बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

‘आलोचना बढेको केपी ओलीको कर्मका कारणले हो, एमालेका कारणले होइन’

‘खड्गप्रसाद ओलीले किन केपी शर्मा ओली बन्नु पर्‍यो ?’
आइतबार, १४ पुस २०८१, १७ : १६
आइतबार, १४ पुस २०८१

प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका अभिव्यक्ति र कामको विषयलाई लिएर प्रतिपक्षी लगायतले आलोचना गरिरहेका छन् । कांग्रेस र एमाले मिलेर बनेको गठबन्धन सरकारका प्रधानमन्त्री ओली आफैँले पनि विभिन्न सार्वजनिक कार्यक्रममा विरोधको सामना गर्नु परिरहेको छ । सामाजिक सञ्जालमा देखिएको आलोचना खपिनसक्नु छ ।

केही दिन अगाडि आफ्ना कदमहरूप्रति असहमत भएको भन्दै नेता भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई एमालेले कारबाही नै गर्‍यो । तर पनि आलोचनाको पारो बढिरहेको छ । बाहिरबाट भइरहेको आलोचनालाई पार्टी पंक्तिले प्रतिवाद गर्नुपर्नेमा उल्टो भित्रबाटै पनि आलोचना भइरहेको छ ।

त्यस्तै आलोचना गर्नेमध्येका एक एमाले नेता हुन् उदयपुरका विमल कार्की । कार्की प्रदेश सभाका पूर्वसदस्य हुन् । कोशी प्रदेश सभामा रहँदा स्पष्ट वक्ता र तिक्खर मन्तव्य दिनसक्ने सांसदको रूपमा परिचित भए । उनी त्यस प्रदेश सभाको कार्यकालमा एमाले संसदीय दलको सचेतकसमेत भए ।

अहिले कार्कीले सामाजिक सञ्जालमार्फत एमाले अध्यक्ष ओलीलाई लक्षित गर्दै स्टाटसहरू लेखिरहेका छन् । भाटभटेनी सुपरमार्केटका सञ्चालक मिनबहादुर गुरुङले दिएको जग्गा दानको विषयमा होस् वा केपी शर्मा ओलीको नाममा सार्वजनिक भएको नागरिकतामा उल्लेखित नामको विषय, बोलेकै आधारमा नेताहरूमाथि भइरहेको कारबाहीको विषयमा उनले ओलीलाई लक्षित गर्दै स्टाटस लेखिरहेकै छन् ।

हामीले कार्कीसँग अध्यक्ष ओलीलाई लक्षित गर्दै किन स्टाटस लेख्नु भएको ? डर लाग्दैन ? भनेर सोधेका छौँ । प्रस्तुत छ उनीसँग रातोपाटी सम्वाददाता अर्जुन आचार्यले गरेको कुराकानीको सम्पादित अंशः

  • तपाईंले केही दिन अगाडिदेखि तपाईंकै पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई लक्षित गरेर सामाजिक सञ्जालमा स्टाटसहरू लेखिरहनु भएको छ । तपाईंलाई पनि सोही विषयमा स्पष्टीकरण सोधिएको भन्ने कुरा पनि छ । खास कुरा के हो ? तपाईंले किन अध्यक्ष ओलीलाई लक्षित गर्दै स्टाटस लेखिरहनु भएको छ ?

गलतलाई त गलत नै भन्नु पर्‍यो नि, होइन र ? गलत लागेको कुराहरूलाई लेखेको हो । मैले खासगरी दुई वटा कुरा लेखेको हो । एउटा कुरा मीनबहादुर गुरुङसँग जग्गा दान लिएको विषयमा लेखेको हो । एक वर्ष अगाडिदेखि नै हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकहरूसँग पार्टी भवनकै नाममा चन्दा उठाइरहेको छ । गच्छे अनुसार मानिसहरूले चन्दा बुझाएका पनि छन् । त्यहाँ ठुलो धनराशि सङ्कलन भएको छ । त्यसका बाबजुद एकाएक कतिपय स्थायी समिति सदस्य, पदाधिकारीलाई पनि थाहा नभइकन एकैपटक मीनबहादुर गुरुङसँग गएर भवन शिलान्याश गरियो ।

कुनै पनि खाले अपारदर्शी ढंगको चन्दा लिनु हुँदैन । हामीले पार्टी भवन बनाउनका लागि अगाडिदेखि नै पैसा संकलन गरिरहेका थियौँ । पार्टीकै सामर्थ्यमा चन्दा उठाइरहेका थियौँ भने एकाएक अपारदर्शी काम गरियो । त्यसको विरोधमा भीम रावल, बिन्दा पाण्डे र उषाकिरण तिम्सिनाहरूले असहमति व्यक्त गर्नुभएको थियो । उहाँहरूलाई स्पष्टीकरण सोधियो । त्यो स्पष्टीकरण सोध्नु गलत भयो । उहाँहरूले बोलेको कुरा सही हो भनेर मैले लेखेको हुँ ।

त्यसपछि अर्को स्टाटस भनेको कम्बोडियामा पैसा लगेको विषयमा सम्माननीय प्रधानमन्त्री तथा पार्टी अध्यक्षको विषयमा एउटा नागरिकता बाहिर आयो । त्यहाँ केपी शर्मा ओली भन्ने आयो । हामी सबैलाई के थाहा थियो भने ०४८ सालदेखि चुनाव लड्नु भयो खड्ग ओली कमरेड, ०५१ मा चुनाव लड्नुभयो र गृहमन्त्री बन्नुभयो । ०५६ मा फेरि माननीय हुनुभयो । फेरि परराष्ट्रमन्त्री बन्नुभयो । ती सबै प्रक्रियामा अफिसियल नाम खड्गप्रसाद ओली नै छ ।

अहिलेको प्रधानमन्त्री पनि खड्गप्रसाद ओली नै हो भन्ने बुझेका थियौँ । तर, अहिले त केपी शर्मा ओली बन्नुभएछ । नेताले छद्म नाम किन राख्नु पर्‍यो ? नाम परिवर्तन गर्नुको औचित्य के हो ? त्यो राष्ट्रलाई, जनतालाई, पार्टीलाई जानकारी दिनुपर्छ । उहाँले त्यो जानकारी दिनुभएन । के औचित्यको आधारमा नाम परिवर्तन गर्नुभयो त ? बोलाउने र चिनिने नाम त विभिन्न हुन्छ । तर, अफिसियल नाम त एउटा हुन्छ नि ! दुनियाँले प्रचण्ड भनेर चिनेका थिए । तर अफिसियल नाम त पुष्पकमल दाहाल रहेछ । उहाँले औपचारिक नाम त्यही प्रयोग गर्नुभयो भने हाम्रो खड्गप्रसाद ओलीले चाहिँ किन केपी शर्मा ओली बन्नु पर्‍यो ? छद्म नाम कि त दुई नम्बर धन्दा गर्नेले राख्छ । कि त क्रिमिनल ब्याकग्राउण्डको मान्छेले प्रयोग गर्छ । तपाईं–हामी जस्तो सार्वजनिक जीवन बिताउनेले त्यस्तो नाम प्रयोग गर्दैन । त्यसकारण मैले यो के हो भनेर स्टाटस लेखेको हो ।

  • पार्टी अध्यक्ष केपी शर्मा ओलीको विरुद्धमा बोल्दा, स्पष्टीकरण सोध्ने, कारबाहीमा पर्ने, निलम्बन हुने, राजनीतिक जीवन समाप्त हुने सम्भावना छ भन्ने कुरा तपाईंलाई थाहा छ होला, तर किन बोल्नु भएको ?

म ०४६ सालमा एसएलसी दिएको र त्यतिखेर पनि पञ्चायतको विरुद्धमा लड्दा पुलिस कष्टडीमा परेको मान्छे हुँ । मलाई त्यतिखेर पनि थाहा थियो– पञ्चायतको विरुद्धमा बोल्दा यातना दिन्छ, मार्छ, जेल हाल्छ भन्ने ।

तर, लडियो । त्यसपछि पार्टीमा पनि धेरै उतारचढाव, घुम्ती, मोडहरू आए । दुई लाइन संघर्ष भए । दुई गुट भए । आफूलाई चित्त नबुझेको कुरामा त्यतिखेर पनि बोलेकै हो । अहिले पनि हुन्छ भन्ने कुरा थाहा छ । तर, राजनीति भनेको डराएर गर्ने चिज होइन । हामी पञ्चायतविरोधी मुभमेन्टबाट दीक्षित भएका मान्छे हौँ । एउटा लोकतान्त्रिक पार्टीको सदस्य र कार्यकर्ता हौँ । अलिअलि यस्तो पर्छ । तर, पर्छ भन्दैमा गल्ती गरेको कुरालाई गल्ती भन्ने कुरामा हिच्किचाउनु हुँदैन ।

  • अहिले एमालेलाई चौतर्फी प्रहार भइरहेको कुरा पनि नेताहरूले भनिरहेका छन् । एमाले पार्टी नै समस्यामा परिरहेको बेला अध्यक्षमाथि तपाईंहरूले नै प्रहार गर्दा एमाले कमजोर होला नि त ?

– प्रहार किन भयो त ? आन्तरिक रूपमा केही नभइ बाह्य रूपमा मात्रै त हुँदैन नि । एमालेमा अहिले प्रहार भएको एउटै कारण भनेको केपी ओलीका कर्म र उनका अभिव्यक्तिका कारण हो । त्यो प्रहार एमालेमाथिको प्रहार होइन, केपी ओलीमाथिको प्रहार हो । किन पनि हो भने केपी ओलीले बालेन शाहसँग किन निहुँ खोज्नु पर्‍यो ?

दोस्रो कुरा, रवि लामिछानेलाई हिजो कान्छो छोरोजस्तो पुलपुल्याउन किन जरुरी थियो ? हाम्रा नानी किन भन्नु पर्थ्यो । अहिले आएर त्यस्तो गर्न फेरि किन जरुरी थियो ? हिजो चरेसको थालमा दुर्गा प्रसाईंले दिएको भात किन खानुपर्थ्यो ? आज त्यही दुर्गा प्रसाईं नै उछित्तो काढेर हिँडिरहेको छ । त्यो एमालेले गरेको कि केपी ओलीले गरेको हो ? त्यसकारण आज भइरहेको आलोचना केपी ओलीको कर्मका कारणले र उनका अभिव्यक्तिका कारणले हो । यो उनको व्यक्तिगत कुरा हो– आन्तरिक रूपमा पनि र बाह्य रुपमा पनि । त्यो आक्रमण पार्टीमाथिको आक्रमण होइन भन्छु ।

  • तपाईंले यति धेरै आलोचना गरिरहँदा तपाईंको ‘ब्याकअप’ के हो ? आउने अधिवेशन लक्षित गुट हो कि ? पूर्वराष्ट्रपति विद्या भण्डारीले अध्यक्ष बन्नका लागि पहल गरिरहेको कुरा पनि छ । उहाँहरूको लाइनमा तपाईं पनि हो कि के हो ?

विगतमा म प्रदेश सभा सदस्य हुँदा वा भनौँ मुख्यमन्त्री शेरधन राई हुँदा प्रदेशमा तीन वटा जिल्ला मात्रै रहेछन्, अरु जिल्ला रहेनछन् भन्ने मान्छे हुँ । म चित्त नबुझेको कुरा बोल्छु । किनकि पार्टी लोकतान्त्रिक हुनुपर्छ । गलतलाई गलत र सहीलाई सही भन्न सक्नुपर्छ ।

आज मैले गलत भनेको मान्छेले भोलि सही काम गर्‍यो भने विनाहिच्किचाहट सही पनि भन्न सक्नुपर्छ । अहिले भीम रावल, बिन्दा पाण्डे वा विद्या भण्डारीसँग जोड्ने कुरा गलत हो । म एक्लै हिँडेको हो । मलाई चित्त बुझेन, मैले बोलेँ । अरुले पनि बोल्न सक्छन् । एमालेमा सबै मान्छे हामीजस्तो बोल्नसक्ने मात्रै पनि हुँदा रहेनछन् । थुप्रै कमरेडहरू उकुसमुकुस भएर बस्नु भएको छ । एक दिन त्यो पनि विष्फोट होला भन्ने मलाई लाग्छ ।

अब विद्या भण्डारीको हकमा मेरो फरक मत छ । त्यो के हो भने पहिलो कुरा उहाँ राष्ट्रपति भइसक्नु भएको मान्छे हो । त्यो मान्छे फर्केर सक्रिय राजनीतिमा आउनु हुँदैन भन्ने समाजमा व्याप्त मनोविज्ञान छ । त्यसले पनि उहाँलाई पार्टी राजनीतिमा आउन योग्य रहे पनि आलोचना बढ्छ । पार्टीलाई थेग्नका लागि त्यो आलोचनालाई उहाँले थेग्न सक्नुहुन्छ जस्तो लाग्दैन । त्यसकारण उहाँ राजनीतिमा पुनरागमन हुनुपर्छ भन्ने लाग्दैन ।

दोस्रो कुरा, केपी ओलीले, विद्या भण्डारीले देशलाई, पार्टीलाई गर्नुपर्ने योगदान गरिसक्नु भयो । अब योभन्दा बढी गर्न सक्नु हुँदैन । अब एउटै कुरालाई दाहोर्‍याउने भन्दा नयाँ फेसलाई आउन दिनुपर्छ । प्रतिस्पर्धाको आधारबाट जसले आफ्नो सोच, कार्यक्रम र नीति कार्यकर्ताको बिचमा राख्न सक्नेलाई र कार्यकर्ताले पत्याउनेलाई नेतृत्वको जिम्मेवारी दिनुपर्छ । अब व्यक्तिमात्रै होइन, पिँढी पनि हस्तान्तरण हुनुपर्छ । एउटै गोलचक्करमा फस्ने कुरा त्यति राम्रो होला जस्तो लाग्दैन । नयाँ जेनेरेसनबाट नयाँ नेतृत्व आउनु पर्छ भन्ने मलाई लाग्छ ।

  • अहिलेका उपाध्यक्ष विष्णु पौडेलले नै एक कार्यक्रममा अबको महाधिवेशनबाट केपी ओली नै सर्वसम्मत् अध्यक्ष हुनुहुन्छ भनेर सार्वजनिक गरिसक्नु भयो । तपाईं नेतृत्व परिवर्तनको कुरा गर्दै हुनुहुन्छ । त्यो कसरी सम्भव छ ?

त्यो उहाँको विचार हो । मेरो विचार भनेको नेकपा एमालेले अघिल्लो महाधिवेशनमा दुई वटा नीति पास गरेको छ । त्यसलाई विचारमा लिपिबद्ध पनि गरेको छ । पहिलो कुरा, ७० वर्षे उमेर हदको कुरा गरेको छ । ७० वर्ष उमेर काटेका नेताहरू स्वतः ‘रिङ आउट’ हुनुहुन्छ । केपी शर्मा ओली पनि ७३ वर्ष पुगिसक्नु भयो । उहाँको रिटायरमेन्टमा पठाउने विधानको व्यवस्था हो ।

  • त्यो विधान त संशोधन भयो भन्ने छ नि ?

विधान संशोधन भएको छैन । केन्द्रीय समितिले त्यसलाई हटाएको भन्छ । तर, त्यो मिल्छ कि मिल्दैन भन्ने बहसको विषय हो । तर, विधान संशोधन भएको छैन । विधान संशोधन गर्ने भनेको महाधिवेशन, विधान महाधिवेशन वा विशेष महाधिवेशनले हो । अहिलेसम्म त्यो भएको छैन ।

दोस्रो कुरा, एमालेको विधानले के भनेको छ भने कोही पनि व्यक्ति सरासर दुई कार्यकाल मात्रै अध्यक्ष हुन पाउँछ । तेस्रो कार्यकाल हुन पाउँदैन भनेर विधानले नै रोकेको छ । यो हुँदाहुँदै पनि वैधानिक व्यवस्थालाई इन्कार गरेर फेरि अर्को महाधिवेशनमा आएर त्यसलाई संशोधन गर्ने कुरा झेली कुरा हो, राजनीतिक होइन । यो कुराले गर्दा केपी ओली फेरि अर्को कार्यकालका लागि ११ औँ महाधिवेशनको अध्यक्षको प्रत्यासी होइन । यो मेरो माग हो ।

  • कांग्रेस र एमालेको गठबन्धन बनेर सरकार बनेको पनि लामो समय भइसक्यो । सरकारले गरेको काम कारबाहीको हिसाबले आलोचना बढिरहेको छ । सरकार भने एकपछि अर्को संयन्त्र गठन गरिरहेको छ । यो समग्र विषयलाई तपाईं कसरी हेर्नुहुन्छ ?

पहिलो कुरा, लोकतान्त्रिक संस्कारविरुद्ध देशका दुई ठुला पार्टीहरू जो वैचारिक, सैद्धान्तिक रूपमा फरक धरातलमा छन्– एउटाले सरकार बनाउँदा अर्को प्रतिपक्षमा र अर्को प्रतिपक्षमा बस्दा एउटा सरकारमा बस्नुपर्ने स्थापित परम्परालाई पूरै विस्थापित गरेर यो अनैतिक ढंगको सरकार बनाउने कुरा नै गलत थियो ।

सरकार बनाइसकेपछि जे सिद्धान्तलाई टेकेर बनाइएको थियो, त्यसमा काम गर्नुपर्थ्यो । अहिलेसम्म त्यसको निम्ति पहल नै भएको छैन । जे भएको छ, गफमात्रै भएको छ । त्यो विषयमा त परिभाषित ढंगले काम अगाडि बढेकै छैन । त्यसकारण आलोचना बढेको हो ।

हिजो संविधान संशोधन, अर्थतन्त्रमा सुधारलगायत कुरामा काम गर्ने भनेको थियो । तर, खै काम भयो ? अर्थतन्त्र सुधार र संविधान संशोधनका लागि दुई ठुला दल मिलेको भनिएको थियो । तर, अर्थतन्त्र सुधारमा के पहल भयो ? के कार्यक्रम ल्याइयो ? संविधान संशोधनको के पहल भयो ? केही भएको छैन ।

अर्को कुरा, संयन्त्र बनाउने भन्ने कुरा संविधान र कानुनले चिन्दैन । त्यस्तो संयन्त्रले काम गर्ने कुरा आफैँमा कति लोकतान्त्रिक हो ? त्यसकारण दुई तिहाइको सरकार भनेको त संसदमा सांसद हुनुहुन्छ, मन्त्रीहरू हुनुहुन्छ । वैधानिक हिसाबले कानुन, संविधानले चिनेका पात्रहरू राखेर संविधान संशोधनको लागि अगाडि बढाउँदा हुन्छ नि । संविधानले नचिनेका पात्रहरू राखेर संयन्त्र बनाउनु भनेको अलोकतान्त्रिक हो । त्यसकारण उहाँहरूको कर्मको कारण उहाँहरूमाथि आलोचना भइरहेको छ । वैचारिक आलोचना बढिरहेको छ । उहाँहरूले कर्म राम्रो गरे आक्रमण र आलोचना घट्ला । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप