महाधिवेशन–महाधिवेशन भनेर बस्नु दुर्भाग्य
कांग्रेस कार्यकर्तालाई महाधिवेशन लागेको छैन । तर, १५औँ महाधिवेशनबाट नेतृत्वमा पुग्छु भन्नेहरूलाई त्यसको रन्कोले बिस्तारै छुँदै गएको देखिएको छ । सभापति शेरबहादुर देउवा पुनः सभापति नबन्ने भएपछि उहाँमा त्यो रन्को देखिएको छैन । तर, आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने चासो छँदै छ । उहाँलाई आफ्नो समूह र परिवारलाई सम्बोधन गर्नुपर्ने दबाब छँदै छ । त्यसपछि १४औँ महाधिवेशनका सभापति प्रत्याशी पनि बग्रेल्ती छन् । नयाँ युवा पनि आएकै छन् ।
पार्टीमा जुन ढंगमा जीवन हुनुपर्ने थियो । क्रियाशील सदस्यता नवीकरण सकेर नयाँ सदस्यता जारी गरिसक्नुपर्ने थियो । संगठन परिचालनको दृष्टिकोणले त कांग्रेस कहाँ छ म भन्न सक्दिनँ । १४औँ महाधिवेशनका आधाभन्दा बढी सदस्यले क्रियाशील सदस्यता नवीकरण गरेका छैनन् । शक्तिशाली र सशक्त महामन्त्रीहरूले पनि सचिवालय सञ्चालन गर्दा क्रियाशील नवीकरण र नयाँ सदस्यता जारी गर्ने काम भएको छैन ।
विधानमा महाधिवेशन चार वर्षमा गर्नुपर्ने व्यवस्था छ । एक वर्ष थप्ने भनेको काबु बाहिरको स्थिति हुन्छ भने मात्र हो । प्राकृतिक र राजनीतिक विपत्ति भएको अवस्थामा मात्र एक वर्ष थप्न पाइन्छ । तर, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवासम्म नेताले त्यसको दुरुपयोग गर्नुभयो ।
महाधिवेशन भएको वर्ष विधानअनुसार क्रियाशील नवीकरण गर्ने काम हुँदैन । त्यो हिसाबले ०८२ मा महाधिवेशन हुन्छ भन्ने विश्वास मलाई छैन । ०८३ मै पुग्छ भन्ने लाग्छ । पाँच वर्षमा महाधिवेशन हुने भएकाले अझ दुई वर्ष बाँकी छ ।
पार्टीमा गर्नुपर्ने विषय धेरै छन् । विचार पक्षमा केही काम भएको छैन । कांग्रेसको समस्या के हो ? राष्ट्रिय समस्या के हो ? आफू सभापति भए के गर्ने भनेर कार्यकर्ताबिच आकांक्षीले विचार दिनुपर्थ्यो । बहस र छलफल हुनुपर्थ्यो । तर, त्यो कुरा छैन । कोरा रूपमा आकांक्षीहरूको चलमलाउने, सलबलाउने कामचाहिँ प्रारम्भ भएको छ ।
- दौडधुपमा को–को ?
सभापतिका लागि क्रियाशीलता, दौडधुप अनि जिल्ला–जिल्ला हिँड्नेको दृष्टिकोणले सबैभन्दा अग्रणी डा. शेखर कोइराला नै देखिनुहुन्छ । तर, उहाँले पनि कांग्रेसभित्र भएको वास्तविक समस्या र अबको बाटोका विषयमा स्पष्ट दृष्टिकोण राख्न सक्नुभएको छैन । व्यक्तिगत रूपमा भेट्दा म भन्ने पनि गर्छु । मैले अस्ति एउटा कार्यक्रममा प्रमुख अतिथि बनाएर पनि बोलाएँ । त्यहाँ पनि प्रस्ट कुरा राखियो । तर, उहाँको स्पष्ट धारणा आएन । त्यति ठुलो कार्यक्रममा उहाँलाई सन्देश दिने मौका थियो । उहाँले स्पष्ट रूपमा कुरा राख्नुभएन ।
त्यसपछि सभापतिका लागि औपचारिक/अनौपचारिक ठाउँमा व्यग्रता र हुटहुटी देखिएको गगन थापालाई हो । उहाँको पनि राजनीतिमा सक्रियता छ । तर, विचारको पक्षमा म कुनै स्पष्टता देख्दिनँ ।
देश चरम संकटमा छ । हामी (कांग्रेस) सत्तामा पनि छौँ । ठुलो दलका रूपमा संसद्मा पनि छौँ । कहिले एउटा कम्युनिस्टलाई प्रधानमन्त्री मान्न विवश छौँ त कहिले अर्को कम्युनिस्ट पार्टीलाई । आफैँ सरकारको नेतृत्व लिन पनि सक्दैनौँ । जनताले खोजेको के छ ? त्यसलाई छान्न पनि सक्दैनौँ ।
हाम्रा संस्थापक नेताहरूको मूल्य के हो ? बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई केका लागि लड्नुभयो ? उहाँहरूको फोटो झुन्ड्याउने तर उहाँहरूकै विचारमा नहिँड्ने । गणेशमान र किसुनजीले त दुःखित हुँदै कांग्रेस परित्याग नै गर्नुपर्यो । यी सबै कुरामा बहस, छलफल तथा चिन्तन महासमिति र केन्द्रीय कार्यसमितिमा हुँदैन । केवल पार्टी नेतृत्व र सत्ता कब्जा गर्ने भन्ने मात्र विषय हाम्रा नेता–कार्यकर्ताको उद्देश्य भयो । यो दुर्भाग्य हो ।
महाधिवेशन अझ दुई वर्ष बाँकी छ । दुई वर्षअघि नै नेतृत्वको चर्चा गरिरहेका छौँ । तर, हामीकहाँ वैचारिक पक्ष छायामा छ । विचारका आधारमा कांग्रेसलाई यहाँ पुर्याउँछु भनेर आउनुपर्ने थियो । तर, त्यो पटक्कै आएन ।
कांग्रेसप्रति निराशा छ । को पार्टीमा छ ? कसले छाड्यो ? त्यसको हिसाब छैन ।
मैले चर्चामा आएका र बढी दौडधुप गरेका दुई जनाको नाम लिएँ । १४ औँमा यी दुई जना एकै टिमबाट लड्नुभएको हो । महामन्त्रीले जित्दा सभापति हार्नुभयो । त्यस बेला शेरबहादुर प्रधानमन्त्री नभएको भए नतिजा फरक पर्ने नै थियो ।
राजनीतिमा ‘लेट कमर’ र १४ औँमा शेरबहादुर इतरका सबै नेता शेरबहादुरसँग मिल्न गएको अवस्थामा पनि शेखरले सशक्त लड्नुभयो । उहाँको सक्रियताको २५ प्रतिशत मात्र डा. शशांक कोइरालामा हुन्थ्यो भने कांग्रेसको नेतृत्व उहाँमै हुन्थ्यो । तथापि, छोटो अवधिमा मिहिनेत गरेर शेखरले आफूलाई स्थापित गर्नुभयो । सबैले नेता मान्नुपर्ने अवस्था रह्यो ।
यीबाहेक सभापति बन्न शशांकले घोषणा गर्नुभएको छ । उहाँको क्रियाशीलता, दौडधुप केही पनि देखिँदैन । त्यसैले उहाँको घोषणा घोषणामै सीमित हुन्छजस्तो लाग्छ । त्यसैगरी विमलेन्द्र निधिहरूको के हो ? अहिलेसम्म आएको छैन । प्रकाशमान सिंह पनि अघिल्लोमा सभापति लड्नुभएको हो । पूर्णबहादुर खड्का पनि सामाजिक सञ्जालतिर देखिनुहुन्छ । मलाई कृष्ण सिटौलाचाहिँ सभापतिमा लड्नुहुन्छजस्तो लाग्दैन । उहाँले सभापति लड्छु भनेर हिम्मतसाथ भनेको देखिँदैन । कल्याण गुरुङजस्तै चर्चामा आउन अरू पनि सभापति लड्न सक्ने देखिन्छ ।
- देउवासँग अपेक्षा
सबै जनाले शेरबहादुरको मुख ताकेको देखिन्छ । अन्तिममा गिरिजाप्रसाद कोइरालालाई छोरी व्यवस्थापनको चिन्ता थियो । शेरबहादुरलाई पनि पत्नी व्यवस्थापनको चिन्ता स्वाभाविक नै होला । व्यक्तिगत क्षमतामाथि मेरो कुनै प्रश्न छैन । तर, जति पनि पाउनुभयो सबै शेरबहादुरकी पत्नी भएका कारण हो । उहाँभन्दा योगदान भएका कति छन् कति ! उहाँको त कुनै योगदान हैन कांग्रेसमा । तथापि, शेरबहादुरकी पत्नी हुनुको लाभ त लिनुभयो ।
त्यसैगरी शेरबहादुरको आड–भरोसामा उहाँको दौराको फेरो समातेर धेरै मान्छेले राजनीतिक अवसर पाए । उहाँको गुटमा लागेर राजनीति जोगाए । अझै पनि शेरबहादुरबाट आशीर्वाद लिएर सभापति बन्न लाग्ने प्रयत्न गर्नु स्वाभाविक हो ।
उहाँ प्रधानमन्त्री बन्नुभयो । शक्तिमा हुनुहुन्छ । शक्ति छैन भन्न त सकिँदैन । उहाँले भनेजस्तै भाँडोमा पानी खन्याजस्तो गरी ठ्याक्कै भोट जाने अवस्था रहँदैन । नामै त नलिऔँ । तर, शेरबहादुरकै पछि लागेका कारण मन्त्री बनेका, केन्द्रीय कार्यसमितिमा पुगेकाहरू आआफ्नो जिल्लामा प्रभाव भएका नेताहरू बिस्तारै टिमबाट हिँड्न थालेका छन् । ‘शेरबहादुर रहुन्जेल उहाँलाई साथ दिएको हो । शेरबहादुरपश्चात् हामी स्वतन्त्र छौँ’ भन्ने पनि छन् ।
शेरबहादुरको व्यक्तित्वले एक भएका हुन् । शेरबहादुर बाहेकमा छिन्नभिन्न हुन्छ । अहिले धेरै मानिस शेखरको पछाडि लागेको पाउँछु । संवाद गरेको पाउँछु । जस्तोः सिन्धुपाल्चोकका मोहनबहादुर बस्नेतले शेरबहादुर रहुन्जेल म उहाँसँगै हो । शेरबहादुरपश्चात् त हामी पनि सोच्छौँ भन्ने संकेत ‘शेखर कोइराला नेता हो’ भनेर गर्नुभयो । एनपी साउद, बालकृष्ण खाँणलगायत धेरै नेताको शेखरसँग घनीभूत छलफल भएको देखिन्छ । त्यसकारण आफूसँग भएको सम्पूर्ण शक्ति शेरबहादुरले जहाँ भन्यो उसले ढ्याक्कै सभापति जित्छ भन्ने हुँदैन ।
समग्रमा दुई वर्ष बाँकी छ । त्यसकारण गुट भत्कने र नयाँ बन्ने क्रम धेरै रहन्छ । किनभने, विचार र आदर्शले कोही गोलबन्द हुने कुरा भएन । भोलि आफ्नो राजनीतिक भविष्य कहाँ सुरक्षित हुन्छ ? त्यसले गोलबन्द हुने हो । कसले कसलाई सुरक्षा गर्छ भन्ने प्रमुख हुन्छ ।
सभापतिपछि महामन्त्री, उपसभापति, सहमहामन्त्रीलगायत पदमा कसरी व्यवस्थापन हुन्छ ? त्यसले पनि समीकरण कस्तो बन्छ भन्ने निर्धारण गर्छ । एउटा पद पाएन भने अर्कोतिर उछिट्टिने हुन्छ । १४औँमा प्रकाशमानका उपसभापति गिरिजापुत्री सुजाता कोइराला र महामन्त्री विश्वप्रकाश शर्मा लडेजस्तो पनि हुन सक्छ । मनोनयन फाइल गर्दासम्म नयाँ–नयाँ गुट बन्ने र भत्कने क्रम बनिरहन्छ । अब अहिले ‘अर्ली’ छ । वार्मअप सुरु भएको छ । अहिले यसरी नै गुट र सभापति बन्छन् भन्ने वार्मअपको स्टेज र अर्ली स्टेज हो ।
- भत्कियो राजनीतिक संस्कार, भत्कियो हार्दिकता
कांग्रेसको स्थापना बीपी कोइरालाको राष्ट्रिय कांग्रेस र सुवर्ण शमशेरको अगुवाइमा महेन्द्रविक्रम शाह अध्यक्ष रहेको प्रजातन्त्र कांग्रेस मिलेर भएको हो । यो पार्टीमा त्यस बेलादेखि नै विकसित वा अविकसित रूपमा वैचारिक गुट थियो । तर, नेताका बीचमा हार्दिकता रहन्थ्यो ।
०४६ अघि बीपीको निधनपछि म सम्झन्छु– बीपीसँग त हामीले धेरै संगत गर्न पाएनौँ । विद्यार्थी भर्खर नेवि संघमा लाग्दै थियौँ । तर, गणेशमान, किसुनजी र गिरिजाप्रसादसँग नजिक भएर काम गर्ने सौभाग्य पनि मिल्यो । यसो भन्दा गौरव लाग्छ ।
उहाँहरूबिच चरम प्रतिस्पर्धा थियो । किसुनजी र गणेशमान एक ठाउँमा हुनुहुन्थ्यो । गिरिजाप्रसाद अर्को ठाउँमा । त्यति हुँदा पनि कोही जिल्लाबाट सिनियर कांग्रेसी गणेशमानलाई भेट्न गए किसुनजी र गिरिजाबाबुलाई भेटेर जान भन्नुहुन्थ्यो । किसुनजीकहाँ गए पनि गणेशमान र गिरिजाबाबुलाई भेटेर जानुस् भन्नुहुन्थ्यो । गिरिजाबाबुले पनि किसुनजी र गणेशमानलाई भेट्न भन्नुहुन्थ्यो । त्यस्तो हार्दिकता थियो । किसुनजी बीपीको देहावसानपछि पनि दसैँ मनाउन दुई दिन कोइराला निवास विराटनगर गएर बस्नुहुन्थ्यो ।
गिरिजाप्रसाद र गणेशमानबीच चरम द्वन्द्व थियो । गणेशमान कांग्रेस छाडेपछि फरक मत लिएर जनजागरण अभियान लिई देश दौडाहामा हुनुहुन्थ्यो । अभियानका क्रममा विराटनगर पुगेर कोइराला निवासमा बस्नुभयो । मैले भन्न खोजेको विचारमा प्रतिस्पर्धा थियो । शैलीमा फरकपन थियो । चरम द्वन्द्व थियो । तर, नेताको एकापसमा व्यक्तिगत रूपमा हार्दिकतापूर्ण सम्बन्ध थियो । एकले अर्कालाई आदर गर्ने राजनीतिक संस्कार थियो ।
त्यो संस्कार भत्किएको छ । नेताहरूबिच हार्दिकता भत्किएको छ । अहिले एक नेताले अर्को नेतामा गएर आएको थाहा पाए असर पर्ने अवस्था छ । यो शेरबहादुरको मान्छे वा कोइरालाको भन्दिने अवस्था छ । गरिब राजनीतिक मानसिकता छ । विचार शून्यता छ । त्यो वैचारिक दिवालियापनबाट पार्टी हिँडेको परिणाम अहिले छ ।
हामीले कार्यकर्तालाई प्रशिक्षित गर्न सकेनौँ । राजनीतिक विचारभन्दा पनि सत्ताकेन्द्रित भयौँ । तल्ला तहमा कार्यकर्ता निर्माणमा वैचारिक पक्ष भएन । जोसँग पैसा भयो उही नेता । धनगिरी र डनगिरी । स्थानीय तहमा ठेकेदारदेखि राष्ट्रिय स्तरमा बिचौलियाले राजनीतिक दल कब्जा गरेका छन् । त्यसको प्रभाव कांग्रेसमा पनि छ र विचार शून्यता छ । यो स्थितिमा अपेक्षा गरेजस्तो १५ औँ महाधिवेशनलाई ध्यानमा राखेर वैचारिक बहस हुँदैन । वैचारिक गुटभन्दा पनि स्वार्थका झुन्ड हावी हुन्छन् ।
अहिले पार्टीलाई कसरी सफल बनाउने भन्ने बहसभन्दा पनि महाधिवेशनको हतारो नै लाग्यो । जनतामा पार्टी प्रिय बनाउने विषयमा तीन तहको सरकारमा कांग्रेस भए पनि त्यसलाई प्रभावकारी बनाउन छलफल भएन । पार्टी बैठक नियमित बस्दैन । ‘नालायक’हरूले दुई महिनामा गठन हुनुपर्ने विभागको विषयमा ६ महिनामा गठन गर्ने भनेर लेख्ने । त्यो पनि महाधिवेशनको मुखमा मात्र विभाग गठन हुन्छ । केन्द्रीय समितिले पूर्णता पाउँदैन । तीन वर्षसम्म कोषाध्यक्षविहीन भएर पार्टी चल्छ ।
जिल्लामा झन् भद्रगोल छ । सयदिने अभियान पनि प्रतिनिधिहरू जिल्लामा नपुगेर असफल बनाए । कांग्रेसप्रति निराशा छ । को पार्टीमा छ ? कसले छाड्यो ? त्यसको हिसाब छैन । त्यो काम गर्न छाडेर महाधिवेशन–महाधिवेशन भनेर बस्नु दुर्भाग्य हो ।
(कांग्रेस नेता ढकालसँग रातोपाटीकर्मी रोमन आचार्यले गरेको कुराकानीमा आधारित)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमबीबीएसमा नाम निकाल्दिने भन्दै ३८ लाख ८० हजार लिएको खुलासा
-
विपन्न समुदायका छात्रालाई वडा कार्यालयबाट साइकल सहयोग
-
बीपी राजमार्ग पुनर्निर्माणमा साढे नौ अर्ब लाग्ने, कसरी होला बजेट व्यवस्थापन ?
-
नौ वर्षपछि दोदा नदीको पुल निर्माणले गति लिँदै
-
सिक्टा सिँचाइ आयोजनाको भौतिक प्रगति ४१ प्रतिशत, साढे सात अर्बको लागत झण्डै ५३ अर्ब पुग्यो
-
वन कार्यालयले सिफारिस रोक्दा नदीजन्य पदार्थ उत्खनन रोकियो, राजस्व सङ्कलनमा ह्रास