मौलिक पहिचान र संस्कृतिको जगेर्नामा जोड दिनुपर्छ : देवकोटा

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मौलिक पहिचान र संस्कृतिको जगेर्नामा जोड दिनु पर्ने बताएका छन् । उनले सुसंस्कृत र सभ्य समाज निर्माणमा मौलिक परम्पराले थप टेवा पुग्ने बताए ।
सोमबार तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख देवकोटाले मौलिक चाडपर्वहरू राष्ट्रका अमूल्य गहना रहेको बताए । नेपाल बहुजातीय, बहुधार्मिक, बहुसंस्कृतिक विशेषताले भरिएको विविधतामा एकताको अनुपम नमुना भएको उनले बताए ।
‘नेपाल आफैमा एक विश्व हो, हामीले आफ्नो मौलिक पहिचानको संरक्षण र संवर्द्धनमा यथाशक्य जोड दिनुपर्दछ ।' उनले भने, 'सभ्य, सुसंस्कृत र सहिष्णु समाज निर्माणमा मौलिक परम्पराले थप टेवा दिनेछ । यी पक्षहरूलाई सुखी जीवनको मानकको रूपमा लिन जरुरी रहन्छ ।'
मौलिक संस्कृतिका रक्षार्थ सभ्य, अनुशासित र अर्थ पूर्ण क्रियाकलापहरू प्रति सबैको गर्व र समर्थन हुनु आवश्यक रहेको उनको भनाई छ ।