बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

प्रकाण्डको विश्लेषण- धर्मेन्द्र भगौडा, पार्टी एकताबारे प्रचण्डको उदासीनता

‘३ बुँदे लागु नगरी दमन गरे ओलीलाई महँगो पर्नेछ’
सोमबार, १५ पुस २०८१, ०७ : ०७
सोमबार, १५ पुस २०८१

सुर्खेत । कालिकोटको दुर्गम मालकोट (नरहरिनाथ गाउँपालिका)मा जन्मिएका खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अहिले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता छन् । तत्कालीन माओवादीले थालेको १० वर्षे सशस्त्र युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो इन्चार्ज भइसकेका उनी त्यो बेला भेरी–कर्णाली जनसरकार प्रमुख समेत थिए । 

त्यो बेला शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि उनी इन्चार्ज भएका थिए । माओवादी जनयुद्धलाई मलजल गर्न महत्त्वपूर्ण भूमिका निभाएका प्रकाण्ड शान्ति प्रक्रियापछि भएको पहिलो संविधानसभाको चुनावमा भाग लिएर बलियो मत परिणाम ल्याएर निर्वाचित हुनुका साथै केन्द्रको मन्त्री समेत बनेका थिए । 

तर, माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएर उनी विप्लवसँगै पार्टी छाडे । अझै पनि कर्णाली र कालिकोटमा उनको प्रभाव बलियो छ । उनले आफ्नो गाउँ मालकोटलाई ‘सि’ गाउँ घोषणा गरेका छन् । उनीसँग सुर्खेत आएको अवसरमा रातोपाटीले समसामयिक विषयमा रहेर कुराकानी गरेको छ । प्रस्तुत छ, प्रकाण्ड ‘सि’ अर्थात् खड्गबहादुर विश्वकर्मासँग गरिएको कुराकानीको अंश:

  • पछिल्लो समय तपाईँको पार्टी केमा केन्द्रित छ ?

अहिले हाम्रो पार्टी तीन वटा विषयमा केन्द्रित छ । पहिलो, देश सङ्कटग्रस्त भयो, यसबाट देशलाई कसरी निकाल्ने भन्ने विषयमा हामीले बढी चिन्तनमनन् गरिरहेका छौँ । संकटको कारक तत्त्व भनेको देशभित्रका दलाल पुँजीवाद, दलाल संसदीय व्यवस्था र त्यसका सञ्चालकहरू तथा देश बाहिर साम्राज्यवादी हुन् । अमेरिकी साम्राज्यवाद मुख्य गरी आयो । त्यसैले यसलाई छिटोभन्दा छिटो अन्त्य गर्नुपर्छ र जनताको प्रतिनिधित्व गर्ने गरी नेपाली विशेषताको समाजवादी व्यवस्था स्थापना गर्नुपर्छ । त्यसका लागि लिडरसिपमा नेपाल कम्युनिस्ट पार्टी अथवा कम्युनिस्ट आन्दोलनभित्रका यो देशका सच्चा, इमानदार नेता, कार्यकर्ता आउनुपर्छ । तिनीहरू नआउने र तिनीहरूबिच साझा मोर्चा नबन्ने हो भने देशलाई बरबादीबाट बचाउन सकिँदैन भन्ने हाम्रो निष्कर्ष हो । हामी यही कार्यमा लागिरहेका छौँ ।

दोस्रो, भ्रष्टाचार, कालोबजारीया, मिटरव्याजी ठगी, सहकारी ठगी लगायतका कारण देशको अर्थव्यवस्था टाँट पल्टेको छ । र, कोहीपनि नेपाली जनताले अहिले यो देशमा आफ्नो भविष्य नदेख्ने स्थिति बन्यो । जनतालाई वैचारिक र व्यवहारिक दृष्टिले योबाट मुक्त गरी यही देशमा पनि सम्भव छ, यही देशमा गर्न सकिन्छ भन्ने कुरा व्यवहारतः पुष्टि गर्ने गरी पार्टीलाई र देशलाई पनि आत्मनिर्भर बनाउने दिशा प्रदान गर्नका निमित्त कृषि उत्पादनको क्रान्तिमा लागेका छौँ । यो वर्ष हाम्रो उत्पादन राम्रै भयो, यसले राष्ट्रिय अर्थतन्त्रमा सकारात्मक सन्देश दिएको छ । उक्त कार्यले सबै स्वाभिमानी नेपाली, आफ्नो राष्ट्रको अर्थतन्त्र निर्माण गर्न चाहने र त्यसको जगमा देशको समृद्धि, प्रगति चाहनेहरूलाई उत्साहित बनाएको छ ।

हाम्रो तर्फबाट कुनै समस्या छैन । सुरुमा अहिले समाजवादी मोर्चा बनाएर देशमा भइरहेको संकटका विषयमा अगाडि बढौँ र एकताको कुरा व्यवस्थित रूपमा छलफल गर्दै जाऊँ भनेर अघिल्लो पटक भनिएको थियो ।

तेस्रो, साम्राज्यवाद र दलाल पुँजीवादले जनताकाविरुद्ध जसरी हस्तक्षेप, षड्यन्त्र, शोषण र ठगी गरिरहेको छ, त्यस विरुद्धको मोर्चामा पनि हामी सङ्घर्षरत छौँ । आगामी दिनमा व्यवहारमा देखाउने गरी यो विषयमा पनि काम गर्ने तयारी छ । 

  • तपाईँले सुरुमै देशलाई सङ्कटबाट निकाल्न मोर्चा र एकताको कुरा गर्नुभयो । माओवादीसँग मोर्चा बन्यो तर एकताको कुरा चाहिँ चर्चामै सीमित बन्यो, माओवादीसँग एकताको प्रक्रिया कहाँ पुग्यो नि ? 

यसमा दुईवटा कुरा छ, पहिलो कुरा नेपालको कम्युनिस्ट आन्दोलनका इमानदार कम्युनिस्ट नेता, कार्यकर्ता, नेपालको माओवादी आन्दोलनका इमानदार नेता, कार्यकर्ता र लोकतान्त्रिक आन्दोलनका इमानदार नेता, कार्यकर्ता तथा यो देशलाई माया गर्ने सच्चा देशभक्तहरू एक ठाउँमा नआउने, आवश्यकता र जनताको भावनालाई बुझेर पनि सहकार्य नगर्ने र सामूहिक पहल नगर्ने हो भने अहिलेको दलाल पुँजीवादको अत्याचारको लामो हस्तक्षेपबाट देशलाई मुक्त गर्न सकिँदैन भन्ने हो । यसैलाई केन्द्रमा राखेर एकताको लागि माओवादी लगायतका दलहरूसँग छलफल चलाइरहेका छौँ । बाबुरामजी, वैद्यजीसँग पनि कुरा चलेकै छ । अहिलेको आवश्यकता र जनताको चाहना ठानेर एकताको कुरा गरिएको हो । त्यसका लागि इमानदार र सच्चा माओवादी तथा कम्युनिस्टहरू एक ठाउँमा आउनुको विकल्प छैन । 

  • त्यसो भन्न थालेको त लामो समय भइसक्यो नि, बरु अहिले यो विषय ओझेलमा परेको देखिन्छ हैन र ?

हाम्रो तर्फबाट कुनै समस्या छैन । सुरुमा अहिले समाजवादी मोर्चा बनाएर देशमा भइरहेको संकटका विषयमा अगाडि बढौँ र एकताको कुरा व्यवस्थित रूपमा छलफल गर्दै जाऊँ भनेर अघिल्लो पटक भनिएको थियो । यो बिचमा हामीबाट जसरी सकारात्मक रूपमा छलफल चलेको थियो, प्रचण्डजी र उहाँको पार्टीबाट भएन । उहाँहरू यसमा खासै जिम्मेवार पनि देखिनु भएन । न गम्भीर देखिनुभयो, न जिम्मेवारीपूर्ण अभिव्यक्ति नै दिन सक्नुभयो । र, एकताका लागि माओवादीले आधिकारिक धारणा पनि सार्वजनिक गर्न सकेन । अर्को पार्टीमा पनि खासै छलफल नगरेको र पार्टीमा त्यो विषयमा नीति पनि नबनाइको पाइयो । त्यसैले के गर्न खोज्या हो ? भन्ने प्रश्न खडा भयो । यद्यपि क्रान्तिकारी र सच्चा माओवादीहरूलाई एकताबद्ध गर्ने नीति हाम्रो पार्टीले भने खुला नै राखेको छ । 

  • भनेको एकताका लागि प्रचण्डबाट नै तदारुकता देखिएन ?

माओवादीभित्र विभिन्न ‘फ्याक्टर’ ले काम नगरेको देखिन्छ । नेताहरूको अभिव्यक्ति, गतिविधि र हर्कत हेर्दा केही नेता तथा समूहको व्यवहार ठिक देखिएन । प्रतिकुल गतिविधिलाई नियन्त्रण गर्ने कुरामा मुख्य नेतृत्व अर्थात् प्रचण्डजीको भूमिका पनि खासै देखिएन ।

चुनाव सम्बन्धी हामीसँग धेरै ठुलो अनुभव र विश्लेषण छ । अहिले हामी एकीकृत जनक्रान्तिको प्रक्रियामा रहेकाले ८४ को चुनावलाई सङ्घर्षको मोर्चाका रूपमा लिने तयारी छ ।
  • उसो भए माओवादी र तपाईँहरूबिच एकताको टुङ्गो छैन ?

देशलाई समाजवादी व्यवस्थामा लिनका लागि नेपालका माओवादी र सच्चा कम्युनिस्टबिच छिटो एकता चाहिएको छ । त्यसका लागि हामी निरन्तर प्रयास गरिरहेका छौँ । हामीले अहिले ‘एकीकृत जनक्रान्ति’को नेतृत्व गरिरहेको भएको नाताले यो विषयमा हामी नै गम्भीर भएर लागेका छौँ । 

  • तपाईँहरू ८४ को चुनावमा भाग लिने भन्ने कुरा सुनिन्छ, यो विषयमा प्रस्ट पार्दिनुहोस् न ?

चुनाव सम्बन्धी हामीसँग धेरै ठुलो अनुभव र विश्लेषण छ । अहिले हामी एकीकृत जनक्रान्तिको प्रक्रियामा रहेकाले ८४ को चुनावलाई सङ्घर्षको मोर्चाका रूपमा लिने तयारी छ । त्यो बेला हामी सबै तहका चुनावमा भाग लिन्छौँ । हामी अहिले देशमा भइरहेको दलहरूको विकल्प भएर चुनावमा जान खोजेको हो ।

  • एक्लै जानुहुन्छ वा सहकार्यको माध्यमबाट ?

अहिले त त्यो विषयमा खासै केही सोचिएको छैन । सहकार्यको माध्यमलाई त्यो बेला हामी गम्भीर रूपमा लिन्छौँ र त्यसमा पनि हामी खुला नै छौँ ।

  • ०७९ को स्थानीय तहको चुनावमा तपाईँको निर्वाचन क्षेत्र (कालिकोटको नरहरिनाथ)का वडाहरूमा उम्मेदवार उठाए पनि एउटा ठाउँमा पनि जित्न सक्नु भएन, एक्लै लड्दा त गाह्रै होला नि ?

हामीले त्यो बेला एउटा नीति बनाएका थियौँसंसदीय मोर्चालाई पनि क्रान्तिको पूरकको मोर्चा बनाउने । तर हाम्रै पार्टीका केही नेता, कार्यकर्ताले बुझेनन् र हामीले बुझाउन पनि सकेनौँ । त्यो कुरा दुस्मनले छिनो बुझ्यो र पार्टीका विरुद्ध षड्यन्त्र गर्‍यो । र, केही मान्छेलाई चुनाव फेस गर भन्दा पुरै संसद्वादी भइन्छ, खतम भयो पार्टी भनेर १२ हात उचालेर पार्टी नै तोडफोड गरिदिए । त्यसो हुँदा त्यो मोर्चामा सुरुमै हामी कमजोर भइसकेका थियौँ । 

 ‘अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कदापनि तर्सिन्छ’ भन्ने उखान जस्तै हो यो ।

भगौडाहरु (धर्मेन्द बास्तोलाहरू) भागेपछि तत्काल अर्को नीति लागु गर्न सक्ने स्थिति पनि बनेन । त्यसो हुँदा जति सकिन्छ यसैलाई प्रयोग गरौँ भनेर हाम्रा उम्मेदवारहरूले स्वतन्त्र तरिकाले चुनावमा भाग लिएका थिए । सुरुमै हाम्रो आन्तरिक पक्ष कमजोर भएकाले समस्या भएको हो । ८४ मा त्यस्तो हुँदैन ।

  • विप्लवहरू संसद्मा आएपछि त बिग्रन्छन्, पहिला बहिस्कार गरे, फेरि संसद्वादी बन्ने भए भनेर पनि विश्लेषण हुन थालेका छन्, यो विषयमा के भन्नुहुन्छ ?

त्यसो हैन । ‘अगुल्टोले हिर्काएको कुकुर बिजुली चम्कदापनि तर्सिन्छ’ भन्ने उखान जस्तै हो यो । विगतमा ठुल्ठुला क्रान्ति गरेका पार्टी माओवादी पनि ०६२/६३ मा शान्ति प्रक्रिया, संविधान सभाबाट संविधान बनाउने र गणतन्त्रको नाममा संसद्वादी भयो । त्योभन्दा पहिला ०४६ को

वरिपरि पनि माले, एमालेहरू पनि त्यस्तो भए । रोहित, मोहनविक्रमहरूले पनि क्रान्तिकारी भनेर संसदीय चुनाव लगातार प्रयोग गरिरहेका थिए र छन् । यी सबै घटनाबाट के देखिन्छ भने कुनै बेला राम्रै अपेक्षा गरेका पार्टी पनि संसद्मा गएर संसद्वादी भए । अहिले आसा गरेको वैकल्पिक पार्टी हाम्रै हो, यो कतै त्यतातिर गयो भने संसद्वादी हुने हो कि, त्यसो भए त बर्बाद हुन्छ भन्ने आशङ्का होला तर म जनतालाई के विश्वस्त पार्छु भने नेकपा कहिल्यै पनि संसद्वादी हुँदैन । हाम्रो पार्टी क्रान्तिकारी कम्युनिस्ट पार्टी हो । अर्को कुरा हाम्रो राजनीति भनेको संसदीय हैन समाजवादी हो । संसदीय मोर्चाको प्रयोग गर्ने हो बरु चुनावमा भाग लिएर यो संसदीय व्यवस्थाको उन्मुलन गरेर, भत्काएर, यो व्यवस्थालाई विस्थापित गरी समाजवादी व्यवस्था स्थापना गर्नतर्फ ध्यान दिन्छौँ । 

  • अहिले हिसाब गर्ने बेला त भएको छैन तर पनि ८४ मा तपाईँहरू चुनावमा जाँदा सबै ठाउँमा उम्मेदवार नेकपाले पाउँछ त ?

यो चाहिँ ‘सिरियस’ कुरा गर्नुभयो तपाईँले । यो तपाईँको आफ्नो कुरा त हैन, बाहिर कसैले भनेको सुनेर भन्नुभयो होला तर यो बुझ्नुहोस् कि सबै जिल्लामा संगठन भएको पार्टी हो, हाम्रो । विदेशमा भारतदेखि, युरोप र अरेबियन देशहरूमा पनि हाम्रो संगठन छ । दोस्रो, हामी चुनावमा जाने भनिसकेपछि सापेक्षिक दृष्टिले सक्षम मान्छेहरू उम्मेदवार बनाउँछौँ, त्यो पनि सबै ठाउँहरूमा । यो नेकपाको कुरा मात्र होइन, चुनाव भनेको त जनताको कुरा पनि हो । त्यसो हुँदा दलाल पुँजीवादबाट आजित जनताहरू त सपोर्ट गर्छन् नि ! हाम्रो अपिल छ, चुनावमा नेपाल कम्युनिस्ट पार्टी जाने हैन, हामी त ‘लिडिङ’ गर्न मात्र जाने हो, त्यो चुनावमा तपाईंपनि उम्मेदवार हो है ? तपाईँ पत्रकार हो नि, पत्रकारले उम्मेदवार हुनुहुँदैन भन्ने के छ ? पार्टीले तपाईँलाई अगाडि बढाउँछ, अहिलेदेखि तपाईँ जनताको सेवामा लाग्नुस् तपाईँ उम्मेदवार हो । व्यक्तिगत स्वार्थभन्दा देश र जनताको स्वार्थलाई शिरोधार्य गर्ने निष्कलङ्क मान्छेलाई उम्मेदवारको हिसाबमा अगाडि बढाउने हाम्रो तयारी हो ।

यो बिचमा कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिमा जसरी कानुन मन्त्रीले धारणा राखे, त्यो उनको धारणा मात्र हो कि सरकारको हो ? त्यो विषयमा अब जवाफ खोज्न पुनः ओलीजीसँग छलफल गर्नुपर्ने छ ।
  • ठिक छ, अब यो ३ बुँदेको कुरा गरौँ, तपाईँहरू चुनावमा जाने कुरा गर्दै हुनुहुन्छ, तपाईँहरूका कार्यकर्ताहरू अझै पनि जेलमा छन् हैन ? सरकारले ३ बुँदे कार्यान्वयन गर्न नचाहेको हो ?

मुद्दा फिर्ता लिनुपर्छ, विगतमा भएको सहमति कार्यान्वयन गर्नुपर्छ । देउवा प्रधानमन्त्री भएको बेला विधेयक बनेर संसद्मा पुगेको थियो । उक्त विधेयक हामी, सिके राउत, रेशम चौधरीदेखि माओवादी र किरणजीको पार्टीसँग पनि सम्बन्धित छ । यद्यपि पछिल्लो समय उक्त विधेयक फिर्ता लिने भनियो । यसबाट सरकार के चाहन्छ ? भन्ने कुरा प्रस्ट हुन्छ कि सरकार राजनीतिक सहमति कार्यान्वयन गर्न तयार छैन । झुटा मुद्धा खारेज गर्न तयार छैन । सहमति उल्लङ्घन गर्न थालेपछि हामीमाथि दमन गर्न खोज्ने हो कि भनेर आशङ्का गर्ने ठाउँ देखियो । यदि त्यो खोजेको हो भने ओली सरकारको निम्ति मात्र हैन कि दलाल संसदीय व्यवस्था र शासकहरूका निम्ति निकै चर्को पर्ने छ । त्यतातिर सरकारले मूर्खता नगरोस् भन्ने हो ।

  • अहिले प्रधानमन्त्री ओली हुनुहुन्छ, छलफल भएन त ?

चाइना जानुभन्दा अगाडि कुरा भएको हो, कार्यान्वयन गर्ने कुरामा सकारात्मक कुरा गर्नु भएको थियो । तर यो बिचमा कानुन, न्याय तथा मानवअधिकार संसदीय समितिमा जसरी कानुन मन्त्रीले धारणा राखे, त्यो उनको धारणा मात्र हो कि सरकारको हो ? त्यो विषयमा अब जवाफ खोज्न पुनः ओलीजीसँग छलफल गर्नुपर्ने छ ।

  • पहिला वैज्ञानिक समाजवाद भन्नुहुन्थ्यो, अहिले एकीकृत जनक्रान्तिको कुरा पनि प्रमुखताका साथ राखेको देखियो, योबारे प्रस्ट पारिदिनुहोस् न ?

नेपाली श्रमजीवी जनताको मुक्ति र राष्ट्रको स्वाधीनताका निम्ति श्रमिक जनताले सञ्चालन गर्ने सङ्घर्षको कार्यदिशा हो । अहिलेको क्रान्तिको बलबाट दलाल पुँजीवादको अन्त्य गरेर नेपाली जनताको, नेपाली विशेषताको वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना गर्ने यसको उद्देश्य हो । अर्थात् समाजवादी व्यवस्था स्थापना गर्ने कार्यदिशा नै ‘एकीकृत जनक्रान्ति’ हो ।

  • चुनावी कुरामा दलालहरूले हाम्रो पार्टी फुटाए र भगौडाहरु भागे भनेर अहिलेको नेकपा बहुमतलाई सङ्केत गर्नुभयो । तपाईँहरूसँग फुटेर गएको पार्टीबारे के छ धारणा, मिल्नुहुन्छ कि फेरि ?

त्यो बेला गलत आरोप लगाएर जानुभयो । वैद्यसँग एकता पनि गर्नुभयो । त्यहाँ पनि मिल्न नसकेर अहिले छुट्टै भौँतारिइरहनु भएको छ । मलाई लाग्छ उहाँहरू अब सकिनुहुन्छ भन्ने मेरो निष्कर्ष छ ।

  • जनयुद्धको केन्द्र कर्णाली र त्यसमा तपाईँ प्रमुख जिम्मेवारीमा रहेको व्यक्ति हो । जनयुद्धको कर्णाली र अहिलेको कर्णालीमा के फरक पाउनुहुन्छ ?

कर्णालीमा अझै पनि क्रान्तिकारी आधार बाँकी नै छ । त्यसको रापताप अझै सशक्त छ ।

  • अन्तमा तपाईँले आफ्नो गाउँलाई ‘सि’ गाउँ घोषणा गर्नु भएको रहेछ, त्यसको उद्देश्य के हो ?

त्यो कम्युनिस्ट गाउँ हो । त्यसभित्र कम्युनिस्ट समाज, कम्युनिस्ट अर्थतन्त्रदेखि सबै गतिविधिहरू कम्युनिस्ट विचारधाराबाट चल्छन् । क्रान्तिको ‘स्ट्रोङ’ समाज बनाउने उद्देश्य हो । अहिले त्यहाँका कुनै बस्तीमा ‘सि’ बाहेक अरू छैनन् । ‘सि’ भन्ने बित्तिकै नयाँ समाजको निर्माण हो । पुरानो समाज असमान, विभेदकारी छ, त्यहाँ उत्पीडन छ, त्यो भएकाले सबैलाई समान न्याय दिने समाज निर्माण गर्ने भनिएको हो । त्यो विस्तार पनि हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप