लाजिम्पाट घटना : कसरी जोडिए मनाङेका स्वकीय सचिव ?

काठमाडौं । घरजग्गा व्यवसायी विक्रम लामालाई आक्रमण गर्ने समूहले उनलाई यसअघि लागुऔषधमा फसाउन खोजेको भेटिएको छ । नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका ३५ वर्षीय लामालाई गाडीमा लागुऔषध राखेर फसाउन खोजेको सूचना पाएपछि प्रहरीले त्यसबारे अनुसन्धान पनि गरेको थियो ।
एक वर्षअघि लागुऔषधमा फसाउन खोजेकोबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरेको हो । त्यसबेला सागर कठायत पक्राउ परे । उनीमाथि अभद्र व्यवहार मुद्दा चलाइएको थियो । कठायतलाई गुन्डा नाइके दीपक मनाङेका स्वकीय सचिव टिकाराम भण्डारीले परिचालन गरेको खुलेको छ ।
कार्तिक ११ मा लाजिम्पाटमा लामामाथि आक्रमण भएपछि त्यसबारे अनुसन्धान गरिरहेका जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृत भन्छन्, ‘कठायतलाई टिका भण्डारीले परिचालन गरेको देखिन्छ ।’ सो तथ्यको आधारमा यस पटकको आक्रमणमा पनि भण्डारीको हात हुनसक्ने अनुसन्धान अधिकृतहरूको आशङ्का छ ।
भण्डारीलाई पक्राउ गरेर यसअघि पक्राउ परेकाहरूसँग म्याद मिलान गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले रातोपाटीलाई बताए । उनी दीपक मनाङे गण्डकी प्रदेशको सांसद र मन्त्री हुँदा स्वकीय सचिव थिए । मनाङे अहिले डिल्लीबजार कारागारमा छन् ।
सो घटनामा संलग्न आरोपमा यसअघि शैलेन्द्र तामाङ उर्फ मार्सल र निश्चल सुनार पक्राउ परेका थिए । उनीहरू विरुद्ध प्रहरीले ज्यान मार्ने उद्योग सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।
४ जना मिलेर इनोभा अस्पतालको पार्किङमा विक्रम लामामाथि रड प्रहार गरेर निर्घात कुटपिट गरेको सिसिटिभी फुटेजमा देखिन्छ । आक्रमण गर्ने मध्येका २ जना अजय लामा र दीपक बरामु फरार छन् ।
नुवाकोट घर भएका अजय लामाले नेतृत्व गरेर विक्रमलाई आक्रमण गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् । अजय यसअघि लिखत किर्ते कसुरमा जेल परेका थिए । विक्रम लामाले गर्दा यसअघि आफू जेल परेको भन्दै उनले आफ्नो समूहमा ‘बद्ला लिनुपर्ने’ कुरा बताउँदै आएका थिए ।
मुख्य योजनाकार र आक्रमण गर्न जानेहरूको बिचमा बसेर टिका भण्डारीले टिम परिचालन गरेको अनुसन्धानमा संलग्न एक जना अधिकृतले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती गोल्डकप : फाइनल प्रवेशका लागि मच्छिन्द्र र थ्री स्टार भिड्दै
-
हमासले रेडक्रसलाई हस्तान्तरण गरेको नयाँ शव कसको ? इजरायलले थाल्यो अनुसन्धान
-
मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु