह देखियो । शेखर भनेर, गगन भनेर हिँड्ने देखियो । तर, विचार र सिद्धान्तलाई आधार बनाई पार्टीलाई एक बनाउनुपर्छ भन्ने समूह कमजोर हुँदै गएको छ । पार्टीको दृष्टिकोणलाई स्थापित गर्नुपर्छ र जनचाहनालाई महत्त्व दिनुपर्छ भन्ने समूह कमजोर हुँदै गएको भन्ने लाग्छ ।

  • महाधिवेशनमा संशय

विधानअनुसार महाधिवेशन एक वर्षपछि आउँछ । अहिलेको स्थितिबाट हेर्दा एक वर्षभित्र महाधिवेशन हुन सक्छ भन्नेमा मलाई शंका लाग्छ । किनभने, पार्टी पूर्णरूपले विभाजित छ । समूह–समूहमा छ । जबसम्म यी सबै व्यक्तिको दृष्टिकोण एक ठाउँमा आएर महाधिवेशन समयमै गर्नुपर्छ भन्नेमा केन्द्रित हुन सक्दैन तबसम्म समयमा महाधिवेशन हुन्छ भन्ने लाग्दैन । 

जति खेर शेरबहादुरको पार्टी र मुख्य कांग्रेस मिलेर एकीकरण भयो त्यो एकीकरणबाटै पार्टीमा बलियो रूपबाट विभाजन स्थापित भएको छ । त्यस बेला शेरबहादुर पक्षलाई ४० र गिरिजाप्रसाद पक्षलाई ६० प्रतिशत भनेर विभाजन गरियो । त्यसको अन्त्य आजसम्म भएको छैन । 

जब कि पार्टी एकीकरण भइसकेपछि पनि थुप्रै महाधिवेशन भइसके । पार्टी विभाजन गरेर जाने शेरबहादुर नै एकीकरणपछि दुईपटक सभापति भइसक्नुभयो । यो बिन्दुमा आइपुग्दा पनि त्यो ६०–४० को अन्त्य हुन नसक्नु दुर्भाग्य हो । यसले सधैँ पार्टी यहीँ रूपबाट अघि बढ्ने संकेत देखिन्छ । 

यसको पछि पनि कारण छ । अस्तिसम्म शेखर पार्टी एक हुनुपर्छ, विभाजन हुनुहुँदैन भनेर अभियान लिएर केही समय हिँड्नुभयो । तर, उहाँले पनि ४०–६० को भागबन्डामा आवाज उठाउन थाल्नुभएको छ । यो बिन्दु रहिरहन्छ । जबसम्म यो रहिरहन्छ पार्टीचाहिँ एकीकृत हुन सक्दैन । महाधिवेशन भए पनि पार्टीमा ऊर्जा र नवीन विचार पनि ल्याउँदैन । यी समूहहरूको चर्को विभाजन पनि अन्त्य हुन सक्दैन ।

  • देउवाको खोजी– ‘एस म्यान’

पार्टीभित्र कसैले मानून् या नमानून्, शेरबहादुर शक्तिशाली र बलियो हुनुहुन्छ । सभापतिका सम्भावित उम्मेदवारमा ५–६ जनाको नाम सुन्छु । डा. शेखर कोइराला, विमलेन्द्र निधिदेखि अन्य । अप्रत्यक्ष रूपमा शेरबहादुरका अन्य उम्मेदवार होलान् । यी सबैको उद्देश्य नै महाधिवेशन हुनुपर्छ । तर, शेरबहादुरलाई नच्यापीकन हामी अघि बढ्न सकिँदैन भन्ने दृष्टिकोण सबैको छ । शेरबहादुरको सहयोगमा मात्र सभापतिको उम्मेदवार भएर जित्न सकिन्छ भन्ने देखिन्छ । यहाँसम्म गगन थापा, डा. शेखर कोइराला, डा. शशांक कोइराला, विमलेन्द्र निधि सबैको छ । 

शेरबहादुरको दृष्टिकोण पनि यहाँ महत्त्वपूर्ण छ । उहाँ पनि आफ्नो सम्मान अहिलेजस्तै राख्न चाहनुहुन्छ । सुनेअनुसार अप्रत्यक्ष रूपमा उहाँ पनि पार्टीलाई आफ्नो पकड बाहिर नजाओस् भन्ने प्रयासमा हुनुहुन्छ । उहाँको समर्थन कस्तो व्यक्तिलाई हुन्छ भन्दा त्यस्तो व्यक्ति जसले पार्टीमा आफ्नो सम्मान राख्न सक्छ । आफ्नो विचार स्थापित गर्न सकोस् । त्यस्तो व्यक्तिलाई समर्थन गर्ने स्थितिमा हुनुहुन्छ । अर्थात्, ‘एस म्यान’लाई बनाउन चाहनुहुन्छ ।

सभापतिका लागि देश दौडाहालाई मात्र आधार बनाएर हेरेर हुँदैन । मतदाताले एउटा लिगेसी हेर्न थालेका छन् ।

अर्को पनि चर्चा छ कि शेरबहादुर उहाँकी पत्नी आरजूलाई पनि पार्टीमा स्थापित गर्न चाहनुहुन्छ । आरजूलाई पार्टीमा स्थापित गर्न महामन्त्री आफ्नो पक्षमा हुनुपर्यो । त्यसैले उहाँ पार्टी र समाजमा पकड भएको व्यक्तिलाई स्थापित गर्न चाहनुहुन्छ । त्यस्तो दृष्टिकोणबाट हेर्दा खेरि पार्टीभित्र छान्दै हुनुहुन्छ । आफूले कसलाई पकड्दा आफ्नो र त्यो व्यक्ति दुवैको उद्देश्य पूरा हुन सक्छ भन्ने हिसाबमा शेरबहादुर हुनुहुन्छ । 

उहाँले आरजूलाई कुन रूपमा पार्टीको महत्त्वपूर्ण पद वा सम्भावित प्रधानमन्त्रीका रूपमा अघि बढाउने भन्नेमा पछि बहस होला । तर, अहिलेको स्थितिमा पार्टीभित्र सभापति हुन शेरबहादुरको आशीर्वाद नलिईकन कसैको पनि सम्भव छजस्तो लाग्दैन । अहिले सबै प्रयास के हो भन्दा विरोध गरेर पनि समर्थन गरेर पनि राजनीतिमा देखिरहेका छौँ कि सबैको उद्देश्य शेरबहादुरको आशीर्वाद प्राप्त गर्ने हो । 

  • लिगेसीको खोजी

सभापतिका लागि देश दौडाहालाई मात्र आधार बनाएर हेरेर हुँदैन । मतदाताले एउटा लिगेसी हेर्न थालेका छन् । जस्तोः डा. शशांक कोइरालाले जितेको कुरामा हिजो हामीले सुनेकै हौँ । यो बीपीको नाताले जितेको भनेर हामीले भनेकै हौँ । प्रकाशमान सिंहको कुरामा पनि लिगेसीकै कुरा पढ्यौँ । विमलेन्द्रको कुरा पनि लिगेसीकै सुन्यौँ । डा. शेखर कोइरालाको पनि लिगेसीकै कुरा सुन्यौँ । 

यो भनेको कांग्रेस लिगेसीको राजनीतिबाट बाहिर गएको छैन । यो स्थितिमा यीबाहेक बाहिरको मान्छे आउँछ भन्ने सम्भव भएन अर्थात् देखिएन । यीबाहेक पार्टीकै आशीर्वाद र छिमेकी राष्ट्रहरूको प्रभाव के हुन्छ ? यी सबैलाई आधार बनाएर मात्र चाहिँ हुन सक्छ । 

दुई महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाबिच केही सम्झौता छजस्तो लाग्छ । उहाँहरूबिच विवाद र फरक होला भन्ने लाग्दैन । सहमति गरेर एक अघि बढ्ने अनि एक पछि बस्ने भन्ने हुन सक्छ । महत्त्वाकांक्षीको दृष्टिकोणले हेर्दा गगनको सम्भावना छ । 

दुई उपसभापतिमध्ये पूर्णबहादुर खड्काको पकड छ भन्ने लाग्दैन । यद्यपि, उहाँलाई शेरबहादुरको आशीर्वाद होला । शेरबहादुरले आशीर्वाद दिन मूल्यांकन गर्ने नै भयो । पूर्णबहादुर, प्रकाशमान कसलाई लिँदा फाइदा हुन्छ ? वा गगनलाई लिँदा फाइदा हुन्छ ? उपसभापतिहरूमा त्यति बलिया छन्जस्तो लाग्दैन । उपसभापतिलाई आधार बनाएर मेरो उत्तराधिकारी बनाउँछु भनेर हेर्ने व्यक्ति शेरबहादुरले कमै देखेको हुनुपर्छ । शेरबहादुरले आफ्नो उत्तराधिकारी महामन्त्रीबाटै खोज्नुहुन्छ जस्तो लाग्छ । 

(राजनीतिक विश्लेषक प्रा.डा. गौतमसँग रातोपाटीकर्मी रोमन आचार्यले गरेको कुराकानीमा आधारित)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. राजेश गौतम
प्रा.डा. राजेश गौतम
लेखकबाट थप