शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय
राजनीति

के-के छन् रास्वपा केन्द्रीय समिति बैठकको एजेन्डा ?

बैठक कहाँ बस्ने अझै छैन टुङ्गो
मङ्गलबार, १६ पुस २०८१, ०९ : १३
मङ्गलबार, १६ पुस २०८१

काठमाडौँ । सभापति रवि लामिछानेको मुद्दाका कारण  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ‘राजनीतिक तनाव’ खेपिरहेको छ । कास्की जिल्ला अदालतमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधमा मुद्दा दर्ता भएसँगै रास्वपामा सङ्कट उत्पन्न भएको हो । 

रविकै ‘छवि’ का कारण संसदीय राजनीतिमा चौथो ठुलो शक्ति बनेर उदाएको रास्वपा उनै रवि एक पछि अर्को विवादमा परेसँगै पार्टी समस्यामा पुगेको विश्लेषण राजनीतिक वृत्तमा हुने गरेको छ । सहकारी छानबिन संसदीय समितिको प्रतिवेदनका आधारमा रविमाथि मुद्दा अघि बढेसँगै रास्वपा अन्योलको वातावरण र सङ्गठनात्मक रूपमा भद्रगोल पो बन्छ कि भन्ने चासो र चिन्ता चौतर्फी छ ।

अदालतमा रविविरूद्ध मुद्दा दर्ता भएसँगै यतिबेला रास्वपाको कमान्ड उपसभापति डोल प्रसाद (डीपी) अर्यालले सम्हालेका छन् । गत पौष १२ गते बसेको पार्टी सचिवालय बैठकले पुस १९‚ २० र २१ गते पार्टीको विस्तारित केन्द्रीय समिति बैठक बस्ने निर्णयसमेत गरेको थियो ।

अर्यालले जिम्मेवारी लिएपश्चात् पार्टीको पहिलो विस्तारित बैठक बस्न लागेको हो । त्यसैले यो केन्द्रीय समिति बैठकलाई थप महत्त्वका साथ हेरिएको छ । रवि सक्रिय बन्न नमिल्ने अवस्थामा सांगठनिक रूपमा रास्वपालाई अघि बढाउन अर्यालको नेतृत्वमा पार्टीले कस्तो निर्णय लिन्छ भन्ने चासो राजनीतिक वृत्तमा छ ।

विस्तारित बैठकको मिति तय भए पनि एजेन्डा भने रास्वपाले हालसम्म सार्वजनिक गरेको छैन । पार्टी संसदीय दलका प्रमुख सचेतक सन्तोष परियारका अनुसार एजेन्डा तय गर्ने कार्य जारी छ । यसका लागि पदाधिकारीहरू बसेर छलफल भइरहेको परियार बताउँछन् । ‘छलफल गर्ने महत्त्वपूर्ण एजेन्डाको विषयमा हामी तयारी गरिरहेका छौँ‚’ परियारले रातोपाटीसँग भने ।

पार्टी कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी भने सभापति लामिछानेकै वरिपरि रहेर यकिन एजेन्डा तय हुने सम्भावना नरहेको बताउँछन् । ‘आज हाम्रो जुममा केन्द्रीय समितिको अनौपचारिक छलफल थियो । सभापति ज्यूको मुद्दाको लिगल स्ट्याटस के छ भनेर त्यहाँ ब्रिफिङ गर्ने र बुझाउने काम भयो‚’ उनले रातोपाटीसँग भने‚ ‘त्यसकारण केन्द्रीय समिति बैठकमा सभापतिज्यूको वर्तमान न्यायिक प्रक्रियाको विषयमा छुट्टै छलफल हुँदैन ।’

 उपनिर्वाचनको समीक्षा लगायत केही एजेन्डा

गएको कात्तिक यता रास्वपा हिरासतबाट चलेको पार्टी बन्यो । सभापति रवि लामिछानेले पोखरा‚ बुटवल‚ काठमाडौँ लगायत जिल्लामा हिरासतमा रहे पनि उनले हिरासतबाटै पार्टी चलाएका थिए । पूर्वउपप्रधान तथा गृहमन्त्री समेत रहेका सभापति लामिछाने पार्टीको राष्ट्रिय भेलाको केही समय पश्चात् अर्थात् गत कात्तिक २ मा प्रहरी हिरासतमा पुगेका हुन् । 

त्यसयता पार्टीमा कार्यवाहक सभापतिबारे बहस सुरु भए पनि उनले पार्टी हिरासतबाटै चलाए । महत्त्वपूर्ण विषयमा छलफल गर्न पार्टी उपसभापति डीपी अर्याल‚ स्वर्णिम वाग्ले‚ कार्यवाहक महामन्त्री कवीन्द्र बुर्लाकोटी‚ प्रमुख सचेतक सन्तोष परियार‚ कार्यवाहक प्रवक्ता मनिष झा लगायतका नेताहरू हिरासतमै पुग्ने गर्दथे । लामिछानेले उतैबाट निर्देशन दिएपश्चात् पार्टीले सडक आन्दोलन गर्ने‚ रोक्ने लगायतका निर्णयहरू गरेको थियो ।

 सभापति रविले हिरासतबाटै पार्टी चलाउँदा मङ्सिरमा भएको स्थानीय तह उपनिर्वाचन लगायतको एजेन्डा छायामा परेको थियो । यतिसम्म कि पार्टीले काठमाडौँ १६ मा वडाध्यक्ष जित्न बाहेक धेरै जिल्लामा जमानत समेत जोगाउन सकेन । 

सबैभन्दा धेरै सांसद जितेको काठमाडौँको कीर्तिपुरमा उम्मेदवार नै पाउन सकेन । यसबाहेक पार्टीले सञ्चालन गर्ने भनेका विभिन्न अभियान घोषणामै सीमित रहन पुगेका थिए ।

कार्यवाहक महामन्त्री बुर्लाकोटी अब बस्ने केन्द्रीय समिति बैठकमा उपनिर्वाचनको समीक्षा गर्ने एउटा महत्पूर्ण एजेन्डा रहेको बताउँछन् । ‘उपनिर्वाचनको समीक्षा गर्ने हाम्रो तयारी छ‚’ उनी भन्छन् ।

 यसबाहेक पार्टीले सांगठनिक रणनीतिको विषयमा पनि छलफल गर्ने तयारी गरेको छ । पार्टीको असोज १ र २ गते सम्पन्न राष्ट्रिय भेलाले वैशाखमा पहिलो महाधिवेशन गर्ने निर्णय गरिसकेको छ । त्यसअघि ६ हजार ७४३ वडादेखि ७५३ स्थानीय तह, ७७ जिल्ला र सात प्रदेशको अधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । यसका लागि धेरैजसो ठाउँमा पार्टीको संगठन पुग्न सकेको छैन ।

 संगठन विभाग प्रमुख समेत रहेका कार्यवाहक महामन्त्री बुर्लाकोटीका अनुसार पार्टीले हालसम्म ६० जिल्लाको भेला सम्पन्न गरिसकेको छ । यसबाहेक अन्य जिल्लाको भेला‚ क्षेत्र‚ वडा लगायतको भेला तथा अधिवेशन लगायत विषय पनि छलफलमा आउनेछन् ।

रास्वपाभित्र राष्ट्रिय भेलाले पास गरेको विधान अनुसार पार्टी संरचना बनिसकेको छैन । जिल्ला भेला गरेर पार्टीको संरचना पुनर्गठन गर्ने तथा तल्ला संरचनाहरूमा पनि विधान अनुरूप पार्टी संरचना नबनेसम्म अधिवेशन गर्न सम्भव छैन ।

 ‘हामी पदाधिकारी बसेर एजेन्डाहरू टुङ्गो लगाउने चरणमै छौँ‚’ उनले थपे‚ ‘संगठनको रणनीति विषयमा अवश्य छलफल हुन्छ नै ।’

 बैठक कहाँ बस्ने छैन टुङ्गो

पार्टीको बैठक काठमाडौँमा बस्ने नबस्ने निर्णय नै हुन सकेको छैन । बुर्लाकोटीका अनुसार काठमाडौँ बाहिर गर्ने कि भन्ने विषयमा पनि प्रस्तावहरू आएका छन् । तर‚ बैठक बस्न चार दिन मात्र बाँकी रहँदा पार्टीले कुनै निर्णय भने गरिसकेको छैन ।

उनले दिएको जानकारी अनुसार काठमाडौँ बाहेक चितवन‚ पोखरा वा काभ्रे मा बैठक बस्ने प्रस्ताव आएको छ । जसको टुङ्गो मंगलबार सम्म लाग्ने उनी बताउँछन् ।

‘भेन्यूको विषयमा छलफल भइरहेको छ । काठमाडौँ‚ चितवन‚  काभ्रे र पोखराको प्रस्ताव आएको छ‚’ उनले भने‚ ‘ यी ठाउँ मध्ये कहाँ बैठक बस्ने भनेर भोली सम्म टुङ्गो लाग्छ ।’

केन्द्रीय समिति बैठकमा संसदीय दलको नेताको विषयमा भने कुनै छलफल नहुने उनले जानकारी दिए । ‘साथीहरूले अहिले यो विषयमा छलफल नगरौँ भन्ने सुझाव दिनुभएको छ‚’ उनले थपे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोमन आचार्य
रोमन आचार्य
लेखकबाट थप