अस्ट्रेलिया–भारत चौथो टेस्टमा दर्शकले तोडे ८७ वर्ष पुरानो कीर्तिमान

काठमाडौँ । मेलबर्न क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न भारतविरुद्धको चौथो टेस्ट क्रिकेटमा घरेलु टोली अस्ट्रेलियाले सफलता हात पारेको छ । जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको शृंखलामा २–१ को अग्रता पनि हासिल गरेको छ । अस्ट्रेलिया र भारतबिचको ‘बक्सिङ डे’ टेस्ट विभिन्न कारणले चर्चामा रह्यो ।
आफ्नो ‘डेब्यू’ टेस्टमै अस्ट्रेलियाका १९ वर्षीय युवा ब्याट्सम्यान साम कोन्सटसको अर्धशतक, कोन्सटस र भारतका अनुभवी ब्याट्सम्यान विराट कोहलीबिचको विवाद, भारतका तीव्रगतिका बलर जसप्रित बुमराहको दुई सय टेस्ट विकेटजस्ता कारणले यो टेस्ट निकै चर्चित बन्यो ।
यसका अतिरिक्त, यो टेस्टमा दर्शकको नाममा पनि एउटा गजबको कीर्तिमान बन्न पुग्यो । पाँचौँ दिन सोमबारको खेलमा रंगशालामा उपस्थित दर्शकले ८७ वर्ष पुरानो कीर्तिमान तोडेका हुन् । यो टेस्ट दुवै टोलीका लागि निकै महत्त्वपूर्ण थियो ।
दुवै टोली आईसीसी वल्र्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने होडमा रहेकाले पनि यो खेल समर्थकका लागि पनि विशेष थियो । त्यसमाथि, खेलको पहिलो दिनदेखि नै मैदानमा दुवै टोलीका खेलाडीबिच घोचपेच चलिरहेको थियो ।
त्यसैले अस्ट्रेलियाले भारतलाई जितका लागि तीन सय ४० रनको लक्ष्य दिएपछि अन्तिम दिन रंगशालामा समर्थकको ओइरो लागेको थियो । त्यसैले मेलबर्न क्रिकेट ग्राउन्डमा दर्शकको उपस्थितिले नयाँ कीर्तिमान नै बनायो ।
चौथो टेस्ट हेर्न पाँच दिनको अवधिमा कुल तीन लाख ५० हजार सात सयभन्दा बढी समर्थक स्टेडियम पुगेका थिए । यसअघि यो स्टेडियममा टेस्ट क्रिकेट हेर्न यति धेरै दर्शक उपस्थित भएका थिएनन् । सन् १९३७ मा यो स्टेडियममा खेलिएको अस्ट्रेलिया र इङ्ल्यान्डबिचको खेल हेर्न पाँच दिनमा कुल तीन लाख ५० हजार पाँच सय ३४ दर्शक उपस्थित भएका थिए ।
अहिले ८७ वर्षपछि आएर अस्ट्रेलिया र भारतबिचको चौथो टेस्टमा त्यही कीर्तिमान भंग भएको हो । यो टेस्ट हेर्न पहिलो दिन ८७ हजार दुई सय ४२ दर्शक रंगशाला पुगेका थिए । दोस्रो दिन ८५ हजार एक सय ४७ दर्शक रंगशालामा उपस्थित थिए । तेस्रो दिन ८३ हजार ७३, चौथो दिन ४३ हजार आठ सय ६७ र पाँचौँ दिन ५१ हजार तीन सय ७१ दर्शक स्टेडियम पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेडका हाकिमलाई निकाल्ने कुनै आशय छैनः ट्रम्प
-
नवराज विक हत्या प्रकरण : उच्च अदालत सुर्खेतमा २६ थान पुनरावेदन निवेदनमाथि सुनुवाइ हुँदै
-
सुशासन आयोग गठनप्रति विपक्षीको टिप्पणी : सत्ता लम्ब्याउने कलाविहीन नाटक
-
तातो हावाको लहर चल्न सक्छ, सतर्कता अपनाऔँ : महाशाखा
-
बाढीले क्षतिग्रस्त खिम्ती–किर्नेटार सडक पुनर्निर्माणका लागि ठेक्का आह्वान
-
पूर्वनवयुवराज हृदयन्द्रको टिप्पणीपछि विवादमा अभिनेत्री सुरक्षा