एसियाली खेलकुदका लागि विशेष तयारी सुरु गरिरहेका छौँ : सदस्यसचिव घिसिङ

काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव टंकलाल घिसिङले पौने तीन वर्षको प्रशिक्षण र लक्ष्यसहित सन् २०२६ को एसियन खेलकुदको तयारी गरिरहेको बताएका छन् ।
राखेपअन्तर्गत राष्ट्रिय टिम तयारीको व्यवस्थापनमा भएको विशेष प्रशिक्षणअन्तर्गत एन्टी डोपिङ र खेलपोषण कार्यक्रमको समापनको अवसरमा आइतबार सदस्यसचिव घिसिङले २० औँ एसियाली खेलकुदका लागि विशेष तयारी सुरु गरिएको बताए । नेपालमा १९ औँ एसियाली खेलकुद सम्पन्न भएलगत्तै आगामी एसियन गेम्सको तयारी सुरु गरेको हो ।
कार्यक्रममा सदस्यसचिव घिसिङले अहिलेसम्म स्वर्ण जित्न नसकिएको उल्लेख गर्दै २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित मिसन २०२६ अन्तर्गत विशेष तयारी गरिएको बताए । यस पुस्ताका खेलाडी र प्रशिक्षकमा स्वर्ण जित्ने जिम्मेवारी आएको उनको भनाइ छ । उनले न्यूनतम सेवा सुविधा भएपनि खेलाडीको प्रशिक्षण गरिएको बताए ।
साथै रणनीति योजनाका रूपमा पदकका सम्भावना बोकेको खेलाडीलाई वैदेशिक प्रशिक्षणका साथै राम्रो प्रशिक्षक झिकाएर पनि तयारी गर्ने सदस्यसचिव घिसिङले बताए । उनले मिसन २०२६ अनुरूप खेलाडीलाई प्रशिक्षणमा मात्र सीमित नगराउने पनि स्पष्ट पारेका छन् । तयारीका लागि अन्तर्राष्ट्रिय एक्सपोजर, सुविधा सम्पन्न फिटनेस र अन्य आवश्यक पर्ने सबै पक्ष खेलाडीले तयारीका क्रममा पाउने उनको भनाइ छ ।
सदस्यसचिव घिसिङले सातदोबाटोमा खेलाडीका लागि फिट्नेस सेन्टर निर्माणको कार्य चाँडै सकिने जानकारी गराउँदै स्पोर्ट्स साइन्स ल्याबलाई आवश्यक पर्ने सामाग्री खरिदको प्रक्रिया पनि सुरु भइसकेको बताए । उनले खेलाडीको पुरस्कारको व्यवस्था कानुनमै उल्लेख भएको हुँदा खेलाडीलाई ढुक्क भएर खेल्न आग्रह गरे ।
राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले सबैको संयुक्त प्रयासबाट मिसन सफल हुने विश्वास व्यक्त गर्दै आफूले जित्न नसकेको पदक अहिलेका खेलाडीले जितेर इतिहास रचेको खण्डमा आफैँले जितेसरह हुने धारणा व्यक्त गरे ।
प्रशिक्षकहरूका तर्फबाट भलिबलका मुख्य प्रशिक्षक जगदीश भट्टले ट्रेनिङका दौरान हुने विभिन्न कक्षाले ऊर्जा थप्नुका साथै मनोबल पनि बढाएको उल्लेख गर्दै पाएको अवसरलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।
कार्यक्रममा हाङझाव एसियाडको करातेमा ऐतिहासिक रजत जितेकी एरिका गुरुङले तयारी राम्रो भइरहेकाले अवश्य सुखद् नतिजा प्राप्त हुने विश्वास व्यक्त गर्दै तालिम फाइदाजनक भएको बताए । यो विशेष प्रशिक्षण गत वर्षको मंसिर १ गतेदेखि सुरु भएको हो । विशेष प्रशिक्षणमा कराते, बक्सिङ, उसु, एथलेटिक्स, जुडो, कुस्ती, पुरुष/महिला कबड्डी, महिला भलिबल र गल्फका कुल ८५ खेलाडी र १९ प्रशिक्षक समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्ध अन्त्य ‘निकै टाढा’ भनी जेलेन्स्कीले दिएको अभिव्यक्तिमाथि खनिए ट्रम्प
-
आफ्नै जमिन नहुनेहरुका लागि अल्लो बन्यो उद्यम
-
विराट गोल्डकप फुटबलः पहिलो खेलमा मोरङ एफए विजयी
-
१२ बजे, १२ समाचार : महान्यायाधिवक्ता कार्यालयले दिएन रेखा शर्मा प्रकरणको सूचनादेखि हृदयाघात भएका पूर्वयुवराज पारस शाह आइसीयुमासम्म
-
केपी ओली कप फुटबल : मछिन्द्रका सनिश सर्वोत्कृष्ट खेलाडी
-
नेपाली जनप्रगतिशील मञ्च जापानको साधारणसभा तय