अखिल (क्रान्तिकारी) र नेविसंघको ‘उमेर हद’ले अनेरास्ववियुलाई प्रेसर

काठमाडौँ । माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) र नेपाली कांग्रेस निकट नेविसंघमा उमेर हद कायम भएपछि एमाले निकट अनेरास्ववियु ‘प्रेसर’मा परेको छ ।
अखिल (क्रान्तिकारी)मा ३२ वर्षे उमेर हद पक्षधर र त्यसको विपक्षमा विद्यार्थी नेताहरू बाँडिएपछि लामो समयदेखि अधिवेशन हुन सकेको थिएन ।
सो सङ्गठनमा उमेर हद लगाउने कि नलगाउने भन्ने विवाद अन्त्य गर्न शनिबार भएको मतदानमा ३२ वर्ष उमेर हदको पक्षमा बहुमत आएको थियो ।
कुल २ हजार ३९८ मतदातामध्ये १७ सय ७९ जनाले मतदान गरेकोमा ३२ वर्ष उमेर हद लागु गर्नुपर्छ भन्ने पक्षमा ९०० मत परेको थियो भने विपक्षमा ८७९ मत परेको थियो ।
मतदानमार्फत उमेर हदको विवाद समाधान भएसँगै अखिलको महाधिवेशन आगामी माघ १२ गते नयाँ नेतृत्वका लागि निर्वाचन हुनेछ । नेविसंघमा भने यसअघि नै ३२ बर्से उमेर हद लागु भैसकेको छ । सोही प्रावधान अनुसार नेविसंघमा हाल डुजाङ शेर्पा अध्यक्ष बनेका छन् । दुई विद्यार्थी सङ्गठनमा उमेर हद कायम भएपछि एमाले निकट अनेरास्ववियुमा पनि उमेर हदबारे चर्चा हुन थालेको छ ।
आगामी चैतमा महाधिवेशन गर्न लागेको अनेरास्ववियुका कतिपय विद्यार्थी नेताहरूले अखिल क्रान्तिकारी र नेविसंघमा जस्तै उमेर हद कायम गर्नुपर्ने आवाज उठाउने तयारी गरेका छन् । कतिपयले अखिल क्रान्तिकारीमा लागु भएको उमेर हद जायज भएको भन्दै अनेरास्ववियुमा पनि यो व्यवस्था कायम गर्नुपर्ने आवाज उठाउन थालेका छन् ।
‘मित्र संगठन अखिल क्रान्तिकारीले यसै वर्षदेखि लागु हुने गरी ३२ बर्से उमेर हद लागु गरेछ बधाई छ । समय गतिशील छ’, अखिल क्रान्तिकारीमा उमेर हद कायम भएसँगै अनेरास्ववियुका उपाध्यक्ष नारायण घर्तीले सोमबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
गत पुस ३ गते बसेको अनेरास्ववियुको सचिवालय बैठकले आगामी चैत मसान्तभित्र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औँ महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । त्यसअघि अनेरास्ववियुको विधान अधिवेशन गर्नुपर्ने हुन्छ । उपाध्यक्ष घर्तीले यसअघि बसेको अनेरास्ववियुको सचिवालय बैठकमै उमेर हद लगाएर जाँदा उपयुक्त हुने मत राखेका थिए ।
घर्तीले दुई सङ्गठनमा उमेर हद लागु भएपछि अनेरास्ववियुमा पनि यसको बाछिटा परेको भन्दै उमेर हदबारे २४औँ महाधिवेशनअघि हुने विधान अधिवेशनमा छलफल हुने बताए ।
‘विधान अधिवेशनमा अव छलफलको विषय बन्न सक्छ । छलफल हुँदा जे निर्णय हुन्छ त्यही कार्यान्वयनमा जान्छ’, घर्तीको भनाइ छ ।
घर्तीले कमिटी र पार्टी नेतृत्सँग समेत छलफल गरेर अघि बढ्ने समेत बताए । त्रिभुवन विश्वविद्यालयका स्ववियु सचिव समेत रहेका अनेरास्ववियुका नेता सिद्धान्त भट्ट विद्यार्थीहरू सङ्गठनमा उमेर हदबारे सही कि गलत भन्नेमा बहस हुन जरुरी रहेको बताए ।
‘विद्यार्थी संगठनको नेतृत्वमा जाम भएको खण्डमा उमेर हद सही हुन्छ’, भट्टले भने, ‘उमेर हद लागु हुँदा बिग्रिहाल्ने होइन, लागु भएमा विद्यार्थी संगठन चुस्तदुरुस्त हुन्छ भन्ने अपेक्षा पनि हो ।’
- अध्यक्ष बडाल भन्छन्– ३० वर्षमा पनि झर्नसक्छ !
अनेरास्ववियुका अध्यक्ष समीक बडाल नेविसंघ र अखिल क्रान्तिकारीको अधिवेशन नियमित नभएकाले उमेर हदको विषय कायम भएको भन्दै आफ्नो सङ्गठनमा नियमित महाधिवेशन भएकाले उमेर हद जरुरी नभएको बताउँछन् ।
‘अनेरास्ववियुको दुई-दुई वर्षमा नियमित अधिवेशन भइरहेको छ । नियमित अधिवेशन नहुँदा विगतमा हाम्रो सङ्गठनमा पनि यो विषय उठेको हो’, बडालले भने, ‘अहिले हाम्रो अधिवेशन आगामी चैतमा गर्ने भनेर तोकिसकेका छौँ ।’
अध्यक्ष बडालले अनेरास्ववियुमा पनि उमेर हद छलफलको विषय बन्न सक्ने बताए ।
‘हाम्रोमा पनि यसबारे छलफलको विषय त बन्ला तर नियमित अधिवेशन गर्ने भएकाले ३२ नभएर ३० मा पनि आउन सक्छ’, उनले भने, ‘अहिले पनि हाम्रो सङ्गठनमा अध्यक्ष, उपाध्यक्ष, महासचिव र कार्यालय छाडेर सबै ३२ बर्षमुनिकै छन् ।’
बडालले स्ववियु निर्वाचन हुने क्याम्पसमा २८ वर्ष उमेर कटेका विद्यार्थी उम्मेदवार नबनाउने नीतिगत निर्णय गरिसकेकाले पनि अनेरास्ववियुको नेतृत्वमा उमेर हद लगाउन जरुरी नभएको बताए । ‘स्ववियु चुनाव हुने क्याम्पसमा यस्तो प्रावधान हुने र केन्द्रीय कमिटी सदस्य मनोनीत गर्दा समेत ३० कटेकालाई नगरेकाले सङ्गठनमा विद्यार्थीलाई उमेर किटान गर्नुपर्छ भन्ने लाग्दैन’, बडालको भनाइ छ । उनले उमेर हद भन्दा पनि नियमित विद्यार्थीतर्फ कसरी जाने भन्ने महत्त्वपूर्ण पक्ष भएको भन्दै आफूहरूको पहिलो प्राथमिकता पनि त्यसैमा रहेको बताए ।
अनेरास्ववियुको २३औँ महाधिवेशनले बडालसहित नयाँ नेतृत्व चयन गरेको थियो । त्यसअघि नवीना लामा अध्यक्ष हुँदा सात वर्षसम्म अनेरास्वयिुको महाधिवेशन हुन सकेको थिएन । त्यसैबेलादेखि अनेरास्ववियुमा उमेर हदको विषय उठेको थियो ।