सरकार परिवर्तन र राजनीतिक संकटको वर्ष
काठमाडौँ । फेरि अर्को नयाँ वर्ष हाम्रो सङ्घारमा उभिएको छ । बिदा हुनै लागेको २०२४ नाटकीय रह्यो । कतिपयका लागि त यो मुटु नै कमाउन पनि भइदियो ।
पश्चिम एसिया (मध्य पूर्व)मा झनै द्वन्द्व भड्कियो । युक्रेनको युद्ध साम्य होला भन्ने कामना सारा विश्वले गरिरहँदा यो झनै विकराल बनेर गयो । रुस यति बेला जसरी हुन्छ युक्रेनलाई ‘तह लगाउने’ सुर कसेर बसेको छ । सुडानको गृह युद्ध दोस्रो वर्षमा प्रवेश गर्यो । विश्वका केही ठुला र शक्तिशाली देशमा चुनाव भए । दुई निरङ्कुश शासकको नाटकीय ढङ्गले पतन भयो ।
२०२४ ले विश्वको राजनीतिलाई अर्को आकार दिएको छ भन्नेमा अत्युक्ति नहोला । एकपछि अर्को गर्दै भोग्नु परेको प्राकृतिक विपद्ले जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्नु पर्ने तत्कालीन आवश्यकतालाई थप उजागर गरिदिएको छ । राजनीतिक उतारचढावदेखि प्राकृतिक विपद् र प्राविधिक असफलतासम्म विश्वले कयौँ उल्लेख्य घटना र गतिविधिहरू देख्यो ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सबै युद्ध अन्त्य गर्ने कसम खाएका छन् । उनको नयाँ कार्यकाल सुरु भएपछि विश्वभर अहिले चलिरहेका युद्ध सकिने आशा छ । नयाँ वर्षले पनि हामीसामु अरू नयाँ चुनौतीहरू पनि ल्याउनेछ । यस अघि जानै लागेको वर्षलाई सर्सर्ती नियालौँ ।
- प्राकृतिक विपद्
२०२४ लाई सम्झिँदा हामी सबैको मस्तिष्कमा आउने पहिलो कुरा भनेको प्राकृतिक विपद् नै होला । वर्षको सुरुआत नै प्राकृतिक विपद्बाट भयो । नयाँ वर्षको पहिलो दिनमा जापानको नोतो प्रायद्वीपमा विनाशकारी भूकम्प गयो । यस भूकम्पमा परेर कम्तीमा २५० जनाको ज्यान गयो ।
विषम मौसमी अवस्थाको कहर विश्वभर नै देखा परिरह्यो । मार्च र अप्रिलमा अचानक आएको बाढी र बेमौसमी वर्षाका कारण अफगानिस्तान र पाकिस्तानमा हजार जनाभन्दा धेरैको मृत्यु भयो । ब्राजिल, इन्डोनेसिया, स्पेन र केन्यामा विनाशकारी बाढी आयो । पपुवा न्यूगिनीमा गएको पहिरोमा परेर ६०० जना भन्दा धेरैको मृत्यु भयो । जंगलमा लागेको डढेलो अनि समुद्री आँधीले वर्षैभरि कयौँको ज्यान लियो ।
- निर्वाचन र सरकार परिवर्तनको वर्ष
२०२४ मा विश्वका ८० देशमा निर्वाचन भए । अर्थात् ४ अर्ब मानिस राष्ट्रिय राज्य वा स्थानीय निर्वाचनमा सहभागी भए । यसमा विश्वका शक्तिशाली र ठुला देश पनि थिए । बेलायतमा लेबर पार्टीका कर स्टार्मरले कन्जर्भेटिभ दललाई सत्ताबाट बाहिर पुर्यायो । योसँगै १४ वर्षदेखि बेलायतको सत्तामा उक्त दलको हालीमुहालीमा पूर्णविराम लाग्यो ।
डिसेम्बरमा भएको अविश्वासको मतदानमा हार बेहोरेपछि फ्रान्समा माइकल बार्नियरको सरकार ढल्यो । सेप्टेम्बरमा भएको निर्वाचनले जर्मनीको सत्तारुढ गठबन्धनलाई सरकारबाट बाहिरको बाटो देखाइदियो ।
अर्थतन्त्रको अवस्थाप्रति सर्वसाधारणमा बढ्दो असन्तुष्टि सरकार ढलाउने मुख्य कारण बन्यो । श्रीलंकामा नयाँ सरकार बनेसँगै राजनीतिक उतारचढाव देखियो ।
भारतमा भएको निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो कार्यकाल सुरु गरे । तर अघिल्लो दुई पटक जस्तो यस पटक उनले जनताको साथ पाएनन् । सरकार बनाउन मोदीको भारतीय जनता पार्टी (भाजपा) अन्य साना दलसँगको गठबन्धनमा निर्भर रहनु पर्यो ।
पाकिस्तानमा राजनीतिक अस्थिरता जारी नै छ । पक्राउ परेका पूर्व प्रधानमन्त्री तथा पूर्व क्रिकेटर इमरान खानको समर्थनमा त्यहाँ नाराबाजी चलिरहेको छ । जापान र दक्षिण अफ्रिकामा पनि चुनावपछि सिट गुमाउँदा सत्तारुढ दल सरकार बनाउन गठबन्धनको सहारा लिन बाध्य भए ।
- हसिनाको पतन
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाका लागि अगस्ट ठुलो झट्का बोकेर आयो । सरकारी जागिरमा कोटाको व्यवस्थालाई लिएर महिनौँदेखि चलिरहेको विद्यार्थी आन्दोलन थेग्न नसकेको अगस्ट ५ मा हसिना ज्यान जोगाउन छिमेकी देश भारत भागिन् । लामो समयदेखि सत्तामा आसीन हसिना निरङ्कुश बन्दै गइरहेको भन्दै पश्चिमबाट पनि उनको आलोचना चर्किँदै गएको थियो ।
जनवरीमा भएको विवादास्पद चुनावी नतिजापछि हसिनाले तेस्रो कार्यकाल सुरु गरेकी थिइन् । कुनै समय चौपट बनेको बंगलादेशको अर्थतन्त्रलाई दक्षिण एसियाको ‘बाघ’ बनाएको भन्दै विश्वले प्रशंसा गरेकी पात्र थिइन् हसिना । तर विद्यार्थी आन्दोलन सुरु भएपछि आन्दोलन दबाउन उनले गरेको ज्यादती हेरेपछि संसारले उनलाई गाली गर्न थालेको थियो ।
हसिना अहिले भारतकै शरणमा छिन् । बंगलादेश भने नोबल पुरस्कार विजेता अर्थशास्त्री मोहम्मद युनुसको कामचलाउ सरकारको जिम्मामा छ । युनुस सरकारपछि पनि स्थिति साम्य भएको छैन । अल्पसङ्ख्यक हिन्दुहरूमाथिको ज्यादति लगायतका घटनाहरू आइरहेका छन् । नयाँ वर्षले बंगलादेशमा स्थायित्व र शान्ति पुनर्स्थापित गर्ला त ? यो भने हेर्न बाँकी नै छ ।
- अन्तरिक्ष चुम्ने दौड
मान्छेले गर्न सक्ने सृजना र विनाश हेर्नु पर्यो भने आकाशमा हेर्नु भन्छन् । अन्तरिक्ष अन्वेषणका लागि २०२४ निकै महत्त्वपूर्ण रह्यो । जनवरीमा चन्द्रमाको क्रेटरमा जापानी यान स्लिम अवतरण भयो अनि तीन महिनासम्म यसले त्यहाँ सङ्कलन गरेको डेटा पृथ्वीमा पठाइरह्यो ।
चीनले अहिलेसम्म कोही पुग्न नसकेको चन्द्रमाको हिस्साबाट माटोको नमुना सफलतापूर्वक ल्यायो । चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान विक्रम ल्यान्डरको सफल अवतरण गराएर भारत पनि चन्द्रमामा पुग्ने चौथो देश बन्यो ।
जुनमा ८ दिनका लागि मात्रै भनेर अन्तरराष्ट्रिय स्पेश स्टेसन (आईएसएस)मा गएका दुई अमेरिकी अन्तरिक्षयात्री सुनिता विलियम्स र बुच विलमोर महिनौँ त्यही अलपत्र परेका छन् । २०२५ को फेब्रुअरीमा दुवै जना अमेरिकी खर्बपति व्यापारी एलन मस्कको अन्तरिक्ष अन्वेषण कम्पनी स्पेशएक्सको यानमा बसेर पृथ्वीमा फर्किने पक्का भएको थियो । तर पछिल्लो समय यो पनि अनिश्चित बनेको छ ।
- मध्य पूर्वको उथलपुथल
सन् २०२३ को अक्टोबरमा हमासले इजरायलमाथि गरेको आक्रमणको परिणाम दूरगामी रह्यो । यसको असर २०२४ भर पनि मध्यपूर्वमा देखिरह्यो । असर नयाँ वर्षमा पनि देखिने निश्चित प्रायः छ । गाजाविरुद्ध इजरायलले आफ्नो युद्धलाई जारी राखेको छ ।
अक्टोबर ७ मा हमासले दक्षिणी इजरायललाई निशाना बनाएयता गाजामा मर्नेको सङ्ख्या ४५ हजार नाघेको छ । उत्तरी गाजा अनिकालको सङ्घारमा छ । २०२४ मा इजरायलले हमासका नेता र अक्टोबर ७ का मास्टरमाइन्ड याह्या शिनवरलगायतका समूहका शीर्ष नेतालाई सिध्याएको छ ।
अप्रिलमा इजरायलले सिरियाको दमस्कसमा रहेको इरानी दूतावासमाथि हवाई आक्रमण गरेपछि इजरायल र इरानबीच प्रत्यक्ष लडाई सुरु भयो । यसपछि दुई पक्षबीच बारम्बार मिसाइल र ड्रोन आक्रमण भइरहेका छन् । अमेरिकाले इजरायललाई दिँदै आएको समर्थन जारी राखेपछि इरानले गरेको हरेक आक्रमणलाई इजरायलले विफल बनाउँदै आएको छ ।
इजरायलले गरेको हवाई आक्रमणमा इरान समर्थित लडाकु समूह हिजबुल्लाहका नेता हसन नसरल्लाहको निधन भएको छ । हमास र हिजबुल्लाह कमजोर बनेसँगै सिरियामा टर्की समर्थक विद्रोही समूहले बशर अल–असदको सरकारलाई पतन गराएका छन् । यसपछि मध्य पूर्वमा इरान झनै एक्लिएको छ । यति बेला सबैभन्दा ठुलो प्रश्न भने यी घटनाक्रमहरूले मध्य पूर्वमा भविष्यमा शान्तिको बिउ रोप्ला कि थप अस्तव्यस्त निम्त्याउला भन्ने बनेको छ ।
- ट्रम्पको पुनरागमन
नोभेम्बरमा भएको निर्वाचनपछि अमेरिकाले इतिहासमै पहिलो पटक महिला राष्ट्रपति पाउने आशा गरिएको थियो । चुनाव अघिका जनमत सर्वेक्षणहरूले पनि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको दाँजोमा ह्यारिसकै पकड बलियो रहेको देखाएको थियो ।
सन् २०२१ को जनवरी ६ मा क्यापिटल हिलमा भएको हिंसा अनि ट्रम्पमाथि व्यवसायको रेकर्ड बढाइचढाइ गरेको मामिलाको मुद्दा आदिका कारण यस पटकको निर्वाचनले ट्रम्पको राजनीतिक करियरमा ‘अब्यूचरी’ लेख्नेछ भनेर रिपब्लिकन पार्टीकै वरिष्ठ नेताहरूले भनेका थिए । तर रिपब्लिकन मतदाताहरूको आधार, जो बाइडेनको पालामा अर्थतन्त्र खस्कँदो अवस्था र गैरकानुनी आप्रवासनबारे जनमानसमा देखिएको असन्तोष आदिका कारण राष्ट्रपतिको निर्वाचनमा वर्तमान उपराष्ट्रपति समेत रहेकी कमला ह्यारिसले लज्जास्पद हार बेहोरिन् ।
जो बाइडेनप्रति सर्वसाधरणहरूको बढ्दो असन्तुष्टिले पनि यसमा आगोमा घ्यूको काम गर्यो । बाइडेनको बढ्दो उमेर चुनावी प्रचार प्रसारको क्रममा बहसको विषय बनेको थियो । ट्रम्पसँगको पहिलो खुला बहसमा खराब प्रदर्शनपछि ह्यारिसलाई अगाडि तेर्साएर बाइडेन चुनावी दौडबाट बाहिरिए ।
ढिलै चुनावी मैदानमा छिरेको भए पनि कमलाले राम्रो समर्थन जुटाएकी थिइन् । तर बाइडेनको वर्तमान कार्यकालमा स्वयम् उपराष्ट्रपति भएकोले अमेरिकी जनताले बाइडेनले गरेका हरेक गलत निर्णय र असफलताको लागि ह्यारिसलाई पनि उत्तिकै जिम्मेवार देखे ।
चुनावी मतपत्रले जनमत सर्वेक्षणको तुलनामा फरक नतिजा देखाइदियो । कंग्रेसको दुवै सदनमा ट्रम्पको रिपब्लिकन पार्टीको पकड बलियो बन्यो । ह्वाइट हाउसमा दोहोर्याएर ट्रम्प छिर्दै छन् । जनवरी २० मा उनले राष्ट्रपतिको शपथ ग्रहण पनि गर्दैछन् । उनी दोस्रो पटक राष्ट्रपतिको कुर्सीमा बसेपछि स्थिति कति छिटो छिटो फेरिएला ? पहिलो कार्यकालको तुलनामा ट्रम्पको यो कार्यकाल कस्तो रहला यो भने आगामी दिनले देखाउने नै छ ।
- असदकालको अन्त्य
सिरियामा विगत ५४ वर्षदेखि असद परिवारको शासन चलिरहेको थियो । तर २०२४ सकिँदै गर्दा सिरियामा असद परिवारको शासन पनि सकियो । १३ वर्षदेखिको गृह युद्ध र पाँच वर्षादेखिको गतिरोधलाई उखेल्ने गरी डिसेम्बर ८ मा नाटकीय ढङ्गले बशर अल–असदको सरकार ढल्यो । १३ वर्षसम्म कसैले गर्न नसकेको काम हयात तहरिर अल–शाम (एचटीएस) नेतृत्वको विद्रोही समूहले १३ दिनमै गरेर देखाइदियो । २४ वर्षदेखिको सत्तामा रहेका असदलाई १३ दिनको एचटीएसको विद्रोहले ढालिदियो ।
नोभेम्बरको अन्त्यमा एचटीएसले मुख्य सहर अलेप्पो कब्जामा लिएपछि विद्रोही समूह र सरकारबिचको लडाई झनै चर्किने अपेक्षा गरिएको थियो । तर यस्तो भएन । अलेप्पोपछि एचटीएस नेतृत्वको विद्रोही समूहहरूले हामा र होम्स गर्दै अन्य सहर नियन्त्रणमा लिँदै गए । अन्ततः यसले राजधानी दमस्कस समेत कब्जामा लियो ।
असदको परम्परागत सहयोगी मानिएका रुस र इरान दुवै आ–आफ्नै युद्धमा लिप्त थिए । यस्तोमा असदले कतैबाट पनि सहयोग पाएनन् । यस्तोमा असदका सेनाले हात झिके । असद पनि ज्यान जोगाउन चुपचाप रुसतिर भागे । सिरिया यति बेला एचटीएसको नियन्त्रणमा छ । यस्तोमा असदको पतनले एकाथरी जनसमूह खुसी छन् । तर एचटीएसको नेतृत्वमा अनिश्चय चुलिएको छ । आशा गरौं २०२५ ले सिरियालीहरूलाई शान्तिपूर्ण दिन देखाउनेछ ।
- दक्षिण कोरियामा मार्सल ल र राजनीतिक सङ्कट
डिसेम्बर ३–४ मा दक्षिण कोरियामा नाटकीय स्थिति देखियो । राष्ट्रपति यून सुक येओलले प्रमुख विपक्षी दललाई उत्तर कोरियाप्रति सहानुभूति देखाएको अनि देश विरोधी गतिविधि गरिरहेको भन्दै अचानक डिसेम्बर ३ को अबेर रातमा मार्सल ल (सैन्य शासन) लागू गरे । तर यो अवस्था ६ घण्टा पनि टिकेन । राष्ट्रिय सभामा बलजफ्ती छिरेका सांसदहरूले यसलाई विफल तुल्याए । विपक्षी दलको यो प्रयासमा येओलकै पार्टीका सांसदहरूले पनि साथ दिए ।
यो घटना लगत्तै यओलको राष्ट्रपतीय शक्ति र कर्तव्य निलम्बित गरियो अनि उनीमाथि महाभियोगको प्रस्ताव दर्ता भयो । प्रधानमन्त्री हान डक–शूलाई कार्यवाहक राष्ट्रपति बनाइयो । दोस्रो पटकको अविश्वासको मतदानपछि येओल सत्ताच्यूत भए ।
येओललाई मार्सल ल लागू गर्न सुझाव दिएका भनिएका रक्षमन्त्री किम यो–ह्युनले हिरासतमै आत्महत्या गर्ने कोसिस गरे । हालै कार्यवाहक राष्ट्रपति डक–शूमाथि पनि महाभियोग लगाइएको छ । यस्तोमा उपप्रधानमन्त्री चोई साङ्ग मोकले शुक्रबारदेखि कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गरिरहेका छन् । येओल र उनका मतियारहरूको भविष्य के होला भन्ने नयाँ वर्षले देखाउनेछ ।
एजेन्सीहरूको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिथुआनिया पठाइदिने भन्दै ११ लाख ठग्ने गौतम पक्राउ
-
जीप दुर्घटना अपडेट : जीपमा सवार चारै जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : तीन वर्षदेखि विरामी सचिनलाई राज्यले गरेन सहयोगदेखि रविको ‘थाहा छैन’ थेगो संगठित अपराधको ‘कोड भाषा’!
-
बझाङमा जिप दुर्घटना, तीन जनाको मृत्यु
-
१२ अर्ब बजेटको समीक्षामा खर्बौंका आयोजनामाथि बहस
-
एमालेले भीम रावललाई निष्कासन गरेको विषयमा माओवादीले भन्यो– तानाशाही हर्कत !