ऋषभ पन्तको विकेट लिएपछि खुसीयाली मनाउने ट्राभिस हेडको शैली विवादमा !

काठमाडौँ । अस्ट्रेलिया र भारतबिच सोमबार मेलबर्नमा सम्पन्न चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियन खेलाडी ट्राभिस हेडको खुसी मनाउने शैलीलाई लिएर अहिले सामाजिक सञ्जालमा व्यापक चर्चा भइरहेको छ ।
‘बक्सिङ डे’ टेस्टको पाँचौँ तथा अन्तिम दिन सोमबार भारतले जितका लागि तीन सय ४० रनको लक्ष्य पाएको थियो । ओपनर यशस्वी जैसवाल बाहेक भारतका अन्य ब्याट्सम्यान एकपछि अर्को गर्दै पभेलियन फर्किरहेका थिए ।
यस्तोमा पाँचौँ नम्बरमा क्रिज समाल्न आएका ऋषभ पन्त केही सम्हालिएर ब्याटिङ गरिरहेका थिए । उनी ३० रन बनाएर क्रिजमा थिए । त्यसैबेला उनलाई अस्ट्रेलियन बलर ट्राभिस हेडले मिचेल मार्सद्वारा क्याच गराएका थिए ।
ऋषभ पन्तलाई आउट गराएपछि ट्राभिस हेडले जुन तरिकाले खुसीयाली मनाए, त्यसैलाई लिएर अहिले सामाजिक सञ्जालमा तातिएको हो । खुसीयाली मनाउने क्रममा उनले आफ्नो एउटा हातलाई मुठ्ठी बाँधेर अर्को हातको एउटा औँला त्यसमा छिराएका थिए ।
ट्राभिस हेडको खुसीयाली मनाउने यो शैलीलाई केही समर्थकले अश्लील भनेर आलोचना गरिरहेका छन् । कसैले भने खुसीयाली मनाउने हरेक खेलाडीको आ–आफ्नो शैली हुने भन्दै त्यसलाई सामान्य रूपमा लिनु पर्ने बताइरहेका छन् ।
खासमा, पछिल्ला केही खेलमा भारतको सफलतामा ट्राभिस हेड बाधक बन्ने गरेका छन् । भारतविरुद्ध उनको प्रदर्शन निकै अब्बल रहने गरेको छ । जारी बोर्डर–गावस्कर शृङ्खलामा पनि भारतविरुद्ध उनले निकै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
त्यसैले पनि भारतविरुद्धको खेलमा मैदानमा उनले देखाउने गतिविधिहरु भारतीय समर्थकमाझ चर्चाको विषय बन्ने गरेको छ । खुसीयाली मनाउने हेडको शैलीलाई लिएर सामाजिक सञ्जाल तातिएपछि अस्ट्रेलियाको च्यानल सेभेनले हेडले यसरी खुसीयाली मनाउनुको एउटा कारण बाहिर ल्याएको छ ।
च्यानल सेभेनका अनुसार, ट्राभिस हेडको खुसीयाली मनाउने यो निकै पुरानो शैली हो । यसअघि सन् २०२२ मा श्रीलंकाविरुद्धको शृङ्खलामा पनि हेडले यसरी नै खुसीयाली मनाएको बताइएको छ ।
खासमा, श्रीलंकाविरुद्धको त्यो शृङ्खलामा उत्कृष्ट प्रदर्शन गरेपछि हेडले राहतका लागि आफ्नो औँला बरफमा डुबाउनु परेको बताएका थिए । अहिले भारतविरुद्धको खेलमा पनि उनले खुसीयाली मनाउने क्रममा त्यही सङ्केत गरेको दाबी गरिएको छ ।
तर, खुसीयाली मनाउने हेडको यो शैलीलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले कुन रूपमा लिन्छ, त्यो भने हेर्न बाँकी छ । भारतविरुद्धको चौथो टेस्टमा अस्ट्रेलिया विजयी भएको थियो । जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको शृङ्खलामा २–१ को अग्रता लिएको छ ।
Indian Premier League (IPL) 2025
विस्तृत विवरण
खेल तालिका
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा
-
कानुन समितिको वार्षिक प्रतिवेदन पारित, आगामी संसद् बैठकमा पेस हुने
-
तीनकुने घटनामा पक्राउ परेका धवलशमशेरलाई रिहा गर्ने तयारी