बिहीबार, १८ पुस २०८१
ताजा लोकप्रिय

आठौँ म्याग्दी महोत्सव : स्थानीय उत्पादनलाई प्राथमिकता

सोमबार, १५ पुस २०८१, ०६ : ४८
सोमबार, १५ पुस २०८१

म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आयोजना हुन लागेको आठौँ म्याग्दी महोत्सव तथा माघे सङ्क्रान्ति मेलामा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री वितरणलाई प्राथमिकता दिइने भएको छ । महोत्सव मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घले जिल्लामा उत्पादन भएका बस्तु तथा सामग्रीलाई बिक्री वितरण तथा प्रचारप्रसारका लागि प्रदर्शनीमा राख्न निःशुल्क स्टलको व्यवस्था गरेको हो । 

यही पुस २८ देखि आगामी माघ ८ गतेसम्म सञ्चालन हुने महोत्सवमा वन, कृषि र लघुउद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्रीको व्यापार र प्रदर्शनीका लागि २३ वटा स्टल र हरेक जिल्लाका छ वटै स्थानीय तहलाई एक/एक वटास्थल उपलब्ध गराइएको म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले बताए । 

‘‘महोत्सवबाट स्थानीय उत्पादनको व्यापार प्रवर्द्धन र प्रचारप्रसारमा सघाउन निःशुल्क स्टलको व्यवस्था गरेका छौँ, स्थानीय तहहरूले समेत आ–आफ्नो पालिकाभित्रको सम्भावनाको उजागर हुने बस्तु तथा सामग्रीलाई प्रदर्शनीमा राख्ने तयारी गरेका छन्, बढी भन्दा बढी जिल्लाभित्रको उत्पादनको बिक्री तथा प्रचारप्रसार होस् भन्ने हामीले चाहेका छौँ’’–अध्यक्ष श्रेष्ठले भने ।  

महोत्सवमा कृषि र पशुजन्य उत्पादनका साथै लघु उद्यमसम्बन्धी स्थानीय उत्पादनका सामग्री बिक्री र प्रदर्शनीमा राखिने छ । महोत्सव सञ्चालन हुने बेनीको खुलामञ्चमा राखिने एक सय ३३ वटा व्यावसायिक स्टल, २२ वटा होटलका स्टलसमेत बुकिङ भइसकेको सङ्घले जनाएको छ । महोत्सवमा विद्यालयको नवप्रवर्द्धन र विज्ञान प्रदर्शनीका लागिसमेत सातवटा स्टल निःशुल्क उपलब्ध गराउने तयारी गरिएको छ । विभिन्न व्यापारिक स्टलका लागि नाम टिपाएका ६० जना बढीलाई ठाउँ अभाव भएको र खुलामञ्च नजिकै रमाइलो मेला सञ्चालन हुने क्षेत्रमा समेत थप स्टल बनाउने तयारी गरिएको सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्यले बताए ।

महोत्सवमा म्याग्दीमा जन्मिएर राष्ट्रिय तथा अन्तर्रािष्ट्रयस्तरमा ख्याति प्राप्त व्यक्तिलाई सम्मान गरिने छ । महोत्सवमा खुल्ला लोकदोहोरी गीत, गण्डकी प्रदेशस्तरीय अन्तर पालिका पुरुष भलिबल तथा खुल्ला महिला भलिबल, गण्डकी प्रदेशभित्रका वडास्तरीय बास्केटबल प्रतियोगिता, ब्याडमिन्टन लगायतका खेलकुद तथा खुल्ला रत्यौली, भजन, पुर्ख्यौली नाच म्याग्दी आइडल एकल लोकनृत्य लगायतका सांस्कृतिक प्रतियोगितालाई समावेश गरिएको छ ।

रु १० करोड भन्दा बढीको आर्थिक कारोबार हुने लक्ष्य राखिएको महोत्सवमा रु एक करोड ३४ लाख २९ हजार आम्दानी र एक करोड २९ लाख १८ हजार नौ सय १४ खर्च भएर रु पाँच लाख १० हजार ८६ बचत गर्ने लक्ष्य लिएको सङ्घका कोषाध्यक्ष सुमन श्रेष्ठले जानकारी दिनुभयो । महोत्सव सफल बनाउन विभिन्न ३७ वटा उपसमिति गठन गरेर तयारीलाई तीव्रता दिइएको आयोजकले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप