बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

सूर्यदर्शन सहकारी ठगी प्रकरण : आइतबार ३ जनाको बयान सकियो

आइतबार, १४ पुस २०८१, १६ : १७
आइतबार, १४ पुस २०८१

पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएका तीन जना प्रतिवादीको आइतबार बयान सकिएको छ । 

प्रतिवादीहरु रामबहादुर खनाल, पूर्वसांसद मीना गुरुङ र कृष्णबहादुर गुरुङसँग बयान लिइएको हो ।

यसअघि रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी र लिला पछाईसँग बयान लिइएको थियो ।

कास्की जिल्ला अदालतमा जिल्ला सरकारी वकिलको कार्यालयले आरोपपत्र दायर गरेसँगै न्यायाधीश नितिज राईको इजलासमा थुनछेक बहसका लागि बयान चलिरहेको हो । 

मंगलबार प्रतिवादी आरति गुरुङको बयान सकेर थुनछेक बहस सुरु हुने बताइएको छ ।

पुस ७ गते अदालतमा प्रतिवादीहरुविरुद्ध सहकारी ठगीसँगै, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा मुद्दा दायर भएको थियो । 

लामिछाने पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन गरेको आरोपमा पक्राउ परी जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमै छन् । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा रु २७ करोड ८९ लाख ४४ हजार सात सय पाँच र सहकारी ठगीतर्फ रु तीन करोड ३७ लाख ६५ हजार बिगो दाबीसहित मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालय, कास्कीका सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन् । 

उनका अनुसार रास्वपा सभापति लामिछानेसहित उक्त सहकारी ठगी प्रकरणमा जोडिएका रामबहादुर खनाल, छविलाल जोशी र लीला पछाइविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ । प्रतिवादी खनालसँग रु १४ करोड ३० लाख ९१ हजार नौ सय ११, जोशीसँग रु ७४ करोड ३४ लाख ७१ हजार ५५, पछाइसँग रु २४ करोड ६७ लाख सात हजार २४ बिगो दाबी गरिएको छ । 

यस्तै सहकारी ठगीमा जोशीविरुद्ध रु पाँच करोड २६ लाख ६५ हजार र दीपेश पुनसँग रु दुई करोड १४ लाख आठ हजार आठ सय ४३ बिगो माग गरिएको छ ।  सहकारी ठगीका आरोपित अन्य व्यक्तिलाई पनि कसुरअनुसारको बिगो र सजायको मागसहित मुद्दा दर्ता भएको सरकारी वकिलको कार्यालयले जनाएको छ ।  

लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमा पनि मुद्दा दर्ता भएको छ भने  सहकारी ठगी मुद्दामा चाहिँ लामिछानेसहित ३१ जनाविरुद्ध मुद्दा दायर भएको हो ।  सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म कुल ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप