बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
नयाँ यात्रामा गौतम र रावल

गैरकम्युनिस्ट पार्टी खोल्ने रावलको तयारी, माधवको पार्टी ‘लार्जेस्ट’ बनाउने गौतमको दाबी

सोमबार, १५ पुस २०८१, १७ : २४
सोमबार, १५ पुस २०८१

काठमाडौँ । कुनै समय एउटै पार्टी नेकपा (एमाले)मा रहेका नेता वामदेव गौतम र डा. भीम रावल अहिले फरक धारमा छन् ।

२०७८ सालमा एमालेसँग विद्रोह गरेर माधव नेपालले नेकपा एकीकृत समाजवादी गठन गर्दा एमालेमै बसेका रावल र दुवै पार्टीमा नलागेर छुट्टै अभियान चलाएका गौतम अहिले पनि अलगअलग मुभमेन्टमा सक्रिय छन् ।

पछिल्लो समय गौतम नेपाल नेतृत्वको एकीकृत समाजवादीमा भित्रिन आतुर छन् भने रावल एमालेको कारबाहीपछि अलग्गै पार्टी घोषणा गर्ने तयारीमा छन् । डा. रावलले आउँदो बुधबार एमालेमा रहँदा भोगेका अप्ठ्यारा र भावी कार्ययोजनाबारे जानकारी गराउने तयारी गरेका छन् ।  

त्यसका लागि उनले पत्रकार सम्मेलनको आयोजना गर्ने टुंगो गरिसकेका छन् । पत्रकार सम्मेलनमा रावलले एमालेभित्रका विकृति विसङ्गति तथा एमाले अध्यक्ष केपी ओलीको कार्यशैलीको भण्डाफोर गर्ने बुझिएको छ । त्यसपछि उनी देश दौडाहामा लाग्नेछन् भने त्यसपछिमात्रै पार्टी घोषणा गर्ने रावलको तयारी छ ।

तत्कालै रावलले पार्टी घोषणा नगरेपनि अन्ततः उनी पार्टी घोषणाको तयारीमा छन् । ‘तत्काल नभएपनि पछि पार्टी घोषणा हुन्छ’, रावल निकट दीपेन्द्र खत्रीले भने, ‘केही समयको अभियानपछि मात्र पार्टी घोषणा गर्नेबारे छलफल भइरहेको छ ।’

467462165_1108332077152237_6394169493183238961_n

रावलले आफ्नो पार्टीको नाम कम्युनिस्ट शब्द विनाको हुने आफू निकटस्थहरूलाई बताउने गरेका छन् । तर, पार्टीको नीति, विचार, सिद्धान्त कार्यक्रमबारे उनले केही खुलाएका छैनन् । 

एमालेको कारबाहीपछि नयाँ पार्टी गठनको तयारीमा जुटेका रावलले आन्तरिक भेटवार्ता र छलफललाई तीव्रता दिइरहेका छन् । सोमबारमात्रै उनले सुदूरपश्चिम प्रदेशका सांसद तारा जोशी र नेपाली कांग्रेस बिपीका उपसभापति कर्ण मल्ललाई भेटेर नयाँ पार्टीबारे छलफल गरेका छन् । मल्लसँग भेटवार्ता गरेका रावलले गैरकम्युनिस्टलाई समेत नयाँ पार्टीमा समेट्ने र सोहीअनुसार आफू पार्टी निर्माण गर्न लागेको बताएको स्रोतले बतायो । 

रावलसँगको भेटपछि मल्लले भेटवार्ता सकारात्मक भएको प्रतिक्रिया दिएका छन् । ‘भेटवार्ता सकारात्मक भएको छ । छलफल गर्दै सहकार्य गर्ने अवस्थासम्म पुग्न सकिने देखिन्छ’, मल्लले भने,‘ स्वाभिमानको लडाइँ लडिराख्ने र सैद्धान्तिक रूपमा विचलित हुनुहुन्न भनेर आवाज उठाइराख्नेलाई निमिट्यान्न पार्न निकालिएका मान्छेहरू सबै एकै ठाउँमा हुने सम्भावना छ ।’ मल्ल कांग्रेसबाट निकालिएका हुन् । मल्लसँगै एकीकृत समाजवादी निकट स्वतन्त्र सांसद तारा जोशीले पनि रावललाई सघाउने संकेत गरेका छन् ।

  • गौतमले सुनाए माधवलाई आफ्नो योजना

सोमबार अध्यक्ष नेपाल र गौतमबीच पार्टी एकीकृत गर्ने सवालमा करिब २ वान टु वान छलफल भएको थियो । छलफलमा गौतमले आफ्नो अभियानका तर्फबाट एकीकृत पार्टीमा व्यवस्थापन गर्नुपर्ने केही नेताहरू र आफूलाई पार्टीमा दिने जिम्मेवारीबारे चासो राखेका थिए ।

गौतमले आफूबाहेक सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्यमा राख्ने नामावली यसअघि नै बुझाएका थिए । उनले १५ जना केन्द्रीय सदस्य, दुई जना सचिवालय सदस्य, चार जना स्थायी कमिटी र ७ जना पोलिटब्युरो सदस्य आफ्नातर्फबाट राख्नुपर्ने सर्त राखेका छन् ।

madhav-bamdev_V4LtzGhAKq

तर गौतमले बुझाएको नामावली र नेताहरूको व्यवस्थापनबारेको सर्तमा नेपालले कुनै जवाफ दिइसकेका छैनन् । बरु अध्यक्ष नेपालले गौतमको तत्काल व्यवस्थापन गर्न सकिने भएपनि अरू सबैको व्यवस्थापन गर्न कठिन रहेको संकेत गरेका छन् ।

‘सबै नेताको व्यवस्थापन गर्ने ठाउँ अहिले छैन भन्ने उहाँको संकेत रह्यो’, नेपालसँगको भेटपछि गौतमले रातोपाटीसँग भने,‘मलाई वरिष्ठ नेता दिने भन्नुभयो ।’ त्यसपछि गौतमले काम गर्ने अधिकारसहितको वरिष्ठ नेता कि बसिरहने भनेर प्रश्न गरेपछि नेपालले कुनै जवाफ नदिएको गौतमको भनाइ छ ।

‘काम गर्न त कार्यक्षेत्र हुनुपर्छ, विधानमा व्यवस्था हुनुपर्छ । मलाई जे जिम्मा दिनुस् म चौबिसै घण्टा व्यस्त हुने जिम्मेवारी हुनुपर्छ भनेँ’, नेपालसँग भएको कुराकानी उद्धृत गर्दै गौतमले भने, ‘मलाई वरिष्ठ नेता हुन मन छैन ।’ गौतमले अरू केही उपाय नभए वरिष्ठ नेता भएपनि स्विकार्ने तर काम चाहिने बताए ।

‘कामको बारेमा उहाँ केही पनि बोल्नुभएन’, गौतमले पार्टीमा अहिले भएको संरचनालाई गतिशील गर्नेगरी जिम्मा दिन आग्रह गरेको बताए । त्यस्तै उनले आफूलाई जिम्मेवारी दिए आगामी २०८४ को निर्वाचनमा पार्टीलाई सकभर बहुमत नभएपनि लार्जेस्ट पार्टी बनाउने दाबी गरेका थिए । त्यस्तै गौतमले कुराकानीका क्रममा नेपालमा संसदीय प्रणाली असफल भइसकेकाले आगामी दिनमा प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीमा जानुपर्ने र त्यसमा पनि पूर्ण समानुपातिक निर्वाचन प्रणालीमा जानुपर्ने सर्त राखेका थिए ।

गौतमको यो प्रस्तावमा नेपालले पाँच सात जना नेताहरू बसेर नै छलफल गर्न सकिने जवाफ दिएका छन् । अर्को पटकको छलफलमा आफ्ना प्रस्ताव पुरा हुने नहुने के हो ? भनेर आफूले प्रश्न गर्ने गौतमको भनाइ छ । 

‘संवादलाई निरन्तरता दिने कुरा भएको छ । अर्को छलफलमा मेरा प्रस्तावहरू के हुन्छन् भनेर सोध्छु’, गौतमले भने, ‘यो दिन भनेर तोकिएको छैन, तर तुरुन्तै अर्को छलफल हुन्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

रातोपाटीका रिपोर्टिङ प्रमुख फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप