बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
यू–१९ महिला विश्वकप

पोखरामा आयोजना होला त यू–१९ महिला विश्वकप ?

सोमबार, १५ पुस २०८१, ११ : २१
सोमबार, १५ पुस २०८१

पोखरा । सन् २०२७ मा यू–१९ महिला विश्वकप क्रिकेट नेपाल र बंगलादेशले संयुक्त रुपमा आयोजना गर्दैछन् । विश्वकपको ८ खेल नेपालमा हुनेछ भने बाँकी खेल बंगलादेशमा खेलिनेछ । प्रतियोगिता हुन २ वर्ष मात्रै बाँकी छ । नेपालमा खेल हुने रंगशालाको टुंगो अझै लागेको छैन । युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले केही खेल पोखराको क्रिकेट रंगशालामा हुने बताएका छन् ।

आइतबार पोखरा आएका उनले पत्रकारहरुसँग कुरा गर्दै विश्वकप क्रिकेटका केही खेल पोखरामा हुने दावी गरेका हुन् । ‘विश्वकप खेल पोखरामा हुन्छ । विश्वास दिलाउन चाहन्छु,’ उनले अघि भने, ‘त्यसको लागि आवश्यक पैसाको व्यवस्था सरकारले गर्छ । पोखरा क्रिकेट रंगशाला बनाउन पहल गर्छौं ।’

अब कुरा आउँछ, पोखरा क्रिकेट रंगशालामा विश्वकप खेलाउन उपयुक्त छ ? १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला क्रिकेट प्रतियोगिता पोखरामै भएको हो । केही अस्थायी र केही स्थायी संरचनाहरु निर्माण गरेर उक्त खेल भएका थिए । जसलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले नै निगरानी गरेको थियो ।

आईसीसीका प्रतिनिधि मण्डलले १ महिना अघि क्रिकेट रंगशालाको निरीक्षण गरेर फर्किएको छ । रंगशालामा रहेको वर्तमान संरचनाबारे आईसीसीका वरिष्ठ प्रबन्धक रोहित पोद्दार र डेभेलप्मेन्ट अफिसर एनमी अमिनुअल इस्लाम सन्तुष्ट छैनन् । क्रिकेट मैदानमा ५ सय क्षमताको भीआइपी प्यारापिट बनेको छ । भौतिक संरचना बढाउन बजेट नपरेको पनि होइन ।

२०७६ मा साग प्रतियोगिताअघि क्रिकेट मैदान बनाउन संघ सरकारले ३ करोड र प्रदेश सरकारले २ करोड रुपैयाँ विनियोजन गरेका थिए । सरकारी प्रकृयालाई देखाएर काम ढिलो हुने भन्दै बजेट कार्यान्वयनमा गएन । त्यसपछि कोभिडका कारण काम अलपत्र परेको थियो । अहिले संघ सरकारले १ करोड र प्रदेशले ४० लाख विनियोजन गरेका छन् । संघको बजेटबाट प्यारापिट निर्माण भैरहेको छ । 

‘६२ लाखमा ठेक्का गयो । ३८ लाख बाँकी छ । त्यो रकम प्यारापिटमै खर्च गर्नुपर्छ । प्रदेशको बजेट पनि खर्च गर्न सके राम्रो हुन्छ,’ क्रिकेट एशोसियसन गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देल भन्छन्, ‘सम्भावना नभएको होइन । सबैको सपोर्ट छ । तर संरचना निर्माणमा धेरै जोड दिनुपर्छ ।’

जनवरीको महिनामा प्रतियोगिता हुन्छ । तराईमा शीतलहर चल्ने भएकोले खेलाडीलाई बढी रिस्क हुन्छ । पोखराका लागि भने त्यो समय उपयुक्त अवसर हो । प्यारापिट, खेलाडीहरुको चेन्जिङ रुम, म्याच बक्स, एण्टी करप्सन युनिट, खेलाडीका परिवार बस्ने भीआइपी प्यारापिट, प्लेयर बक्स लगायत संरचना निर्माण भए अरु काम बाहिरबाट अस्थायी रुपमा पनि गर्न सकिने सिग्देलले सुनाए । ‘पीचको स्टान्डर्ड, पानी परयो भने सुकाउने प्रविधि हुनुपर्छ । पानी बगाउने, तर्काउने उपाय सोच्नुपर्यो,’ उनले भने, ‘अहिले भएको बजेट सही हिसाबले उपयोग भयो भने नराम्रो छैन । केही काम देखिन्छ ।’ 

आइसीसीको टोली प्रतियोगिता हुनुभन्दा ६ महिना अघि पुनः नेपाल आउँछन् । त्यतिबेलासम्म मैदान तयार भए खेल आयोजना गर्न सकिने सिग्देलले सुनाए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप