बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

माओवादीको अबको बाटो : पछिल्लो प्रचण्ड सरकार र उपनिर्वाचनले सञ्चार गरेको सम्भाव्यता

आइतबार, १४ पुस २०८१, १८ : ५०
आइतबार, १४ पुस २०८१

राजनीति सम्भावनाको खेल हो तर राजनीति शक्ति र सत्ताका लागि मात्रै गरिँदैन, सबै मानिसलाई र खासगरी उत्पीडित वर्ग र उत्पीडनमा परेकोे अल्पसंख्यक समुदायलाई न्याय दिनकै लागि राजनीतिक आन्दोलन हुने गर्छन् । 

एउटा उदाहरण हेरौँ— श्रीलंकाको जाफनास्थित सार्वजनिक पुस्तकालयमा सन् १९८१ मा तमिलहरूले आगजनी गरेका थिए । यो विद्रोह एक किसिमले गृहयुद्धको शुभारम्भजस्तै भयो । विद्रोह र आन्दोलन भड्कँदै जाँदा त्यहाँ झन्डै २६ वर्ष (२३ जुलाई १९८३ देखि १९ मे २००९ सम्म) गृहयुद्ध चल्यो । 

लामो समय गृहयुद्ध चल्नु र आर्थिक संकट झेल्नु एकातिर थियो भने अर्कोतिर पछिल्लो समय राजपाक्षे परिवारको भ्रष्टाचार, अधिनायकवाद र नातावाद चरमोत्कर्षमा थियो, त्यसविरुद्ध भएको आन्दोलनसम्म आइपुग्दा श्रीलंकाले धेरै गुमायो, धेरै सिक्यो पनि । यतिखेर निर्वाचित राष्ट्रपति अनुरा कुमारा दिसानायकेको नेतृत्वमा रहेको वामपन्थी राष्ट्रिय जनशक्ति गठबन्धनले ठुलो जित हासिल गरेको छ । 

यता हामीकहाँ पनि एकतन्त्रीय राजतन्त्र वा सामन्तवादी व्यवस्थाका विरुद्ध दश वर्षसम्म जनयुद्ध चल्यो र यसले जनआन्दोलन ०६२/६३ को आधार दियो । बाह्रबुँदे सम्झौता, शान्तिसम्झौता, संविधानसभा हुँदै आज हामी संघीय लोकतान्त्रिक गणतन्त्रमा छौँ । 

हामीकहाँ जनयुद्ध गरेको पार्टी माओवादीले पनि योबिचमा धेरै सिकेको र गुमाएको पनि छ । २०६४ मा पहिलो दल भएर उदाएको पार्टी विभाजन र एकीकरणको चपेटामा पर्दै यतिखेर तेस्रो दलमा खुम्चिएको छ । प्रचण्डलाई आरोप लगाउँदै मोहन वैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव लगायतले पार्टीबाट छुट्टिए, उनीहरू अलग हुनुको औचित्य पुष्टि नभइरहेको अहिलेको अवस्थामा विप्लव भने माओवादीसँग एकताका तयार रहेको देखिन्छ ।

पछिल्ला सात वर्षयताको राष्ट्रिय राजनीति हेर्दा माओवादी कहिले कांग्रेसको त कहिले एमालेको बुई चढेर चुनावमा गएको देखिन्थ्यो । पछिल्लो उपनिर्वाचन (मंसिर १६) मा भने माओवादीले आफूलाई एक्लो उभ्याएर धेरै हदसम्म सफल भएको छ । 

माओवादी पार्टी सच्चिने हो भने पहिले विचार सच्चिनुपर्छ । विचार अनुसार संगठन सच्चिनुपर्छ । संगठन अनुसारको आचरण, व्यवहार र कार्यशैली हुनुपर्छ । नेता–कार्यकर्ताको कथनी र करणीमा एकरूपता आउनुपर्छ ।

स्थानीय तहको निर्वाचन (२०७४)मा केही पालिकामा माओवादी केन्द्र र कांग्रेसबिच गठबन्धन भएको थियो, त्यसै वर्ष भएको आम निर्वाचनमा भने एमाले र माओवादीले वाम गठबन्धन गरे । वाम गठबन्धनले करिब दुईतिहाइ नजिकको नजिता हासिल समेत गरेको थियो । नेकपा गठनको वा एकीकरणको प्रक्रिया भने टुंगोमा पुग्न सकेन । साढे तीन वर्षमै दुईतिहाइ नजिकको सरकार मात्रै ढलेन, पार्टी (नेकपा) नै तीन टुक्रामा विभाजित हुन पुग्यो । त्यसपछि संविधानवादका नाममा गठबन्धन गर्न पुगेका कांग्रेस र माओवादीको सरकार पनि चल्न सकेन । यसरी अनेक गठबन्धन गर्दै आएको माओवादी यतिखेरको उपनिर्वाचनमा भने एक्लै उभियो । यसको नतिजाले ‘माओवादी एक्लैले कांग्रेस वा एमालेलाई टक्कर दिएर चुनाव जित्न सक्दैन’ भन्ने भाष्यलाई भत्काएको छ । 

२०७९ को निर्वाचनपछि कांग्रेसले आफ्नो आधिकारिक प्रतिवेदनमै गठबन्धन गर्दाको बढी लाभ माओवादीले लिएको उल्लेख गरेको थियो । पछिल्लो उपनिर्वाचनमा माओवादीले राम्रो नजिता ल्याउनुको पछाडि सुशासनका लागि गरेको पहल पनि एक हो ।

हामीकहाँ भ्रष्टाचारको जरो सरुवा रोगजस्तै सबै क्षेत्रमा फैलिएर रहेको पाइन्छ । मुख्यतः नीतिगत वा संस्थागत भ्रष्टाचार भएका देखिन्छन्, जुन मिलेमतोमा प्रक्रिया मिलाएर गरिन्छ । यसबाहेक सानातिना भ्रष्टाचार त असंख्य भइरहेकै छन् ।

पछिल्लो समय सरकारमा रहँदा माओवादी केन्द्रले सुशासनका निम्ति ठुला भ्रष्टाचारका फाइल खोल्यो । सुनकाण्ड, ललिता निवास, नक्कली भुटानी शरणार्थी काण्डमा सरकारले चालेको कदमले धेरैको राजनीति सखाप पारिदियो । ठुला भ्रष्टाचारका फाइल खोलेपछि नै सरकार परिवर्तन हुने अवस्था आएको थियो । 

आफ्नो तेस्रो कार्यकालमा तत्कालीन प्रधानमन्त्री प्रचण्डले माओवादी जनयुद्धको माग र जनतामा गरेका ऊ बेलाका वाचा पूरा गर्ने लक्ष्यअनुरूप काम गरेका थिए । यसले जनतामा एक खालको आशाको सञ्चार गरेको थियो । उप–निर्वाचनमा जाँदा माओवादीले ‘भ्रष्टाचार र कुशासनका विरुद्ध स्वच्छता र सुशासन’ भन्ने नारा लिएको थियो । सरकारमा छँदा जुन व्यवहार माओवादीले देखायो, त्यसबाट आम नागरिकले महसुस गरे कि माओवादी अन्य पार्टीभन्दा फरक रहेछ । त्यसैले उसलाई जनताले उपनिर्वाचनमा पत्याएको देखिन्छ ।

गर्न नसकिने हजार होइन, गर्न सकिने चार कुरा मात्रै बोल्ने तर पूरा गरेरै छाड्ने नेता तथा कार्यकर्ताको चरित्र बन्नुपर्छ । नेता–कार्यकर्ताबिच दास र मालिकको होइन, कमरेडी व्यवहार हुनुपर्छ । जनतालाई मालिक मान्ने मात्रै होइन बनाउन अग्रसर हुनुपर्छ ।
  • आन्तरिक सुदृढीकरण अपरिहार्य

केही दिनयता माओवादी केन्द्रले धमाधम पालिका स्तरीय सम्मेलन गरिराखेको छ । कतै नयाँ नेतृत्व त कतै निरन्तरता गरेको देखिन्छ । अब आउने कमिटीलाई पार्टीले दीर्घकालीन महत्त्वका साथ हेरेन र पदका लागि मात्रै पद ओगटेर बस्ने पात्रहरू रोज्यो भने आगामी दिन माओवादी केन्द्रका लागि सुखद हुनेछैन ।

दलहरूको आन्तरिक सुदृढीकरणविना बहुदलीय व्यवस्थाको संस्थागत विकास सम्भव हुँदैन । माओवादी पार्टी सच्चिने हो भने पहिले विचार सच्चिनुपर्छ । विचार अनुसार संगठन सच्चिनुपर्छ । संगठन अनुसारको आचरण, व्यवहार र कार्यशैली हुनुपर्छ । नेता–कार्यकर्ताको कथनी र करणीमा एकरूपता आउनुपर्छ ।

जनताले अरू पार्टी र माओवादी पार्टीका बिचमा भिन्नता देख्न पाउनुपर्छ । युद्धकालीन स्कुलिङ र फलामे अनुशासन भएको पार्टी, जस्तोसुकै बलिदानीका लागि तयार रहेको पार्टी, मृत्युलाई जीवनको पर्याय बनाएको पार्टी— आज आन्तरिक गुटबन्दी, अराजकता, पद र प्रतिष्ठाका लागि मरिहत्ते गर्ने नेता–कार्यकर्तामा झांगिएको खराब प्रवृत्तिको सिकार बन्दै आएको छ । जसरी जनताले अरू पार्टी र माओवादी पार्टीका बिचमा भिन्नता देख्न सकेनन्, त्यसरी नै माओवादी नेता र अरू नेताका बिचमा भिन्नता देख्न छाडे । भिन्नता त बरु केमा देखिन थाल्यो भने अरूले ठुला कुरा गर्दैनन्, माओवादीले ठुला कुरा गर्छन् । अरूका विचार र व्यवहारमा खासै भिन्नता देखिन्न । माओवादीमा भने विचार र व्यवहारमा कहीँ–कतै तादात्म्यता देखिँदैन । यो कुराको चिन्ता आम रूपमा देखापर्‍यो ।

  • माओवादी सच्चिन के गर्ने ?

पुष्पलालले २००६ सालमा गरिदिएको नेपाली समाजको वर्ग–विश्लेषण अनुसार अब माओवादी केन्द्र चल्नुपर्ने देखिन्छ । वर्गका आधारमा पार्टीको नीति–कार्यक्रमसँगै संगठन र कार्यशैलीको विकास गर्नुपर्छ । खासगरी नेता–कार्यकर्ताको कथनी र करनीमा देखिएको अन्तरलाई निर्मूल पार्नुपर्छ । 

ठुलो त्याग र बलिदानले आर्जन गरेको संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको स्वामित्व लिँदै त्यसको कार्यान्वयनमा माओवादीले जोड दिनुपर्छ । संविधान निर्माणका बखत राखेको भिन्न मतलाई संविधान संशोधनको प्रस्थानबिन्दु बनाउँदै पार्टी निर्माणको आधार तयार गर्नुपर्छ । मुख्यतः प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको एजेन्डा माओवादीले छाड्नु हुँदैन । 

पार्टी नेताहरूको सम्पत्ति विवरण पार्टी कार्यालयमा खामबन्दी बुझाउने मात्र होइन, सार्वजनिक गर्ने र सोही आधारमा सार्वजनिक जीवन व्यतीत गरेर सामाजिक रोल मोडल बन्न माओवादी नेताले कोसिस गर्नुपर्छ । विज्ञान र प्रविधिसँगै सूचना–प्रविधिमा आएको विकास र आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले ल्याएको परिवर्तनलाई आत्मसात गर्न र तदनुकूल पार्टीका नीति कार्यक्रम र व्यवहारमा परिमार्जन गर्न माओवादी लाग्नुपर्छ । 

दलाल र बिचौलियासँगको सम्बन्ध होइन, जनतासँगको सम्बन्ध प्रगाढ बनाउनुपर्छ । नेतृत्व क्षमतामा विकास, निर्णय प्रक्रियामा वस्तुवादिता र निर्णय कार्यान्वयनको स्तरोन्नतिमा ध्यान केन्द्रित गर्नुपर्छ ।

उत्पादन सम्बन्धमा परिवर्तन, उत्पादनका साधनमा जनताको स्वामित्व स्थापित गर्ने दिशामा ध्यान केन्द्रित गर्न जरुरी छ । गर्न नसकिने हजार होइन, गर्न सकिने चार कुरा मात्रै बोल्ने तर पूरा गरेरै छाड्ने नेता तथा कार्यकर्ताको चरित्र बन्नुपर्छ । नेता–कार्यकर्ताबिच दास र मालिकको होइन, कमरेडी व्यवहार हुनुपर्छ । जनतालाई मालिक मान्ने मात्रै होइन बनाउन अग्रसर हुनुपर्छ । 

सबै केन्द्रीय सदस्यले आफ्नो सम्पत्ति शिक्षा र स्वास्थ्यमा लगानी गर्न ट्रस्टलाई हस्तान्तरण गर्न सकिन्छ । संविधानले परिकल्पना गरेको नीति निर्देशक सिद्धान्तको कार्यान्वयन नै पार्टीको मूल स्प्रिट बनाउनुपर्छ । चितवनकी मेयर रेणु दाहाल, तनहुँ आबुखैरनी अध्यक्ष शुक्र चुमान, उदयपुर लिम्चुङबुङ अध्यक्ष मेजर राई र दाङ राप्ती अध्यक्ष प्रकाश विष्टले जसरी स्वास्थ्य, शिक्षा, पर्यटन, कृषि लगायत जनताका मुद्दालाई प्राथमिकतामा राखेर काम गरिरहेका छन्, त्यसरी नै वडा सदस्यदेखि संघीय सांसदसम्म सम्पूर्ण जनप्रतिनिधिले काम गर्नुपर्छ । यसरी पार्टी र नेता तथा कार्यकर्ता अगाडि बढे जनयुद्धको औचित्य पुष्टि हुनेछ । 

चुनावी नतिजा जे–जस्तो होस्, एजेन्डामा निरन्तर दुई दशक नेतृत्व गरेको माओवादी पार्टी सच्चिँदा मुलुकको समृद्धि सपना पूरा हुन्छ । माओवादी नसच्चिँदा परिवर्तनका सबै उपलब्धि सकिन सक्छन् । सकिने होइन, सच्चिने दिशा अवलम्बन गरौँ ।

जनताले सुशासन चाहेका छन् । सरकारले भ्रष्टाचारविरुद्धको नीति, नियम र कानुन बनाए पनि त्यसलाई व्यवहारमा प्रयोग गरेको कमै देखिन्छ । मुलुकमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भए पनि जनताले अपेक्षा गरेका सबै माग पूरा भएका छैनन् । शासन सञ्चालनको जिम्मेवारीमा बसेकाहरूले गर्ने कमजोरीलाई व्यवस्थाकै कमजोरीका रूपमा लिएर गणतन्त्रमाथि प्रहार भइरहेका छन् । यस्तो बेला सही नेतृत्व सत्ताको बागडोर सम्हाल्न पुग्यो भने जनअपेक्षा अनुरूप अवश्य काम गर्छ भन्ने सन्देश पछिल्लो माओवादी नेतृत्वको सरकारले दिएको थियो । माओवादी पार्टीले आफूलाई सच्चाएर जनताका मुद्दासँग जोडिने हो भने ठुलो दल बन्ने आधार र सम्भावना प्रशस्त छन् । 

(लेखक माओवादी केन्द्रका युवा नेता हुन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

युवराज पौडेल
युवराज पौडेल
लेखकबाट थप