बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : पार्टीमा फरक मत राख्नेमाथि अनुशासनको डण्डादेखि सहकारी सम्बन्धी अध्यादेशका प्रावधानसम्म

आइतबार, १४ पुस २०८१, २२ : ००
आइतबार, १४ पुस २०८१

आज २०८१ पुस १४ गते आइतबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

आजका मुख्य समाचारमा फरक मत राख्नेमाथि अनुशासनको डण्डा: को–को भए अहिलेसम्म सिकार ?, सहकारी सम्बन्धी अध्यादेशमा यस्ता छन् प्रावधान, लालपुर्जा र फिल्डमा कसरी फरक हुन्छ जग्गाको क्षेत्रफल ?, प्रधानमन्त्रीको जिकिर– यो सरकार गठबन्धनको होइन, समीकरणको हो, सूर्यदर्शन सहकारी प्रकरणमा अब एक जनाको बयान बाँकी, लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’ लगायत छन् ।

१. फरक मत राख्नेमाथि अनुशासनको डण्डा : को–को भए अहिलेसम्म सिकार ?
नेकपा एमालेका पूर्वउपाध्यक्ष डा. भीम रावल साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासित भएपछि पक्ष–विपक्षमा बहस भइरहेको छ । वामपन्थी विश्लेषकहरूले कम्युनिस्ट पार्टीमा फरक मत राख्नेविरुद्ध अनुशासनको डण्डा चलाउनु नयाँ विषय नभएको तर्क गरेका छन् । विगतमा विभिन्न दलमा यसरी फरक मत राख्नेमाथि कारबाही भएको पाइएको छ ।

२. सहकारी सम्बन्धी अध्यादेशमा यस्ता छन् प्रावधान
सरकारले जारी गरेको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश लागु भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार प्रमाणीकरण गरेको उक्त अध्यादेश नेपाल राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको हो । अध्यादेशमा विभिन्न १० नयाँ व्यवस्था गरिएको छ ।

३. लालपुर्जा र फिल्डमा कसरी फरक हुन्छ जग्गाको क्षेत्रफल ?
फिल्डमा जग्गा धेरै तर लालपुर्जामा कम र लालपुर्जामा जग्गा धेरै तर फिल्डमा कम भएका उदाहरण प्रशस्त पाइन्छ । यस्ता त्रुटिले ठुलो विवाद निम्त्याउने गरेको छ भने अदालतमा पनि साँध–सिमानाका मुद्दा प्रशस्त पर्ने गरेको देखिन्छ । आखिर किन यस्तो समस्या भयो भन्नेबारे रातोपाटीले विशेष सामग्री तयार पारेको छ–

४. प्रधानमन्त्रीको जिकिर– यो सरकार गठबन्धनको होइन, समीकरणको हो 
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको वर्तमान सरकार गठबन्धनको नभएर समीकरणको भएको जिकिर गरेका छन् । आइतबार पर्सामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेस र एमालेको संयुक्त सरकारलाई सत्ता गठबन्धन भन्न नमिल्ने बताए ।

५. सूर्यदर्शन सहकारी प्रकरणमा अब एक जनाको बयान बाँकी
रवि लामिछाने मुछिएको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका तीन जना प्रतिवादीको आइतबार बयान सकिएको छ । पक्राउ परेका सात प्रतिवादीमध्ये यसअघि तीन जनाको बयान लिइसकिएको छ । अब मंगलबार एक प्रतिवादीको बयान लिएर थुनछेक बहस सुरु हुनेछ ।

६. अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलाउने जिम्मा निर्वाचन आयोगलाई
नेकपा माओवादी केन्द्रले अनेरास्ववियु क्रान्तिकारीको विवाद मिलाउने जिम्मा पार्टी अन्तर्गतको निर्वाचन आयोगलाई दिने निर्णय गरेको छ । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मत गणनामा उमेरहद सम्बन्धी विवादका कारण ढिलाइ भएको छ ।  

७. लाजिम्पाट घटनामा मनाङेका स्वकीय सचिवको ‘कनेक्सन’
काठमाडौँको लाजिम्पाटस्थित इनोभा अस्पतालको पार्किङमा विक्रम लामालाई आक्रमण गरेको घटनामा गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिकाराम भण्डारीको संलग्नता देखिएको छ ।  कार्तिक ११ मा घरजग्गा व्यवसायी ३५ वर्षीय लामामाथि आक्रमण भएको थियो ।

८. सर्वोच्चको आदेश अवज्ञा गर्दै ओलम्पिक कमिटीको निर्वाचन भएपछि ‘एक्सन’को तयारीमा खेलकुद परिषद
सर्वोच्च अदालतको आदेशलाई समेत अवज्ञा गर्दै नेपाल ओलम्पिक कमिटीको निर्वाचन भएपछि राष्ट्रिय खेलकुद परिषदले एक्सन लिने तयारी गरेको छ । परिषदका सदस्यसचिव टंकलाल घिसिङले अदालतको आदेश अवज्ञा गर्दै भएको ओलम्पिक कमिटीको मतदान प्रक्रियामा सहभागी हुने राष्ट्रिय खेल संघहरूलाई स्पष्टीकरण सोधिने बताए ।

९. सुधारका लागि ६ महिना समय दिइएको कर्णाली विकास बैंक एक महिनामै कसरी भयो ‘समस्याग्रस्त’ घोषणा ?
बुधबार क्रिसमसको सार्वजनिक बिदा थियो । राष्ट्र बैंकको सञ्चालक समिति बैठक त्यही दिन बसेर प्रादेशिकस्तरको कर्णाली डेभलपमेन्ट बैंकलाई ‘समस्याउन्मुख’बाट ‘समस्याग्रस्त संस्था’का रूपमा परिमार्जन ग¥यो । राष्ट्र बैंक कर्णाली डेभलपमेन्टमाथि कारबाहीको पछिल्लो अस्त्र प्रयोग गर्न सुरुमा हिच्किचाएको थियो । उसले एक महिनाअघि मंसिर ११ गते शीघ्र सुधारात्मक कारबाहीअन्तर्गत तेस्रो चरणको कारबाही गरेको थियो ।

१०. काठमाडौँमा आजपाको विरोध प्रदर्शन
आइतबार आम जनता पार्टीले काठमाडौँ महानगरपालिकाको कर नीतिविरुद्ध प्रदर्शन गरेको छ । कवाड व्यवसायीहरूले पनि विरोध प्रदर्शन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप