शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी स्पेसलः कांग्रेसमा राजनीति

कांग्रेसमा सभापति हत्याउन अहिल्यै वार्मअप

१५ औँ महाधिवेशनको टुंगो छैन, अहिले नै देश दौडाहामा नेताहरू
मङ्गलबार, १६ पुस २०८१, ०९ : ४०
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । विधानतः जाने हो भने अझै एक वर्ष कुर्नुपर्छ कांग्रेसको १५औँ महाधिवेशन । तर, यसअघिको परिदृश्य हेर्दा निर्धारित समयमा हुन्छ भन्ने कुनै टुंगो छैन । सभापतिका आकांक्षी नेताहरूलाई भने महाधिवेशनको रन्कोले छोइसकेको छ ।

कांग्रेसका एक प्रभावशाली नेता भन्छन्, ‘शेखर–गगनका मान्छेहरूले पनि एकार्कालाई सामाजिक सञ्जालमा खेद्न थालेका छन् । यसले देखाउँछ, कांग्रेसभित्र महाधिवेशनको वार्मअप सुरु भइसक्यो ।’

कांग्रेसको विधान २०१७ को धारा १७ (१) कार्यान्वयन भए २०८२ मंसिरभित्र महाधिवेशन हुनुपर्छ । उक्त उपधारामा लेखिएको छ, ‘पार्टीको केन्द्रीय महाधिवेशन केन्द्रीय कार्यसमितिले तोकेको मिति र स्थानमा प्रत्येक चार वर्षमा हुनेछ ।’

१४ औँ महाधिवेशन २०७८ भदौ १८ मा वडा अधिवेशनबाट सुरु भई मंसिर २४ मा प्रारम्भ भएको थियो । यस हिसाबले विधानसम्मत नै करिब एक वर्ष बाँकी छ । विधानकै धारा ४३ लाई आधार बनाउने हो भने त एक वर्ष समय थप गरेर महाधिवेशन धकेलिन सक्छ । 

उक्त धारामा लेखिएको छ, ‘पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि चार वर्षको हुनेछ । असाधारण स्थिति भएमा केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा एक वर्षसम्मको अवधि बढाउन सक्नेछ ।’

सभापति शेरबहादुर देउवाले १४ औँ महाधिवेशन ५ वर्ष ६ महिना लगाएर गराएका थिए । विधानले दिएको पाँच वर्षमा संविधानको धारा २६९ प्रयोग गरी ६ महिना समय थप गरिएको थियो । नत्र उक्त महाधिवेशन २०७६ मा गर्नुपर्ने थियो । संविधानको धारा २६९ (४) (ख) मा ‘...विशेष परिस्थिति उत्पन्न भई पाँच वर्षभित्रमा पदाधिकारीको निर्वाचन सम्पन्न हुन नसकेमा ६ महिनाभित्र त्यस्तो निर्वाचन गर्न सकिने गरी राजनीतिक दलको विधानमा व्यवस्था गर्न बाधा पर्ने छैन’ भनी लेखिएको छ ।

त्यसकारण यसपटक पनि चार वर्षभित्र महाधिवेशन हुन्छ भन्नेमा केन्द्रीय नेताहरू नै विश्वस्त देखिँदैनन् । ‘विधानले शेरबहादुरलाई पुनः सभापति बन्न दिँदैन । त्यसैले सभापतिले चार वर्षमै महाधिवेशन गर्ने भन्ने अपेक्षा गर्नै सकिँदैन’, सभापति देउवानिकट एक पदाधिकारी भन्छन्, ‘अहिलेसम्म कुनै पनि महाधिवेशन तोकिएको समयमा भएकै छैन । एक वर्ष समय थपिन्छ । ढुक्क हुनुहोस् ।’

कांग्रेस नेता लोकेश ढकाल विधान पालनै नहुने आफ्नो दलमा विधानले घुमाउरो पारामा एक वर्ष थप्न दिएको समयलाई सभापति देउवाले दुरुपयोग गर्न सक्ने बताउँछन् । ‘एक वर्ष समय थप्ने भनेको प्राकृतिक र राजनीतिक विपत्ति अथवा काबु बाहिरको स्थितिमा मात्र हो भनेर विधानले लेखेको छ’, उनी भन्छन्, ‘तर, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवाले यसको दुरुपयोग गर्नुभएकै हो । त्यसकारण पाँच वर्षमा हुने भएकाले महाधिवेशन आउन दुई वर्ष बाँकी छ ।’

Lokesh_Dhakal-1638369108

आकांक्षी नेता भने टुंगो नलागेको महाधिवेशनबाट नेतृत्व हत्याउन देश दौडाहामा निस्कन थालेका छन् । कोही घोषित त कोही अघोषित रूपमा । जसमा डा. शेखर कोइराला, गगन थापा, डा. शशांक कोइरालालगायत नेता छन् । डा. शेखर यसअघि सभापतिमा पराजित भएका थिए । थापा महामन्त्री निर्वाचित भएका थिए ।

सभापति देउवानिकट सहमहामन्त्री भीष्मराज आङ्देम्बे नेताहरू बिस्तारै महाधिवेशनको तयारीमा लाग्न थालेको स्वीकार गर्छन् । ‘नेताहरूले पार्टीमा १५ औँ महाधिवेशनको तयारी गर्न थालेको देखिन्छ’, उनले रातोपाटीसँग भने ।

देउवानिकट केन्द्रीय सदस्य गुरु बराल पनि पार्टीमा महाधिवेशन लक्षित गतिविधि प्रारम्भ भएको बताउँछन् । ‘स्वाभाविक हो हाम्रो गतिशील पार्टी हो र गुट पनि छ’, उनी भन्छन्, ‘सभापति लड्छु भन्ने र भूमिकामा आउँछु भनेर गतिविधि बढाउने कुरा सामान्य भयो ।’

  • ‘घोषित–अघोषित’ दौडधुपमा को–को ?

डा. शेखर कोइरालाले गत कात्तिकमा विराटनगरस्थित कोइराला निवासमा मधेस प्रदेशका नेताहरूसँग भेटघाटका क्रममा आफू सभापति पदमा उठ्ने कुरामा अन्योलमा नपर्न आग्रह गरेका थिए । उनले भनेका थिए, ‘अब जित्नकै लागि सभापतिमा उठ्ने हो । पार्टीमा गुमेको साख फर्काउने हो । त्यसका लागि तपाईंहरू आआफ्नो कार्यक्षेत्रमा खटिनुस् ।’

उनी त्यसयता निरन्तर प्रदेशगत दौडमा छन् । हालै सभापति देउवाको गृहप्रदेश सुदूरपश्चिम पुगे । डा. कोइरालाले त्यहाँ नेता–कार्यकर्तालाई भेटेर महाधिवेशनको सन्देश दिएका थिए । उनीनिकट गुरुराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायत नेताले अनामनगरमा सम्पर्क कार्यालय खोलेर महाधिवेशनकेन्द्रित गतिविधि गरिरहेका छन् । 

घिमिरेका अनुसार डा. कोइरालाले आफू निकटसँग सभापति लड्ने बताइसकेका छन् । ‘उहाँले सभापति लड्छु भन्नुभएको छ । अन्तिममा मै हो निर्विवाद भन्नुभएको छ’, घिमिरेले रातोपाटीसँगको अन्तर्वार्तामा भनेका छन् । 

पार्टी नेतृत्वमा पुग्ने तयारीमा महामन्त्री थापा पनि छन् । तर, उनले सभापति पदमा लड्ने–नलड्ने विषयमा घोषणा गरेका छैनन् । निकटस्थ भने थापालाई सभापति बनाउने तयारीमा होमिएका छन् । उनले केही समयअघि दुई चरणमा गरेर ‘संवाद यात्रा’ कार्यक्रममार्फत देश दौडाहा गरेका थिए । महामन्त्रीका रूपमा देश दौडाहा गरेर उनले जनमत बुझेका निकटस्थ बताउँछन् । त्यसैले पनि उनी सभापति लड्ने सम्भावना बढी देखिन्छ । 

उनीनिकट नेता मनोजमणि आचार्य थापा सभापति पदमा लड्ने बताउँछन् । प्राविधिक रूपमा सभापति देउवा भए पनि पार्टी भने थापाले लिएको एजेन्डामा चलेकाले ‘जसको एजेन्डा उसैको नेतृत्व’ १५औँ महाधिवेशनले स्थापित गर्ने दाबी गर्छन् आचार्य ।

‘कांग्रेस बाहिरका पनि देशैभरका मतदाताको माग महामन्त्री गगन थापा कांग्रेसको नेतृत्व र देशको नेतृत्वमा हुनुपर्छ भन्ने छ’, आचार्यले रातोपाटीसँग भने, ‘नेवि संघको राजनीति हुँदै कांग्रेस केन्द्रीय महामन्त्रीसम्म भइसक्नुभयो । उहाँ १५औँ महाधिवेशनमा सभापतिको उम्मेदवार हो ।’

सभापति बन्ने चाहना पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पनि जाहेर गरिसकेका छन् । उनले गत चैतमा रामेछाप पुगेर आफूले तयारी गरिरहेको बताएका थिए । उनले भनेका थिए, ‘तपाईंहरूको आग्रह जायज छ । म सोहीअनुसार नेतृत्वका लागि अघि बढ्छु । सभापति बनेर अहिलेभन्दा भिन्न ढंगले पार्टी चलाउने मेरो योजना छ ।’ 

उनीनिकट केन्द्रीय सदस्य उर्मिला थपलिया सभापति बन्ने गरेर तयारी भइरहेको बताउँछिन् । ‘सभापति बन्नकै लागि डा. सा’प पुरानो नेताहरूसँग परामर्श र सम्पर्कमा हुनुहुन्छ । जिल्लामा साथीभाइ भेट्ने र उहाँहरूको कुरा सुनिरहनुभएको छ’, थपलिया भन्छिन्, ‘हिजो मात्र तराईबाट फर्कनुभयो । अब पनि थप जिल्ला जाने र साथीहरूसँग छलफल गर्ने योजना उहाँको छ ।’

उपसभापति पूर्णबहादुर खड्का पनि अघोषित रूपमा नेतृत्वकै दौडमा देखिन्छन् । उनले देउवाको सहयोग खोजिरहेको एक नेताको तर्क छ । ‘अगाडि बढ्नुस् भन्दा सभापतिज्यूको सहयोग पाइन्छ कि भनेर भित्र–भित्रै लाग्नुभएको छ’, ती नेता भन्छन् । 

यसबाहेक पनि १४ औँ महाधिवेशन लडेका विमलेन्द्र निधि, प्रकाशमान सिंह, कल्याण गुरुङ मात्र होइन, १३ औँ महाधिवेशनमै भिडेका कृष्णप्रसाद सिटौलाको पनि चर्चा छ कांग्रेस वृत्तमा । 

राजनीतिक विश्लेषक प्रा.डा. राजेश गौतम आधा दर्जन व्यक्तिको नाम सभापतिका लागि चर्चामा रहेको सुनाउँछन्् । ‘लिगेसीको कुरा गर्दा शशांक, शेखर, विमलेन्द्र, प्रकाशमान नै हुनुहुन्छ । दुई महामन्त्रीमध्ये गगन अघि बढ्नुहुन्छ । पूर्णबहादुर पनि शेरबहादुरको आशीर्वाद पर्खिएरै बस्नुभएको छ’, गौतमको विश्लेषण छ । 

  • देउवाको ‘आशीर्वाद’ र आरजूको व्यवस्थापन  

केन्द्रीय कार्यसमितिको गत साउनमा बसेको बैठकमा बोल्ने पुराना नेताहरूले देउवाको सहयोगमा आफू सभापति बन्न चाहेको संकेत गरेका थिए । यतिसम्म कि लामो समय देउवासँग पौँठेजोरी गरेर बसेका नेता बलबहादुर केसीले पनि आफूहरूलाई सहयोग गर्न भनेका थिए । 

‘तपाईंले बनाउनुपर्ने जति सबैलाई बनाउनुभयो । अब पार्टी बनाउनुहोस् । नेतृत्वमा अब हामीलाईं लैजानुस्’, केसीले भनेका थिए । 

साउनकै बैठकमा अर्का नेता विजयकुमार गच्छदारले सँगै राजनीतिमा दुःख गरेकाहरूलाई अवसर दिनुपर्ने अडान राखेका थिए । उनले भनेका थिए, ‘सभापतिज्यू अब तपाईं अभिभावक बस्नुहोस् । तपाईंसँगै लडेका, दुःख गरेको बलबहादुर केसीलाई सभापति बनाउनुहोस् वा अरू विमलेन्द्र, प्रकाशमान, पूर्णबहादुर वा तपाईंले बनाउनुहुन्छ भने म पनि तयार छु, ।’ 

नेता निधिले पनि पनि पार्टीलाई एक बनाएर लानुपर्ने बेला जिम्मेवार र परिपक्व नेतृत्व आवश्यक भएको बताएका थिए ।

उनीहरू सबैको आशय देउवासँग ‘अबको सभापति म’ भन्ने थियो । यतिसम्म कि डा. शेखर कोइराला, गगन थापा, डा. शशांक कोइराला, विमलेन्द्र निधि, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह सबै देउवालाई ‘दाहिना’नै राख्ने दाउमा छन् । 

सहमहामन्त्री आङ्देम्बेको विचारमा सभापति लड्छु भनेर हिँडेका सबैले देउवाको सहयोग र समर्थन खोजेका छन् । ‘पार्टीभित्र सभापति लड्ने तयारी गरिरहुनभएका सबै जना पार्टी सभापतिज्यूको सहयोगमा लिएर चुनाव लड्ने इच्छा राख्नुभएको छ’, उनले रातोपाटीसँग भने, ‘जाहेर गर्ने तौरतरिका फरक होलान् । तर, सबै जना सभापतिज्यूसँग क्लोज हुन चाहेको नै देख्छु ।’

देउवा हालसम्म कसैको पनि पक्षमा खुलेका छैनन् । उत्तराधिकारीका रूपमा कसैलाई अघि बढाउने छनक पनि उनले दिएका छैनन् । बरु जति सक्यो नेताहरूबीच देउवा ‘खेलिरहेका’ छन् । सबैलाई ‘अघि बढ, म छु’ भनेर आश्वासन बाँडिरहेका नेताहरू बताउँछन् । 

कांग्रेस नेता ढकाल देउवाको साथ चाहनेले उनकी धर्मपत्नी तथा कांग्रेस नेतृ आरजू राणा देउवाको व्यवस्थापन पनि हेर्नुपर्ने धारणा राख्छन् । ‘अन्तिममा गिरिजाप्रसाद कोइरालालाई आफ्नै छोरीको व्यवस्थापनको चिन्ता भएजस्तै सभापति देउवालाई पनि पत्नी व्यवस्थापनको चिन्ता हुनु स्वाभाविक नै हो’, उनी भन्छन्, ‘व्यक्तिगत क्षमतामाथि मेरो कुनै प्रश्न छैन । तर, जति पनि पाउनुभयो सबै शेरबहादुरको पत्नी भएको कारणले पाएको हो नि !’

विश्लेषक प्रा.डा. गौतम पनि उस्तै प्रकृतिको विश्लेषण गर्छन् । ‘पार्टीभित्र जसले मानून् या नमानून् शेरबहादुर शक्तिशाली र बलियो हुनुहुन्छ । शेरबहादुरलाई नच्यापीकन हामी अघि बढ्न सक्दैनौँ भन्ने दृष्टिकोण सबैको छ’, उनी भन्छन्, ‘शेरबहादुरको सहयोगमा मात्र सभापति जितिन्छ भन्ने यहाँ शेखर, गगन, शशांक, विमलेन्द्रलगायत सबैलाई परेको छ ।’

गौतमको विचारमा आरजूलाई स्थापित गर्न देउवाले चाहेको भए महामन्त्री तहमै पुगेर देउवाको समर्थन रहने सम्भावना छ । ‘चर्चा छ कि शेरबहादुरजी उहाँकी पत्नी आरजूलाई पनि पार्टीमा स्थापित गर्न चाहनुहुन्छ । आरजूलाई पार्टीमा स्थापित गर्नका लागि महामन्त्री आफ्नो पक्षमा हुनुपर्छ’, उनी भन्छन् । 

  • देउवालाई दिँदैन विधानले 

देउवालाई सभापति बन्न विधानले नै रोकेको छ । विधानको धारा ५७ मा यससम्बन्धी व्यवस्था छ । जहाँ लेखिएको छ, ‘पार्टीको सबै तहको कार्यसमितिको सभापति निरन्तर रूपमा दुई पदावधिभन्दा बढी सोही पदमा उम्मेदवार हुन पाउनेछैन ।’ देउवाको यो दोस्रो कार्यकाल हो । उनी यसअघि पनि सभापति बनेका थिए ।  

‘देउवा पुनः सभापति नबन्ने भएपछि उहाँमा महाधिवेशनको रन्को देखिएको छैन’, नेता ढकाल भन्छन्, ‘तर, आफ्नो उत्तराधिकारी कसलाई बनाउने भन्ने चासो छँदै छ । उहाँलाई आफ्नो समूह र परिवारलाई सम्बोधन गर्नुपर्ने दबाब छँदै छ ।’

  • क्रियाशील सदस्यतामा विवाद यथावत्

महाधिवेशनको जति बहस चले पनि प्रस्थानबिन्दु भने क्रियाशील सदस्यता नै हो । क्रियाशील नभएको व्यक्ति वडादेखि केन्द्रसम्म पार्टी नेतृत्वमा पुग्न पाउँदैन ।  विधानअनुसार साधारण सदस्यता लिएको एक वर्षपछि क्रियाशील दिइन्छ । 

कांग्रेसमा क्रियाशीलको विवाद छ । २०६७ सालदेखिकै विवाद अझै मिल्न नसकेको हो । २०६७ असोजमा १२औँ महाधिवेशन विवादका कारण पुरानै क्रियाशील सदस्यबाट भएको थियो । त्यस बखत सुशील कोइराला सभापति निर्वाचित भएका थिए । 

२०७२ फागुनमा १३ औं महाधिवेशनबाट देउवा सभापति बने । त्यस बेला पनि समाधान नभएको क्रियाशील विवाद १४ औँ महाधिवेशनबाट पुनः देउवा सभापति चयन हुँदा पनि हल भएन । नेतृत्वले महाधिवेशनको वार्मअप गरिरहँदा महत्त्वपूर्ण विषयमा देखिएको विवाद हल गर्ने गरी काम भएको छैन । 

केन्द्रीय सदस्य मधु आचार्य विधानको व्यवस्थाअनुसार चार वर्षभित्रै महाधिवेशन गर्ने भए क्रयाशील सदस्यतासम्बन्धी विवाद समाधान गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने तर्क गर्छन् । ‘सदस्यताको विषयमा कर्तव्यबोध गरिएको देखिएन । महाधिवेशन गर्नुअघि पार्टी सदस्यता तय गर्नुपर्ला । अनि न तलबाट प्रतिनिधि आउन प्रारम्भ हुन्छ’, उनी भन्छन्, ‘सबै जुटेर क्रियाशील सदस्यता रोकिएकोमा अघि बढाउने कुरामा एक हुन जरुरी छ । जब यो सम्पन्न हुन्छ त्यति चाँडो अधिवेशन हुन्छ । ०८२ को अधिवेशन गर्ने भने ८१ मा क्रियाशील सक्नुपर्छ ।’

यो विवाद समाधान गर्न महामन्त्री थापाको संयोजकत्वमा समिति छ । जसमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, योगेन्द्र चौधरी र प्रकाश रसाइली (स्नेही) सदस्य छन् । जिल्लामा क्रियाशील नवीकरण र नयाँ वितरणका फाराम पठाए पनि कतै जिल्ला त कतै क्षेत्रसम्म पुगेर होल्ड भएको छन् । समितिले पुस १८ गतेसम्म मिति तोकेर जुन तहमा फाराम रोकिएको छ त्यसलाई तल्लो तहमा पठाइदिन निर्देशन दिएको छ । 

 ‘१८ गतेसम्म तल्लो तहमा फाराम नपुगे जिल्लामा पुगेको फाराम पनि हामी क्यान्सिल गरेर नयाँ फाराम वडा तहसम्मै पुर्याउँछौँ’, चौधरी भन्छन्, ‘हामीले हरेक जिल्लाको अवस्था के छ भनेर बुझ्ने काम गरिरहेका छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप