बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

सिंहदरबारको नाममा गाउँ–गाउँमा सिंह मात्रै गए, नागरिकलाई खाने अवस्था छ : महासचिव झा

सोमबार, १५ पुस २०८१, १९ : २८
सोमबार, १५ पुस २०८१

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का महासचिव डा.सुरेन्द्र झाले सरकारले न्यूनतम काम पनि गर्न नसकेको टिप्पणी गरेका छन् । सोमबार रिपोर्टस क्लब नेपालमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले नागरिकका न्यूनतम आवश्यकताहरू खानेपानी, स्वास्थ्य सेवालगायतको क्षेत्रमा सरकारले काम गर्न नसकेको बताएका हुन् ।

‘आज सरकार छ । तर, सरकारले गर्नुपर्ने न्यूनतम कार्य पनि गर्न सकिराखेको छैन । जनताले पानी किनेर खानुपर्ने अवस्था छ । नागरिकलाई अस्पतालमा बेड दिन सकिराखेका छैनौँ । स्वास्थ्य सेवा सुविधा उपलब्ध गराउन सकिएको छैन । मैले काठमाडौँको कुरा गरिराखेको छु,’– उनले भने । 

त्यस्तै, स्थानीय सरकारले पनि प्रभावकारी काम गर्न नसकेको उनको भनाइ छ । स्थानीय सरकार जनताको नजिकको सरकार भए पनि डेलिभरी दिन नसकेको र  नागरिकले सेवा सुविधा पाउन नसकेको उनको भनाइ छ । उनले गाउँ–गाउँमा सिंहदरबारको नाममा सिंह मात्रै पुगेको र जनता जोखिममा रहेको बताए । ‘गाउँ–गाउँमा सिंहदरबार जान्छ भनेर हामीले तीन तहको सरकार संघर्ष गरेर ल्यायौँ । तर, आज समस्या कहाँ भयो भने सिंह चाहिँ गए र नागरिकलाई खाने अवस्थामा छ,’ उनले भने ।

फरक प्रसङ्गमा केही व्यक्तिलाई थुनामा राखेर सहकारी पीडितले न्याय नपाउने उनले बताए । को मान्छे जेल गयो भन्ने कुरामा भन्दा पनि आम जनताले बचत फिर्ता पाएकी पाएनन् भन्ने कुरालाई चासोको रूपमा लिइनुपर्ने उनको भनाइ छ । महासचिव झाले सहकारी ठगीमा मुछिएका सबैमाथि अनुसन्धान हुनुपर्ने र दोषीलाई कारबाहीको दायरामा ल्याइनुपर्ने बताए । दल र अनुहार हेरेर कसैलाई उन्मुक्ति दिन नहुने उनले बताए । ‘सरकारले १५ लाख पीडित जनताको पैसा फिर्ता गर्नुपर्छ । तत्कालको समस्या यो हो,’ उनले भने । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप