बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
संविधान संशोधन बहस

‘अहिले संविधान संशोधन नगर्ने हो भने जनताले व्यवस्था नै संशोधन गर्दिन सक्छन्’

‘संविधान भित्रबाट समस्या देखिएका धाराहरू संशोधन गर्नुपर्छ’
सोमबार, १५ पुस २०८१

अधिवक्ता दीपेन्द्र झा मधेस प्रदेशका पूर्वमुख्य न्यायाधिवक्ता समेत हुन् । उनै झासँग रातोपाटीकर्मी दुर्गा दुलालले संविधान संशोधन बहसका लागि गरेको कुराकानीः

  • नयाँ संविधान लागू भएको १० वर्षमा लागेको छ । तपाईंहरूले ‘यो संविधान अपूर्ण छ’ भन्दै आउनुभएको थियो । यति खेर त संविधान संशोधनकै बहस चलिरहेको छ । तपाईंको विचारमा संविधान संशोधन गर्न यो उपयुक्त समय हो कि होइन ?

हामी संविधान संशोधनमा धेरै ढिलो भइसकेका छौं । अहिले संशोधनको कुरा त सरकारले गरेको छ । संसद्मा रहेका ठू्ला दुई दल मिलेर सरकार बनाउँदा यो एजेन्डालाई प्रमुख मानेर अघि बढेका छन् । यो क्रममा जनतामा उत्साह भने देखिएको छैन । ठूला दुई दल मिलेको अवस्थामा यो एजेन्डा उठ्दा जनतामा उत्साह देखिनुपर्ने हो नि ! त्यो देखिन सकेको छैन । 

एउटा कुरा चैं के निश्चित भएको छ भने यो बीचमा भएका अभ्यासले संविधानमा कमजोरीहरू छन् । यसलाई सच्याउन आवश्यक छ । सरकार बन्ने बेलादेखि संसद्मा हरेक पटक प्रधानमन्त्री फेर्दा आउने समस्या अनि संसद् विघटनका घटनाले पनि संविधान अपूर्ण छ भन्ने देखाएको छ । 

ढिलो भएको हो । तर, ‘जग जाग्या तब सवेरा’ भनेर मान्ने हो भने अहिले उठेको कुरा पनि ठीक छ । संसारमा संविधान कहिल्यै पनि पूर्ण दस्तावेज बन्दैन । सुरुमा अस्थिपञ्जर बनाउने हो । बिस्तारै अभ्यास, व्याख्यालगायत कार्यले मासंपेशी भर्दै जाने हो । 

dipendra jha (4)

भारतमै सुरुमा प्रदेशहरू केन्द्रले चाहेकै भरमा जतिसुकै बेला भंग गर्न सक्ने थियो नि ! अहिले त्यो अवस्था छ त भन्दा छैन । यो परिस्कृत कसरी भयो त भन्दा त्यहाँको सर्वोच्च अदालतले विभिन्न संवैधानिक मुद्दामा गरेको व्याख्याले हो । केशवानन्द भारतीदेखि विभिन्न संवैधानिक मुद्दाहरूमा व्याख्या गर्दा अदालतले संविधानलाई परिस्कृत गराउँदै लग्यो । अदालतले केही न्यायिक अभ्यास गर्‍यो । 

संविधानलाई परिस्कृत बनाउने, उत्कृष्ट बनाउने केही उपाय हुन्छन् । सुरुमा संविधान जारी गर्दा त्यो अस्थिपञ्जर नै हुन्छ । यसलाई व्याख्या, संशोधन र कानुन निर्माणले आकार दिँदै जाने हो । हाम्रोमा यो १० वर्ष अवधिमा अभ्यास मात्र गरियो । यी काम गरिएन । न संविधानमा देखापरेका अप्ठारोलाई सम्बोधन गर्न संविधान संशोधन गरियो न त संवैधानिक इजलासले नियमित रूपमा संविधानलाई परिस्कृत गर्ने गरी व्याख्या नै गर्यो । 

संसद् विघटनमा केही व्याख्या भयो । तर, त्यसलाई बाहेक गर्ने हो भने त्योभन्दा बाहेक संविधानलाई परिस्कृृत गर्ने गरी व्याख्या भएन । यसबीच कानुन निर्माण भए । जुन हिसाबले हुनुपर्ने त्यो हुन सकेन । यही कारण हाम्रो संविधान मोटोघाटो हुन पाएन । अस्थिपञ्जरमा मासु भरिएन । यो दुब्लो–पातलो भयो ।  

संघीयता भनेको छ तर केन्द्रको एउटा डिपार्टमेन्ट भएको छ । यत्रा आयोगहरू बनेका छन् तर ती आयोगहरूको कुनै पनि काम छैन । उनीहरू निस्क्रिय भएर बसेका छन् । संविधानमा यस्ता धेरै कुरा छन् । जुन काम नलाग्ने भएर बसेको छ ।
  • संविधान जारी गरिँदा तपार्इंहरूले विरोध गर्नुभयो । ‘कालो दिन’ पनि भन्नुभयो । तर, त्यसलाई स्वीकार गरेर लाभको पद पनि लिनुभयो भन्ने आरोप छ । अहिले हेर्दा संविधानमा के–के कमजोरी देख्नुहुन्छ ?

हो, हाम्रो आलोचना हुने गरेको छ । यो कुरा हामी स्वीकार गर्छौं । तर, हामीले संविधानमा कमजोरी छ भनेको कुरा पनि पुष्टि त भयो नि ! अब हामी यो संविधान जोगाउनुपर्छ भन्ने पक्षमा छौं । कुनै जमानामा हामीले त्रुटि थियो भनेका थियौं । अहिले पनि संविधानमा त्रुटि छैन भनेको छैन । तर, म त्रुटि छ भनेर संविधान नै चाहिँदैन भन्दिनँ । 

म पनि संविधानको विद्यार्थी भएका कारण यसको कन्टेन्टमा कुरा गर्ने हो । मैले सधैं संविधानको तथ्यभित्र प्रवेश गरेर आलोचना गरेको छु । नेताहरूजस्तो समग्रमा काम छैन वा यो पूरै फेर्नुपर्छ भन्दिनँ । विगतमा पनि भनेको छैन । म अहिले पनि के कुरामा अडिग छु भने संविधानमा भाषागत, प्राविधिकलगायत अरू त्रुटि छन् । यसलाई संशोधन गरेर परिस्कृत गर्नुपर्छ । यसलाई पूर्ण संविधानको दस्तावेज बनाउनुपर्छ । 

जस्तोः हामी संसदीय व्यवस्था भन्छौं । तर, प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँदैन । सुधारिएको संसदीय व्यवस्था मान्ने हो भने संविधानका सात चरण पार गरेर विघटन गर्न सम्भव छ ? यो पार गर्ने अवस्था नै छैन । संघीयता भनेको छ । तर, केन्द्रको एउटा डिपार्टमेन्ट भएको छ । यत्रा आयोगहरू बनेका छन् । तर, ती आयोगहरूको कुनै पनि काम छैन । उनीहरू निस्क्रिय भएर बसेका छन् । 

संविधानमा यस्ता धेरै कुरा छन् । जुन काम नलाग्ने भएर बसेको छ । व्यवस्था राखिएको छ । तर, त्यसले प्रभावकारी रूपमा काम गर्न सकेको छैन भने त्यो धारा वा व्यवस्था राख्नुको अर्थ के रह्यो ? आयोगहरू अहिले औचित्यहीन र मागी खाने वा कार्यकर्ता भर्ती गर्ने ठाउँ भएका छन् । संविधानमा आयोगहरू बनाउँदा यही सोच राखेर पक्कै बनाइएको हैन होला । 

निर्वाचन प्रणालीमै धेरै प्रश्न उठेका छन् । अल्पसंख्यक, दलित र पछाडि परेका वर्गलाई ल्याउने भन्दै समानुपातिक निर्वाचन प्रणाली राखिएको थियो । तर, को आइरहेका छन् ? कस्ता अनुहार छन् ? हेर्दा थाहा नै हुन्छ । नेताको गलफ्रेन्ड, व्यापारी र आफन्तहरू भर्ती गर्ने थलो भएको छ । 

यी विविध कारण र १० वर्षको अभ्यासलाई हेरेर संविधान रिभ्यू गर्ने समय भएको छ । विकृति देखिएपछि समयमै सच्याउनुपर्छ । यदि यो पनि नसच्याउने हो भने यो सिस्टम नै ठीक छैन कि भन्ने प्रश्न उठाउनेछ ।

यी विविध कारण र १० वर्षको अभ्यासलाई हेरेर संविधान रिभ्यू गर्ने समय भएको छ । विकृति देखिएपछि समयमै सच्याउनुपर्छ । यदि यो पनि नसच्याउने हो भने यो सिस्टम नै ठीक छैन कि भन्ने प्रश्न उठाउनेछ । अहिले पनि यो प्रश्न उठेको छ । अब नेपाल कार्यकारी राष्ट्रपति प्रणालीमै जानुपर्छ कि भन्ने देखिन थालेको छ । संसदीय व्यवस्थाले हामीलाई विकास, सुशासन र स्थिरता दिएन कि भन्ने कुरा अहिले आउन थालेको छ ।

  • संविधान पुनरवलोकनका पनि फरक–फरक ढाँचाको चर्चा चलिरहेको छ । यसबारे विश्वमा फरक–फरक अभ्यास देखिन्छन् । संविधानसभाबाट जारी भएको संविधान संशोधनको बाटो के हो त ?

संविधान संशोधनको कुरा अहिले सरकारले उठाइरहेको छ । मैले सुनेंअनुसार संविधान संशोधनका लागि नेताहरूकै नेतृत्वमा कार्यदल बनाउने भन्ने कुरा आएको छ । यो कुरा सुन्दा लाग्छ संविधान संशोधन दुई दलको बिर्ता हो । यो त भ्रम मात्र हो । 

अनि अर्को भ्रम पनि छ । संविधान संशोधनको कुरामा नेताहरू नै जान्ने हुन् । यो हैन । राजनीतिक दलका नेताहरूले संविधान बनाउनुभयो । तर, त्यो संविधानमा कमजोरी र त्रुटि देखिएको हो । उहाँहरूले बनाएको संविधानमा कमजोरी देखियो भने उहाँहरूकै नेतृत्वमा कार्यदल बनाएर कसरी सम्बोधन हुन्छ ? हिजो उनीहरूले नै बनाएको संविधान हो नि ! हिजो बनाउँदा कमजोर बनाउने वा लेख्न नजान्ने अनि अहिले फेरि उनीहरूले नै संशोधन गर्दा कसरी ठीक हुन्छ ? नौ वर्षपछि फेरि घुमिफिरी रुम्जाटार भन्ने हो भने कसरी हुन्छ । 

संविधान संशोधन गर्ने वा पूर्ण बनाउने, सर्वस्वीकार्य बनाउने नै हो भने पूर्वप्रधानन्यायाधीश वा स्वतन्त्र विज्ञहरूको नेतृत्वमा टोली बनाउनुपर्छ । नेपालमा एक सय एक विज्ञ छन् । 

उहाँहरूले यो नौ वर्षको अवधिमा संविधानमा कहाँ–कहाँ कमजोरी देखियो भनेर सुझाव दिने कार्यक्षेत्र तोकेर जिम्मेवारी दिनुपर्छ । उहाँहरूले एउटा मस्यौदा बनाएर सरकारलाई दिनुहुन्छ । सरकारलाई यसरी विज्ञहरूले दिएको सुझावको आधारमा सरकारले मन्त्रिपरिषद्बाट संविधान संशोधन विधेयक बनाएर संसद्मा लैजान सक्छ । अनि कुनै एउटा संसदीय समितिलाई छलफल गर्न दिएर यसलाई अघि बढाउन सकिन्छ । 

dipendra jha (2)

नेपालका संविधानविद्हरू अन्तर्राष्ट्रिय रूपमा सल्लाह दिन जानुहुन्छ । हामी भने फेरि पनि संविधान लेख्न नजान्ने नेताकै नेतृत्व भर पर्छौं भने संविधान संशोधन हुन्छ भनेर कसरी पत्याउने ? विज्ञहरूले दिएको सबै सुझाव पारित गर्नुपर्छ भन्ने छैन । तर, उसले किन र कसरी भन्ने कुरा त व्याख्या गरेर मस्यौदा पेस गर्ने नि ! त्यसमा रहेर संसद्मा र संसद्बाहिर दुवै ठाउँमा खुला छलफल गर्न सकिन्छ । आवश्यक छ भने राख्न सकिन्छ । छैन भने नराख्न पनि सकिन्छ नि ! तर, यो नगरी फेरि पनि नेताकै टिम बनाउने ? यो त  नियत नै ठीक भएन भन्ने देखाउँछ । प्रक्रिया नै गलत छ । जहाँ पुग्नुपर्ने हो त्यहाँ पुगेको छैन । 

  • संविधान संशोधनको मोडलचाहिँ के हो त ? 

अहिले मलाई तीन–चारवटा कुरा लागेको छ । संविधान संशोधनको मोडल भनेको दुईतिहाइले संसद्बाट पारित गर्ने हो । विश्वभर यही अभ्यास हुन्छ । नेपालको संविधानले पनि संसद्बाटै संविधान संशोधन गर्नुपर्छ भनेर स्वीकार गर्छ । हाम्रोमा पनि प्रक्रिया यही हो । तर, त्यसअघि संविधानमा के–के कमजोरी छन् भनेर सुझाव दिने काम चै विज्ञको टोली बनाएर गरिनुपर्छ । 

अब कार्यकारी राष्ट्रपति प्रणालीमै जानुपर्छ कि भन्ने देखिन थालेको छ । संसदीय व्यवस्थाले हामीलाई विकास, सुशासन र स्थिरता दिएन कि भन्ने कुरा अहिले आउन थालेको छ ।

भारतले पनि संविधान संशोधन संविधानविद्हरूको नेतृत्वमा टोली बनाएर गरेको थियो । हामीले पनि यही अभ्यास गर्नुपर्छ । हामीकहाँ संविधान संशोधनका विषयमा अन्तर्राष्ट्रिय मञ्चमा गएर काम गर्न सक्ने संविधानविद्हरू छन् । पूर्वन्यायाधीशहरू छन् । उनीहरूको नेतृत्वमा स्वतन्त्र एक टिम बनाउनुपर्छ । यो टिमलाई निश्चित टीओआर दिएर काम, जिम्मेवारी दिँदा हुन्छ । 

विज्ञहरू दलहरूको चस्माले हेर्नेभन्दा स्वतन्त्र रूपमा काम गर्न सक्ने छान्नुपर्छ । यसमा ध्यान दिन सकिन्छ । तर, अहिले किन पार्टीका नेताहरूको कार्यदल बनाए त भन्दा पार्टीको एजेन्डा अझै पनि संविधानमा आउनुपर्छ भन्ने भ्रम दलहरूमा रहेको  देखियो । कार्यकर्ता राखेपछि उसले पार्टीको अडान लिन्छ  । पार्टीको कुरा राख्ने कि संविधानको भनेर कसरी सर्वस्वीकार्य हुन्छ ? यसअघि पनि पार्टीकै मानिसले संविधान लेखेको हो नि ! पार्टीकै कुरा आउने रहर लागे छ पार्टीको दस्तावेज लेखे भइहाल्यो नि ! 

यसरी विज्ञहरूको नेतृत्वमा मस्यौदा गरेर सरकार हुँदै संसदीय समितिमा लगेर छलफल गरिनुपर्छ । दलका मानिसहरू सचेतकसहित सांसदहरूले समितिमा संशोधन हालेर सहभागी हुन सक्छन । संसद्मा पुगेर छलफल हुन सक्छ । जनतामा खुला छलफलमा लैजान सकिन्छ ।  यो नै उपयुक्त मोडल हो । 

  • तपार्इं कन्टेन्टमा जानुहुन्छ भने यहाँ समस्या अर्कै छ । दोष अनुहारमा छ । तर, ऐनमा खोजी भइरहेको छ । दलहरूका कारण संविधानमा असर वा गलत प्रयोग भएको छ । तर, हामी फेरि दलहरूकै नेतृत्वमा कार्यदल बनाउँछौं भने के अर्थ ? 

हामी निर्वाचन प्रणालीलाई दोष दिइरहेका छौं । निर्वाचन प्रणालीका कारण अस्थिर भयो भनिरहेका छौं । तर, समानुपातिक प्रणालीमा व्यापारी, आफन्त र आसेपासे पनि ल्याइरहेका छौं । जसका लागि भनेर राखिएको हो उनीहरूलाई ल्याइँदैन भने दोष पनि दलले लिनुपर्यो नि ! संविधानले त लिँदैन नि ! 

निर्वाचन प्रणालीअन्तर्गत संविधानमा कहीँ पनि लेखेको छैन नि गलफ्रेन्डलाई वा नेताका श्रीमतीलाई संमानुपातिक निर्वाचन प्रणालीको सूचीमा राखिनुपर्छ अनि ल्याउनुपर्छ भनेर । संसद्मा कानुन बनाउन सक्ने पछाडि परेका वर्गको प्रतिनिधित्व गर्न सक्ने व्यक्ति ल्याउने भनेको हो नि ! व्यापारीलाई बिक्री गर्ने भनेको होइन नि ! व्यापारी आउनै नहुने होइन । आउन सक्छन् । तर, अभ्यास हामीले खराब गरेका हौं । यसकारण निर्वाचन प्रणालीमा दोष छैन । आउने अनुहारमा दोष हो । 

निर्वाचन प्रणाली कायमै राखेर जान सकिन्छ । बरु निर्वाचन कानुनमा परिर्वतन गरौं । निर्वाचन कानुनमार्फत यसरी आउने मानिसहरूलाई रोकौं । जसका लागि भनेर राखिएको हो उसको प्रतिनिधित्व सुनिश्चित गरौं । निर्वाचनमा एउटा भ्यालुज बोकेर आउने मानिसको निश्चितका लागि योग्यता निर्वाचन कानुनमा तोकौं । यसले अरूलाई रोक्छ र संविधानले परिकल्पना गरेकै व्यक्ति सांसदका रूपमा आउन सक्छ । तर, यो क्रम यति सहजै दलहरूले स्वीकार गर्लान्जस्तो लाग्दैन । यसकारण मलाई त बिस्तारै कार्यकारी राष्ट्रपति मोडलमा जानुपर्छ भन्ने लाग्न थालेको छ । 

  • यसको मोडल कुन हो त ? 

म चैं कार्यकारी राष्ट्रपति मोडलमै जानुपर्छ भन्नेमा छु । एउटा कुनै सासद वा क्षेत्रले चुनेर भएन । अब देशभरका जनताले चुनेको कार्यकारी राष्ट्रपति प्रणालीमा जानुपर्छ । पाँच वर्षसम्म उसले आफू अनुकूलको सरकार बनाउँछ । पाँच वर्षमा राम्रो काम गर्न सक्दैन भने नयाँ मानिस राष्ट्रपतिका रूपमा आउँछ । लोकप्रिय मतबाट छानौं । काम गरेन भने पाँच वर्षमा नयाँ आउँछ । 

वार्षिक ११ खर्ब कर उठाउने अनि १६ खर्ब चालु खर्च गरेर ६ खर्ब घाटामा देश चलाएर कसरी ऊँभो लाग्ने ? युवाहरू धमाधम पलायन भइरहेका छन् । वृद्धहरू मात्र देशमा छन् । यो अवस्थामा कसरी संसदीय व्यवस्थाबाट ऊँभो लाग्ने भन्ने प्रश्न उठ्न थालेको छ । 

व्यापार–व्यवसाय छैन । सबै किनेर खाने अनि रेमिट्यान्सबाट पजेरो चढेर कहीं पुगिँदैन । त्यसैले प्रत्यक्ष राष्ट्रपति प्रणालीमा गएर केही मितव्ययी हुनुपर्छ । 

  • तपाईं संविधान संशोधन गर्ने कुरामा सहमत हुनुभयो । अब संविधानमा जहाँ–जहाँ समस्या देखिए तिनमा संशोधन गर्ने कि समग्र पुनरवलोकन गर्ने ? 

हाम्रो नौ वर्षको अनुभवले समग्र संविधान पुनरवलोकन वा रिभ्यू गर्नुपर्छ भन्ने देखाएन । अभ्यासका क्रममा जहाँ–जहाँ समस्या आयो त्यही मात्र रिभ्यू गर्दा हुन्छ । जस्तोः निर्वाचन प्रणालीमा समस्या छ । सरकार गठनको धारामा समस्या छ । अरू कहाँ–कहाँ समस्या छन् ती कुरालाई सम्बोधन गर्ने गरी संविधान संशोधन गर्नुपर्छं । 

  • संविधान पुनरवलोकन गर्न कस्ता संरचना बनाउने भन्नेमा धेरै ‘स्कुल अफ थट’ देखिन्छन् । कतिपय संसद्बाट बाहिर लैजान हुँदैन भन्छन् । कतिपय मस्यौदाको हिसाबले विज्ञबाट गर्दा उत्कृष्ट र त्रुटिरहित बन्छ भन्छन् । तपाईंको विचारमा कुन सही हो ?

संविधान रिभ्यू गर्दा दुईवटा कुरा आए । एउटा प्रक्रियाको कुरा र अर्को कन्टेन्टको कुरा हो । संविधान पुनरवलोकन प्रक्रियाको कुरा गर्दा मैले माथि नै भनें– विज्ञकै नेतृत्वमा समस्याहरू पहिचान गर्नुपर्छ । समस्याहरूको पहिचानपछि मात्र समाधान गर्न सकिन्छ । 

त्यो विज्ञ टिमले देशभर छलफल गर्छ । सबैसँग छलफल गर्छ । यसमा नेताभन्दा पनि विषयवस्तुमा केन्द्रित हुन्छ । नेताहरूको आफ्नो दल छ । त्यसैले उनीहरूको कुरा त्यहीबाट आउन सक्छ । 

संविधान संशोधन गर्ने वा पूर्ण बनाउने, सर्वस्वीकार्य बनाउने नै हो भने पूर्वप्रधानन्यायाधीश वा स्वतन्त्र विज्ञहरूको नेतृत्वमा टोली बनाउनुपर्छ । नेपालमा एक सय एक विज्ञ छन् । यो नौ वर्ष अवधिमा संविधानमा कहाँ–कहाँ कमजोरी देखियो भनेर सुझाव दिने कार्यक्षेत्र तोकेर जिम्मेवारी दिनुपर्छ ।

कन्टेन्टको कुरा गर्दा अहिले संघीयता छ । तर, त्यसको महसुस नै हुन पाएको छैन । यसलाई महसुस हुन दिनका लागि काम गर्न दिनुपर्छ । आजसम्म काम नै गर्न दिइएन । संघीयता भनेको छ । तर, केन्द्रले नै सबै कुरा नियन्त्रणमा राखेको छ । प्रदेशहरूको आफ्नो प्रहरीदेखि कर्मचारीसम्म केही छैन । यसकारण भएको संरचना फाल्ने होइन । यसलाई उत्तरदायी बनाएर डेलिभरी केन्द्रित बनाउने हो । यसका लागि तिखो संविधानको ज्ञान भएको व्यक्तिको नेतृत्वमा कार्यदल बन्नुपर्छ । 

कति कुरा संविधानले नै अप्ठारो पारेको छ भने त्यसलाई झिक्नुपर्छ । कतिपय ठाउँमा थप्नुपर्ने हुन्छ । त्यसका लागि संविधानको सार्प ज्ञान भएको व्यक्ति हुनुपर्छ । जस्तोः अहिलेकै संरचना हेर्दा स्थानीय तहले जसरी काम गर्न सकेको छ त्यसरी र यो मोडलले चाहे भयो काम गर्न सक्ने देखायो नि ! काठमाडौं, ललितपुरजस्ता उपमहानगरपालिकाहरूले राम्रो काम गरेर देखाएका छन् । उनीहरूको काम गराइमा आलोचना पनि होला । तर, काम त भएको छ नि ! यसकारण स्थिर संरचना र अधिकार दिने हो भने काम हुने रहेछ भन्ने त देखायो नि !

त्यस्तै, संवैधानिक इजलासको अवस्था हेरौं । संविधानलाई समृद्ध बनाउने भनी हामीले संवैधानिक व्याख्याका लागि संवैधानिक इजलास बनायौं । नौ वर्ष भयो यसले कति संविधानका विषयमा व्याख्या गर्न सक्यो त ? यसरी हेर्दा विघटन बाहेकका कुनै पनि मुद्दामा संविधानलाई परिस्कृत बनाउने गरी व्याख्या गर्न सकेको देखिदैन । अधिकांश समय संवैधानिक इजलास बस्दै बस्दैन । 

  • संवैधानिक इजलासमा पाँच जना न्यायाधीश हुन्छन् । यसले जनताका अरू मुद्दा पनि प्रभावित पारेको छ भने संवैधानिक विकासमा पनि योगदान दिन सकेको छैन । यसले त यो किन बनाएको भन्ने प्रश्न उठ्यो नि ! न संवैधानिक इजलासले डेलिभरी दिएको छ न त जनताले न्याय पाउने हकलाई वञ्चित गराउन रोकेको छ । यस्तो प्रभावकारी हुन नसकेको संवैधानिक इजलासलाई अलग्गै बनाइदिँदा के हुन्छ ? पाँच जना न्यायाधीशको अलग्गै संवैधानिक इजलास बनाइदिँदा के फरक पर्छ र ? 

२५ हजार मुद्दा सर्वोच्चमा छन् । कमसेकम ती न्यायाधीश त दैनिक जनताको मुद्दा सुन्न पाउँछन् । यसले सर्वोच्चको ब्याक लग नै कम गर्छ । यसमा राज्यलाई पनि ठूलो हानि हुने मैले देखेको छैन । संविधान संशोधन गर्दा यी र यस्ता विषयहरूलाई हामीले समेट्नुपर्छ ।

  • संघीय संरचनाका विषयमा प्रश्न उठाउने पनि छन् । संघीयताको पक्षपोषण गर्ने पनि छन् । तपाईंले तीन तहका सरकारको आजसम्मको अभ्यास कति सफल वा असफल देख्नुभएको छ ? 

अहिले संविधानमा स्थानीय तहलाई जति अधिकार दिएको छ त्यो पुग्ने नै देखिन्छ । थप गरिराख्न पर्दैन । यसलाई अभ्यासमा छोड्दिने हो भने गर्न सक्छ । अहिले प्रशासकीय अधिकृतमा मात्र केन्द्रको अधिकार भएकाले अप्ठारो पार्न सक्छ । अन्यत्र त सक्दैन । 

प्रदेशको हकमा धेरै समस्या छ । कर्मचारी नै जान मान्दैनन् । कर्मचारी नै जान मान्दैनन् भने त्यसले कसरी काम गर्न सक्छ ? किन आकर्षण छैन त प्रदेशमा ? यो कुरा संविधान संशोधन गर्दा अब सोच्नुपर्छ । किन प्रदेशमा लोकसेवाबाट ल्याउने कानुन ल्याउन दिइएन ? 

जस्तोः प्रदेशमा प्रहरी दिन खोजिँदैन । वनको डीएफओ प्रदेशलाई दिएको छ । तर, मुद्दा चलाउने अधिकार केन्द्रलाई छ । गुठीको अधिकार प्रदेशलाई दिएको छ । तर, सबै मठमन्दिरहरू केन्दबाट चल्नुपर्छ । यसले त दोहोरोपन ल्यायो । यसकारण मेरो भनाइ के हो भने काम दिने हो भने अधिकार पनि दिऔं । 

राख्ने वा फाल्ने दुवैको विपक्षमा मेरो मत छ । सुरुमा यो प्रदेशलाई १० वर्ष पूर्ण अधिकार दिऔं । यसले काम गर्न सक्छ कि सक्दैन हेरौं । यदि १० वर्षमा कुनै काम हुँदैन भने किन राख्ने यसलाई ? खारेज गरौं । अभ्यास हेरांै । अभ्यास नै नहेरी कसरी भन्न सकिन्छ ? परीक्षा नै नदिएर फेल भयो नभनौं । परीक्षा हलमा पुगेपछि कापी दिऔं । कलम दिऔं । अनि प्रश्नपत्र पनि दिऔं । त्यसपछि परीक्षामा फेल भयो भने फेल हुनेलाई माथिल्लो कक्षामा प्रवेश नदिएझैं प्रदेशको व्यवस्था पनि खारेज गरौं । अहिले त परीक्षा हलमा जाने परीक्षार्थीलाई केही पनि नदिने काम भयो । यसरी त फेल भयो भनेर भन्न मिल्दैन । 

  • हामीले सबै समुदायलाई राज्यको मूलधारमा ल्याउन समावेशिता र समानुपातिक प्रतिनिधित्वको कुरा संविधानमा राख्यौँ । अहिले पनि हालीमुहाली ‘तरमारा’ वर्गकै छ । यसको सम्बोधन अब कसरी गर्न सकिन्छ ?

अहिले यो कुरा ठीक उल्टो अभ्यास भएको छ । निजामती सेवामा केही सुधार भएको छ । तर, राजनीतिक रूपमा भने उल्टो अभ्यास भएको हो । यसमा अब रिभ्यूको जरुरी देखियो । जो पहिले नै हुने–खाने वर्गमा छन् उनीहरूलाई नै फेरि किन समावेशी र आरक्षण चाहियो ? उनीहरूलाई यसबाट अलग गराउनै पर्छ । जसका लागि ल्याइएको हो उसलाई दिनुपर्छ । अब यसलाई हेनुपर्छ । पहिले नै मूलधारमा आएकाहरूलाई फेरि किन अवसर दिने ? अवसर त मूलधारमा आउन संघर्ष गरिरहेका र पिँधमा परेका वर्गलाई दिने हो नि ! 

  • आयोगहरूको संरचना हेर्दा तपाईं के सन्तुष्ट हुनुहुन्छ ? 

अहिले आयोगहरूको संरचना र काम गराई हेर्दा सन्तुष्ट हुनुपर्ने आधार र कारण दुवै छैन । संविधानमा १० वर्षमा यस्ता आयोगहरूको रिभ्यू गरिने भनेको छ हटाइदिँदा हुन्छ । जस्तोः समावेशी आयोग भनेको छ । तर, त्यो हेर्दा खस–आर्य आयोग देखिन्छ । यसरी एउटा कुनै वर्गलाई मात्र केन्द्रित गरेर आयोग बनाउनुपर्ने आवश्यकता छैन । आयोगहरूले पनि आफ्नो आवश्यकता र औचित्य पुष्टि गर्न सकेनन् । बरु कर्णालीलाई वा पछाडि परेका वर्ग र समुदायलाई माथि ल्याउने काम गर्दा हुन्छ । म यी आयोगहरू पालिराख्नुपर्ने पक्षमा छैन । 

  • संविधानमा मौलिक हक धेरै राखियो । तर, ती हक जनताले उपभोग नै गर्न पाएनन् भन्ने गुनासो आउने गरेको छ । मौलिक हक राख्ने मात्र हो कि उपभोग पनि गर्न पाउनुपर्छ ? 

मौलिक हकहरू हाम्रो संविधानमा धेरै राखियो छ । जस्तोः तपाईंलाई मैले एक लाखको चेक दिएँ । तर, मैले त्यसमा हस्ताक्षर चैं गरिनँ । अनि, त्यो एक लाख तपाईंलाई काम आउँछ  त ? पक्कै पनि आउँदैन । त्यो तपाईंले साटेर उपभोग नै गर्न पाउनुहुन्न भने त्यो चेकको के अर्थ ? मौलिक हकहरू पनि यस्तै भए । 

मौलिक हक संविधानमा राखियो अनि कानुन बनाइयो । त्यसलाई नियन्त्रण मन्त्रालयको सचिवले नियमावली बनाएर गर्यो । यसले कसरी मौलिक हक भयो त ? मौलिक हक धेरै दिने अनि कानुनअनुसार भनेर हुन्छ ? पक्कै हुँदैन । नियन्त्रण गर्ने गरी मौलिक हक दिने अभ्यास नै गलत छ । यो अपारदर्शी प्रक्रिया हो । संविधान र कानुन मात्र हामीले मान्ने हो । अरू सचिवले बनाएको कुरा म मान्न तयार छैन ।  

dipendra jha (3)

  • तपाईं संविधान पुनरावलोकन गर्दा आइपर्ने राष्ट्रिय र अन्तर्राष्ट्रिय खतरा के देख्नुहुन्छ ? 

संविधान संशोधनलाई पेन्डोरा बक्स भनिन्छ । यसलाई खोल्नेबित्तिकै अनेक खतरा आउन सक्छ । यो कुरा सत्य नै हो । जस्तोः हामीकहाँ पनि जातीय र स्वार्थका समूह हाबी हुन सक्ने खतरा हुन्छ । यो सधैं हुने खतरा हो । सडकमा मेरो यो हक पुगेन, आन्दोलन हुनुपर्छ भनेर विभाजन हुन सक्छ । अब आन्दोलन र देश विभाजन गरेर काम छैन । 

हामीले कार्यक्षेत्र तोकेर यहाँभन्दा बाहिर जाँदैन भनेर प्रस्ट पारेर जानुपर्छ । फेरि जातीयता वा अन्य कुरामा पोलोराइजेसन गरेर काम छैन । यसप्रति सचेत हुनुपर्छ । विभाजन होइन, मेरिट र लजिकको आधारमा अघि बढ्नुपर्छ । कुनै विषयप्रति अतिवाद गर्ने ठाउँ भने दिनुहँुदैन । अतिवादीहरू सधैं ठाउँ खोजेर बसेका हुन्छन् । समय कहिले आउँछ भनेर बसेका हुन्छन् । उनीहरूलाई ठाउँ दिनुहुँदैन । संविधानको कोर भ्यालुजलाई स्वीकार गर्दै यसको व्यावहारिक कठिनाइ हटाउने हुनुपर्छ । 

  • संविधान संशोधन २०८४ अघि कि पछि ? 

संविधान संशोधनका लागि विज्ञ कमिटी बनाउने अनि त्यो जनतामा लगेर व्यापक छलफल गर्ने अनि सरोकारवालाहरूको कुरा सुन्ने अनि त्यसलाई संसद्मा लगेर छलफल गर्दै पारित गरिनुपर्छ । यो सबै प्रक्रिया गर्दा कति समय लाग्छ ? त्यो हेरेर र पर्याप्त समय दिएर गर्नुपर्छ । 

अहिले जसरी सरकार बनेको छ र कार्यदलको कुरा आएको छ यसरी हेर्दा यो ललिपपको हो कि भन्ने छ । गर्नेजस्तो पारा देखिँदैन । भइराख्ने अनि गरिरहेका छौँ भन्न मात्र हो कि भन्ने आशंका पनि  छ । 

नेताहरूले भन्ने गरेका छन् यो आजको भोलि हुने कुरा होइन समय लाग्छ । मेरो विचारमा गर्न चाहेको हो भने समय लाग्दैन । यसको प्रक्रिया त सुरु गर्न सकिन्छ नि ! त्यो पनि नगर्ने हो भने त १० वर्षमा पनि हुँदैन । मुख्य कुरा यसको नियत के हो भन्ने हो । गर्ने नै नियत हो भने त्यहीअनुसार प्रक्रिया सुरु हुनुपर्ला । यो संविधान अहिले संशोधन गरेन भने जनताले यी दलहरूलाई र व्यवस्थालाई नै संशोधन गर्दिने अवस्था आउँछ । 

अहिले देशको अवस्था डाउन भएको छ । बेरोजगारी बढेको छ । आर्थिक रूपमा गति प्राप्त हुन सकेको छैन । बैंकमा पैसा थुप्रिएको छ । लगानी गर्न व्यवसायी तयार भएका छैनन् । यी सबै अवस्था हेरेर बसेका जनता सधैं चुप लागेर मौन पक्कै बस्दैनन् । यही कारण अहिले संविधान संशोधनको उपयुक्त समय हो । यदि अहिले हामी संशोधन गर्दैनौ भने जनताले दलहरू र यो व्यवस्थालाई नै संशोधन गर्दिन सक्छन् । अन्तिम र सर्वशक्तिमान भनेका जनता नै हुन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया