बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बन्दीपुर भ्रमण वर्ष मनाइँदै

सोमबार, १५ पुस २०८१, २२ : १२
सोमबार, १५ पुस २०८१

काठमाडौँ । पहाडकी रानी उपनामले परिचित पर्यटकीय गन्तव्य बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘बन्दीपुर भ्रमण वर्ष, २०२५’ आयोजना हुने भएको छ ।  बन्दीपुर गाउँपालिकाले पर्यटन प्रवर्द्धन, गन्तव्यको पहिचान र आर्थिक गतिविधिलाई चलायमान बनाउने लक्ष्यका साथ सन् २०२५ लाई भ्रमण वर्षका रुपमा मनाउने निर्णय गरिएको काठमाडौँमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
 
बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले प्राकृतिक एवं सांस्कृतिक सम्पदाको संरक्षण र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले भ्रमण वर्ष मनाउन लागिएको बताए । “जिम्मेवार पर्यटकीय क्रियाकलापका माध्यमबाट समृद्ध एवं सुसंस्कृत बन्दीपुरको परिकल्पना र पर्यटक आगमनको सङ्ख्या वार्षिक दुई लाख पुर्याउने उद्देश्यसहित बन्दीपुर भ्रमण वर्ष आयोजना गरिएको हो”, उनले भने ।

भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी वैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय भ्रमण वर्ष सचिवालय गठन गरिएको छ । सचिवालय संयोजक वैश गुरुङका अनुसार भ्रमण वर्षमार्फत स्वदेश तथा विदेशमा बन्दीपुरको पर्यटन प्रवर्द्धन गरी पर्यटकको सङ्ख्या दोब्बर बनाउने योजना छ ।

“भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटक ल्याउने योजना बनाएका छौँ”, उनले भने, “भ्रमण वर्षलाई आधार वर्ष मानेर आगामी तीन वर्षमा वार्षिक आठ लाख पर्यटक बन्दीपुर पुर्याउने हाम्रो लक्ष्य छ ।”

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाई तीन दिन बनाइनेछ । साथै विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक रु तीन हजार पुर्याइनेछ । हाल बन्दीपुरमा मात्रै ७५ होटल र चार वटा होमस्टे (घरबास) का साथै समग्र गाउँपालिकामा एक सय २० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन् । जसमा दैनिक एक हजार सात सय पर्यटक अट्ने क्षमता छ ।

भ्रमण वर्षमार्फत यहाँको सांस्कृतिक सम्पदा संरक्षणसहित यामअनुसारको ‘प्याकेज’ तयार गरिनेछ भने सांस्कृतिक, धार्मिक एवं ग्रामीण पर्यटकीय ‘सर्किट’को प्रवर्द्धन हुने अपेक्षा गरिएको पर्यटनविज्ञ तथा सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले बताए ।

भ्रमण वर्षमा पर्यटकलाई आकर्षित गर्न पर्यटकको उमेर र रुचिअनुसारका प्याकेज निर्माण गर्नुका साथै ‘गाउँमै कमाऔँ गाउँमै रमाऔँ’ तथा वातावरणीय संरक्षणका लागि जनसहभागिता बढाउने गाउँपालिकाको  लक्ष्य छ । भ्रमण वर्ष सफल पार्न कूल रु चार करोड ४३ लाख ५० हजार खर्च हुने गाउँपालिकाको अनुमान छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप