आइतबार, २१ पुस २०८१
ताजा लोकप्रिय
सन्दर्भ : च्याउ दिवस

च्याउ निर्यातको बलियो सम्भावना, नेपालमै हुन्छ १५ अर्बको कारोबार

सोमबार, १५ पुस २०८१, १३ : १२
सोमबार, १५ पुस २०८१

काठमाडौँ । नेपाल च्याउमा आत्मनिर्भर छ । नेपालमा च्याउको आन्तरिक कारोबार मात्रै करिब १५ अर्बको छ । नेपालमा प्रशस्त उत्पादन हुने भएकाले विदेशबाट निकै काम मात्रामा आयात हुने गरेको छ । 

चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिनामा ५ करोड ३१ लाख रुपैयाँ बराबरको मात्रै च्याउ आयात भएको छ । गत आर्थिक वर्षभर १२ करोड ३७ लाख रुपैयाँको च्याउ आयात भएको भन्सार विभागको तथ्यांक छ । भारत, चीन, थाइल्यान्डलगायत मुलुकबाट नेपालमा च्याउ आयात हुने गरेको छ ।

नेपालमै मनग्ये उत्पादन भए पनि आयातसँगै निर्यात पनि नगण्य परिमाण मात्रै निर्यात भइरहेको छ । यो आवको ५ महिनामा ११ हजार ४२९ किलो च्याउ निर्यात भएको छ । चीन, हङकङ, भियतनाम लगायत मुलुकमा निर्यात हुँदा नेपालमा सोबाट ४० लाख ३७ हजार रुपैयाँ भित्रिएको छ । गत आवमा ६ हजार ५० किलो च्याउ निर्यात हुँदा २५ लाख ६ हजार रुपैयाँ नेपालले कमाएको छ । 

mushroom-(4)_H2DwdIz6fz

त्यस्तै आर्थिक वर्ष २०७९/८० मा १९ करोड ६९ लाख १९ हजार रुपैयाँको च्याउ आयात भएको थियो । उक्त वर्ष नेपालले १ करोड ९५ लाख ६८ हजार रुपैयाँको च्याउ निर्यात गरेको भन्सार विभागको तथ्यांक छ ।

यसरी हेर्दा नेपालमा प्रशस्त उत्पादन हुने च्याउको निर्यात भने निकै कम छ । जानकारहरू विदेशी बजारमा निर्यात गराउन सक्दा नेपाली च्याउनको बजार दोब्बरले बढ्ने बताउँछन् । नेपाल च्याउ संघका अध्यक्ष सन्तोष कार्की निर्यातलाई सरकारले प्राथमिकतामा राख्यो भने १५ अर्बको बजार ३० पुर्‍याउन सकिने बताउँछन् । उनी भन्छन्, ‘नेपालमा पाइने च्याउको अध्ययन गरी थप व्यावसायिक रूपमा उत्पादन गर्न सक्ने हो भने निर्यातको सम्भावना एकदमै राम्रो छ । यो आम्दानीको बलियो स्रोत बन्नेमा दुई मत छैन ।’ 

च्याउको खपत बढेसँगै यसको व्यावसायिक खेती पनि वृद्धि हुँदै गएको छ । नेपालमा विशेषगरी गोभ्रे, कन्ये, किङ ओयस्टर र सिताके जातको च्याउ खेती भइरहेको छ । यी प्रजातिले च्याउको आन्तरिक माग पूरा गर्न पर्याप्त बनाएको संघको दाबी छ । अहिले दैनिक १० हजार किलो गोलो च्याउ र ५० हजार किलो कन्ये च्याउ उत्पादन भइरहेको छ । अहिले नेपालमा ३५ हजारभन्दा बढी किसान च्याउ खेतीमा संलग्न छन् । च्याउको बिउ उत्पादन गर्ने ल्याबको संख्या ६७ वटा रहेको संघले जनाएको छ । 

नेपालका अधिकांश जंगलमा विभिन्न प्रकारका च्याउहरू कुहिएर गएको उल्लेख गर्दै अध्यक्ष कार्कीले त्यस्ता खालका च्याउलाई व्यावसायिक खेतीतर्फ लैजानु आवश्यक भएको बताएका छन् । उनले भने, ‘यसमा विभिन्न तहका सरकारले ध्यान दिनुपर्‍यो ।’

mushroom-(11)_rJhR9ae4hb

  • नेपाली च्याउको माग बढ्दो 

नेपाली च्याउले अन्तर्राष्ट्रिय बजारमा पनि सम्भावना देखाएको छ । गुणस्तरमा गुनासो नभएकाले विश्व बजारमा नेपाली च्याउको माग बढ्दो छ । तर नयाँ प्रजातिको बारेमा खासै अनुसन्धान हुन नसकेको व्यवसायीहरूले बताएका छन् । जंगलमा पाइने च्याउको अनुसन्धान गर्न सरकारले दायित्व लिनुपर्ने अध्यक्ष कार्की बताउँछन् । ‘निजीस्तरमा हामीले काम गरिरहेका छौँ,’ उनले भने, ‘यसमा सरकारले जंगलमा रहेका च्याउको अध्ययन, व्यवसायीहरूलाई सहयोग गर्ने हो भने थप निर्यात गर्न सक्छौँ ।’ सरकारले संरचना र रणनीति बनाउन सकेमा नेपाल च्याउ उत्पादनबाट विदेशी मुद्रा कमाउन सक्ने सम्भावना रहेको कार्कीको तर्क छ । 

अहिले पनि नेपाली च्याउ चीन, भारत, थाइल्यान्ड र जापान जस्ता प्रमुख बजारमा निर्यात भइरहेको छ । तर निकै कम मात्रामा मात्रै । यसलाई थप बिस्तार गर्नका लागि अन्तर्राष्ट्रिय गुणस्तरका उत्पादनहरूसँग मेल खाने गरी उत्पादन गर्नुपर्ने हुन्छ । विश्व बजारमा प्रतिस्पर्धा गर्नका लागि निर्यात रणनीति बनाउनुपर्ने पनि कार्कीले बताए । 

mushroom-(5)_ALFQ8BEhFJ

  • पौष्टिक तत्त्वले भरिपूर्ण 

च्याउको व्यावसायिक सम्भावना हुनुको प्रमुख कारण हो यसमा भएको पौष्टिक तत्त्व । जानकारहरूको भनाइमा च्याउ विभिन्न प्रकारका पौष्टिक गुणले भरिपूर्ण छ । च्याउबाट प्रशस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्राप्त गर्न सकिन्छ । पोषक तत्त्व पाइने भएकाले च्याउलाई स्वास्थ्यका हिसाबले उपयुक्त तरकारी मान्न सकिन्छ । च्याउबाट अत्यधिक मात्रमा फाइबर, प्रोटिन, भिटामिन डी, भिटामिन बी लगायत तत्त्वहरू पाउन सकिन्छ । 

तरकारीका रूपमा यसको उपभोग छँदै छ । पछिल्लो समय च्याउको पकौडा, सुप, फ्राई, साँधेकोदेखि मःमः समेत बनाउन थालिएको छ । यस्ता विभिन्न परिकार बनाएर खाना मिल्ने च्याउ ‘ढुसी’ प्रजातिभित्र पर्छ । 

पोषणविद् सन्जिला श्रेष्ठ च्याउ फाइबरको स्रोतको पहिलो नम्बरमा पर्ने बताउँछिन् । ‘अन्य तरकारीको तुलनामा यसमा धेरै फाइबर हुन्छ । १०० ग्राम च्याउबाट ३.६ ग्राम प्रोटिन पाउन सकिन्छ,’ उनले भनिन्, ‘प्रोटिनको स्रोत पनि भयो । भिटामिनहरू पनि प्रशस्त मात्रमा पाइन्छ ।’ 

च्याउमा पाइने भिटामिन डीले हड्डी बलियो बनाउने, भिटामिन बीको कमी पूरा गर्ने काम गर्दछ । श्रेष्ठको भनाइमा च्याउ प्रायः सबै उमेरकाले खान मिल्छ तर किड्नीको समस्या भएकाहरूले प्रोटिनको मात्रा हेरेर खान उपयुक्त हुन्छ । श्रेष्ठ भन्छिन्, ‘किड्नीका समस्या भएकाहरूले प्रोटिनको मात्रा हेरेर खानुपर्छ । बाँकी सबैले च्याउ खान सक्छन् ।’ 

mushroom-(9)_aoNtZgkKWa

  • प्रवर्द्धनका लागि मेला र दिवस 

व्यवसायीक रूपमा प्रवर्द्धन गर्नका लागि आज, पुस १५ गते संघले च्याउ मेला आयोजना गरी राष्ट्रिय च्याउ दिवस मनाउँदै छ । एक दिने मेलामा ४० वटा स्टलहरूमा च्याउका प्रदर्शनी रहने अध्यक्ष कार्कीले जानकारी दिए । मेलामा च्याउका विभिन्न परिकारको विभिन्न प्रदर्शनी समेत गरिएको छ । गोभ्रे, कन्ये, किङ वयस्टर र सिताके च्याउ उत्पादनको व्यावहारिक प्रयोगात्मक प्रदर्शनी पनि मेलामा हेर्न सकिनेछ । भृकुटीमण्डपमा भइरहेको मेलामा प्रवेश निःशुल्क रहेको र च्याउका परिकारहरू निःशुल्क चाख्न पाइने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप