युनाइटेड नेपाली डायस्पोराको सभापतिमा सोनाम लामा सर्वसम्मत
काठमाडौँ । युनाइटेड नेपाली डायस्पोरा संगठन (युएनडीओ)को सभापतिमा सोनाम लामा चयन भएका छन् । आइतबार सम्पन्न निर्वाचनमा नेपाली मुलका अमेरिकी लामा सर्वसम्मत चयन हुँदा उपसभापतिमा प्रेम गाहा मगर, शशी चन्द्र अधिकारी, पासाङ रिन्जी शेर्पा, भोमा देबी लिम्बु र यम कुमार गुरुङ सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै महासचिवमा कुशल केसी, सचिवमा संगीता कार्की कुवँर र कोषाध्यक्षमा उल्का प्रसाद घिमिरे चयन भएका छन् ।
यूएनडीओको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन र वार्षिक साधारण सभा शनिबारदेखि काठमाडौँमा सुरु भएको थियो ।
‘दिगो नेपालका लागि डायस्पोरा संलग्नता’ नाराका साथ भएको कार्यक्रममा पहिलो दिन जलवायु परिवर्तन, नेपालमा यसको प्रभाव र जलवायु जोखिमहरूका साथै ब्रेन ड्रेनको प्रमुख मुद्दालाई सम्बोधन गर्न विश्वभरका डायस्पोरा प्रतिनिधिहरू, समुदायका नेताहरू र स्थानीय सरोकारवालाहरूबीच गम्भीर छलफल भएको छ ।
नेपालले बढ्दो तापक्रम, अनियमित मौसमी ढाँचा र हिमनदीहरू पग्लने जस्ता बढ्दो वातावरणीय चुनौतीहरूको सामना गरिरहेको बेला, जलवायु लचिलोपनका लागि स्रोतहरूको वकालत, नवप्रवर्तन र परिचालनमा डायस्पोराको भूमिका पहिलेभन्दा बढी महत्त्वपूर्ण भएको अवस्थामा यसैलाई प्रमुख मुद्दा बनाइएको आयोजकको भनाइ छ ।
एनआरएनएमा विवाद भएपछि यूएनडीओ गठन भएको थियो । जुन एनआरएनएजस्तै परराष्ट्र मन्त्रालयमा दर्ता छ । यूएनडीओमा विदेशी पासपोर्ट भएका नेपाली मुलका विदेशीहरुको मात्रै संलग्नता छ ।