१२ बजे, १२ समाचार : फरक मत राख्दा सिकार हुनेहरुको सूचीदेखि लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’सम्म
काठमाडौं । वितेका २४ घण्टाको अवधिमा विकसित मुख्यमुख्य घटनाक्रमहरूको संगालोसहित रातोपाटी डटकम राति १२ बजे ‘रातोपाटी ब्रिफिङ’ लिएको उपस्थित भएको छ–
१. फरक मत राख्नेमाथि अनुशासनको डण्डा, को-को भए अहिलेसम्म सिकार ?
नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित भएपछि पक्ष–विपक्षमा बहस भइरहेको छ । वामपन्थी विश्लेषकहरूले कम्युनिस्ट पार्टीमा फरक मत राख्नेविरुद्ध अनुशासनको डण्डा चलाउनु नयाँ विषय नभएको तर्क गरेका छन् । विगतमा विभिन्न दलमा यसरी फरक मत राख्नेमाथि कारबाही भएको पाइएको छ ।
२. सहकारी सम्बन्धी अध्यादेशमा यस्ता छन् प्रावधान
सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लागु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेको उक्त अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । अध्यादेशमा विभिन्न १० नयाँ व्यवस्था गरिएको छ ।
३.अखिल क्रान्तिकारीको निर्वाचन
३२ वर्षमुनिबाट नेतृत्व चयन गर्नका लागि हुने अखिल क्रान्तिकारीको निर्वाचन अब माघ १२ गतेमात्रै हुने भएको छ । यसअघि पुस १७ गते निर्वाचन हुने भनिएकामा केन्द्रीय निर्वाचन समितिले मतदान हुने मिति सार्ने निर्णय गरेको हो।
४. लालपुर्जा र फिल्डमा कसरी फरक हुन्छ जग्गाको क्षेत्रफल ?
फिल्डमा जग्गा धेरै तर लालपुर्जामा कम र लालपुर्जामा जग्गा धेरै तर फिल्डमा कम भएका उदाहरण प्रशस्त पाइन्छ । यस्ता त्रुटिले ठुलो विवाद निम्त्याउने गरेको छ भने अदालतमा पनि साँध–सिमानाका मुद्दा प्रशस्त पर्ने गरेको देखिन्छ । आखिर किन यस्तो समस्या भयो भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ–
५. प्रधानमन्त्रीको जिकिर- यो सरकार गठबन्धनको होइन, समीकरणको हो
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार गठबन्धनको नभएर समीकरणको भएको जिकिर गरेका छन् । आइतबार पर्सामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको संयुक्त सरकारलाई सत्ता गठबन्धन भन्न नमिल्ने बताए ।
६. सूर्यदर्शन सहकारी प्रकरणमा अब एक जनाको बयान बाँकी
रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका तीन जना प्रतिवादीको आइतबार बयान सकिएको छ । पक्राउ परेका सात प्रतिवादीमध्ये यसअघि तीन जनाको बयान लिइसकिएको छ । अब मंगलबार एक प्रतिवादीको बयान लिएर थुनछेक बहस सुरु हुनेछ ।
७. अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलाउने जिम्मा निर्वाचन आयोगलाई
नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलाउने जिम्मा पार्टी अन्तर्गतको निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनामा उमेरहद सम्बन्धी विवादका कारण ढिलाइ भएको छ ।
८. लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’
काठमाडौँको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रम लामालाई आक्रमण गरेको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिकाराम भण्डारीको संलग्नता देखिएको छ । कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय लामामाथि आक्रमण भएको थियो ।
९. सर्वोच्चको आदेश अवज्ञा गर्दै ओलम्पिक कमिटीको निर्वाचन भएपछि ‘एक्सन’को तयारीमा खेलकुद परिषद
सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा गर्दै नेपाल ओलम्पिक कमिटीको निर्वाचन भएपछि राष्ट्रिय खेलकुद परिषदले एक्सन लिने तयारी गरेको छ । परिषदका सदस्यसचिव टंकलाल घिसिङले अदालतको आदेश अवज्ञा गर्दै भएको ओलम्पिक कमिटीको मतदान प्रक्रियामा सहभागी हुने राष्ट्रिय खेल संघहरूलाई स्पष्टीकरण सोधिने बताए ।
१०. सुधारका लागि ६ महिना समय दिइएको कर्णाली विकास बैंक एक महिनामै कसरी भयो ‘समस्याग्रस्त’ घोषणा ?
बुधबार क्रिसमसको सार्वजनिक बिदा थियो । राष्ट्र बैंकको सञ्चालक समिति बैठक त्यही दिन बसेर प्रादेशिकस्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याउन्मुख’बाट ‘समस्याग्रस्त संस्था’का रूपमा परिमार्जन ग¥यो । राष्ट्र बैंक कर्णाली डेभलपमेन्टमाथि कारबाहीको पछिल्लो अस्त्र प्रयोग गर्न सुरुमा हिच्किचाएको थियो । उसले एक महिनाअघि मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाहीअन्तर्गत तेस्रो चरणको कारबाही गरेको थियो ।
११. काठमाडौँमा आजपाको विरोध प्रदर्शन ?
आइतबार आम जनता पार्टीले काठमाडौँ महानगरपालिकाको कर नीतिविरुद्ध प्रदर्शन गरेको छ । कवाड व्यवसायीहरूले पनि विरोध प्रदर्शन गरेका छन् ।
१२. विमान दुर्घटना
दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए । यस दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ। दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुवै चालक दलका सदस्य हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यातायातमन्त्री आफैंले गरे सात अर्बको मुग्लिन-पोखरा पश्चिम सडकको अनुगमन
-
१२ बजे, १२ समाचार : स्वर्णलक्ष्मी सहकारी प्रकरणमा रविसहित ४४ जना मुख्य आरोपीदेखि अदालतका कर्मचारी सरुवामा राजनीतिक आतंकसम्म
-
वैदेशिक रोजगारीमा पठाउने भन्दै ठगी गरेको आरोपमा ४ जना पक्राउ
-
ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात
-
युक्रेन हुँदै युरोपमा रूसी ग्यास पारवहन बन्द
-
दक्षिण कोरियाले जेजु एयर फ्लाइट डाटा रेकर्डर अमेरिका पठाउने