केपी ओलीबारे रिमाल र भुसालको दोहोरी
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका प्रयोगहरू असफल भएको टिप्पणी गरेपछि एमाले उपमहासचिव विष्णु रिमालले जवाफ फर्काएका छन् ।
महासचिव भुसालले शनिबार काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा एमालेले नेता भीम रावलसहित विन्दा पाण्डे र उषाकिरण तिम्सेनालाई कारबाही गरेको प्रसङ्गमा ‘ओली प्रवृत्तिबाट एमालेमा उकुुसमुकुस बढेको तथा यस्ता घटना अझै बढ्नसक्ने’ भन्दै ओलीलाई नेतृत्व छाड्न सुझाव दिएका थिए ।
भुसालले ओलीका सबै ‘प्रयोग’ असफल भइसकेको दाबीसमेत गरेका थिए । ‘त्यहाँ अहिले उकुसमुकस छ । कसैले भनेका छैनन् । त्यसैले अहिले यो जुन घटना घट्दैछ, त्यो बढ्दै जानेछ’, भुसालले भनेका छन्, ‘कमरेड ओलीको प्रयोग असफल भइसकेको छ ।’
एमाले अध्यक्ष ओली निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा समेत असफल भइसकेको एकीकृत समाजवादीका महाससचिव भुसालको टिप्पणी छ । ‘उहाँको प्रयोग निर्वाचन, पार्टी सञ्चालनदेखि अन्तर्राष्ट्रिय सम्बन्धमा पनि असफल भइसकेको छ । त्यसैले उहाँले छाड्नु हाम्रो लोकतन्त्र र उहाँको लागि पनि राम्रो कुरा हो’, भुसालले भनेका छन् ।
पूर्वउपाध्यक्ष भीम रावललाई एमालेले निष्कासन गर्नुमा रावलले ओलीको चाकरी नगर्नु प्रमुख कारण रहेको भुसालको भनाइ छ । ‘भीम रावल त्यहाँबाट निकालिनुभयो । त्यो अवस्था छँदैथियो, मैले धेरै अगाडिदेखि भन्दै आएको थिएँ । प्रश्न उठाएपछि एमालेभित्र त्यसलाई व्यक्तिगत प्रतिशोधको रूपमा पनि लिइयो’, भुसालले भने, ‘ओलीका नजरमा दुई खालका मान्छे छन् । एक खालका मान्छे उहाँका शत्रु हुन् । अर्का खालका मान्छे उहाँका चाकर हुन् । अझै भन्नुपर्दा जसले उहाँको चाकरी गर्दैन, त्यो शत्रु हो ।’
प्रधानमन्त्रीसमेत रहेका ओलीबारे भुसालले यस्तो टिप्पणी गरेपछि ओली निकट मानिएका एमाले उपमहासचिव विष्णु रिमालले आइतबार बिहान जवाफ फर्काए ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उपमहासचिव रिमालले भुसालको नाम उल्लेख नगरी चुनौती दिँदै भनेका छन्, ‘अनि भन्न थाले छन् फेरि– ओलीले छोड्नु पर्छ, उकुसमुकस भएको छ ।’
साथै रिमालले भुसाललाई आफ्नै पार्टीमा भएको विवाद, झगडा र असन्तुष्टि रोक्ने हिम्मत गर्न सुझाव दिँदै अरुका घरमा जे–जे गरे पनि मतलब नगर्न आग्रह गरेका छन् ।
‘अरे यार ! ह्याउ भए बनाएर देखाऊ न आफ्नो घर ! आफ्नो घरको मझेरीमा, आँगनमा, गन्द्रयाङ–गुन्द्रुङ गरिरहेका तिम्रा हाँडा–भाँडाहरू बज्न नदेऊ न ! ढोका खोलुन् कि छेस्किनी लाउन्, अरुले उनीहरूका घरमा जे गरुन् –बाल मतलब !’ रिमालको भनाइ छ ।
रिमालले भुसाललाई मात्र होइन, रावलबारे पनि टिप्पणी गरेका छन् । रावलप्रति कटाक्ष गर्दै रिमालले ०३९ साल यता आफूहरू निरन्तर पार्टी संगठन निर्माणमा लागिरहेको तर रावल सधैँ पार्टीभित्र विवादका लागि मौकाको खोजीमा रहेको दाबी गरेका छन् ।
कविताकै शैलीमा रिमालले लेखेका छन्, ‘अनवरत किच–किच गरेर बसिरहे । प्रत्येक चुनौती चिर्दै पार्टीले उचाइ छोएको बेला, सुरु भएको विवादमा, हामी एकताको पक्षमा उभियौँ । उनले विभाजनको बाटो रोजे । बाटो मात्र रोजेनन्, त्यस समूहलाई पनि बिचमै छोडे, अन्तै दौडिए ।’
- ‘देश र पार्टी हाक्ने सवालमा ओली असफल’
ओलीबारे अहिले फरक पार्टीमा रहेका यी दुई नेताको दोहोरीसँगै नेपाली राजनीतिक वृत्तमा केपी ओली सफल कि असफल भन्ने बहससमेत सिर्जना गराएको छ ।
प्राध्यापक तथा विश्लेषक कृष्ण पोखरेल एमाले अध्यक्ष केपी शर्मा ओलीमा भएको खुबी सबै देखिइसकेकाले उनी देश र पार्टी सञ्चालनमा असफल भएको निष्कर्ष निकाल्न सकिने बताउँछन् ।
‘ओलीबाट अब कुनै चमत्कार हुन्छ भन्ने कसैले सोचेको छ भने मिथ्या आशामात्र हो’, प्राध्यापक पोखरेलले भने, ‘एउटा नेतामा हुनसक्ने र देखिनसक्ने भएको जति पनि खुबी छन्, त्यो सबै देखिइसकियो ।’
पोखरेलले ओलीको खुबी भनेकै आफ्नो विरोध गर्नेहरूलाई देखिनसहने भएको बताए । ‘आफू अपोजिसनमा हुँदा पार्टीमा उहाँलाई लोकतन्त्र चाहिने तर आफू सत्तामा आएपछि लोकतन्त्र नै झिँजो लाग्ने गर्छ’, पोखरेलले हिटलरको उदाहरण दिँदै भने, ‘जर्मनमा हिटलरले जितेपछि चुनाव नै भएन ।’
पोखरेलले प्रमुख दलका प्रायः सबै नेतालाई ओसिइसकेको बारुदको संज्ञा दिए । ‘ओलीमात्र होइन, प्रायः प्रमुख दलका शीर्ष नेता ओसिइसकेको बरुद हुन् । यी अब पड्कदैनन्’, उनले भने ।
पोखरेलले भुसालले भनेको कुरामा राय बझाउनुपर्ने जरुरी नभएको बताए । उनले पार्टी विशेषको मात्र नभएर भुसालले मुलुकको भविष्यसँग जोडिएको प्रसङ्ग निकालेको भन्दै मुलुकको विषयसँग जोडिएको विषयमा मानिसहरूले बोल्नुपर्ने बताए ।
‘अब एमाले पार्टीमा दासहरूमात्र बस्न सक्ने भए । राय बझाउनेहरू बस्न सक्ने अवस्था नै भएन’, पोखरेलको विश्लेषण छ ।
पोखरेलका अनुसार ओलीलाई अहिले सरकार बचाउन कुनै कसरत गर्न जरुरी छैन । सरकार चलाउन ध्यान दिनुपर्ने भए पनि ओलीले त्यसमा ध्यान नदिएको उनको टिप्पणी छ ।
राजनीतिक विश्लेषक डम्बर खतिवडा पनि देश हाँक्ने सवालमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओली असफल भएको टिप्पणी गर्छन् । ‘सबैको आ–आफ्ना स्थार्थ छन् । केलाई सफल भन्ने ? केलाई असफल भन्ने विषयमा युनिभर्सिटी तहमा कुनै मानक बनेको छैन’, खतिवडाले रातोपाटीसँग भने, ‘ओली आफूलाई सुपरपावर भएको लाग्दो हो । त्यस हिसाबले उनी सफल देखिन्छन् ।’
खतिवडाले चार पटक प्रधानमन्त्री र दुईपटक पार्टी अध्यक्ष भएका ओली देश र पार्टी हाँक्ने मामिलामा असफल देखिएको टिप्पणी गरे । ‘ओली चार पटक प्रधानमन्त्री भए । दुईदुई पटक पार्टी अध्यक्ष भए । तर देश र पार्टी हाँक्ने मामिलामा असफल देखिए’, खतिवडाले भने, ‘त्यसकारण व्यक्तिगत रूपमा ओली सफल देखिए पनि पार्टी र देश उहाँका कारण असफल भयो ।’
- डराएर राजनीति गर्न हुँदैन : एमाले नेता कार्की
उपमहासचिव रिमालले ओलीको बचाउ गरे पनि भुसालले भनेझैँ एमालेमा उकुसमुकुस बढेको कुरा प्रायः नेता कार्यकर्ता स्वीकार गर्छन् ।
फरक यतिमात्र हो, कतिपयले देखिने र सुनिनेगरी आलोचना गर्छन् भने कतिपयले गर्ने त्यो आँट गर्दैनन् । त्यस्तै ओलीको आलोचना गर्नेमध्येका एक एमाले नेता हुन्– उदयपुरका विमल कार्की । कार्की कोशी प्रदेश सभाका पूर्वसदस्य समेत हुन् ।
कार्कीले पछिल्लो समय सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीलाई लक्षित गर्दै धमाधम स्टाटस लेखिरहेका छन् । जग्गा दानको विषयमा होस् वा केपी शर्मा ओलीको नाममा सार्वजनिक भएको नागरिकतामा उल्लेखित नामको विषय र नेताहरूमाथि भइरहेको कारबाहीको विषयमा उनले ओलीलक्षित स्टाटस लेखिरहेकै छन् ।
कार्की भन्छन्, ‘गलतलाई त गलत नै भन्नु पर्यो नि, होइन र ? गलत लागेको कुराहरूलाई लेखेको हो ।’
कार्कीले एक वर्ष अगाडिदेखि नै हरेक पार्टी सदस्य, शुभचिन्तक र समर्थकहरूसँग पार्टी भवन निर्माण गर्न चन्दा उठाएको बताए । ‘त्यहाँ ठुलो धनराशि सङ्कलन भएको छ’, कार्कीको भनाइ छ । यसका बाबजुद उनले पार्टी कार्यालय बनाउनका लागि व्यापारीसँग जग्गा दान लिने ओलीको निर्णय गलत रहेको बताए ।
पार्टी अध्यक्ष ओलीविरुद्ध बोल्दा, स्पष्टीकरण सोध्ने, कारबाहीमा पर्ने, निलम्बन हुने र राजनीतिक जीवन समाप्त हुने सम्भावना होला नि ? भन्ने प्रश्नमा कार्की डराएर राजनीति गर्न नहुने बताउँछन् ।
‘राजनीति डराएर गर्ने चिज होइन । हामी पञ्चायतविरोधी मुभमेन्टबाट दीक्षित भएका मान्छे हौँ । एउटा लोकतान्त्रिक पार्टीको सदस्य र कार्यकर्ता हौँ । अलिअलि यस्तो पर्छ । तर, पर्छ भन्दैमा गल्ती गरेको कुरालाई गल्ती भन्ने कुरामा हिच्किचाउनु हुँदैन’, कार्कीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माधव र वामदेवबिच भएको छलफलबाट नेताहरू उत्साहित
-
२०२४ मा कति थपियो अति धनाढ्यहरूको सम्पत्ति ?
-
ओलीविरुद्ध रावल छरपस्ट, नयाँ पार्टीको ‘रोडम्याप’ अस्पष्ट !
-
मन्त्रिपरिषद्बाट स्वीकृत भयो ऊर्जा विकास मार्गचित्र
-
नेपालमा १ लाख ४१ हजार होटल, तलबी कर्मचारी १ लाख ६ हजार मात्रै
-
माधव नेपालसँग छलफलपछि वामदेवको प्रतिक्रिया– हामी दुई एकजुट भइसक्यौँ