बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय
अन्तर्वार्ता

कांग्रेसको ग्राउण्ड जिरो रिपोर्ट– भ्रष्टाचारको कारखाना बन्द गर्न सुझाव (भिडियोसहित)

‘सीमित साधनमा जनताको असीमित मागका कारण निराशा धेरै तल्लोस्तरमा बढेको पाएँ’
आइतबार, १४ पुस २०८१

नेपाली कांग्रेस केन्द्रीय समिति बैठकको निर्णय बमोजिम एक सय दिने अभियानका लागि केन्द्रीय प्रतिनिधिका रूपमा खटिएर डोटी पुगेका थिए केन्द्रीय सदस्य गुरु बराल । उनी अभियान सकिएर काठमाडौँ फर्किएका छन् ।

अभियानका क्रममा ९ पालिका तथा ६५ वटै वडामा दुई चरणमा कार्यक्रम सकेर आएका बरालले अभियानका क्रममा कांग्रेसप्रति जनता र कार्यकर्ता निराशभन्दा पनि घुर्क्याएर बसेको अनुभूति आफूले गरेको बताउँछन् । राज्यप्रति जनतामा असीमित अपेक्षाका कारण निराशा पैदा भएको उनको भनाइ छ ।

जिल्ला पुग्दा भ्रष्टाचार तल्ला तहसम्म पुगेको र जनताले भ्रष्टाचारको कारखाना बन्द गर्नुपर्ने मागसहितको रिपोर्ट दिएको बरालले बताए । अभियानले कांग्रेसबाट जितेका जनप्रतिनिधि र पार्टी बिच बढ्दो अविश्वासको खाडल पुर्ने, संगठनमा थप ऊर्जा भर्ने र आसन्न महाधिवेशनका लागि क्रियाशील सदस्यताको विषयमा समेत तदारुकताको साथ अघि बढाउन सहयोग पुग्ने उनको भनाइ छ ।

प्रस्तुत छ, उनै बरालसँग रातोपाटीका लागि रोमन आचार्यले गरेको कुराकानीको सम्पादित अंश–

  •  के रहेछ कांग्रेसको तल्लो तहसम्मको संगठनात्मक स्थिति ?

पार्टीको निर्णय अनुसार सय दिने अभियानका लागि मलाई डोटी खटाइएको थियो । कार्तिक २२ गते डोटी पुगेर पार्टी नेताहरूको महत्त्वपूर्ण बैठक राखियो । पहिलो चरणमा जिल्लाका सबै तहका इकाई सभापति तथा नेताहरू, निर्वाचित जनप्रतिनिधि र हारेका साथीहरू लगायत समाजका अग्रणी साथीहरूसँग अन्तरक्रिया गरियो । ९ वटै पालिकामा उक्त कार्यक्रम सम्पन्न गरेपछि पालिकास्तरीय सम्मेलन र बैठक पनि हामीले गर्‍यौँ ।

केही भएन भन्ने गुनासो सबैतिर देखिएको छ । सीमित साधनमा जनताको असीमित माग भएको पनि पाइयो । त्यसकारण निराशा धेरै तल्लोस्तरमा बढेको पाएँ । उनीहरू कांग्रेस पार्टीसँग निराश छैनन्, पार्टी नेतृत्वसँग घुर्क्याएर बसेका छन् । तीन पुस्तासम्म निरन्तर साथ, सहयोग गरेको, भरोसा गरेको पार्टी कसरी अघि बढ्छ भन्ने चासो जनतामा पाएँ ।

guru baral (2)

  • निराशा कस्ता विषयमा रहेछन् ?

बेरोजगारीको समस्या छ । उनीहरूले अहिले भइरहेको भन्दा थप उन्नत जीवन चाहेका छन् । हाम्रो पार्टीका तल्ला तहका कार्यकर्ताहरूमा अहिले जे भएको छ, त्योभन्दा धेरै उन्नत हुनुपर्ने थियो, जो भएन भन्ने गुनासो छ । मान्छेहरूलाई एकै पटक फोर लेनको बाटो चाहिएको छ । सोसल मिडियाबाट अनेक कुरा हेरेर मेरोमा किन भएन, अमेरिकामा हुने तर मेरोमा किन नहुने भनेर तल्लो तहको मान्छेले तुलना गरिरहेको छ । त्यसले जनता र कार्यकर्ताबिच निराशा बढाएको छ ।

दोस्रो, भ्रष्टाचार केन्द्रमा मात्र हैन, तल्लो तहसम्म छिरेको छ । त्यसले मान्छेलाई आक्रान्त बनाएको छ ।

  • तल्ला तहका कार्यकर्ताहरूमा कांग्रेसको जनमत घट्यो, रास्वपा जस्ता उदाएका नयाँ शक्तिप्रति आकर्षण बढ्यो भन्ने बुझाइ छ, हो ?

अहिले त्यो मान्यता चिरिएजस्तो देखियो । यस्ता बाढीका छिटपुट छिटाहरू दलमा आइरहनु पर्छ । हिजो साझा विवेकशील आउँदा पनि हामीलाई हल्लाउन खोजेकोजस्तो देखिन्थ्यो । त्यो खहरे भयो र गयो । रास्वपा पनि उस्तै न भयो । केही साथीको मन चलबल भए पनि धन्न गल्ती गरिएन भन्नेजस्तो देखियो ।

  • कांग्रेसप्रति घुर्क्याइ बढेको भन्नुभयो, अर्काेतिर वडा तहसम्म भ्रष्टाचार पुगेको कुरा गर्नुभयो । जनप्रतिनिधि धेरै भएको पार्टी कांग्रेस हो, प्रश्न त कांग्रेसतर्फै फर्कियो नि ?

कांग्रेसका प्रतिनिधि पात्रहरू यो वा त्यो रूपमा भ्रष्टाचारको मनोवृत्तिबाट नलपेटिएका चाहिँ हैनन् । हामीलाई सबैभन्दा ठुलो चुनौती नै अहिले यही हो ।

०६० सम्मको स्थानीय तहमा एउटा अवस्था थियो । लामो समयसम्म स्थानीय तह खाली भयो र सर्वदलीय समिति तथा उपभोक्ता समितिहरू बने । मिलीजुली र सर्वदलीय सहमति गर्न थालेपछि तल्लो तहसम्म विकृति फैलिएको छ ।

guru baral (3)

संविधान संशोधनको बेला भ्रष्टाचारको कारखाना बन्द गरिनुपर्छ । स्थानीय प्रदेश वा संघको निर्वाचन होस्, हामीले जुन निर्वाचन लड्छौँ र जसरी प्रचार गरेर खर्चिलो बनाएका छौँ, त्यसले भ्रष्टाचार बढाएको छ । यतिसम्म कि एउटा वडा अध्यक्ष बन्न पनि लाखौँ रुपैयाँ खर्च गर्ने परिपाटी बढेको छ । यसलाई अन्त्य गर्न निर्वाचन प्रणालीलाई सुधार गर्न जरुरी छ ।

  • कांग्रेस पार्टी र पार्टीकै टिकटमा जितेका जनप्रतिनिधिबिच समन्वय भएन भनेर केन्द्रीय समिति बैठकमा प्रश्न उठ्ने गरेको छ, वास्तवमा जनप्रतिनिधि र कांग्रेसबिच सम्बन्ध कस्तो पाउनुभयो ?

यो खाले गुनासो देशभर नै छ । म यसअघि नै केन्द्रीय सदस्यको रूपमा पार्टीको काम गर्न विभिन्न जिल्ला जाँदा भोगेको र बुझेकै हो । असीमित खर्च गरेर जितेको छ, साधन–स्रोत सीमित छ । अनि जनताको, कार्यकर्ताको माग असीमित छ । बजेट अनुसार माग मिल्दैन अनि जनप्रतिनिधिले सपना पनि देखाएको छ, काम पूरा हुँदैन । त्यो जनप्रतिनिधिले के गरोस् ? अनि जनता र कार्यकर्ताको मागलाई बेवास्ता गरेर हिँड्नुको विकल्प पनि छैन ।

डोटीमा भने यो समस्या कम देखियो । तर, बाँके, नुवाकोट, रूकुममा मैले जनप्रतिनिधि र पार्टी प्रतिनिधिबिच असहज, एकले अर्कालाई देख्नै नसक्ने स्थिति देखेँ । समाधान गराउन छलफल गराएपछि ‘आइस ब्रेक’ भयो ।

  • पार्टी र जनप्रतिनिधिबिच सम्बन्ध सुधार गर्न अभियानले के काम गर्‍यो ?

पार्टीका नेता–कार्यकर्ता र पार्टीबाटै टिकट पाएर चुनाव जितेका जनप्रतिनिधिबिचको सम्बन्ध सुमधुर थिएन र त्यसमा ‘आइसब्रेक’ गर्ने काम अभियानले गर्‍यो ।

त्योमात्र होइन, अभियानले अन्य उपलब्धि पनि दिएको छ । गठबन्धनको विषयमा पनि प्रस्ट पार्ने काम भयो । हिजो गठबन्धन गरेको विषयमा पछुतो मानेर बसेका साथी धेरै थिए । ०७९ मा हामीले गरेको गठबन्धनका कारण साथीहरू हामीसँग रिसाएका छन् । त्यो रिस कम गराउने र जिज्ञासा मेटाउने पनि काम भयो ।

अहिलेको गठबन्धन किन आवश्यक पर्‍यो, संविधान संशोधन किन चाहियो जस्ता विषयमा पनि स्पष्ट पार्ने काम भयो । अभियानकै बिच डोटीमा पनि स्थानीय तह उपनिर्वाचन थियो । हाम्रो निकटतम प्रतिस्पर्धी एमाले थियो र हामीले मित्रवत् प्रतिस्पर्धा गर्‍यौँ ।

क्रियाशील सदस्यता पनि ठिकठाक गर भन्ने तलैबाट सन्देश दिने काम पनि अभियानले गर्‍यो । हामीले जनस्तरका गुनासा के हुन् ? कांग्रेससँग अपेक्षा के हो ? कांग्रेसले के गल्ती गर्‍यो ? कांग्रेस अब कसरी जानुपर्छ ? कुनकुन योजना र कार्यक्रम लिएर जाँदा हामीले उहाँहरूको चित्त बुझाउँदै डेलिभरी दिन सकिन्छ भन्ने उद्देश्य राखेका थियौँ ।

  • कति प्रतिशत उद्देश्य पूरा भएछ, के छ मूल्याङ्कन ?

उद्देश्य शत प्रतिशत सफल भयो त म भन्दिनँ तर कामको प्रारम्भचाहिँ गर्न हामी सफल भयौँ । जस्तो डोटीमा ६५ वडामा प्रतिनिधि जाने, भेला हुने, जतिसक्दो सर्वसाधारणसँग अन्तरक्रिया गर्ने काम भयो ।

कार्यक्रममा मलाई एक जना साथीले तपाईंहरूको सय दिन कार्यक्रम गाली खाने कार्यक्रम हो भनेर सोध्नुभएको थियो । मैले भनेँ– यो देशमा जोसँग धेरै आश छ, जसमा लगानी गरिएको छ, त्यसैलाई त हो गुनासो गर्ने ।

तलबाट आएका सबै कुरालाई हामीले कांग्रेस सुधार गर्ने अवसरको रूपमा लिएका छौँ । ती गुनासा चित्रबहादुर केसी, रेशम चौधरी वा नारायणमान बिजुक्छेसँग छैन नि ! हामीले सहज रूपमा सल्लाह–सुझावको रूपमा ग्रहण गरेका छौँ ।

  • पार्टीका तल्ला तहका नेता–कार्यकर्ताले दिएको सुझाव मानेर पार्टी अघि बढ्छ ?

मान्नै पर्‍यो नि । हामीले अघिल्लो अभियानमा पार्टीबाट निर्वाचित जनप्रतिनिधि र पार्टीको सम्बन्ध पूरा टुटेकोलाई जोड्न ‘समुदायमा कांग्रेस’ सुरुवात गरेका थियौँ । जोड्ने मेकानिजम बनाएका थियौँ । त्यसले सहज बनाएको छ ।

जनस्तरमा आउने समस्यालाई लिएर आउँदो केन्द्रीय समितिमा राख्छौँ । पदाधिकारीसँग छलफल गर्छौँ । पार्टीलाई रिपोर्ट बुझाउनेमात्र हैन, मौखिक रूपमा ब्रिफिङ पनि गर्छौँ ।

  • पार्टी सहभागी सरकार सफल नभएको गुनासो पार्टीभित्रै छ, सरकार कहाँकहाँ चुक्यो ?

हामीले छिटो परिणाम खोजेका छौँ । पूरा नहुने कुरा, पूरा हुन लामो समय लाग्ने कुरामा जनतालाई क्षणिक आवेग र उत्तेजनामा ल्याएर पस्किदियौँ । त्यसको जनताले परिणाम खोजे । सम्भव नभएपश्चात् निराशा छायो । त्यसमा ठुला दल चुकेको हो ।

तर, सरकारले पाँच महिनामा के गर्‍यो भन्ने हैन । पाँच–पाँच महिनामा सरकार फेरिने अवस्था थियो, त्यसमा स्थिरता दियो । तर, हामीले लगानीको वातावरण र जनतामा विश्वास भने सिर्जना गर्न सकेका छैनौँ । सहकारीकै विषयमा पनि जनतालाई न्याय दिन सरकारले प्रारम्भ गर्‍यो नि ! सरकारले स्थिरता पाएको छ । यसलाई बाँकी समय लान सकियो भने सरकारले तल्लो तहसम्म परिणाम दिन्छ ।

  • अन्त्यमा, कांग्रेसभित्र अहिले के भइरहेको छ ?

संविधानको १० वर्षे यात्रामा संविधानमा देखिएको कतिपय कमजोरी संशोधनको प्रारम्भिक विन्दु तय भएको छ । भ्रष्टाचार छ, नेपालको प्रशासनिक कमजोरी छ । भ्रष्टाचार तलसम्म पुगेको छ । यसलाई कसरी रोक्ने हो ! समावेशी थ्रेसहोल्ड लगायतका विषय छन् । त्यो संविधानमा मिलाउनुपर्ने देखिएको छ । कांग्रेस यिनै विषयमा लागेको छ ।

पार्टी १५ औँ महाधिवेशनको गतिविधि प्रारम्भ गर्ने अवस्थामा छ । स्वाभाविक हो, हाम्रो गतिशील पार्टी हो र गुट पनि छ । अस्तित्वशाली सबै लोकतान्त्रिक पार्टीमा गुट हुन्छ । कांग्रेसमा पनि छ । सभापति लड्छु भन्ने र भूमिकामा आउँछु भनेर गतिविधि बढाउने कुरा सामान्य भयो । यसको प्रारम्भ बिन्दु भनेको सदस्यता वितरण र नवीकरण हो । त्यो कुरा तल्लो तहसम्म अभियानको प्रक्रिया सुरु हुन लाग्यो है भन्ने अध्यायमा प्रारम्भ गरेका छौँ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया