बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

के भन्छन् दक्षिण कोरियामा  विमान दुघर्टनामा बाँचेका दुई जना ?

सोमबार, १५ पुस २०८१, १० : १८
सोमबार, १५ पुस २०८१

सोल । आइतबार बिहान दक्षिण कोरियामा १७९ जनाको ज्यान जाने गरी विमान दुर्घटना भयो । यो घटनाले सारा विश्व स्तब्ध भएको छ ।

 मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा जेजु एयरको यात्रुवाहक विमान दुर्घटना हुँदा सिंगो दक्षिण कोरिया गहिरो शोकमा छ । अवतरणको क्रममा विमान धावनमार्गबाट ​​चिप्लिएर विमानस्थलको पक्की पर्खालमा ठोक्कियो र आगो लाग्यो । उक्त दुर्घटनामा विमानमा सवार १८१ यात्रुमध्ये दुई जना जीवित बाँचेका थिए । ती दुवै यात्रुको अस्पतालमा उपचार भइरहेको छ । दुवै जनाले लगातार एउटै प्रश्न  सोधिरहेका छन्: ‘के भयो, म यहाँ किन ? तर यसको जवाफ कसैसँग पनि छैन ।

जेजु एयरको उडान ७सी२२१६ १७५ यात्रु र ६ जना चालक दलका सदस्य लिएर बैंककबाट आउँदै थियो । बिहान ९ बजेतिर विमानस्थलमा अवतरण गर्ने क्रममा चरासँग ठोक्कियो । चरा ठोक्किएर विमानको गियरमा समस्या आएको र धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको पनि भनिएको छ । मुआन फायर चीफ ली जुङ–ह्युनका अनुसार जलिरहेको विमानको पछाडिको हिस्साबाट एक महिला र एक पुरुष गरी दुईजना फ्लाइट अटेन्डेन्टलाई बचाइएको छ । दुवैको अवस्था चिन्ताजनक रहेको स्थानीय जनस्वास्थ्य केन्द्रका प्रमुखले बताएका छन् । 

होसमा आउनेबित्तिकै दुवै जनाले एउटै प्रश्न सोधेका थिए ।  द कोरिया टाइम्सका अनुसार बाँचेका एक जनालाई होस आएपछि उनले डाक्टरहरूलाई सोधे, ‘के भयो ?’ भनेर सोधेका  थिए । ३२ वर्षका ली नाम गरेका चालक दलका सदस्यले आफू यहाँ अस्पतालमा किन आइपुगे अनि के भएको थियो भन्ने बुझ्न सकेका छैनन् । उनको एउटै प्रश्न छ ‘म अस्पतालमा किन आइपुगे ?’

होस आएपछि लीलाई विमान अवतरण गर्नुअघि आफ्नो सिट बेल्ट बाँधेको मात्रै स्मरण छ । अवतरणका क्रममा दुघर्टना भएपछिका घटनाहरू उनलाई फिटिक्कै याद नभएको उनले बताएका छन् । उनलाई ठुलो झट्का लागेको अस्पतालका अर्का अधिकारीले बताएका छन् । 

बाँचेका दोस्रो व्यक्ति २५ वर्षीय क्वोन हुन् । उनलाई पनि दुर्घटनाको कुनै सम्झना छैन । आफ्नो टाउको, घुँडा र पेट दुखेको उनले चिकित्सकलाई बताएकी छिन् । अस्पतालका कर्मचारीका अनुसार लीको टाउकोमा चोट लागेको छ र खुट्टा भाँचिएको छ । उनको पेटमा लागेको चोटको परीक्षण भइरहेको छ । घाइते दुवै जनाको ज्यान जोखिममा नरहेको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप