बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

दक्षिण कोरियामा विमान दुर्घटनामा १ सय ७९ जनाको मृत्यु, २ जना बाँचे

अहिलेसम्म के-के भयो ?
आइतबार, १४ पुस २०८१, १९ : १५
आइतबार, १४ पुस २०८१

सिओल । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार एक विमान अवतरणका क्रममा दुर्घटनामा परेको छ । यो विमानमा १८१ जना सवार थिए जसमा १७५ यात्रु र छ जना चालक दलका सदस्य थिए ।

यस दुर्घटनामा १७९ जनाको मृत्यु भएको छ। दुई जनालाई भग्नावशेषबाट जिउँदै निकालेर अस्पताल लगिएको छ । उनीहरु दुवै चालक दलका सदस्य हुन् ।

यो जेजु एयरको विमान बैंककबाट दक्षिण कोरिया फर्किरहेको बताइएको छ । विमान अवतरण गर्ने क्रममा यो दुर्घटना भएको हो ।  कोरियाली बजेट एयरलाइन्स जेजु एयरद्वारा सञ्चालित बोइङ ७३७–८०० विमान  स्थानीय समय अनुसार बिहान करिब ९ बजे दुर्घटनामा परेको थियो ।

मृतकका आफन्तहरु विमानस्थलमा भेला भएका छन् र त्यहाँ अस्थायी शवगृह स्थापना गरिएको छ । दुर्घटनाको खबर पाएलगत्तै दक्षिण कोरियाका कार्यवाहक राष्ट्रपति चोई साङ मोक दुर्घटनास्थल पुगेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

चोईले त्यहाँ उद्धार कार्यमा सहयोग गर्न जनशक्ति, स्वास्थ्य सेवा र उपकरणलाई निर्देशन दिएको कार्यालयले जनाएको छ। साथै पीडित परिवारलाई सरकारले सक्दो सहयोग गर्ने बताइएको छ ।

यो दुर्घटनापछि सरकारले सात दिने राष्ट्रिय शोकको घोषणा गरेको छ । यस अवधिमा सरकारी कार्यालयमा झण्डा आधा झुकाउने र सबै सरकारी कर्मचारीले कालो रिबन बाँध्नेछन् । एजेन्सीका अनुसार मुआन विमानस्थलको धावनमार्ग स्थानीय समयअनुसार बुधबार बिहान ५ बजेसम्म बन्द रहनेछ ।

समाचार एजेन्सी योनहापका अनुसार विमानमा सवार १७३ यात्रु दक्षिण कोरियाका र दुई जना थाइल्याण्डका थिए । विमानमा सवार यात्रुहरूको उमेर तीन वर्षदेखि ७८ वर्षसम्म रहेको थियो। तर धेरैजसो आफ्नो उमेरको चौथो, पाँचौं र छैठौं दशकमा थिए।

थाइल्यान्डका प्रधानमन्त्री पाएटोंगटार्न चिनावाटले यो विमान दुर्घटनाप्रति दुःख व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘दुर्घटनामा परी ज्यान गुमाउने र घाइते भएकाहरुका परिवारप्रति म समवेदना व्यक्त गर्दछु ।’

दक्षिण कोरियाको दमकल विभागले घटनास्थलमा ३२ दमकल र १५ सय आपतकालीन कर्मचारी पठाइएको जनाएको छ । मुआन दक्षिण कोरियाको राजधानी सियोलबाट २८८ किलोमिटर टाढा छ।

south korea

कसरी भयो विमान दुर्घटना ?

दक्षिण कोरियाको विमान उद्योग सुरक्षाको हिसाबले राम्रो मानिन्छ। पछिल्लो दुर्घटनाको कारणबारे अहिलेसम्म ठोस जानकारी आएको छैन । तर, चरा ठोक्किएर र खराब मौसमका कारण दुर्घटना भएको अनुमान गरेको छ ।

दक्षिण कोरियाका एक अधिकारीले विमान धावनमार्गमा अवतरण गर्न खोज्दा एयर ट्राफिक कन्ट्रोलले विमानस्थल नजिक चराहरू छन्, अहिले हावामै बस्न चेतावनी दिएको बताएको थियो ।

त्यसको दुई मिनेटपछि पाइलटले ‘मे डे’ (इमर्जेन्सी) चेतावनी दिएपछि एयर ट्राफिक कन्ट्रोलले उनलाई विपरित तर्फ अवतरण गर्न अनुमति दिएको थियो ।

समाचार एजेन्सी योनहापका अनुसार दुर्घटनाको कारण चराहरूसँग विमान ठोक्किएर भएको देखिन्छ।

विमान दुर्घटनापछि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ, जसको पुष्टि हुन सकेको छैन । यस भिडियोमा विमान बिना पाङ्ग्रा वा ल्यान्डिङ गियर नै अवतरण गर्न खोजिरहेको थियो र अवतरण गर्ने क्रममा धावनमार्गबाट ​​चिप्लिएर पर्खालमा ठोक्किएको थियो ।

यसपछि यसको केही भाग आगोले जलेको थियो । दोस्रो भिडियोमा कालो धुवाँको मुस्लो आकाशमा उडिरहेको देखियो ।

विमानका मुख्य पाइलटले सन् २०१९ देखि नै यो भूमिकामा काम गर्दै आएका थिए र ९ हजार ८ सय घण्टा उडानको अनुभव लिएका थिए ।

south korea२

दक्षिण कोरियामा हालसम्म भएका विमान दुर्घटनाहरू

यो विमान दुर्घटनालाई दक्षिण कोरियाको इतिहासमा सबैभन्दा खराब दुर्घटनाको रूपमा वर्णन गरिएको छ।

यसअघि सन् २००२ मा एयर चाइनाको बोइङ ७६७–२०० विमान दक्षिण कोरियाको बन्दरगाह सहर बुसानको पहाडमा खसेको थियो । उक्त दुर्घटनामा १२९ जनाको मृत्यु भएको थियो भने ३७ जना घाइते भएका थिए ।

सेप्टेम्बर १९८३ मा, कोरियन एयरलाइन्सको विमान सोभियत जेटले खसालेको थियो । यो विमान सखालिन टापुबाट सोभियत वायुक्षेत्रमा पुगेको थियो। उक्त दुर्घटनामा विमानमा सवार सबै २६९ जनाको मृत्यु भएको थियो ।

सन् १९९७ मा कोरियन एयरको जम्बो जेट प्यासिफिक टापु गुआम नजिकै दुर्घटनाग्रस्त भयो। यस दुर्घटनामा विमानमा सवार २५४ जनामध्ये २२८ जनाको मृत्यु भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप