बुधबार, १७ पुस २०८१
ताजा लोकप्रिय

चिनी किन नखाने ?

आइतबार, १४ पुस २०८१, १५ : ०७
आइतबार, १४ पुस २०८१

हामीले दैनिक जीवनमा प्रयोग गर्ने गुलियो पदार्थ नै हाम्रो स्वास्थ्यका लागि विष समान बन्दै गएको छ । त्यो पदार्थ हो चिनी, जो नेपालीको भान्साबाट प्रायः टुट्दैन । जसका कारण मानिस अनगिन्ती रोगको सिकार हुनुपरिरहेको छ । 

हामीमध्ये धेरैलाई के लाग्छ भने सुगर वा मधुमेह रोग लाग्नेलाई मात्र चिनीले असर गर्छ । कसैले ‘चिनी खान्नँ’ भन्यो भने हामी सोध्छौँ वा शंका गर्छौं— ‘सुगर छ कि !’ तर हामीलाई थाहा छैन कि सुगर हुने वा नहुने, स्वास्थ्य ठिक हुने वा नहुने कसैले पनि चिनी खानु हुँदैन, यो स्वास्थ्यका लागि हानिकारक छ । 

अध्ययनले देखाउँछन्— मधुमेहसँगै मुटुरोग, पाचन प्रणालीसम्बन्धी समस्या, मानसिक स्वास्थ्यमा देखिने समस्या, महिलाहरूमा हुने विभिन्न समस्या (महिनावारी तथा प्रजनन स्वास्थ्यदेखि छालाको सुन्दरतामा देखिने विभिन्न समस्या)मा चिनीको असर रहन्छ । अझै सरल भाषामा भन्नुपर्दा समग्र मानव स्वास्थ्यमा अत्यन्तै ठुलो प्रभाव र असर चिनीको रहन्छ । अध्ययनहरुले चिनीलाई ‘गुलियो विष’ नै भनेका छन् । 

  • चिनी के हो ? 

अधिकांशले चिनी भन्नेबित्तिकै बजारमा पाइने सेता दाना भएको गुलियो पदार्थलाई सम्झन्छौँ । जुन उखुबाट बनेको र प्रशोधित हो भन्ने पनि धेरैलाई थाहा छ । तर बजारमा पाइने अन्य अधिकांश खाद्यवस्तुमा यही प्रशोधित चिनी मिसाइएको हुन्छ । खाद्य उद्योगहरुले आफ्ना उत्पादनमा मिसाएको चिनीको मात्रा लुकाउनका लागि फरक नाम दिएका हुन्छन् । चिनीलाई ५० देखि ७० वा अझै त्योभन्दा बढी नामले चिनाउने गरिन्छ । 

अध्ययनमा पाइए अनुसार ७०–८० प्रतिशत प्रशोधित खानेकुरामा चिनी मिसाइएको हुन्छ, तर यो जरुरी छैन कि सबै गुलियो हुनुपर्छ । त्यसैले बजारमा पाइने यस्ता खानेकुरादेखि होसियार रहनुपर्ने हुन्छ ।

हामीले चिनी भएका सफ्ट ड्रिंक्स (कोकाकोला, पेप्सी आदि) तिर्खा मेटाउनका लागि भन्दै पिउने गर्छौं, तर यिनीहरूले तिर्खा मेटाउने होइन, अझै बढाउँछन् ।
हामीले अन्य बजारिया खाद्यवस्तुबाट पनि प्रशोधित चिनी खाइरहेका हुन्छौँ । हरेक खानेकुरामा चिनी भए वा नभएको बुझ्न जरुरी छैन । कम्तीमा बजारमा उपलब्ध ‘पत्रु खाना’ (जंक फुड) खान बन्द गर्नुपर्छ ।

हामीले खाने लगभग सबै प्रमुख खाद्य पदार्थ अन्ततः शरीरमा पुगेर ‘ग्लुकोज’मा परिवर्तन हुन्छन् । ‘ग्लुकोज’ त्यो मुख्य पदार्थ हो, जसले हाम्रो दैनिक गतिविधि चलाउन शक्ति प्रदान गर्दछ । तर हाम्रो शरीरलाई चाहिने शक्तिका लागि अलग्गै चिनी खान आवश्यक छैन । मानव शरीरलाई चिनीको कुनै पनि भौतिक आवश्यकता हुँदैन । 

हामीले दैनिक रूपमा खाने विभिन्न खानामा पाइने पोषण तत्त्वमध्ये एक हो, कार्बाेहाइड्रेट । जुन हाम्रो शरीरले शक्तिका लागि प्रयोग गर्ने गर्छ । हाम्रो शरीरको बनावट यति अचम्मको छ कि यसले कार्बाेहाइड्रेट नै पाएन भने पनि फ्याट अथवा प्रोटिन समेतबाट आफूलाई चाहिने शक्ति लिन सक्छ । अतः हामीले हाम्रो शरीरलाई स्वस्थ खाना दिए पुग्छ तर कुनै पनि खाना तब अस्वस्थ बन्छ, जब त्यसमा चिनी मिसाइन्छ । 

चिनीको दीर्घकालीन प्रभावका बारेमा गरिएको एक अध्ययनमा ब्रिटिस पोषणविद् जोन युड्किनले भनेका छन्— चिनीको सेवनका कारण हाम्रो सरदर आयुमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्छ । 

चिनी मिसाएको जुनसुकै खाना मुखमा हाल्नेबित्तिकै सबैभन्दा पहिलो असर यसले हाम्रो दाँतलाई गर्छ । सामान्य बोलीचालीको भाषामा हामीले ‘दाँत किराले खाएको’ भन्छौँ । चिनीले मुख्यतः मुखमा पाइने जीवाणु (ब्याक्टेरिया)को वृद्धि गर्ने तथा अम्ल (एसिड) उत्पादन गर्ने क्षमतालाई उत्प्रेरित गर्छ । जसका कारण दाँत सड्ने जस्ता समस्या आउँछन् । 
जब चिनी पेटमा पुग्छ, यसले पेटको भित्री तह (मुकोसल लाइलिङ)मा जलन उत्पन्न गराउँछ । जस कारण पेटमा धेरै अम्ल उत्पादन हुन पुग्छ, अनि हामीलाई ग्यास्ट्रिक भएको अनुभव हुन्छ । विशेषगरी खालि पेटमा यो असर अझै छिटो हुने गर्छ । 

यो त भयो चिनी शरीरभित्र नपुगी यसले मानव शरीरलाई पुर्‍याउने असरहरूको उदाहरण । अब चर्चा गरौँ, रगतमा पुगिसकेको चिनी कति हानिकारक छ त ? 
रक्सीले कलेजो बिगार्छ भन्ने हामी धेरैले सुनेको हुन सक्छौँ तर चिनीले पनि कलेजो बिगार्छ भन्ने हामीले नसुनेको हुन सक्छौँ । 

रक्सीले मात्रै होइन, चिनीले पनि कलेजोलाई घातक रूपमा असर गर्छ, जसका कारण ‘लिभर सिरोसिस’को अवस्था आइपुग्छ, यो एक गम्भीर र दीर्घकालीन रोग हो, जसले कलेजोको संरचना र कार्य क्षमतामा परिवर्तन ल्याउँछ । यसबारे अनुसन्धान गर्ने वैज्ञानिक डा. चाल्र्स बेस्टलाई सन् १९२१ मा ‘इन्सुलिन’ नामक हर्माेन पत्ता लगाउने एक मुख्य व्यक्तिका रूपमा पनि चिनिन्छ । 

यस अतिरिक्त चिनीले मानव शरीरका विभिन्न अंगमा क्यान्सरको जोखिम बढाउन सक्ने अलग–अलग समयमा गरिएका विभिन्न अध्ययनले देखाएका छन् । चिनी सेवनबाट मुख्यतः पुरुष–महिला दुवैको ठुलो आन्द्रा तथा महिलाको स्तनमा क्यान्सर हुने जोखिम रहन्छ । 

कतिपय व्यक्तिले भन्ने गरेको सुनिन्छ, ‘म त नियमित शारीरिक व्यायाम गर्छु, त्यसैले मैले चिनी खान मिल्छ ।’ व्यायाम गर्दैमा चिनीयुक्त खाना अथवा पेय पदार्थ निर्धक्कसँग सेवन गर्न मिल्छ भन्ने हुँदैन ।

अर्कोतिर मोटोपन भएका वा दुब्ला व्यक्तिले पनि चिनी खानु उपयुक्त होइन । मोटोपन भनेको चिनीको सेवनबाट हुने अनेकौँ असरहरूमध्येको एक हो । हामी मोटो नहुँदैमा चिनीयुक्त खानेकुराले हामीलाई गर्ने असरबाट हामी बच्ने सम्भावना हुँदैन ।

एकातिर चिनी आफैँले शरीरमा विभिन्न हानिकारक असर गरिरहेको हुन्छ भने अर्काेतिर शरीरले विभिन्न खानाबाट प्रोटिन लिने प्रक्रियालाई समेत असर गर्छ । चिनीले मानव शरीरमा गर्ने असरका बारेमा मात्र लेख्ने हो भने लेख्नलाई समय पुग्दैन, त्यसैले समग्रमा यसोभन्दा फरक पर्दैन, टाउकोदेखि पैतालासम्म चिनीले असर नगर्ने शरीरको कुनै भाग बिरलै भेट्न सकिन्छ ।

चिनीको दीर्घकालीन प्रभावका बारेमा गरिएको एक अध्ययनमा ब्रिटिस पोषणविद् जोन युड्किनले भनेका छन्— चिनीको सेवनका कारण हाम्रो सरदर आयुमा समेत प्रत्यक्ष प्रभाव पर्न सक्छ । 

कतिपय व्यक्तिलाई चिनी छाड्न खासै कष्टकर नहुन सक्छ, तर कसैलाई यो अत्यन्त कठिन लाग्न सक्छ, इच्छाशक्तिको कुरा हो, यो लेख्दै गर्दा म आफैँले चिनी छाडेको ठ्याक्कै १० वर्ष बितिसकेको छ । 

कतिपय अध्ययनले चिनीलाई एकदमै कडा लत लाग्ने पदार्थ कोकिन मोर्फिनसँग पनि तुलना गरेको पाइन्छ । जसको अर्थ यही हुन्छ कि लत लाग्ने भएकाले चिनी झ्याप्प छोड्न कठिन छ । अलिकति गुलियो मुखमा पर्नेबित्तिकै हामीले थप खान थाल्छौँ । यसमा हाम्रो कुनै गल्ती छैन, हाम्रो दिमागले नै स्वादिलो खान प्रेरित गरिरहेको हुन्छ, जसलाई ‘मेसोलिम्बिक डोपामाइन सिस्टम’ भनिन्छ । त्यसैले हामीले सर्वप्रथम चिनीका बेफाइदामा ध्यान केन्द्रित गर्नुपर्छ, यसो भयो भने बिस्तारै चिनी खान छाड्न सकिन्छ । 

जब चिनीबिनाका चिज खान बानी पर्न थाल्छ, तब थाहा हुन्छ, यी खानामा त्यस्ता स्वाद छन्, जुन हामीले बिर्सिसकेका थियौँ, अथवा त्यस स्वादबारे थाहै थिएन । 

बच्चाले प्याकेटको खानेकुरा, चकलेट मागेका बेला खुरुक्क किनेर दिन्छौँ, यसो गर्नुको सट्टा उनीहरूले बुझ्ने भाषामा यो कुरा खान हुने कि नहुने भनी बुझाउन सकिन्छ, यसका लागि अभिभावक नै चिनीका बारेमा जानकार हुनुपर्छ । 

संसारभरि प्रशोधित चिनीलाई प्रतिबन्ध नै लगाउने बहस बेला–बेला चल्ने गरेका छन् । यो परिप्रेक्ष्यमा एकपटक हामीले हाम्रो खानपान र चिनीका बारेमा सोच्नैपर्छ । 
(लेखक चापागाईं पूर्वाञ्चल विश्वविद्यालयबाट ‘पब्लिक हेल्थ’ (हेल्थ प्रोमोसन)मा स्नातकोत्तर गर्दै छन् ।)
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण चापागाईं
कृष्ण चापागाईं
लेखकबाट थप