प्रचण्डको अगाडि नेताहरूले पोखे गुनासो

काठमाडौँ । प्रचण्ड निवास खुमलटारमा आइतबार माओवादी केन्द्रको पदाधिकारी बैठक बस्यो । बैठक अखिल क्रान्तिकारीको नेतृत्व चयनअघि उमेर हद लगाउने कि नलगाउने भन्नेबारे टुंगो लगाउनका भएको निर्वाचनमा उत्पन्न विवादबारे छलफल गर्न बसेपनि यसबाहेकका धारणा पनि आएको एक नेताले बताए ।
उक्त बैठकमा उपाध्यक्ष कृष्णबहादुर महराले केही गुनासो पोखेका थिए । लामो समयपछि बैठकमा आएका महराले पार्टी बुर्जुवा भएको छोटो धारणा राखेका थिए । पार्टीभित्रैबाट आफू चेपुवामा परेको निकटस्थहरूसँग गुनासो पोख्दै आएका उनले थोरै बोलेपनि आफू खुसी नरहेको प्रस्ट सन्देश दिएको ती नेताको भनाइ छ ।
उसो त उनले प्रचण्डकै शासनकालमा आफू पीडित भएको निकटस्थहरूलाई बताउने समेत गरेका छन् । महरा सुन तस्करी प्रकरणमा प्रचण्ड प्रधानमन्त्री हुँदा पक्राउ परेका थिए । सो विषयमा उनले रोल्पासहितका जिल्ला भ्रमणका क्रममा समेत आफूलाई पार्टीभित्रैबाट फसाउने काम भएको भनेर गुनासो पोख्ने गरेको अर्का एक नेताको भनाइ छ । खुमलटार बैठकमा सिधासिधा त्यस्तो गुनासो नपोखेपनि प्रचण्डको अगाडि उनले जनाएको हाउभाउले सन्तुष्ट नदेखाएको ती नेताको भनाइ छ ।
यस्तै बैठकमा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ पनि असन्तुष्ट रहेको ढंगले प्रस्तुत भएका थिए । विद्यार्थीको निर्वाचन हुँदा आफू पक्षधर नआउने र नतिजा पनि सोहीअनुसार ३२ वर्षमुनिको हुने जस्तो छनक पाएसँगै उनी खासै खुसी नदेखिएको ती नेताको भनाइ छ । बैठकमा उनले विद्यार्थीको निर्वाचनका सन्दर्भमा केही धारणा राखेका थिए ।
यस्तै महासचिव देव गुरुङले विद्यार्थीको गैरसर्वहारावादी चुनाव भएको धारणा राखेका थिए । सबै नेताहरुको कुरा सुनेपछि बैठकले अखिल क्रान्तिकारी भित्रको विवाद समाधानको जिम्मा पार्टी निर्वाचन आयोगलाई नै दिने निर्णय गर्यो । सोहीअनुसार आयोगका प्रमुख मुक्ति प्रधानले आइतबार राति मतपरिणाम घोषणा गरेका छन् ।
जसअनुसार अखिल क्रान्तिकारीमा उमेर हद लाग्ने भएको छ । सार्वजनिक नतिजाअनुसार उमेर हदको पक्षमा ९०० र खुला राख्ने पक्षमा ८७९ मत आएको प्रधानले जानकारी दिए । जसअनुसार उमेर हद लगाउने पक्षमा २१ मत बढी परेकाले उमेर हद लगाउने मतको पक्ष मत विजयी भएको प्रधानले जानकारी दिए । अब ३२ वर्षमुनिबाट विद्यार्थी नेता छान्न अखिल क्रान्तिकारीमा माघ १२ गते निर्वाचन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कला र संगीतलाई एआईसँग जोडेर प्रविधिमैत्री पाठ्यक्रम बनाइँदै
-
माग पूरा नभएसम्म आन्दोलन नरोक्ने अडानमा चिकित्सक, तस्बिरहरु
-
२९ प्रतिशत उद्योग तथा प्रतिष्ठानले दिएनन् न्यूनतम पारिश्रमिक
-
‘भन्सार विधेयक, २०८१’ बहुमतले पारित
-
‘केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ बहुमतले पारित
-
रोजगारी र उद्यम प्रवर्द्धनका लागि उत्कृष्ट उद्यमी छनोट