बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
विश्व टेस्ट च्याम्पियनसिपको फाइनल यात्राको समीकरण

दक्षिण अफ्रिका ढुक्क हुँदा अस्ट्रेलिया, भारत र श्रीलंकाबिच दोस्रो टोली बन्ने होड

सोमबार, १५ पुस २०८१, १२ : १९
सोमबार, १५ पुस २०८१

काठमाडौँ । पहिलो टेस्ट क्रिकेटमा दक्षिण अफ्रिकाले पाकिस्तानलाई हराएपछि आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने होड निकै रोमाञ्चक बन्न पुगेको छ । दक्षिण अफ्रिका आइतबार सेन्चुरियनलमा सम्पन्न पहिलो टेस्टमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गर्दै टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने पहिलो टोली बनेको छ ।

अब फाइनलमा पुग्ने एक टोलीको मात्र टुंगो लाग्न बाँकी छ । त्यो एक स्थानका लागि विश्व क्रिकेटका महारथीहरुबिच चर्को प्रतिस्पर्धा देखिएको छ । अब अस्ट्रेलिया, भारत र श्रीलंकामध्ये एक टोली टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्नेछ ।

हाल टेस्ट च्याम्पियनसिप तालिकामा ६६.६७ प्रतिशत अंकसहित दक्षिण अफ्रिका पहिलो स्थानमा छ । दोस्रो स्थानमा आसिन अस्ट्रेलियाको अंक प्रतिशत ५८.८९ र तेस्रो स्थानमा आसिन भारतको अंक प्रतिशत ५५.८९ रहेका छन् ।

यसैगरी, न्युजिल्यान्ड ४८.२१ प्रतिशत अंकसहित चौथो र श्रीलंका ४५.४५ प्रतिशत अंकसहित पाँचौँ स्थानमा आसिन छन् ।

००

भारतको सम्भावना

भारतले विदेशी भूमिमा दुई टेस्ट खेल्न बाँकी छ । अस्ट्रेलियाविरुद्धको चौथो टेस्ट अहिले जारी छ भने पाँचौँ टेस्ट त्यसपछि सुरु हुनेछ । आफ्नै क्षमताका आधारमा टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्न भारतले ती दुबै टेस्टमा अस्ट्रेलियालाई हराउनु पर्नेछ ।

बाँकी दुबै टेस्टमा अस्ट्रेलियालाई हराए भारतको अंक प्रतिशत ६०.५३ पुग्नेछ । यस्तो स्थितिमा यदि अर्को शृंखलामा अस्ट्रेलियाले श्रीलंकालाई दुबै टेस्टमा हराए पनि अस्ट्रेलियाको अंक प्रतिशत ५७.०२ मात्र पुग्नेछ ।

यदि, भारतीय टोली अस्ट्रेलियाविरुद्धको बाँकी दुई टेस्टमध्ये एकमा विजयी भएमा र अर्को टेस्ट बराबरीमा सकिएमा भारतको फाइनलमा पुग्ने सम्भावना निकै कमजोर बन्नेछ । यस्तो स्थितिमा भारतको अंक प्रतिशतक ५७.०२ हुनेछ ।

यस्तो स्थितिमा, निकट भविष्यमा खेलिने दुई टेस्टको शृंखलामा अस्ट्रेलियाले श्रीलंकालाई २–० ले हराएमा अस्ट्रेलिया ५८.७७ प्रतिशत अंकसहित फाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ ।

तर, श्रीलंकाविरुद्धको दुई टेस्टको शृंखलाबाट अस्ट्रेलियाले १६ भन्दा बढी अंक हासिल गर्न नसकेको अवस्थामा भने भारत ५७.२ प्रतिशतककै स्थितिमा पनि फाइनलमा प्रवेश गर्नेछ । यसका लागि अस्ट्रेलियाले एउटा टेस्टमा श्रीलंकालाई हराए पनि अर्को टेस्ट बराबरीमा सकिनु पर्नेछ ।

यदि, अस्ट्रेलियाविरुद्धको बाँकी दुई टेस्टमध्ये भारत एक टेस्टमा विजयी र अर्को टेस्टमा पराजित भएमा भारतको अंक प्रतिशत ५५.२६ हुनेछ । यस्तो स्थितिमा श्रीलंकाले दुई टेस्टको शृंखलामा अस्ट्रेलियालाई १–० ले हराए भारत नै फाइनलमा पुग्नेछ ।

यदि, अस्ट्रेलियाविरुद्धको बाँकी दुबै टेस्ट बराबरीमा सकिएमा भारतको अंक प्रतिशतक ५३.५१ हुनेछ । यस्तो स्थितिमा श्रीलंकाले अस्ट्रेलियालाई २–० ले हराएमा श्रीलंका फाइनलमा पुग्नेछ । तर, त्यो शृंखलामा अस्ट्रेलियाले श्रीलंकालाई १–० ले नै हराएमा पनि अस्ट्रेलिया फाइनलमा पुग्नेछ ।

यदि, भारतीय टोली अस्ट्रेलियाविरुद्धको बाँकी दुई टेस्टमध्ये एउटामा पराजित र अर्कोमा बराबरीमा रोकिएको अवस्थामा भारतको अंक प्रतिशतक ५१.७५ हुनेछ । यस्तो स्थितिमा भारतीय टोलीको फाइनलमा पुग्ने सम्भावना पूर्णरुपमा समाप्त हुनेछ । यस्तो स्थितिमा श्रीलंकाविरुद्धको शृंखलामा अस्ट्रेलिया ०–२ ले नै पराजित भए पनि अस्ट्रेलिया नै फाइनलमा प्रवेश गर्नेछ ।

००

अस्ट्रेलियाको सम्भावना

जारी टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने दौडमा रहेको अस्ट्रेलियाले अब भारतसँग घरेलु मैदानमा दुई टेस्ट र श्रीलंकासँग उसैको मैदानमा दुई टेस्ट खेल्न बाँकी छ । यदि भारतविरुद्धको बाँकी दुबै टेस्टमा विजयी भए अस्ट्रेलिया सजिलै फाइनलमा पुग्नेछ ।

त्यसपछि अस्ट्रेलियाको अंक प्रतिशत ५७.०२ पुग्नेछ । त्यसैले श्रीलंकाविरुद्धको दुई टेस्टको शृंखलामा ०–२ ले पराजित भए पनि अस्ट्रेलियाको फाइनल यात्रामा कुनै असर पर्ने छैन । भारतविरुद्धको एक टेस्टमा विजयी र अर्को टेस्ट बराबरीमा सकिएको अवस्थामा भने अस्ट्रेलियाले फाइनलमा पुग्न श्रीलंकाविरुद्धको खेलको नतिजा पर्खनु पर्ने हुन्छ ।

यस्तो स्थितिमा श्रीलंकाविरुद्धको दुबै टेस्टमा पराजित भएमा अस्ट्रेलिया फाइनलमा पुग्नबाट बञ्चित हुनेछ र श्रीलंका फाइनलमा पुग्ने दोस्रो टोली बन्नेछ । यदि, अस्ट्रेलियन टोली भारतविरुद्धको बाँकी दुई टेस्टमध्ये एकमा विजयी र अर्कोमा पराजित भएमा प्रतियोगिताको फाइनलमा पुग्न अस्ट्रेलियाले श्रीलंकाविरुद्धको दुईमध्ये एक टेस्ट जित्नै पर्ने हुन्छ ।

यदि, अस्ट्रेलिया र भारतबिचको बाँकी दुबै टेस्ट बराबरीमा सकिएको अवस्थामा पनि श्रीलंकाविरुद्धको एक टेस्टमा सफलता हात पारे अस्ट्रेलिया फाइनलमा पुग्नेछ । यदि, भारतविरुद्धको बाँकी दुईमध्ये एक टेस्ट बराबरीमा सकिए र अर्को टेस्टमा पराजित भए फाइनलमा पुग्न अस्ट्रेलियाले श्रीलंकाविरुद्धको दुबै टेस्ट जित्नु पर्ने हुन्छ । यस्तो स्थितिमा श्रीलंकाविरुद्धको दुबै टेस्टमा पराजित भए अस्ट्रेलिया फाइनलमा पुग्नबाट बञ्चित हुनेछ ।

००

श्रीलंकाको सम्भावना

जारी टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने होडमा कायमै रहेको श्रीलंकाले अब घरेलु मैदानमा अस्ट्रेलियाविरुद्ध दुई टेस्टमात्र खेल्न बाँकी छ । अस्ट्रेलिया र भारतको तुलनामा श्रीलंकाको फाइनलमा पुग्ने सम्भावना पनि केही कम देखिन्छ ।

श्रीलंकाले फाइनलअघि अधिकतम ५३.८५ अंकसहित टेस्ट च्याम्पियनसिपको यात्रा पुरा गर्ने सम्भावना देखिन्छ । तर, यसका लागि श्रीलंकाले दुबै टेस्टमा अस्ट्रेलियालाई हराउनु पर्ने हुन्छ । यदि, अस्ट्रेलिया र भारतबिचको बाँकी दुबै टेस्ट बराबरीमा सकिएमा श्रीलंकाली टोलीको फाइनलमा पुग्ने सम्भावना कायम रहन्छ । यस्तो स्थितिमा, श्रीलंकाले दुईमध्ये एक टेस्टमा अस्ट्रेलियालाई हराउनु पर्ने हुन्छ र अर्को टेस्ट बराबरीमा सकिनु पर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप