बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय
पहिलो टेस्ट क्रिकेट

पहिलो टेस्टमा पाकिस्तानमाथि दक्षिण अफ्रिकाको रोमाञ्चक जित

आइतबार, १४ पुस २०८१, १७ : २०
आइतबार, १४ पुस २०८१

काठमाडौँ । दक्षिण अफ्रिकाले घरेलु मैदानमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा पाकिस्तानमाथि दुई विकेटको रोमाञ्चक जित हासिल गरेको छ । सेन्चुरियनमा खेलिएको पहिलो टेस्टको चौथो दिन आइतबार दक्षिण अफ्रिकाले एक सय ४८ रनको लक्ष्य आठ विकेट गुमाएर पुरा गरेको हो ।

जितसँगै दक्षिण अफ्रिकाले दुई टेस्टको शृंखलामा १–० को अग्रता पनि हासिल गरेको छ । शृंखला अन्तर्गतको दोस्रो तथा अन्तिम टेस्ट जनवरी ३ तारिखमा केप टाउनमा सुरु हुनेछ । पहिलो टेस्टमा दक्षिण अफ्रिकाको रोमाञ्चक जितमा दोस्रो पालीमा कप्तान टेम्बा बाभुमाले ४० रनको योगदान गरे । खाना समयअघि लगातार विकेट गुमाएपछि दक्षिण अफ्रिका दबाबमा परेको थियो । दक्षिण अफ्रिकाले केवल ९९ रनमा आठ विकेट गुमाइसकेको थियो ।

त्यसपछि तल्लो क्रममा ब्याट्सम्यान कागिसो राबडा र मार्को जान्सेनले टोलीलाई जितसम्म डोर्याएका थिए । कागिसो राबडाले जिम्मेबारीपूर्वक खेल्दै टोलीका लागि अविजित ३१ रनको योगदान गरे । उनले २६ बलको सामना गरी पाँच चौका पनि हिर्काए । मार्को जान्सेनले पनि टोलीको खातामा अविजित १६ रन थपे । उनले २४ बलमा तीन चौका पनि हिर्काए । त्यसअघि ओपनर ब्याट्सम्यान एडिन मारक्रमले ३७ रन बनाएका थिए । पाकिस्तानका बलर मोहम्मद अब्बास एक्लैले ६ विकेट लिए । 

त्यसअघि, पाकिस्तानले आफ्नो दोस्रो पालीमा दुई सय ३७ रन बनाएको थियो । पाकिस्तानका लागि दोस्रो पालीमा साउद सकिलले ८४ र बाबर आजमले ५० रनको योगदान गरेका थिए । दक्षिण अफ्रिकी बलर मार्को जान्सेन एक्लैले ६ विकेट लिएका थिए । कागिसो राबडाले पनि दुई विकेट हात पारे ।

त्यसअघि, दक्षिण अफ्रिकाले पहिलो पालीमा तीन सय एक रन बनाएको थियो । पहिलो पालीमा दक्षिण अफ्रिकाका लागि ओपनर एडिन मारक्रमले ८९ र कोर्बिन बोस्चले अविजित ८१ रन बनाएका थिए । पाकिस्तानी बलर खुर्रम सहजाद र नसिम शाहले तीन–तीन विकेट लिएका थिए ।

त्यसअघि, पहिलो टेस्टमा टस हारी ब्याटिङको निम्तो पाएको पाकिस्तानले पहिलो पालीमा दुई सय ११ रन बनाएको थियो । पहिलो पालीमा पाकिस्तानका लागि कमरन घुलमले सर्वाधिक ५४ रन बनाएका थिए । दक्षिण अफ्रिकाका बलर डेन पिटर्सनले पाँच र कोर्बिन बोस्चले चार विकेट लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप