पौष कृष्ण औँसी : गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भक्तजनले गरे श्राद्ध
काठमाडौँ । गोकर्णेश्वर उत्तरगया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा भक्तजनले श्राद्ध गरेका छन् । उत्तरगयामा श्राद्ध गर्न आज बिहानैदेखि घुइँचो लागेको थियो ।
गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडक बिहानैदेखि जाम भएको थियो । यस क्षेत्रमा यात्रुलाई सहजरुपमा यात्रा गराउन नेपाल ट्रष्टको कार्यालयअन्तर्गत रहेको गोकर्ण जङ्गलभित्रको सडक खुलाउन गोकर्णेश्वर नगरपालिकाले माग गर्दै आएको छ ।
जङ्गलको पर्खालसँगैको यो सडक पर्खाल थोरै माथि सारेपछि प्रयोग गर्न सकिने अवस्थामा छ । पर्खाल ठाउँ ठाउँमा भत्किएकाले नयाँ बनाउँदा थोरै माथि सार्ने सहमति भए यात्रुले राहत पाउने अवस्था छ ।
गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रको पर्ती जग्गामा बनेका घरले सडकको मापदण्ड पालना नगर्दा साँघुरो बाटोमा सधैँ जाम हुने गरेको छ । यो समस्या समाधानका लागि नगरपालिकाले पहल गर्न नसकेको स्थानीयवासीको आरोप छ । अव्यवस्थित बस्तीका कारण पनि गोकर्णेश्वर उत्तरगया क्षेत्र साँघुरो बन्दै गएको छ ।
पौषकृष्ण औँसीमा तीर्थस्थलमा गई श्राद्ध गरिन्छ । सक्नेले प्रत्येक वर्ष र नसक्नेले जीवनमा एकपटक तीर्थ, गया, विष्णुपादुकामा गई श्राद्ध गर्नुपर्छ भन्ने शास्त्रीय वचन रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । आज गोकर्णसँगै रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावती, त्रिवेणी, देवघाट, रिडी, बराहक्षेत्र, पशुपतिक्षेत्रलगायत तीर्थस्थलमा पनि श्राद्ध गर्ने भक्तजनको घुइँचो लागेको थियो ।
गोकर्णेश्वर उत्तरगया क्षेत्रमा भगवान् विष्णुको दाहिने पाउको चिन्ह रहेकाले पनि आजको दिन यहाँ श्राद्ध गर्दा पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ । यो विश्वासका आधारमा देशका विभिन्न भागबाट पुसको चिसोको समेत बेवास्ता गर्दै हजारौँ भक्तजन गोकर्णेश्वर पितृतीर्थ धाम आउने गरेका छन् ।
श्राद्ध गर्न आउने भक्तजनका लागि गोकर्णेश्वर मन्दिर क्षेत्र प्रबन्ध समितिले सहज व्यवस्था मिलाएको गोकर्णेश्वर नगरपालिका–४ का वडाध्यक्ष जयराम महतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीका पाँच जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस
-
महिला लिगको फाइनल राउण्डमा आर्मीको सुखद सुरुवात
-
जसको बुढ्यौलीमा फर्कियो आँखाको ज्योति
-
कानुन निर्माणलाई तीव्रता दिने कसरतमा सत्तारुढ दल
-
समस्याग्रस्त सहकारीको व्यवस्थापनका लागि भरत थापाको नेतृत्वमा समिति गठन
-
कृषि क्षेत्रमा इजरायली सहयोगलाई निरन्तरता दिन कृषिमन्त्री अधिकारीको आग्रह