अशिक्षाले होइन, कुशिक्षाले गर्दै छ देशको बर्बादी
शिक्षा अँध्यारोबाट उज्यालोतिर डोर्याउने सर्वोच्च शक्ति हो । ‘तमसोमा ज्योतिर्गमय’ भन्ने संस्कृत श्लोक शिक्षाको सबैभन्दा प्रधान गुण हो ।
सबल समाज तथा अनुकरणीय राष्ट्र निर्माणमा शिक्षाको भूमिका अतुलनीय हुन्छ । समुन्नत राष्ट्र निर्माण सिद्घान्तका प्रतिपादकमध्ये सान्हा बन्धोपाध्याय, सी हार्बर, जान जी जानम्याट जस्ता लेखक पनि शिक्षाको गुणस्तर र समसामयिकतालाई उच्च महत्त्व दिन्छन् ।
प्राचीन अथवा शास्त्रीय दर्शनमा पूर्वीय तटका कौटिल्य, कन्फुसियस, मनुदेखि पाश्चात्य जगतका प्लेटो, लन्जाइनस तथा सुकरातले समेत शिक्षामा राज्यको विशेष निगरानी तथा प्रयासको आवश्यकता दर्शाउँथे । विकसित देशहरूले त ‘इजुकेसन इज द चिफ डिफेन्स अफ नेसन’ अर्थात् राष्ट्रको मुख्य सक्षमता नै शिक्षा हो भन्छन् ।
देशको सफलता र असफलतामा मौजुदा शिक्षाको अवस्था र यसको प्रभावकारितालाई पारस्परिक मानिन्छ । हरेक मानिसको अन्तस्करणदेखि अन्तर्यामी स्वभाव निर्माणसम्म शिक्षाको भूमिका अतुलनीय र अद्वितीय रहन्छ ।
शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी होइन, सोच र चेतनाको स्तर हो । सत्कर्म, सदाचार, शिष्टाचारको बढावा हो तर हाम्रो शिक्षा यसमा नराम्ररी चुक्यो; देश अनवरत अधोगतिमा फस्दै गयो । शिक्षालाई हामीले औपचारिकतामा सीमित राखेर कुशिक्षाको बढावा गर्दै गयौँ ।
सोही आत्मसातमा जापानले दोस्रो विश्वयुद्घपछि धेरै वर्षसम्म बजेटको ठुलो हिस्सा लगभग ४९ प्रतिशत शिक्षामा लगाउँथ्यो भन्ने आलेख भेटिन्छन् ।
केही दशकपहिले भारतको शिक्षामा ‘क्वालिटी सर्कल’को अवधारणा ल्याइयो । विश्वभर गुणस्तरीय अनि वैज्ञानिक र सहभागितामूलक शिक्षाको अवधारणा बन्दै छन् । शिक्षालाई मानिसको आचरण, सीप अनि ज्ञान (आस्क मेथड)को दायरा फराकिलो पार्ने प्रमुख साधक मानिन्छ । ‘आई फोर’जस्ता आधुनिक अवधारणा प्रचलनमा आउँदै छन् । हाम्रो बजेटको विशाल हिस्सा शिक्षामै जान्छ । चालु वर्षमा पनि बजेटको लगभग ११ प्रतिशत शिक्षामा विनियोजन भएको छ । मन्त्रालयगत हिसाबमा यो सबैभन्दा अधिक हो । समृद्घ र सफल देश निर्माण त्यो खर्चको एक मात्र अनि अन्तिम अपेक्षा हो ।
- अन्तिम अपेक्षा
दशकाैँ पहिले छुताछुत, विभेद, भेदभावजस्ता सामाजिक कुरीतिलाई अशिक्षाको उपज मानिथ्यो । आर्थिक, सामाजिक, राजनीतिक अनि व्यावहारिक पछौटेपनको आधार शिक्षाको अभावलाई ठानिन्थ्यो । सरकारी बजेटको मुख्य अंश शिक्षामा खर्च हुन थाल्यो, निजी क्षेत्रबाट पनि सघन लगानी भयो । यद्यपि हाम्रो देश निर्माणभन्दा विनिर्माण, प्रगतिभन्दा अधोगति र विकासभन्दा विनाशको पथमा जाँदै छ । विगत ३० वर्षमा हामी परनिर्भरताको पराकाष्ठामा पुग्दै छाैँ । आर्थिक स्थिति झनै जर्जर बन्दै छ । अन्तर्राष्ट्रिय जगत्मा अवहेलनामूलक व्यवहार खप्नुपर्छ ।
कुनै समय हामीमा केवल दुई प्रतिशत मात्र जनसंख्या साक्षर भएको तथ्यांक पनि थियो । अहिले ठुलो संख्या साक्षर मात्रै होइन शिक्षित पनि भएको छ । उच्च ओहोदाका उपाधिधारी व्यक्तिको संख्या बाक्लो छ । शिक्षा अभावको समयमा भन्दा शिक्षाको सहजता तथा व्यापकताको समयमा हाम्रा अधिक सूचकचाहिँ निराशाजनक हिसाबले ऋणात्मक हुँदै छन् । कारण हाम्रो प्रयासले सामयिक रूपमा शिक्षाको नभएर कुशिक्षाको प्रवद्र्धन गर्दै छ ।
शिक्षा भनेको प्रमाणपत्रको थाक र सूचनाको भारी होइन, सोच र चेतनाको स्तर हो । सत्कर्म, सदाचार, शिष्टाचारको बढावा हो तर हाम्रो शिक्षा यसमा नराम्ररी चुक्यो; देश अनवरत अधोगतिमा फस्दै गयो । शिक्षालाई हामीले औपचारिकतामा सीमित राखेर कुशिक्षाको बढावा गर्दै गयौँ । दक्षिण कोरियाका एक लेखकले ‘सिक सोसाइटी, इल एजुकेसन’ नामक पुस्तकमा यस्तो शिक्षाको स्वभावमाथि चर्चा गरेका छन् । हाम्रोमा समेत आवरणमा शिक्षा भनिए पनि अभ्यासमा कुशिक्षा हाबी भयो ।
- कुशिक्षाको किफायती
शिक्षाले देशको सम्मान गर्न सिकाएन, बुज्रकलाई क्रियात्मक कम प्रतिक्रियात्मक बढी बनायोे, अरूले गल्ती गरेको वा सरकारले केही नगरेको भन्दै बुद्घिविलास गर्न सिकायो । आफू पनि जिम्मेवार भएकाले केही सकारात्मक र रचनात्मक प्रयास गर्नुपर्छ भन्ने आत्मसात गर्न सिकाएन । आधुनिकताका नाममा दुध बेचेर कोकाकोला पिउने, आलु र बासीभातलाई हेला गर्दै फिङ्गर चिप्स तथा फ्राइड राइसमा रमाउने पुस्ताको दस्ता बनायो । बाख्रा चराउनेको अपमान र कुकर चराउनेको सम्मान गर्ने बेथिति बसायो । आफ्ना आवश्यकता र आधारलाई मूल्यांकन गर्न सिकाएन । गफ जोतेर नेता फलाउने उद्यम मात्र स्थापित भए, कर्मशीलता तथा उत्पादनका उद्यमहरू विस्थापित बनायो ।
शिक्षाले मानिसलाई देशमा बस्न सिकाएन । कम मात्र शिक्षा पाएका हतार–हतार खेत र खोरिया छाडेर कोरिया र कतार जाँदै छन् । उच्च शिक्षा हुनेहरू अमेरिका, युरोप तथा अन्यतिर दौडन्छन् । दैनिक औसत २५ सय मानिस बिदेसिँदै छन् । त्यसको झन्डै आधा त बिदेसिएका मात्र पनि होइनन्, देश नै छाडेका हुन् । उनीहरू सायदै नफर्किने सोच बोकेर हिँडेका छन् । देश राम्रो चाहिएको छ, देश नबनेकामा चिन्ता पनि छ, तर अरू कसैले बनाइदिए आएर बसौँला भन्ने विषाक्त सोच छ ।
हाम्रो शिक्षाको उत्पादन सस्तो सपनाको पछि लाग्दै छ । यही देशभित्र अपार र अनपुम सम्भावना जीवित छन्, त्यसको संवद्र्धन गर्न सिकाएन । छोटै समयमा उच्च आर्थिक विकास गर्न सक्ने अनेकौँ बहुआयामिक योजना हामीसँग प्रशस्त छन् । बिदेसिएका मानिस लगायत अन्य सबैले त्यहाँ जत्ति नै दुःख यहाँ गर्ने हो भने यही देश स्वर्ग बन्छ । त्यस्तो देश कहाँ छ जहाँ एकजनाको कामले परिवार पाल्न पुग्छ, ६ घण्टा औसतमा काम गर्दा जीवन राम्रै गरी चल्छ । सायद नेपाल मात्र त्यस्तो भाग्यमानी देश हो । अनि देशमा केही नभए यहीँ केही गर्ने हो कि समस्यासँग भाग्ने हो ?
शिक्षाले बाख्रा चराउनेको अपमान र कुकर चराउनेको सम्मान गर्ने बेथिति बसायो । आफ्ना आवश्यकता र आधारलाई मूल्यांकन गर्न सिकाएन । गफ जोतेर नेता फलाउने उद्यम मात्र स्थापित भए, कर्मशीलता तथा उत्पादनका उद्यमहरू विस्थापित बनायो ।
अधिकांश अभिभावक सन्तान बिदेसिनुलाई उपलब्धि मान्छन् । जीवनको एक मात्र उद्देश्य देश छाड्नु र अरूका देशमा रैती हुनु बन्दै छ । कोही पढ्न, कोही घुम्न, कोही डीभी वा पीआर भरेर, कोही शरणार्थी बनेर अनि कोही कलाकार भनेर विभिन्न बहानामा बिदेसिन्छन् । अधिकांश मानिस यसैलाई जीवनको सार्थकता मान्छन् । हामी पनि शिक्षा त्यस्तै दिन्छाँै, सोच त्यस्तै निर्माण गरिदिन्छौँ । शिक्षण संस्थाले विदेश पठाउनुलाई नै महत्त्व दिन्छन् र सफलता ठान्छन् । राजधानीका केही कलेजमा कुनै सेक्सनको नामै एनआरएन सेक्सन पनि हुन्छन् किनकि त्यहाँका सबैको सोच विदेश जाने हुन्छ । सहरका चोक र गल्ली–गल्लीमा विदेश पठाउने परामर्शदाता घरैपिच्छे छन् । हामी यस्तो शिक्षाको अभ्यास गर्दै छाँै जसले देशको प्रगति सोच्ने, त्यसका लागि काम गर्ने मानव स्रोत–साधन तयार गरेकै छैन ।
हाम्रो शिक्षाले त खाडी मुलुकका लागि कुल्ली र विकसित देशका लागि दक्ष प्राविधिक जनशक्ति बनाउँदै छ । खर्च र लगानी देशको छ र पसिना अरूकामा बग्छन्, उपलब्धि अरूले लिन्छन् । सक्नेहरू देश छाड्ने, यही बसेका जान्नेहरू सकेसम्म देश र अरूलाई आफ्नो स्वार्थका लागि लुट्ने अनि अर्का थरीचाहिँ कसैले राम्रो नगरेको भनेर बाँकीलाई उछितो काढ्ने मात्र गर्छन् । आफ्नो कर्तव्यको सही निवारण र देशको समृद्घिमा आफ्नो तर्फबाट हुन सक्ने योगदान गर्न खासै तत्पर छैनन् । हाम्रो शिक्षाले पराजित र संक्रीर्ण सोचको बढावा गर्दै छ । सरकारी शिक्षालयहरू राजनीतिको केन्द्र भए । निजीचाहिँ चोकका पसल र सहरका सुपरमार्केट बन्दै छन् । शिक्षा होइन, आफैँलाई सिध्याउने र देशलाई सिध्याउने कुशिक्षाको विस्तारमा व्यस्त छन् । लेखक कमल आचार्यको पुस्तक ‘हाइअर एजुकेसन इन् नेपाल’ र लेखकहरू कृष्ण शर्मा, श्याम शर्मा लगायतको पुस्तक ‘हाइअर एजुकेसन इन नेपाल : पोलिसिज एन्ड प्रस्पेक्टिभ्स’ले समेत यी समस्यालाई सशक्त उठान गरेका छन् ।
नर्वेमा ३० प्रतिशत मात्र युवा विश्वविद्यालय पुग्छन् भन्ने आलेख भेटिन्छन् । अधिकांश युरोपियन खासै विश्वविद्यालय तहसम्मको अध्ययन नै गर्दैनन् । मानिस देशमा काम गर्छन् र घुम्न अरूकामा जान्छन् । देशको विकास हुन्छ, उनीहरू घुमेको/हिँडेको देखेर बाँकी मानिस उनीहरूका देशलाई विकसित मान्छन् । हामी काम गर्न अरूकामा हिँड्छौ, संसारभर भिखारीको रूपमा हेर्छन् । चीनका मानिस कोही कसैले उनीहरूको देशको विरोध गरे तर्क–वितर्क गर्र्न तयार हुन्छन् । देशलाई अपार माया गर्छन् । हामी कसले देशको सबैभन्दा बढी उछितो काढ्ने र नेतृत्वको सत्तोसराप गर्ने भन्ने प्रतिस्पर्धाको आत्मरतिमा बहकिन्छौँ । शिक्षाले गफ गर्न सिकायो, आत्मज्ञान सिकाएन । मानिसलाई व्यवहार र देशप्रेम सिकाएन; बिक्न सिकायो तर टिक्न सिकाएन ।
जबसम्म हाम्रो शिक्षाले देशलाई माया गर्ने, देशको प्रगतिका लागि सोच्ने, यही बस्ने र सकारात्मक परिवर्तनका लागि प्रयास गर्ने मानिस तयार गर्दैन, तबसम्म विकास हुँदैन । कुनै पनि देश स्वतः सुन्दर, सभ्य, सालीन र समृद्घ बनेको होइन । नागरिकको सघन सोच, सहयोग, शुभेच्छाको सदैव आवश्यकता हुन्छ तर हाम्रो शिक्षाले नागरिकमा त्यस्तो सोच निर्माण गर्न सकेन । समस्यालाई पार लगाउन आफ्नो तर्फबाट केही योगदान गरौँ भन्ने भावना निर्माण गराउन सकेन । वास्तवमा सबै मानिस शिक्षित भएर पनि शिक्षित सोच पलाएन । देशको बर्बादी भएको अशिक्षाले होइन, कुशिक्षाले अवश्य हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले