बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
प्रदेश

गण्डकीका मुख्यमन्त्री र पूर्वमुख्यमन्त्रीको जुहारी

सोमबार, १५ पुस २०८१, ११ : ५०
सोमबार, १५ पुस २०८१

पोखरा । केन्द्रमा जस्तै गण्डकी प्रदेशमा पनि अहिले अहिले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार छ । गठबन्धन दलमै आबद्ध गण्डकीका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र बहालवाला मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे भने एकअर्काविरुद्ध जुहारीमा देखिँदै आएका छन् । 

गत शुक्रबार पोखराको एउटा कार्यक्रममा संघ सरकारका सञ्चारमन्त्री समेत रहेका पूर्व मुख्यमन्त्री  गुरुङले अहिलेका मुख्यमन्त्रीहरु पद जाने डरले बोल्न डराएको आरोप लगाए ।  प्रदेशमा हुँदा संघीयता मजबुत बनाउने सवालमा संघीय सरकारसँग संघर्ष गर्ने मामिलामा गण्डकीसहितका सबै प्रदेशका मुख्यमन्त्रीहरू डराएको उनको भनाइ थियो । 

 ‘सातैजना मुख्यमन्त्रीहरूले बजेट किन घटाइयो ? बढाउनुपर्‍यो भनेर भनेको मैले सुनेको छैन,’ उनको भनाइ थियो, ‘१–२ अर्ब बजेट सिलिङ भएको पर्यटन मन्त्रालय अहिले ६५ करोडमा खुम्चिनुपरेको छ । कसरी प्रभावकारी काम हुन्छ ? भन्न सक्नुपर्‍यो नि ! मुख्यमन्त्री खोसिन्छ कि भनेर डराइरहेको छ ।’

प्रदेशमा हुँदा संघीयता मजबुत बनाउन संघले अधिकार नदिएको गुनासो गर्दागर्दै उनको कार्यकाल सकिएको थियो । अहिले अधिकार प्रत्यायोजन गर्ने ठाउँमा पुगेका उनै गुरुङ प्रदेशका मुख्यमन्त्रीहरू बोल्न नसक्दा अधिकार नपाएको तर्क गर्छन् । 

शनिबार पोखरा सडक महोत्सव उद्घाटनमा पनि उनले गण्डकीको विकासका लागि तल्लो तहबाटै दबाब आवश्यक रहेको बताएका थिए । गण्डकीका मुख्यमन्त्रीले संघीयता कार्यान्वयनका सन्दर्भमा प्रभावकारी भूमिका खेल्न नसकेको उनको गुनासो थियो । 

गुरुङको आरोपपछि मुख्यमन्त्री  पाण्डेले पनि आइतबार जवाफ फर्काए । पत्रकार महासंघ गण्डकीको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले हिजो प्रदेशमा मुख्यमन्त्री बनेकाहरु संघमा पुगेपछि मौन बसेको प्रत्यारोप लगाए । 

‘हिजोका दिनमा प्रदेशमा बसेर काम गर्ने साथीहरू एकदम ठूल्ठूलो आवाजमा कुरा गर्नुहुन्थ्यो । प्रदेशमा अधिकार, वित्तीय संघीयताका कुरा गर्नुहुन्थ्यो । आज तिनै साथीहरू संघमा नेतृत्व गरिरहनुभएको छ,’ उनले भने, ‘प्रदेशको बारेमा कोही पनि चरो मुसो बोलेको सुनिँदैन । संघमा गएपछि उहाँहरूको बोल्ती बन्द छ ।’ 

हिजो माग्ने ठाउँमा हुँदा ठुलो आवाजमा बोल्ने तर अहिले दिने ठाउँमा हुँदा आफ्नो भूमिका पूरा नगरेकोमा उनको गुनासो बढी छ ।

पाण्डे–गुरुङ जुहारी चल्नुको कारण एक दुईवटा घटना मात्रै होइनन् । केही कार्यक्रमहरूमा पूर्व र हालका मुख्यमन्त्री आमनेसामने पनि भएका छन् । पाण्डे मुख्यमन्त्री हुने बित्तिकै लमजुङको मिदिमखोलाको निर्माण सम्पन्न पुल उद्घाटनमा विवाद भयो । एक पक्षले गुरुङलाई प्रमुख अतिथि भने, अर्कोले पाण्डे बोलाउनुपर्ने अडान राखे । अन्ततः गुरुङले नै उद्घाटन गरे ।

संस्थापक मुख्यमन्त्रीलाई प्रमुख अतिथि बनाएर गण्डकी विश्वविद्यालयको भवन शिलान्यासको चाँजोपाँजो आयोजकले मिलायो । त्यसको जानकारी समेत हालका मुख्यमन्त्री पाण्डेले पाएनन् । गुरुङले शिलान्यास गर्ने भनेपछि सरकारले कार्यक्रम रोक्न निर्देशन दियो । कार्यक्रम रोकियो भने पछि पाण्डेले नै उक्त भवनको शिलान्यास गरे । गुरुङलाई प्रमुख अतिथि बनाउनुमा कुलपति डा गणेशमान गुरुङको तर्क थियो, ‘विश्वविद्यालय खोल्नुमा उहाँ (गुरुङ) कै सोच हो । एउटा भवन शिलान्यासमा बोलाउँदा असर नपर्ला भनेर बोलाएको हो ।’

गुरुङले नेपालमै पहिलो पटक मुख्यमन्त्रीहरूको भेला पोखरामा राखेर संघको केन्द्रीकृत मानसिकताका विरुद्ध आवाज उठाएका थिए । हरेक भाषणमा संघले अधिकार नदिएको बताइरहन्थे उनी । अहिलेका मुख्यमन्त्री पाण्डेले समेत केही पहलकदमी लिँदै पोखरामा सातै प्रदेशका मुख्यमन्त्रीहरूको भेला राखेका थिए । संघले दिनुपर्ने अधिकार छिटो प्रत्यायोजनका लागि दबाब सिर्जना गरे । तर एउटै गठबन्धनको भएपनि दुईबिच झन्डै १ वर्षदेखि प्रत्यक्ष संवाद छैन ।

 प्रदेशको हितका लागि उनीहरूबिच संवाद जरुरी रहेको सरोकारवालाहरू बताउँछन् । ‘उहाँहरू कार्यक्रमबाट आरोप प्रत्यारोप लगाउने होइन । जुहारी खेल्ने होइन । एकैठाउँमा बसेर समस्याको समाधान निकाल्न लाग्नुपर्छ,’ प्रदेशका एक मन्त्रीले भने, ‘यसको चाँजोपाँचो सचिवालयले मिलाउनुपर्छ । एक अर्काको आरोप प्रत्यारोप प्रदेशको हितमा छैन ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप