सडक मर्मतमा विनियोजित बजेट खर्च हुनै सक्दैन, सडकको दुरावस्था कसरी अन्त्य होला ?
काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष (२०८१/०८२) मा सडक मर्मतका लागि ९ अर्ब ८४ करोड ४१ लाख २३ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो । जसमध्ये ९ अर्ब ५१ करोड १५ लाख ५६ हजार ८१० रुपैयाँ बराबरको कार्यक्रम स्वीकृत भएको सडक बोर्डले जनाएको छ ।
बोर्डका अनुसार हालसम्म सडक मर्मतका लागि कुल ९ अर्ब २१ करोड २० लाख ९० हजार ७२४ रुपैयाँ निकासा भइसकेको छ ।
सरकारले सडक मर्मतका लागि वार्षिक रूपमा ठुलो रकम विनियोजन गरे पनि सडकको अवस्था सुधार हुन सकेको देखिँदैन । यहाँसम्म कि, सडक मर्मतका लागि विनियोजन गरिएको बजेटसमेत पूरा खर्च हुन नसकेको तथ्याङ्कले देखाएको छ ।
चालु आर्थिक वर्ष सडक मर्मतका लागि विनियोजित बजेटको करिब ८० प्रतिशत निकासा भइसकेको बोर्डका अध्यक्ष गणेशबहादुर केसी बताउँछन् । तर विनियोजित बजेटअनुसार काम नदेखिएको उनले बताए ।
केसीले भने, ‘थप बजेट माग गर्नुपर्नेमा निकासा गरेको रकमसमेत खर्च नहुने समस्या छ ।’
केसीका अनुसार गत असोजको दोस्रो साता परेको वर्षासँगै आएको बाढीले देशभरका सडकमा क्षति पुगेको छ । सडकको अवस्था हेर्ने हो भने कुनै पनि सडक सञ्चालनका लागि पूर्ण रूपमा योग्य छैनन् । देशभरका सम्पूर्ण सडक मर्मत गर्नुपर्नेमा सरकारले अपेक्षा अनुसार सुधार गर्न नसकेको अध्यक्ष केसीको भनाइ छ ।
- तीन वर्षमा साढे ३१ अर्ब बजेट विनियोजन
तीन आर्थिक वर्षको तथ्याङ्क हेर्ने हो भने सडक मर्मतका लागि साढे ३१ अर्ब बजेट विनियोजन भएको छ ।
आर्थिक वर्ष २०७८/०७९ देखि २०८०/०८१ सम्म ३१ अर्ब ५५ करोड ६० लाख बराबर बजेट विनियोजन भएकोमा बोर्डले ३१ अर्ब ५२ करोड ३५ लाख ६५ हजार ६५८ रुपैयाँ बराबरको बजेट निकासा गरेको छ । जसमध्ये सडक मर्मतमा २० अर्ब १८ करोड २६ लाख १ हजार ६९५ रुपैयाँ खर्च भएको बोर्डको तथ्याङ्कमा उल्लेख छ ।
यस्तो छ तीन आर्थिक वर्षको सडक मर्मतको बजेट
तथ्याङ्क स्रोत: सडक बोर्ड
- विनियोजित बजेट खर्च हुँदैन
सडक मर्मतका लागि विनियोजित बजेट पूरा खर्च हुन नसकेको बोर्डका अध्यक्ष केसी बताउँछन् । केसीका अनुसार सडक मर्मतका लागि सडक विभाग र स्थानीय तहको मागअनुसार बजेट निकासा हुने गरेको छ ।
सडक मर्मतका लागि वार्षिक रूपमा सडक विभागमा ७० प्रतिशत र स्थानीय तहमा ३० प्रतिशत बजेट निकासा हुने गरेको छ । तर माग गरेको पूरै बजेट खर्च गर्न नसकेको तथ्याङ्कले देखाएको छ ।
आर्थिक वर्ष २०८०/०८१ सडक मर्मतका लागि ८ अर्ब ९७ करोड ६८ लाख ६८ हजार ६४ रुपैयाँ बजेट विनियोजन भएकोमा बोर्डले ८ अर्ब ९४ करोड ६६ लाख २२ हजार ७२२ रुपैयाँ निकासा गरेको थियो । तर सो वर्ष ७ अर्ब ५२ करोड ६३ लाख ९२ हजार ६३१ रुपैयाँ मात्रै सडक मर्मतमा खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।
यस्तै आर्थिक वर्ष २०७९/०८० मा १२ अर्ब १४ करोड १२ लाख ५४ हजार ९४६ रुपैयाँ बजेट विनियोजन भएको थियो । जसमध्ये बोर्डले सडक मर्मतका लागि १२ अर्ब १३ करोड ९० लाख ६९ हजार १२० रुपैयाँ निकासा गरेको थियो । तर सो वर्ष ६ अर्ब ३६ करोड ६३ लाख १८ हजार ६३६ रुपैयाँ मात्र सडक मर्मतमा खर्च भएको छ ।
यसै गरी आर्थिक वर्ष २०७८/०७९ मा १० अर्ब ४३ करोड ७८ लाख ७३ हजार ८१६ रुपैयाँ सडक मर्मतका लागि विनियोजन गरिएको थियो । विनियोजित सबै बजेट निकासा भए पनि ६ अर्ब २८ करोड ९८ लाख ९० हजार ४२८ रुपैयाँ मात्र खर्च भएको तथ्याङ्कमा उल्लेख छ ।
अध्यक्ष केसीका अनुसार सरकारले सडक मर्मत गर्न चाहने हो भने वार्षिक रूपमा पर्याप्त बजेट उपलब्ध छ । तर सडक मर्मत कार्य प्रभावकारी हुन सकेको देखिँदैन ।
‘सडक मर्मत सम्भार कार्यलाई व्यवस्थित गर्न वा प्रभावकारी बनाउन सडकसम्बन्धी निकायहरूको क्षमता अभिवृद्धिमा सरकारले जोड दिनुपर्ने बेला आएको छ,’ अध्यक्ष केसीले भने ।
बोर्डको कोषबाट खर्च हुने रकमको हिस्सामध्ये राष्ट्रिय राजमार्ग र सहायक राजमार्गमा सडक विभागले ओगटेको हुँदा विभाग मातहतका निकायहरूको क्षमता अभिवृद्धि गर्न जरुरी रहेको उनको भनाइ छ ।
विभाग अन्तर्गत मर्मत सम्भारका लागि सडक डिभिजनहरू स्थापना भएकोमा डिभिजनलाई मर्मतभन्दा नयाँ सडक निर्माणको काम सुम्पिएकाले अपेक्षा अनुसार सडक मर्मत हुन नसकेको केसी बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ह्वाइटहाउसबाट निस्किने बेला इजरायललाई ८ अर्ब डलरको हतियार बेच्ने बाइडेनको योजना
-
इटालियन सिरी’ए मा शीर्ष स्थानको नापोलीलाई सफलता
-
प्रिमियर लिगमा शीर्ष क्लबहरुलाई धक्का
-
ओल्ड ट्राफोर्डमा हारको खराब रेकर्डपछि म्यान्चेस्टर सिटीको फराकिलो जित
-
माधव नेपालले बाँडे अग्निपीडितलाई राहत
-
खाना पक्राउने क्रममा आगलागी हुँदा गोरखामा तीन घर जले