बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने मन्त्री पौडेलको निर्णय

आइतबार, १४ पुस २०८१, १५ : ५४
आइतबार, १४ पुस २०८१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अटिजम भएका बालबालिकाको हेरचाहका लागि निर्देशिका तयार पार्ने निर्णय गरेका छन् । नेपालमा बालबालिकामा अटिजम देखा पर्ने क्रम बढेको भन्दै उनले बढ्दो स्वास्थ्य समस्या सम्बोधन गर्नका लागि मन्त्रालयले काम थाल्ने बताएका हुन् ।  

अटिजम देखिएका बालबालिकाका पक्षमा स्वास्थ्य संस्थाहरूमा प्रभावकारी काम गर्नका लागि भन्दै मन्त्री पौडेलले सर्वप्रथम रोकथाम, उपचार, हेरविचार तथा सहयोगजस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरेका छन् ।

यसका लागि डाक्टर दीपकप्रकाश महराको संयोजकत्वमा १० सदस्यीय समिति गठन गरिएको छ । 

समितिमा दीपकराज सापकोटा, डाक्टर सुनिता मलेकु, डाक्टर मेरिना श्रेष्ठ, डाक्टर अरुण कुँवर सदस्य छन् ।

यसैगरी, ध्रुवकेदार अधिकारी, सन्तोष रायमाझी, उमेश तामाङ तथा कुष्ठरोग नियन्त्रण तथा अपांगता व्यवस्थापन शाखाका प्रतिनिधिलाई सदस्य तथा मन्त्रालयको बहुक्षेत्रीय समन्वय शाखा प्रमुखलाई सदस्य सचिव तोकिएको छ ।

समितिले एक महिनाभित्र अटिजम रोकथामका विषयमा अध्ययन गरेर स्वास्थ्य क्षेत्रका कार्यक्रममा समावेश गर्न सकिने विषय सुझाव दिनेछ । यसैगरी, अटिजम भएका बालबालिकाको हेरचाह, उपचार तथा सहयोगसम्बन्धी क्रियाकलाप निर्देशिकामा समावेश गर्नेछ । समितिले अटिजमका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्थाहरू तथा विकास साझेदारसँग सहकार्यको खाकासमेत तयार पार्ने मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए ।

नेपालको जनगणना २०७८ अनुसार अटिजम भएका व्यक्तिहरूको संख्या ४ हजार ८८४ देखिन्छ । तर, विश्व स्वास्थ्य संगठनले भने नेपालमा झण्डै तीन लाखमा यस्तो समस्या रहेको अनुमान गरेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप