चितवनमा चिसोले बिरामीको सङ्ख्यामा वृद्धि, सावधानी अपनाउन आग्रह

चितवन । चिसोका कारण यहाँका अस्पतालहरुमा बिरामीको सङ्ख्यामा वृद्धि भएको छ । पछिल्ला दिनहरुमा चिसोका कारण हुने रोगको समस्या लिएर अस्पताल आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको हो ।
मुख्यगरी अस्पतालका मेडिसिन, बालरोग र हाडजोर्नी विभागमा यस्ता बिरामीको सङ्ख्या धेरै छ । अस्पतालहरुमा बिरामीको चाप बढ्दै गएपछि चिकित्सकले चिसोबाट बच्न आग्रह गरेका छन् ।
भरतपुर अस्पतालका वरिष्ठ फिजिसियन डा प्रमोद पौडेलका अनुसार आफ्नो विभागमा दैनिक आउने बिरामीमध्ये २० प्रतिशत चिसोका समस्या भएर आउने गरेका छन् । उनले भने, “चिसोका कारण रुघा, खोकी, ज्वरो, दम बढ्ने, घाँटी दुख्नेजस्ता समस्याका बिरामी बढेका छन् ।”
मुटुको समस्या र उच्च रक्तचापका बिरामीले चिसोमा हिँड्न उचित नहुने उनको भनाइ छ । हिँड्नै परेमा न्यानो कपडा लगाउने, नाक, मुख, टाउको घाँटी छोपेर, हातमा पन्जा लगाएर हिँड्दा उत्तम हुने उनले बताए ।
भरतपुर अस्पतालका बालरोग विशेषज्ञ डा.खेमराज पौडेल अस्पतालमा उपचारका लागि आएका बालबालिकामध्ये ७० प्रतिशतमा चिसोको समस्या देखिएको बताउँछन् । चिसोका कारण बालबालिकामा रुघा, खोकी, निमोनिया, छालाको समस्या बढी देखिएको उनले बताए ।
यसैगरी जोर्नी दुखाइका बिरामीको सङ्ख्या पनि अस्पतालमा बढेका छन् । चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका निर्देशक प्राडा दयाराम लम्सालले पछिल्लो समय जोर्नीको दुखाइ, रुघाखोकी, ज्वरो, दम, छालाका समस्या लिएर आउने बिरामीको सङ्ख्या बढ्दै गएको बताउँछन् ।
उनले भने, “यस्ता बिरामी कम हुने समय हो, तर अहिले चिसोका कारण यस्तो समस्या लिएर आउने बिरामीको सङ्ख्या वृद्धि भएको छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खोटाङको हलेसीमा रामनवमी मेला
-
बुण्डेस लिगामा लिभरकुजेनले बायर्नसँग घटायो अंक दुरी
-
स्पेनिस ला लिगामा रियाल मड्रिड हार्यो, उपाधि यात्रामा बार्सिलोनालाई राहत
-
आर्सनल र नटिङघम कमजोर, लिभरपुलले प्रिमियर लिगको उपाधि सजिलै कब्जा गर्ने सम्भावना
-
१२ बजे, १२ समाचार : थाइल्यान्डको भ्रमण सकेर प्रधानमन्त्री स्वदेश फिर्तादेखि रविको पक्राउपछि रास्वपाले जनता सम्झियोसम्म
-
पर्यटन प्रवर्द्धनका लागि देम्बाडाँडामा ‘गल्फ महोत्सव’ हुने